आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी आजदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ । यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२ सम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो । साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्नसमेत अनुरोध गरेको छ । रासस

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा डा शैली प्रधान, प्रा डा रविमान श्रेष्ठ, प्रा डा किरणप्रसाद श्रेष्ठ, प्रा डा रत्नमणि गजुरेल, प्रा डा सुवास आचार्य, प्रा डा शशि शर्मा, प्रा डा रमेश चाखनी, सह प्रा डा ध्रुव गैरे, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी र डा अनन्त अधिकार सदस्य रहेका छन् । नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको हो । समितिले वीर अस्पतालबाट भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ । समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए । उनले भने, ‘अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने ?’

चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसिएच/एनबिएमएस-एसएसको नतिजा सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको डिएम/एमसिएच/एनबिएमएस-एसएस अध्ययनको लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा शनिबार नै अबेर प्रकाशन गरेको हो । आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम १६ बमोजिम सरकारी चिकित्सकले प्राप्त गरेको अंकमा अनुभव र दुर्गम क्षेत्रमा काम गरेको अंक जोडी कुल प्राप्ताङ्क कायम गरी योग्यताक्रम निर्धारण गरिएको जनाएको छ । नतिजा विद्यार्थीले आफ्नो प्रोफाइलमा समेत हेर्न र स्कोर कार्ड डाउनलोड गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । प्रकाशित नतिजामा चित्त नबुझ्ने उम्मेदवारले पुनर्योग गर्न चाहेमा २३ गते ५ बजेसम्म आयोगको इमेलमा निवेदन दिन सक्ने छन्। योग्यताक्रममा रहेका उम्मेदवारको पहिलो म्याचिङ परीक्षार्थीहरुकै उपस्थितिमा साउन २९ गते हुने आयोगको सूचनामा उल्लेख छ ।