अपमानको पराकाष्ठा : सासु कोषका योगदानकर्तालाई अस्पतालमा छुट्टै डाक्टर, विशेषज्ञलाई देखाए थप शुल्क
काठमाडौं । नुवाकोटकी नमिता वाग्ले गत साता उपचारका लागि नयाँ बानेश्वरमा रहेकाे एभरेष्ट अस्पताल पुगिन्। एभरेष्ट अस्पतालले दिने सेवा सुविधा राम्रो भएको भन्ने जानकारी पाएकी उनी कार्यालय जाने बाटोमै अस्पताल हुँदा उपचारका लागि सोही अस्पताल छिरिन् । उनले राम्रो भनिएको अस्पताल भित्र गएपछि कोषमा आवद्ध भएका श्रमिकका लागि छुट्टै डाक्टर खटाइएको र अन्य डाक्टरलाई देखाउँदा थप शुल्क लाग्ने जानकारी पाइन् । ‘म त कोषबाटै उपचार हुने भन्दै अस्पताल गएको थिएँ, तर अस्पतालले हामीजस्ताका लागि डा. प्रकाश महतलाई तोकेको रहेछ, उहाँ बाहेक सम्बन्धित डाक्टरलाई देखाउँदा थप ५ सय शुल्क भुक्तानी गर्नुपर्ने रहेछ’, उनले भनिन, ‘अस्पताल त पुगिहाले यतिकै फर्कनुभन्दा बरु पैसा नै तिरेर उपचार गर्छु भनेर थप शुल्क तिरें ।’ मकवानपुरका एक श्रमिकले मकवानपुर सहकारी अस्पतालले उपचारमा दुःख दिने गरेको बताए । आफ्नो घर नजिकै रहेको अस्पताल कोषमा आवद्ध भएपछि सहज रुपमा उपचार हुने भन्दै खुसी भएका ती श्रमिकले उपचारका लागि अस्पतालले छुट्टै डाक्टर नै खटाएको देखेपछि चकित भएकाे सुनाए । कोषमा आवद्ध श्रमिकको उपचारका लागि छुट्टै डाक्टर तोकेको थाहा पाएपछि उपचार नै नगरी फर्किएको उनले बताए । अब उपचार गरेको पैसा कोषले नै तिर्छ, सहज हुने भयो भन्ने विश्वास थियो, तर ती अस्पतालमा पनि छुट्टै डाक्टर राखेर कोषमा आवद्ध श्रमिकलाई अपहेलना गरेको महसुस भयो,’ ती योगदानकर्ताले निरा हुँदै भने । यी त केही प्रतिनिधि पात्र र घटनाहरु मात्रै हुन् । पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका रोजगारदाता (श्रमिक) लाई निजी अस्पतालले समेत विभेद गर्ने गरेका छन् । कोषमा आवद्ध भएका निजी अस्पतालले श्रमिकका लागि छुट्टै डाक्टर राख्नेदेखि उपचारमा समेत वेवास्ता गर्ने गरेको श्रमिकहरुले गुनासो गरेका हुन् । पछिल्लो समय विभिन्न सरकारी तथा निजी अस्पतालसँग औषधि उपचारका लागि कोषले अस्पतालहरुसँग सम्झौता गर्दै आएको छ । गत फागुनसम्म अस्पतालमा उपचार गरेको बिल अनुसारको भुक्तानी गर्ने गरेको कोषले श्रमिकलाई समस्या भएको भन्दै अस्पतालसँग सिधै सम्झौता गर्ने गरेको थियो । तर, सम्झौताको मर्म विपरित कोषमा आवद्ध भएका श्रमिकलाई अनेकन समस्या दिएर अस्पतालले झन दु:ख दिने गरेको गुनासो कोषमा आउने गरेको छ । श्रमिकको सहजका लागि अस्पतालसँग सम्झौता गरिएको भन्दै कोषका सहप्रवक्ता रोहित रेग्मी उपचारमा असहयोग गर्ने अस्पतालहरुसँगको सम्झौता खारेज गर्ने बताउँछन् । ‘हामीकहाँ मकवानपुरको एक अस्पतालले उपचारमा असहयोग गर्याे भनेर हामीकहाँ लिखित रुपमै उजुरी परेको थियो, हामीले तत्काल उक्त अस्पतालसँग स्पष्टीकरण नै सोधिसकेका छौँ’, उनले भने, ‘उक्त अस्पतालले पुनः उपचारमा असहयोग गरेको गुनासो हामीकहाँ आए तत्काल सम्झौता खारेज गछौँ ।’ उनले मकवानपुर बाहेक अन्य अस्पतालको विषयमा अहिलेसम्म खासै गुनासो नआएको बताए । ‘अस्पतालले रकम भुक्तानी गरेर भनेर हामीकहाँ केही गुनासो आउँछ, हामीले हेर्दा उहाँहरुले नियमित रुपमा योगदान रकम भुक्तानी नगर्दा त्यस्तो समस्या भएको पाइएको छ, उपचारमै असहयोग गर्याे भनेर अहिलेसम्म कुनै गुनासो छैन्,’ उनले भने । उनले श्रमिककै सहजका लागि अस्पतालहरुसँग उपचारका लागि कोषले सम्झौता गरेको भन्दै दु:ख दिने अस्पताललाई कारवाही हुने बताए । कोषले हालसम्म उपचारका लागि देशभरका ६० वटा सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेको छ । किन राखियो डा. महतलाई ? एभरेष्ट अस्पतालले कोषमा आवद्ध योगदानकर्ताका लागि भन्दै राखेको डाक्टरको विषयमा हामीले बुझेका छौं । यस विषयमा अस्पतालले पनि छुट्टै डाक्टर राखेकाे बताएकाे छ । अस्पतालका प्रशासन सहायत राजेश पौडेलले कोषमा आवद्ध श्रमिकका लागि छुट्टै डाक्टर राखिएको जानकारी दिए । अन्य डाक्टरलाई देखाउँदा थप शुल्क तिर्नु पर्ने विषय पनि उनले स्वीकार गरे । डा. महतलाई राख्नुको कारण भने उनले खुलाएनन् । उनका अनुसार कोषमा आवद्ध हुनेहरुका लागि अस्पतालले डा. प्रकाश महतलाई जिम्मेवारी दिएको हाे । एमबिबिएस डाक्टर महतले आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विरामी हेर्ने गरेका छन् । तर, अस्पताल जानुभन्दा अगाडि फोन सम्पर्क गरेर जानकारी गराउनुपर्ने समेत अस्पतालले जनाएको छ । जुन कोषमा आवद्ध योगदानकर्ताका लागि दुःखको विषय हो । यस विषयमा कोषले भने जानकारी नभएको बताएको छ । कोषका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले अस्पतालले श्रमिकलाई दु:ख दिएको विषय आफूलाई कुनै जानकारी नभएको बताए । ‘कोषले गरेका कामहरुमध्ये अस्पतालले दिने सेवासुविधा राम्रो भएको मलाई रिपोटिङ आएको छ, तर उपचारका लागि छुट्टै डाक्टरको व्यवस्था गर्ने, अस्पतालको फार्मेसीमा औषधी नपाउने तथाा डाक्टरले नै असहयोग गर्ने कुरा मैले भर्खर थाहा पाएँ’, उनले भने, ‘यो विषयमा के रैछ म तत्काल बुझेर कारवाहीका लागी निर्देशन दिन्छु ।’ उनले सम्झौता विपरित सेवासुविधा दिने सरकारी तथा निजी अस्पतललाई तत्काल कारवाही हुने भन्दै श्रमिकले दुःख पाउन नहुने धारणा राखे ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिकरूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ माग गर्दै गाभीलाई प्रस्ताव पेश गरिएको जानकारी गराए । ‘गाभीलाई हाम्रो यस कार्यक्रम मन पर्यो र नेपाललाई सहयोग गर्छु भनेपछि हामीले औपचारिकरूपमा खोप माग गर्दै प्रस्ताव पठाएका छौं’, उनले भने, ‘हाम्रो प्रस्तावलाई गाभीले स्वीकृत गरेर खोप पठायो भने हामी यही आर्थिक वर्षको अन्त्यसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ ।’ उनले खोप अभियानका लागि भने आफूहरूले पूर्वतयारी गर्ने जानकारी दिए । महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले साउनको अन्तिम साता गाभीसँग १७ लाख मात्र ‘एचपिभी’ खोपको प्रस्ताव गर्दै पत्र पठाइएको जानकारी दिए । दश देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १६ लाख ५० हजार रहेको छ । ‘हामीले गाभीसँग खोपका लागि औपचारिकरूपमा पत्र पठाएका छौं,’ उनले भने, ‘गाभीले हाम्रो पत्रलाई सकारात्मकरूपमा लिएको छ ।’ यसअघि शाखाले दादुरा-रुवेला रोग विरुद्धको खोप अभियानका लागि पनि गाभीसँग ५७ लाख मात्रा खोप माग गर्दै पत्र पठाएको थियो । शाखाका प्रमुख डा गौतमले क्रमशः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपलाई प्रत्येक वर्ष अभियानका रूपमा सञ्चालन गरिने बताए । उनका अनुसार हरेक वर्ष साढे तीन लाख १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । “यसवर्ष हामीले गाभीबाट सहयोग प्राप्त गरे पनि प्रत्येक वर्ष नै लगाउने हाम्रो योजना छ,’ उनले भने, ‘खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ ।’ नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । सन् २०२२ को तथ्याङकमध्ये दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । शाखाका प्रमुख डा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एक मात्रा लगाउन मिल्ने खालको माग गरिएको पत्र पठाइएको बताए । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाकारूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो । अहिले केही निजी अस्पतालले किशोरीलाई उक्त खोप पाँचदेखि छ हजार रुपैयाँ तिरेर लगाइने दिने गर्दछन् । सरकारले गत असारमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ल्याएको २० हजार मात्रा एचपिभी खोप नीतिगत निर्णय नभएकाले अहिलेसम्म लगाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘ह्युमन प्यापिलोमा भाइरस’ को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउँछन् । उनका अनुसार उक्त भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । दुई सय प्रजातिका ‘ह्युमन प्यापिलोमा भाइरस’ मध्ये १६ र १८ प्रजातिको भाइरसले बढी सङ्क्रामक हुने गरेको र उक्त प्रजातिका भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने उनको भनाइ छ । क्यान्सर रोग विशेषज्ञ डा शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताउँछन् । “नेपालमा हरेक दिन छ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ । अझ यस क्यान्सरबाट दुर्गम क्षेत्रका महिला बढी नै रहेका छन्”, उनले भने, “यो क्यान्सरबाट बचाउनका लागि खोप नै आवश्यक पर्दछ ।” उनी असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउँछन् । रासस
भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा
चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ । यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उनले बताए । अर्को महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उनले जानकारी दिए । यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उनको भनाइ छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताए । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ । अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ । पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ । उनका अनुसार औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिनेछ । बिरामीले औषधिसम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उनले बताए । अस्पतालका वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीका अनुसार घरमा वृद्धवृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ । ज्येष्ठ नागरिकहरुले एकैजनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएरसमेत अस्पताल आउने गरेको उनले बताए । यो सेवाबाट पूरै समाधान नभए पनि केही हदसम्म सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘परिवारमा ज्येष्ठ नागरिक मात्र हुँदा औषधि खुवाउने विषयमा जान्ने बुझ्ने मान्छेले नियमित परामर्श दिन जरुरी छ ।’ कतिपयले एउटै औषधि दुई पटक खाने, कुनै समय औषधि खान भुल्नेजस्ता समस्याले रोग बल्झने गरेको चिकित्सकहरु बताउँछन् । वरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर वृद्ध बाबुआमा मात्रै यहाँ भएकामा औषधिको धेरै समस्या आउने गरेको बताए । तोकिएको मात्राअनुसार औषधि नखाँदा समस्या हुने गरेको उनको भनाइ छ । रासस