नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२ सय बिरामीको निःशुल्क शल्यक्रिया हुने
काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा।डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरि बिभिन्न आँखा शिबिरहरुको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ । उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे । त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले बिगत ५ बर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसंग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढि बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताए । उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले कतार च्यारिटीसंगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरुले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत ब्यक्त गरे । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानिय तहहरुसंघको सहकार्यमा बार्षिक हजारौँ निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरहरु संचालन गर्दै आइरहेको छ । त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकिकृत विकास कार्यक्रम९एनआईडिपी०–२’ परियोजना अन्तरर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानिय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशिलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रदेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको सङ्ख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरुप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिए । विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो । हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उनको भनाइ छ । साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा छन् । त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ । यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ । प्रा. डा. पौडेलका अनुसार सेवा सुविधा बिस्तार गर्ने क्रममा यसैवर्ष क्याथल्याव सञ्चालन गरिनेछ भने अत्याधुनिक ट्रमा सेन्टर पनि निर्माणको प्रक्रियामा छ । अस्पतालले रोटरी क्लबसँगको सहकार्यमा अर्को वर्षको असारसम्म सुविधा सम्पन्न स्पाइनल इन्जुरी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ । ‘प्रयोगशालालाई उच्चस्तरको आधुनिक बनाइएको छ भने १२ शय्याको डायलासिस बढाएर १७ शय्याको पु¥याइएको छ’, पौडेलले भने, ‘केही दिनमै यसलाई २० शय्या बनाइनेछ ।’ पौडेलका अनुसार अस्पताल प्रसूतिका लागि पनि परिचित छ । यहाँ विभिन्न जिल्लाबाट प्रसूतिका लागि ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । सोही विषयलाई ध्यानमा राख्दै प्रसूति विभागमा शय्या र कक्ष आधुनिक बनाइएको उनले जानकारी दिए । अस्पतालमा सुरक्षित बनाउन प्रवेशका लागि ‘डिजिटल कार्ड प्रणाली’को व्यवस्था गरिएको उनको भनाइ छ । अस्पतालमा दुई मोडुलरसहितका सात शल्यक्रिया कक्ष सञ्चालनमा छन् । अस्पताल परिसरमा निर्माण गरिएको बगैँचाले अस्पतालको सौन्दर्य बढाएको छ भने सेवाग्राहीलाई पनि सहज भएको उनको बुझाइ छ । अस्पतालमा हाल पाँच वटा फार्मेसी सञ्चालनमा छन् । अस्पतालले चालु आर्थिक वर्षभित्रै एमआरआई मेसिन ल्याउने योजना बनाएको डा.पौडेलले जानकारी दिए । प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अनलाइनबाट टिकट काट्ने व्यवस्था र कार्डबाटै भुक्तानीको व्यवस्था गरिएको छ । अस्पतालमा भदौ ३ गते एक दिनमा सबैभन्दा धेरै दुई हजार तीन सय ८० बिरामीले बहिरङग सेवा लिएका थिगए । अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अस्पतालमा रहेका छ सय शय्यामध्ये चार सय निःशुल्क गरिएको छ । हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । पौडेलले दरबन्दी थप हुने हो भने अझ राम्रो सेवा दिन सकिने बताए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको र अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि उनी उपचार गराउने बिरामीको सङ्ख्या बढेको बताए । उनले सरकारी अस्पतालमध्ये पहिलो पटक यस अस्पतालमा साधारण बहिरङ सेवा (जिओपिडी) सेवा सुरु गरिएको बताए । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ । रासस
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले दिए आवेदन
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९ जनाले आवेदन दिएको आयोगले जनाएको छ । प्राडा श्रीकृष्ण गिरी, प्राडा संगिता सिंह भण्डारी, प्राडा पियुस दाहाल, प्राडा मनेनप्रसाद गोर्खाली, प्राडा सुमनकुमार श्रेष्ठ, डा, प्रविण मिश्र, डा विद्यानिधि पौडेल, डा प्रमोदकुमार यादव र डा अन्जनीकुमार झाले आवेदन गरेको समितिले जनाएको छ । समितिले साउन २६ गते उपाध्यक्ष पदका सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो । स्वीकृत भएका आवदेकहरुमध्येबाट एकजनालाई मन्त्रीपरिषदले ४ वर्षका लागि उपाध्यक्षमा नियुक्ति गर्नेछ । वर्तमान उपाध्यक्ष गिरीको कार्यकाल भदौ २६ गते सकिँदैछ ।