वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको जानकारी दिए । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको बताए । उनले सरकारले बनाएको नीतिअनुसार सञ्चालन भएका संस्थाहरु कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको बताए । उनले भने ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन आएको छ, यो किन र यसको मक्सद के हो ? यसको सर्वोपरी मक्सद गुणस्तर कायम गर्न हो । दोस्रो सर्वसाधारण जनताको चिकित्सा शिक्षामा पहुँच भएन, पहुँच वृद्धि गर्ने हो र तेस्रो शुल्क नियन्त्रणमा आउनुपर्छ भनेर हो । नीतिहरु अनुसार संस्थाहरु पनि स्थापित छन् भन्नेकुराबारे प्रश्न भएको छ, त्यसरी नीतिअनुसार चलेका संस्थाहरु १० देखि १५ प्रतिशत मात्रै होलान् । ३० हजार नर्सहरु विदेश गएका छन्, ७० हजार दर्ता छ । विदेश जानेहरुले सबैले नर्सिङ काम गरेका छैनन्, तिनीहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा होलान् ।’ समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै विवादरहित नीति बनाएर चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार तोक्नुपर्ने बताए । उनले आयोग र सिटिइभिटीको क्षेत्राधिकारमा विवाद हुँदै आइरहेको भन्दै त्यसका लागि आयोग र सिटिइभिटीले समन्वय बढाउनुपर्ने बताए । उनले भने ‘ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै एउटा नीति बनाएर यो यो क्षेत्राधिकार सिटिइभिटी र यो क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगको र आफ्नो आफ्नो क्षेत्राधिकारअनुसार काम गर्नेगरी क्वालिटी मेण्टेनलाई तलमाथि नहुनेगरी यो अहिलेको बेथितिलाई नियमन गर्नुपर्छ । नियमन गर्न आउने बेलामा सिटिइभिटीले पढाउँदै गरेका विषयहरु उहाँहरुको सुझावमा निकास दिनेगरी, की निजीलाई लखेट्नु प¥यो, की नियमन गर्नुपर्छ, जेसुकै गर भनेर छोड्दा बेथिति हुन्छ, दुवैले समन्वय गरेर जानुपर्छ । ऐन निर्माणका लागि विवाद हुनुभन्दा क्षेत्राधिकार कायम हुनेगरी ऐन संशोधन गर्नुपर्छ ।’

शैक्षिक योग्यता र दर्ता बिना स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित ३ वटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने, “स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।” स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । क्लिनिक अवैधरुपमा सञ्चालन गरिएका जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाइ छ ।

वात्सल्य सातौं वर्षमा प्रवेश, ३ हजार दम्पत्तीलाई आइभीएफबाट सन्तान

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ सातौं वर्षमा प्रवेश गरेको छ । नक्साल नारायणचौरमा रहेको वात्सल्य संचालनमा आएको सातौं वर्ष प्रवेश गरेको हो । वात्यल्यले यस अवधिमा आइभीएफ र प्राकृतिक पद्दतीबाट झण्डै सात हजार दम्पतीलाई सन्तान सुख उपलब्ध गराएको वात्सल्यका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए । आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको वात्सल्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुवेदीका अनुसार वात्सल्यबाट आईभीएफ पद्धतिमार्फत उपचार गरेका झण्डै ३ हजार दम्पत्तीले सन्तान सुख प्राप्त गरेका छन् । यो उच्च सफलता दर भएको उनले बताए । सन्तान नभएकै कारण समस्यामा परेको यति ठूलो जनसंख्यालाई यो छोटो अवधिमै सन्तान प्राप्तिका लागि सहयोगी बन्न पाएकोमा हामी गौरवान्वित छौं,’ उनले थपे । प्रजनन उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले क्रमसः नवीन प्रविधी, जनशक्ति सेवा र सुविधाहरु थप्दैं लगेको बताएको छ ।