बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी
बङ्गलादेश । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस वर्षको अगष्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् । एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिका बाहेक सबै महादेशहरूमा फैलिएको पाइन्छ । रासस
मेडिकल काउन्सिलको गल्तिले पक्राउ परेका थिए डाक्टर यादव
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई नेपाल मेडिकल काउन्सिलले गलत कागजात उपलब्ध गराउँदाको परिणामस्वरुप डाक्टर रंजितकुमार यादव पक्राउ परेको खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोलाई उपलब्ध गराएको कागजात फरक पर्दा डाक्टर यादब पक्राउ परेका हुन् । नेपाल प्रहरी सिआइबी ब्यूरोले साउन २५ गते महोत्तरी, पिपरा ८ स्थायी ठेगाना भएका विश्वनाथ यादवका छोरा डाक्टर रंजितकुमार यादवलाई पक्राउ गरेको थियो । २६ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गरी डाक्टर यादबलाई हिरासतमा राखेर थप प्रमाणको लागि नेपाल मेडिकल काउन्सिलमा पत्र काट्यो । मेडिकल काउन्सिलले सिआइबीलाई पक्राउ परेका डाक्टर रंजितकुमार देवेन्द्र यादवको छोरा नभएको भनेर जवाफ पठायो । नेपाल मेडिकल काउन्सिलले सिआइबीको मागअनुसार देवेन्द्र यादवका छोरा रंजितकुमार यादवको थप कागजपत्र माग गर्ने क्रममा विश्वनाथ यादवको छोरा डाक्टर रंजितकुमार यादवको कागजपत्र उपलपब्ध गराएकाले उनी पक्राउ परेका हुन् । काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले काउन्सिलमा दर्ता भएका चिकित्सक रंजितकुमार यादनव विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको अभिलेखबाट देखिएको सिआइबीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । २८ गते काउन्सिलको पत्रपछि डाक्टर यादव हिरासत मुक्त भएका छन् । तर, नेपाल मेडिकल काउन्सिलले भने २०७५ फागुनमा नै १६०३ जना चिकित्सकहरुको विवरण सिआइबीलाई बुझाएको थियो । सिआइबीले भने काउन्सिलले बुझाएको विवरणका आधारमा सबै डाक्टरहरुको अनुसन्धान गरेको देखिँदैन । [pdf id=430125]
मानिसमा गम्भीर रोगको कारण बन्दै प्लाष्टिक
काठमाडौं । बजारबाट घरमा तरकारी लैजान होस वा अन्य सामग्रीको लागि प्लाष्टिकको झोला प्रयोग गर्ने बानी धेरैको बनेको छ । घर बाहिर मात्रै नभएर घरभित्र वा कार्यालयमा समेत प्लाष्टिकको बोटलमा पानी राखेर पानी पिउने चलन धेरैको रहेको छ । भान्छामा बिस्कुटको प्याकेटदेखि चिनीको डब्बा सबै प्लाष्टिकले बनेका हुन्छन् । साथै स्टेशनरी, ग्याजेट, जुत्ता–चप्पल, आदि धेरैमा सायदै कुनै वस्तु होलान जसमा प्लाष्टि प्रयोग नभएको होस । तर, प्लाष्टिक विष बनेर हाम्रो शरीरमा घुलिरहेको विषयलाई भने हामीले बुझिरहेका छैनौं । आँखाले देख्न नसक्ने प्लाष्टिकका कणले हाम्रो मृगौला र कलेजोलाई गम्भीर असर पुर्याएर क्यान्सरको कारण बनिरहेको छ । प्लाष्टिक मानिसदेखि पृथ्वीको लागि निकै खतरनाक बनिरहेको छ । खाना र स्वाससँगै निलिरहेका छौं प्लाष्टिक नेदरल्यान्ड्सको युनिभर्सिटी अफ एम्सटडर्मले गरेको एक अनुसन्धानमा ८० जना मानिसको रगतमा प्लाष्टिकको कण भेटिएको जनाएको छ । पाँच मिलिमिटर अथवा सो भन्दा छोटो आकारको प्लाष्टिकको कणलाई माइक्रोप्लाष्टिक भनिन्छ । पानीको बोटलबाट पानी पिउने, टुथब्रसले दाँत माझ्नेदेखि लिएर सास फेर्दा प्लाष्टिक हाम्रो शरीरभित्र पुगिरहेको छ । वल्र्ड वाइल्डलाइफ फेडेरेसनका अनुसार एक हप्तामा दुई हजार प्लाष्टिकका कण मानिसको शरीरमा पुगिरहेको छ भने एक वर्षमा एक जना मानिसले एक लाख बढी माइक्रोप्लाष्टि निलिरहेको छ । जसले मानिसको कलेजोदेखि मृगौलामा गम्भीर असर पुर्याउनुका साथै रक्तचाप समेत बढाउने काम गरेको छ । एजेन्सीको सहयोगमा ।