भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क हुने

चितवन । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड ९शय्या० निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए । अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट हुने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टर सँग बुधबार सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले फिटनेस सेन्टरमा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिजिकल फिटनेस सेन्टर लाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन् । उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं फिटनेस सेन्टर मा डाइटिसियनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै

बाजुरा । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । “स्क्रब टाइफस एक सरुवा रोग हो । यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ । यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ”, अस्पतालका निमित्त कार्यालय प्रमुख डा .मिलन जोशीले भने । उनले मलेरिया र डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताए । त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा. जोशीको भनाइ थियो । सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले जिल्लामा अहिले आत्तिनुपर्ने अवस्था भने नआएको बताए । जिल्लामा मार्तडी र कोल्टीमा डेङ्गुको सङ्क्रमण फैलिनसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेमा डा. जोशीले जोड दिए । सदरमुकाम क्षेत्र भएकाले यहाँ धेरै भीडभाड हुनुका साथै बजारबाट आउने ढलको उचित व्यवस्थापन नहुँदा लामखुट्टेको खतरा बढी रहेको उनको भनाइ थियो । डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेलगायत लक्षण देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेङ्गु, मलेरिया, स्क्रब टाइफसको अहिलेसम्म कुनै रिपोर्ट नआएको जनाएको छ । रासस