काठमाडौं । नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चर र चिकित्सकहरु बीचको सहकार्य र अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मेडिसिटीले जनाएको छ ।
रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबीच छलफल र प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ । स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरुको लागि अनुभव तथा सो क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको जनाईएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि अस्पतालले जोड दिएको दाबी गरे ।
अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा. रोजिना बादल मुनीरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर बनेको बताए ।