बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा परीक्षण गर्दा ९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।
धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिए । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ ।
अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निरन्तरको वर्षाले खोज र नष्ट गर अभियानसमेत ओझेलमा परेकामा रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमसमेत थालिएको छ । रासस