चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

वीरगञ्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् । पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा. सिंहकाे भनाइ छ ।

मान्छेले मासु खान छाडेका हुन् ?

काठमाडौं । पूर्वी पहाड धनकुटाबाट काठमाडौंमा बस्दै आएका नितेश राईको चुलोमा अहिले महिनाको बल्लतल्ल दुई/तीन दिन मासु पाक्छ, त्यो पनि कुखुराको । श्रीमतीसँगै कीर्तिपुरमा बस्ने उनको चुलोमा पहिले दिनको एक छाक अनिवार्य मासु हुन्थ्यो । खसी, राँगा, बंगुरको मासु त महिनाको पाँच/छ पटक अनिवार्य नै हुन्थ्यो । तर, आजभोलि त्यस्तो छैन । किन भान्छामा मासु पाक्न छोड्यो भनेर जिज्ञासा राख्दा उनी भन्छन्, ‘काम पनि छैन खानुपनि छैन, दाम भए पो मिठो माम हुन्छ ।’ नितेश काठमाडौँमा ज्यालामजदुरीको काम गर्छन् । दुई महिना भयो अहिले काम नपाएर खाली बस्नु परेको छ । ‘पहिले कतै घर बन्थे, कतै भवन बन्थे, खाली बस्न पर्दैन्थ्यो, आजभोलि काम खोज्न जाँदा पनि काम पाइँदैन, भाडा त कसरी तिर्ने भन्ने भएको बेला कसरी मासु खान पाउनु,’ उनले भने । नितेशकी श्रीमती पनि ज्याला मजदुरी गर्छिन् । दुवैजनाको कमाईले खानबस्न पुगेर घर खर्च पठाउन समेत हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । ‘पहिले दुवैजनाले एक दिनमा एक हजारभन्दा बढी कमाउँथ्यौं, खानबस्न सजिलो थियो । तर, अहिले काम नै पाउन छोड्यो,’ उनले भने । ६ वर्षदेखि यही काम गर्दै आएका नितेश र उनकी श्रमतीलाई काम नपाएर बस्नुपरेको यो पहिलो वर्ष हो । पहिले कहिले घर, कहिले सडक कतै न कतै काम पाइन्थ्यो । तर, आजभोलि काम पाउन पाइँदैन । कामै नहुँदा भान्छामा मासु पाक्न छोडेको उनको भनाइ छ । तपाईं मासु खानुहुन्छ ? उसो भए मासु किन्न जाँदा व्यापारीको गुनासो पनि सुन्नु भएको होला, ‘आजभोलि व्यापार नै कम हुन थाल्यो ।’ छैन भने एक पटक सोध्नुस् सायद जवाफ यही पाउनु हनेछ । व्यापारीहरू मान्छेले मासु नै खान छोडेको सुनाउँछन् । नितेशको चुलोमा मासु पाक्न छुटेजस्तै बजारमा व्यावसायीहरूको पनि व्यापार हुन छोडेको छ । त्रिशुलीका सानोभाइले काठमाडौँको कलंकीमा मासु पसल खोलेको करिब १० वर्ष भयो । उनी बंगुरको मासु बेच्छन् । मासिक ४० हजार भाडा तिरेर मासु व्यवसाय गरेका उनी अहिले पसल बन्द गर्ने कि के गर्ने भन्ने विषयमा दोधारमा छन् । व्यापार पहिलेको जस्तो हुन छोडेपछि उनी यस्तो अवस्थामा पुगेका हुन् । ‘अहिले व्यापार आधाले घटेको छ, पहिले दैनिक ९० किलो मासु बिक्री हुन्थ्यो, अहिले ४० किलो पनि मुस्किलले हुन्छ, डेढ वर्षयता व्यवसाय सुस्ताएको छ,’ उनी निराश हुँदै भन्छन्, ‘ मासु किन्न आउनेले पैसा छैन भन्छन्, काम नपाएको गुनासो गर्छन्, पहिले मासिक ४० हजार कमाउेहरू अहिले १५/१६ हजार मात्रै कमाइ भइरहेको बताउँछन् ।’ कंलकीमै मासु व्यापार गरिरहेका निलमप्रकाश शाहीको भनाइ पनि सानोभाईकोजस्तै छ । १२ वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका उनी केही वर्षयता व्यापार आधाले घटेको बताउँछन् । उनी भन्छन्, ‘देशको राजनीतिक अवस्था, आर्थिक मन्दी, खोइ के–के कारण हो, व्यापार त हुनै छोड्यो ।’ पाँच वर्ष पहिले निलमप्रकाशदिनमै एक खसीको मासु बेच्थे । तर, अहिले २०/२५ केजी मासु बिक्री गर्न पनि उनले तीन/चार दिन समय कुर्नु पर्छ । अहिले कुखुराको मासु पनि दैनिक २५ केजी मात्र बिक्री हने गरेको उनको भनाइ छ । ‘मुख्य विषय त व्यापार नै हुँदैन, अर्को, बंगुर नै पाउन गाह्रो छ, पसलको भाडा बढेको बढ्यै छ, बालबच्चा पढाउनै पर्‍यो, खाना खानै पर्‍यो, व्यापारको अवस्था यस्तो छ, के गर्नु टिक्नै गाह्रो छ,’ उनले दुखेसो गर्दै भने । माछा मासुको व्यापार ५० प्रतिशत घट्यो नेपाल माछामासु व्यवसाय संघका अध्यक्ष रमेश खड्गी अहिले ५० प्रतिशतले मासु खपत घटेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै खसीको मासु खपत हुन छोडेको छ भने बंगुर र रागाँको मासुको व्यापार पनि घटेको छ । ‘कुखुरा अलि सस्तो हुँदा प्रायले खाएकै पाइन्छ नभए मासुको बजार ओरालो लागि सक्यो, खसीको मासु खानेहरू कमै भेटिन्छन्,’ उनले भने । उनका अनुसार नेपालभर दैनिक ५ लाख कुखुरा बिक्री हुने गरेकोमा अहिले मुस्किलले ३ लाख मात्रै बिक्री हुने गरेको छ । यस्तै, माछा पनि देशभर ३ लाख खपत हने गरेकोमा अहिले डेढ लाख मुस्किलले बिक्री हुन्छ । यस्तै, राँगा दैनकि १ हजार खपत हुने ठाउँमा चार सय र बगुंर ४ सय खपत हुने ठाउँमा दुई सयमा झरेको छ । खड्गी भन्छन्, ‘मासु खानेसँग पैसा छैन, पैसा हुनेसँग मासु खान मिल्ने अवस्था छैन ।’ खसीबोका बिक्री संघ खसीबजार व्यवस्थापन समितिका व्यवस्थापक जीवन खतिवडाले विगत एक/डेढ वर्ष यता माछा मासुको व्यापार घटेको बताए । खसी बोकाको मासुको व्यापार ३० प्रतिशत घटेको छ । पहिले दिनको हजारका दरले महिनामा ३० हजार खसीबोका बिक्री हुन्थे । तर, आजभोलि संख्या घटेर मासिक १५/२० हजारमा झरेको छ । ‘बजारमा मासु नजाँदा यसको असर किसानलाई प¥यो, दशैंको बेला पनि खसीबोका बिक्री नहँदा किसानले फिर्ता लिनु पर्‍यो ।’ अहिले खसीको मासुको बजार मूल्य १३ सय बढी छ । ‘एक छाक खाना खान धौधौ परिरहेको बेला यत्रो पैसा तिरेर खान कसले सक्छ,’ उनी भन्छन्, ‘कमाइ नहुँदा खानामा यसको असर परेको हुन सक्छ ।’ पसुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल पहिले भन्दा अहिले नेपालमै उत्पादन हुने मासु बढेको बताउँछन् । उनका अनुसार नेपालमा अहिले १ करोड ४२ लाखको हाराहारीमा खसी बाख्रा छन् भने ५/६ करोडको हाराहारीमा कुखुरा छन । यस्तै, १५ लाखको हाराहारीमा बंगुर र ८ लाखको हारहारीमा भेडा छन् । यी सबै जनावरबाट दुध, मासु अण्डा, माछा उत्पादन हुन्छ । नेपालमा एक वर्षमा ५ लाख १२ हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको उनी बताउँछन् । १ लाख १४ हजार मेट्रिक टन माछाको मासु उत्पादन हुन्छ । नेपालमा यति मासु उत्पादन हुन्छ भन्दैमा सबैले किनेर खान सक्ने अवस्था नरहेको उनी बताउँछन् । बजारमा पाउँदैमा सबैले खानसक्ने अवस्था हुँदैन । ‘बजारमा पाइन्छ भन्दैमा सबै कुरा सबैले खान सक्दैन, कसले कति खान्छ र खाँदैन भन्ने कुरा व्यक्तिको आर्थिक अवस्था हेरेर हुन्छ, जसको कारण पनि मासु खानेको संख्या घटेको हुन सक्छ,’ उनले भने । किन घट्यो खपत ? नेपाली बजारमा मासुको खपत किन घट्यो भन्नुको एउटै जवाफ नभएको विज्ञहरू बताउँछन् । अहिले सबै क्षेत्रमा आर्थिक सुस्तता छ । विकास निर्माणका काम ठप्प भएका छन् । ज्याला मजदुरी, लेबरी काम गर्नेहरूले काम पाएका छैनन् । यस्ता विभिन्न कारण पनि मान्छेले मासु खान छोडेको उनीहरूको भनाइ छ । नेपाल माछामासु व्यवसाय संघका अध्यक्ष रमेश खड्गी मासु खाने भनेको युवाहरूको जमात देशभन्दा बाहिर हुँदा पनि मासुको बजार ओरालो लागेको बताउँछन् । ‘माछा मासु धेरै खाने भनेको युवाहरू हो, उनीहरूलाई देशमा भेट्नै गाह्रो छ, स्वदेशमा रहेका वृद्धवृद्धालाई स्वास्थ्यले नै मासु खान साथ दिँदैन, नेपालमा मासुको खपत घट्नुको एउटा कारण यो पनि हुन सक्छ,’ उनले भने । अहिले धेरै मान्छे बेरोजगार छन् । रोजगारीमा भएकाहरूको पनि तलब बढेको छैन । धेरै मान्छेलाई हातमुख जोर्न नै समस्या भइरहेको बेला मासु खान सक्ने अवस्था नभएको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् । आर्थिक प्रभाव मुख्य कारण मान्छेको हरेक सम्बन्ध अर्थसँग जोडिएको छ । देशको अर्थतन्त्र नकारात्मक अवस्थामा हुँदा त्यसको असर मान्छेको पेटमा पर्छ । अहिले बजार महँगिएको छ । बजार महँगिदा त्यसको असर भान्छामा पर्‍यो । पहिले १७ सय पाइने २० किलो चामल अहिले २४ सय रुपैयाँ पर्छ । यसले आर्थिक स्तर न्यून भएका व्यक्तिमा ठूलो मार परेको छ । नेपालीको आयस्तर नै घटेपछि धेरैजसोले मासु खान छोडेको जानकारहरू बताउँछन् । सचेतना पनि जाग्यो अहिले नेपाली समाज धेरै सचेत भइसकेको छ । धेरै जसोले माछा मासु खान नै छोडेका छन् । मांसाहारीभन्दा साकाहारी बन्नेको संख्यान बढ्न थालेको छ । धेरै मानिसमा माछा मासुको सट्टा फलफूल, हरियो सागपात, गेडागुडी खानुपर्छ भन्ने चेत धेरैमा जागिसकेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीले पनि माछामासुले स्वास्थ्यमा पर्ने प्रभावका विषयमा पनि सल्लाह दिन थालेका छन् । यसले पनि एक जमात मासु छोड्नतिर लागेको छ । अर्को, मुख्य विषय भनेको खाने इच्छा भएकाहरू खान सक्ने अवस्थामा छैनन् । पोषणविद् डाक्टर अरुणा उप्रेती स्वस्थ रहन मांसाहारीभन्दा साकाहारी रहन सल्लाह दिन्छिन् । उनी आफ्ना हरेक लेखमार्फत् नेपालीहरूलाई कस्ता खानेकुरा खाँदा स्वस्थ रहन्छ भन्नेबारे सल्लाह दिरहेकी हुन्छन् । उनी सकेसम्म आफ्नै बारीमा आफै उम्रिने, साग, सिस्नो हरियो सागपात खान जोड दिन्छिन् । ‘मासु खानु स्वस्थकर हो कि होइन भन्ने प्रश्नको जवाफ एउटै नहोला, मांसाहारीले शाकाहारीलाई प्रोटिन नै पुग्दैन । तर, शाकाहारीहरूलाई प्रोटिन पुग्दैन भन्ने तथ्यचाहिँ ठीक होइन, म आफैं शाकाहारी भएको २६ वर्ष भयो, उनी भन्छिन्, ‘मलाई प्रोटिनको कमी छैन ।’

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ” मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।