स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कामभन्दा विदेश भ्रमण प्यारो, ८ महिनामा ४४० जनालाई घुमघामको अवसर

काठमाडौं । पछिल्लो ८ महिनाको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न विदेशी निकायहरुले १७८ वटा कार्यक्रममा आमन्त्रण गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालय र केही अन्य सम्बन्धित निकायको तर्फबाट ४४० जना सहभागी भएका छन् । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको वैदेशिक कार्यक्रममा सहभागिताको तथ्यांक हेर्दा मन्त्रीदेखि विभिन्न निकायमा आवद्ध कर्मचारीहरूले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका तालिम, कार्यशाला र अवलोकन जस्ता कार्यक्रमहरुमा सहभागिता जनाएको देखिन्छ । कतिपय कर्मचारीहरूले धेरैपटक दोहोरिएर गएकाे देखिन्छ भने कतिपय कर्मचारीहरूले एकपटक ती कार्यक्रममा सहभागी भएको तथ्यांकमा उल्लेख छ । कर्मचारीहरूले वैदेशिक भ्रमण तथा कार्यक्रममा गरेको समय खर्च हेर्दा उपलब्धि महत्वपूर्ण हुनुपर्ने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउनुपर्ने देखिन्छ । तर, त्यसको नतिजा भने विरोधाभाषपूर्ण नै भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको मात्रै ११० वटा कार्यक्रम पछिल्लो आठ महिनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले सबैभन्दा धेरै विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म मात्रै विश्व स्वास्थ्य संगठनले आयोजना गरेका विभिन्न १०९ वटा कार्यक्रममा नेपालको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयलाई आमन्त्रण गरेको थियो । जसमा स्वास्थ्य मन्त्रालय लगायत विभिन्न अन्य निकायबाट ३३१ जना सहभागी भएका थिए । विश्व स्वास्थ्य संगठनले नेपाली प्रतिनिधिहरुलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरको वर्कसप, सम्मेलन, बैठक लगायतका महत्वपूर्ण कार्यक्रममा सहभागी गराउने गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष विश्व स्वास्थ्य संगठनले धेरै कार्यक्रम आयोजना गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी युनिसेफ, युएसआइडी नेपाल, परराष्ट्र मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका अन्य निकायहरुले विदेशमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई सहभागी गराएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड महामारीदेखि अघिल्ला वर्षहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम कमि भएको र पछिल्लो समयमा भएका नियमित कार्यक्रमहरु बढी देखिएको बताए । मन्त्रालयले कार्यक्रमअनुसार संघीय मन्त्रालयदेखि स्थानीय अस्पतालसम्मका कर्मचारीलाई सहभागी गराएको तथ्यांकमा उल्लेख गरिएको छ । उपलब्धि के ? मन्त्रालय र सम्बद्ध निकायहरूको दैनिक कामकाज छोडेर वैदेशिक संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सयौं कर्मचारी सहभागी हुँदा पक्कै पनि मन्त्रालयका विभिन्न कामहरू प्रभावित भएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग र आधुनिकीकरणको विषयमा प्रश्नहरु उठ्दै आएका पनि छन् । वैदेशिक कार्यक्रमहरूमा सरकारका पदाधिकारीहरू र कर्मचारीहरू सहभागी हुने तर, त्यसको प्रभाव नीति तथा कार्यक्रमहरुमा भने नपरेको गुनासो विज्ञहरूले गर्दै आएका छन् । तर, विदेशी संघ संस्थाहरूले दिएको आफ्नै खर्चमा नेपालीलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदा त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन फाइदा पुर्याउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको भनाइ छ । विदेशी संस्थाहरूले आयोजना गरेर आमन्त्रण गरेको कार्यक्रममा नेपालको तर्फबाट अनिवार्य सहभागिता जनाउनुपर्ने भन्दै उनले भने, ‘नेपाल सरकारलाई व्ययभार नपर्नेगरी विदेशी संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा नेपाललाई अल्पकालीन र दीर्घकालीन दुवै फाइदा हुन्छ, अल्पकालीन प्रभाव तत्कालै देखिन्छ तर, दीर्घकालिन प्रभाव भने व्यक्तिको क्षमता विकास र राज्यको स्वास्थ्य नीति र कार्यक्रममा देखिन्छ ।’ हेर्नुहोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका कार्यालयको तर्फबाट आठ महिनामा भएको विदेश भ्रमणको विवरण [pdf id=453435]

अटिजम रोग होइन, समस्या हो

चितवन । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना  छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।  मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ । एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए । उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ । अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’ नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनस्थापनाले सुधार गर्न सकिने जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताएयो । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उनको भनाइ थियो । गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । रासस

पुस ५ गतेदेखि नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ । पुस ५ देखि ७ गतेसम्मभृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी’ जुन मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् संयोजकत्वमा प्रदर्शनी आयोजना हुन लागेको हो। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहनेछन् । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने जनाइएको छ। नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको आयोजनकले जनाएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ । नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०५ आयातको साझेदार हो, तसर्थ यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्दछ । नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर पनि बन्नेछ। यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउने आयोजनकले विश्वास लिएको छ। यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको आयोजकले जानकारी दिएका छन् ।