
कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशीलका बिरामीको खोजपड्तालको कार्य अगाडि बढाएको छ ।
हात्तीपाइले र हाइड्रोशील रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरूको खाजी गरिरहेको हो । अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ ।
सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशीलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडि बढाइएको अधिकृत रावलले बताए ।
जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘स्थानिय स्वास्थ्य संस्थाहरूसँग समन्वयको कार्य गरी क्याम्प सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘हालसम्म बेलौरी र शुक्लाफाँटाको दीपनगरमा रहेको स्वास्थ्य संस्थामा क्याम्प सञ्चलन गरिएको छ, त्यसमा १८ जना हाइड्रोशिलका बिरामी फेला परेका छन ।’
यसपछि पिपलाडी, देखतभूली, बेलडाँडी लगायतका क्षेत्रमा क्याम्प सञ्चालन गरिने उनको भनाइ छ । हात्तीपाइले र हाइड्रोशीलका बिरामी गाउँघरमा धेरै लुकेर बसेका भए पनि विभिन्न कारण क्याम्पससम्म आउन नसकेको उनले उल्लेख गरे ।
वर्षौदेखि रोग लुकाएर बसेका बिरामीको खोजी गरी महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइने कार्यमा सहयोग गर्न उनले आग्रह गरे । दुई वर्षका बालकदेखि ७० वर्षका वृद्धमा हाइड्रोशीलको समस्या देखिएको उनले जानकारी दिए ।
त्यस्ता बिरामीको संख्या जिल्लाभरिमा एक हजारदेखि एक हजार दुई सयको हाराहारीमा रहेको उनको अनुमान छ । गत वर्ष मात्रै क्याम्प सञ्चालन गर्दा बेलौरी नगरपालिकाबाट मात्रै ६९ जना हात्तीपाइले र हाइड्रोशिल भएका बिरामीको शल्यक्रिया गरिएको थियो ।
हात्तीपाइले र हाईड्रोशीलका कारण छालामा सङ्क्रमण भई रोगीमा क्यान्सरसम्मको समस्या निम्तिन सक्ने भएकाले यसको उत्तम उपचार भनेकै शल्यक्रिया भएको उनी बताउँछन् । हात्तीपाइले र हाइड्रोशील रोग लामखुट्टेको टोकाइबाट हुने गरेको छ ।
मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै बुद्धिमानी हुने दीपनगर आधारभूत स्वास्थ्य चौकीका सिअहेव कृष्णराज जोशीले बताए । उनका अनुसार यो रोग देखिनुभन्दा पहिला नै औषधि सेवन उत्तम उपायका रूपमा रहेको छ । हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्ने उनी बताउँछन् ।
अण्डाशय सामान्यभन्दा ठूलो देखिनुलाई हाइड्रोशील भन्ने गरिएको जनाउँदै उनले यो रोग विशेष गरी पुरुषहरूमा देखिने गरिएको छ । केही बच्चाहरू जन्मँदै अण्डाशयमा पानी भरिएको देखिने गरेको भए पनि आफैं निको हुने गरेको उनले बताए ।
बच्चामा हाइड्रोशील हुने मुख्य कारण भनेकै अण्डकोष पेटबाट तल झरेको प्वाल पुनः खुलेर वा राम्ररी बन्द नभएर त्यहाँबाट पानी चुहुनु रहेको उनको भनाइ छ । शल्यक्रिया गरिएपछि हाइड्रोशीलको समस्या निदान हुने बताइएको छ । रासस