ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखिएको छ । हस्पिटलले १८ लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको हो । कम्पनीको गत मंसिर ३० गते सम्पन्न विशेष साधारण सभाले जगेडामा रहेको १८ लाख सेयर अंकित मूल्य १ सय रुपैयाँमा ४२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५२५ रुपैयाँ बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सो प्रिमियम मूल्य नघटने गरी एकमुष्ठ खरीद गर्ने वा नगर्ने भनी आन्तरीक रुपमा सेयरधनीहरूलाई पुस १ गते ७ दिनको समय दिई पत्राचार गरीएको थियो । अधिकांश सेयरधनीहरूको जवाफ आईसकेको र केहि सेयरधनीहरूको जवाफ नआएकोले उक्त प्रिमियम मूल्यको सेयर खरीदको दावीको लागि ७ सात दिनको समय दिइएको कम्पनीले जनाएको छ ।

केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो, सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं, अहिले बच्चाको अवस्था एकदम ठिक छ’, डा. श्रेष्ठले भने । उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा। श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन,  विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ’, उनले भने । केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो, अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो, तर, केही भएन, अप्रेसन सफल भयो’, बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’ केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ । परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ,  ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ , यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन’, डा. श्रेष्ठले भने ।

‘जेएन-१’ को त्रासमा नागरिक, सीमा नाकामा कडाइ गर्दै सरकार

काठमाडौं । नेपाल र भारतको खुल्ला सीमाका फाइदा र बेफाइदा दुवै छन् । नेपालीहरूलाई रोजीरोटीका लागि सहज काम पाइने र जान पनि सजिलो हुने देश भारत हो । जहाँ कति नेपाली मजदुर गरिरहेका छन् भन्ने एकिन छैन । जहाँ सहज त्यहाँ अफ्ठेरो भनेजस्तै खुला सीमाका कारण जोखिम पनि उत्तिकै छ । पछिल्लो समय भारतमा कोभिडको नयाँ भेरियन्ट (जेएन-१) फैलिएसँगै नेपालीहरू पनि त्रसित हुन थालेका छन् । भारतको केरला राज्यमा संक्रमण तीव्ररूपमा फैलिएको मात्र छैन गएको शनिबारमात्र ४ जनाको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्यमले नै लेखेका छन् । यो भेरियन्ट चीन, अमेरिकालगायत अन्य मुलुकमा पनि फैलिएको छ । यो भेरियन्ट भारतमा पनि फैलिएपछि नेपाल आउन नदिन सर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भारतमा देखिएको नयाँ भेरियन्ट नेपाल सहजरूपमा आउने भन्दै सजगता अपनाउन आवश्यक रहेको बताउँछन् । डा. पुनका अनुसार यो भेरियन्ट ओमिक्रोनकै सन्तान हो । यो घातक कत्तिको छ त्यो आफ्नो ठाउँमा छ । तर, जोखिम नियन्त्रण कम गर्न समयमै ध्यान पुर्याउनुपर्छ । ‘यो भेरियन्ट त्यति कडा त छैन भनिएको छ, खासमा कस्तो हो ? के हो ? भन्ने अध्ययन नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, कडा छैन भन्दैमा हामीले तयारी नगर्ने भन्ने हाेइन ध्यान चाहिँ दिनैपर्छ ।’ नेपालमा एक समय यस्तो आयो मान्छे देखेर मान्छे नै भाग्नुपर्ने । यतिसम्म कि आपत् विपदमा समेत मान्छेले मानवीय भावना बिर्से । हुन पनि स्वभाविक थियो । किन कि त्यो बेला मान्छेलाई आफ्नो ज्यान जोगाउनुपर्ने बाध्यता थियो । २०७६ साल माघ १० गते  पहिलोपटक चीनमा कोरोना संक्रमण पुष्टि भयो । संक्रमणले यस्तो रूप लियो कि लकडाउन लगाउनुपर्ने अवस्था आयो । चैत ११ गते सरकारले पहिलोपटक लकडाउन गर्यो । सबै मान्छे घरभित्रै थुनिए । त्यसपछिका दिन बिस्तारै सहज हुँदै आए । तर, बेलाबेला कोभिडका नयाँ भेरियन्ट देखिनेक्रम चलिरहेको छ । यसरी बेलाबेला देखिने भेरियन्ट कतिखेर कडारूपमा आउँछ थाहै नहुने हुँदा राज्यले समयमै ध्यान दिनुपर्ने बताउँछन् जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित । ‘यो भेरियन्ट कडा छैन भन्ने कुरो पनि छ । तर, कडा छैन भन्दैमा राज्यले ध्याननै दिनहुँदैन भन्ने हैन, सजगता अपनाउनै पर्छ,’ उनी भन्छन् । के गरिरहेको छ सरकार ? भारतमा ‘जेएन-१’ देखिएको समाचार आउनासाथ स्वास्थ्य मन्त्रालयले नआत्तिन भन्दै आग्रह गर्याे । तर, मन्त्रालयले आग्रह गरेरमात्र सम्भव हुँदैन । जनस्तरमा नै एक किसिमको त्रास फैलिएपछि अहिले सरकारले पनि यो विषयमा ध्यान दिएको छ । सरकारले नेपालमा संक्रमण फैलन नदिन के गरिरहेको छ भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीमा नाकामा रहेको हेल्थडेस्कमा जिन सिक्वन्सिङ परीक्षण काम भइरहेको बताए । उनले भने, ‘पहिले नै सीमामा स्थापना गरेका हेल्थ डेस्क छन्, ति डेस्कमा तालिम प्राप्त स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्नुका साथै परीक्षण पनि गरिरहनुभएको छ ।’ स्वास्थ्यकर्मीहरूले नाकामा कसैलाई रुघाखोकीको शंका लागेको छ भने उनीहरूको स्वाव लिएर टेस्ट गर्ने र परीक्षणको रिपोर्ट नआउन्जेलसम्म अलग बस्न पनि सल्लाह दिने काम गरिरहेको बुढाथोकीले बताए । त्यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परीक्षण गर्न थालिएको उनको भनाइ छ । हरेक वडामा रहेका स्वास्थ्य संस्था र पालिकामा रहेका अधारभुत स्वास्थ्य संस्थालाई पनि यो विषयमा जानकारी राख्न राज्यले निर्देशन दिसकेको छ । डाक्टर बुढाथोकी भन्छन्, ‘हामीले निर्देशन दिएबमोजिम अहिले पालिका र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले दैनिक र सातामा गरी रिपोर्टिङ गरिरहनुभएको छ ।’ नेपालमा भएको छैन पुष्टि भारत, चीनमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘जेएन–१’ नेपालमा भने पुष्टि भइसकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भेरियन्ट पत्ता लगाउन सीमा नाकाबाट आउने संक्रमितको नमुना संकलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा संक्रमितबाट संकलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा यो भेरियन्ट देखा नपरेको जनाएको छ । प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरियन्ट अफ इन्टरेस्ट फेला नपरेको बताए । उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा संकलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो । तर, विज्ञहरू भने नेपालमा पनि यो भेरियन्ट फैलिरहेको हुन सक्ने तर्क गर्छन् । संक्रामकरोग विशेषज्ञ डा. पुन ‘जेएन–१’ नेपालमा पनि फैलिरहेको हुन सक्ने बताउँछन् । ‘चिसो समयमा रुघाखोकीलाई हामी सामान्य तरिकाले लिन्छौँ, अहिले पनि धेरैजसो नागरिक रुघाखोकी लाग्यो भनेर उपचार नगराइ घरमै बसिरहेको हामी देख्छौँ,’ उनी भन्छन्, उनीहरूकै परीक्षण गर्ने हो भने पनि सायद यो भेरियन्ट पुष्टि हुन सक्छ ।’ डा. दीक्षित पनि डा. पुनको भनाइसँग सहमत छन् । उनी भन्छन्, ‘यो भेरियन्टको लक्षण पनि रुघाखोकीसँग मेल खान्छ भनिएको छ, अहिले रुघाखोकीका बिरामी घरघरमा भटिन्छन्, हामीले जाँच नगरेरमात्र हो नेपालमा फैलिएको हुन सक्छ ।’ आत्तिनु पर्देन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले चर्चामा आएको कोरोनाको नयाँ भेरियन्ट ‘जेएन–१’ घातक नभएकाले नआत्तिन आग्रह गरेको छ । डा. दीक्षित बुस्टर डोजमा जोड दिन आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले सतर्कता अपनाउनैपर्छ तर, फेरि समस्या पार्छ कि भनेर आत्तिन भने हुँदैन ।’ उनी यो विषयमा सरकारले तीन काम मुख्यरूपमा गर्न आवश्यक रहेको बताउँछन् । पहिलो, सबैभन्दा पहिले अहिले सनसनीपूर्ण नागरिक त्रसित हुने गरी जसरी समाचार आइरहेका छन्, यो सरकारले रोक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘जसरी समाचार आइरहेका छन् सरकारले पनि उस्तै जवाफ दिरहेको छ यो राम्रो हाेइन, पहिला यसलाई शान्त बनाउनुपर्छ ।’ दोस्रो, कोरोना पनि अन्य संक्रामक रोगजस्तै हो भनेर नागरिकलाई बुझाउनुपर्ने उनी बताउँछन् । ‘हामीले कोभिड १९ महामारीको सामना गर्नुपर्यो, धेरैले आफन्त गुमाएका छन्, भोगेर पनि हुनसक्छ नयाँ भेरियन्ट आयो भन्ने बित्तिकै हामी डराउँछौँ,’ उनी भन्छन्, ‘त्यसैले सरकारले यो रोग सामान्य हो भनेर बुझाउन सक्नुपर्यो । तेस्रो, बुस्टरडोज लगाउन नागरिकलाई प्रेरित गराउनुपर्यो ।’ यी कुरामा ध्यान दिऔँ कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै नेपाल सरकारले तयार पारेको स्वास्थ्य प्रोटोकलमा भने ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । कोरोना महामारी फैलिएसँगै यसबाट जोगिन के गर्ने भन्ने विषयमा सरकारले गर्न हुने र नहुने कुराको प्रटोकल नै बनाएको थियो । जनस्वास्थ्यविद् डा. दीक्षित अहिले पनि तिनै कुरामा ध्यान दिनुपर्ने बताउछन् । उनी भन्छन्, ‘कोही रुघाखोकी लागेको व्यक्ति भए उसको नजिक नजाने, जानैपर्ने भए मास्क लगाउने, हात नमिलाउने, खानपानमा ध्यान दिनेमात्र गर्यौँ भने पनि हामी कोरोनामात्र हैन धेरै संक्रामक रोगबाट बच्न सक्छौँ ।’