काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीलाई सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । महागनरले सुलभ फार्मेसी स्थापनाका लागि घर भाडामा लिन लागेको हो ।
बुधबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिका भित्रका ५ स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्ने स्वर्णिम योजना अनुसार महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी, लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको जानकारी गराएको हो । महानगरले महाराजगञ्ज क्षेत्रको वडा नं. ३, वीर अस्पताल क्षेत्रको वडा नं. २२, कालीमाटी क्षेत्रको वडा नं. १३ र लैनचौर क्षेत्रको वडा नं. २६ को स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १०० देखि २०० मिटर भित्रका क्षेत्रको घर भाडामा लिने भनेर प्रष्ट बताएको छ ।
भाडामा लिने घरको आवश्यक न्यूनतम मापदण्डहरू
महानगरका अनुसार भाडामा लिने घरको क्षेत्रफल न्यूनतम ८०० ( आठ सय) देखि १२०० (बाह्र सय) वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्नेछ । कम्तीमा ३ (तीन) वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने र मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्ने महानगरको मापदण्ड छ ।
त्यस्तै, घर, जग्गाको कर नियमानुसार भुक्तानी भएको, बिजुली बत्ती, पानी, तथा शौचालय (सकेसम्म फरक क्षमतामैत्री समेत) भएको र घर कम्पनी वा व्यक्तिको नाममा रहेको हुनुपर्नेछ बताइएको छ ।
त्यसैगरी, स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग जोडिएको वा सँगै रहेको भवनलाई प्राथमिकता दिइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय स्वास्थ्य विभागमा दर्ता गराउन आग्रह गरेको छ ।