स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कामभन्दा विदेश भ्रमण प्यारो, ८ महिनामा ४४० जनालाई घुमघामको अवसर

<p>काठमाडौं । पछिल्लो ८ महिनाको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न विदेशी निकायहरुले १७८ वटा कार्यक्रममा आमन्त्रण गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालय र केही अन्य सम्बन्धित निकायको तर्फबाट ४४० जना सहभागी भएका छन् । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको वैदेशिक कार्यक्रममा सहभागिताको तथ्यांक हेर्दा मन्त्रीदेखि विभिन्न निकायमा आवद्ध कर्मचारीहरूले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका तालिम, [&hellip;]</p>

काठमाडौं । पछिल्लो ८ महिनाको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न विदेशी निकायहरुले १७८ वटा कार्यक्रममा आमन्त्रण गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालय र केही अन्य सम्बन्धित निकायको तर्फबाट ४४० जना सहभागी भएका छन् ।

मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको वैदेशिक कार्यक्रममा सहभागिताको तथ्यांक हेर्दा मन्त्रीदेखि विभिन्न निकायमा आवद्ध कर्मचारीहरूले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका तालिम, कार्यशाला र अवलोकन जस्ता कार्यक्रमहरुमा सहभागिता जनाएको देखिन्छ ।

कतिपय कर्मचारीहरूले धेरैपटक दोहोरिएर गएकाे देखिन्छ भने कतिपय कर्मचारीहरूले एकपटक ती कार्यक्रममा सहभागी भएको तथ्यांकमा उल्लेख छ । कर्मचारीहरूले वैदेशिक भ्रमण तथा कार्यक्रममा गरेको समय खर्च हेर्दा उपलब्धि महत्वपूर्ण हुनुपर्ने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउनुपर्ने देखिन्छ । तर, त्यसको नतिजा भने विरोधाभाषपूर्ण नै भएको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनको मात्रै ११० वटा कार्यक्रम

पछिल्लो आठ महिनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले सबैभन्दा धेरै विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म मात्रै विश्व स्वास्थ्य संगठनले आयोजना गरेका विभिन्न १०९ वटा कार्यक्रममा नेपालको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयलाई आमन्त्रण गरेको थियो । जसमा स्वास्थ्य मन्त्रालय लगायत विभिन्न अन्य निकायबाट ३३१ जना सहभागी भएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाली प्रतिनिधिहरुलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरको वर्कसप, सम्मेलन, बैठक लगायतका महत्वपूर्ण कार्यक्रममा सहभागी गराउने गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष विश्व स्वास्थ्य संगठनले धेरै कार्यक्रम आयोजना गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी युनिसेफ, युएसआइडी नेपाल, परराष्ट्र मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका अन्य निकायहरुले विदेशमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई सहभागी गराएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड महामारीदेखि अघिल्ला वर्षहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम कमि भएको र पछिल्लो समयमा भएका नियमित कार्यक्रमहरु बढी देखिएको बताए । मन्त्रालयले कार्यक्रमअनुसार संघीय मन्त्रालयदेखि स्थानीय अस्पतालसम्मका कर्मचारीलाई सहभागी गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

उपलब्धि के ?

मन्त्रालय र सम्बद्ध निकायहरूको दैनिक कामकाज छोडेर वैदेशिक संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सयौं कर्मचारी सहभागी हुँदा पक्कै पनि मन्त्रालयका विभिन्न कामहरू प्रभावित भएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग र आधुनिकीकरणको विषयमा प्रश्नहरु उठ्दै आएका पनि छन् ।

वैदेशिक कार्यक्रमहरूमा सरकारका पदाधिकारीहरू र कर्मचारीहरू सहभागी हुने तर, त्यसको प्रभाव नीति तथा कार्यक्रमहरुमा भने नपरेको गुनासो विज्ञहरूले गर्दै आएका छन् । तर, विदेशी संघ संस्थाहरूले दिएको आफ्नै खर्चमा नेपालीलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदा त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन फाइदा पुर्याउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको भनाइ छ ।

विदेशी संस्थाहरूले आयोजना गरेर आमन्त्रण गरेको कार्यक्रममा नेपालको तर्फबाट अनिवार्य सहभागिता जनाउनुपर्ने भन्दै उनले भने, ‘नेपाल सरकारलाई व्ययभार नपर्नेगरी विदेशी संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा नेपाललाई अल्पकालीन र दीर्घकालीन दुवै फाइदा हुन्छ, अल्पकालीन प्रभाव तत्कालै देखिन्छ तर, दीर्घकालिन प्रभाव भने व्यक्तिको क्षमता विकास र राज्यको स्वास्थ्य नीति र कार्यक्रममा देखिन्छ ।’

हेर्नुहोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका कार्यालयको तर्फबाट आठ महिनामा भएको विदेश भ्रमणको विवरण

[pdf id=453435]

Share News