काठमाडौं । जलनका बिरामीहरूको उपचारका लागि सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको स्किन बैंकमा छाला दान गर्नेको संख्या नगण्य देखिएको छ । कीर्तिपुरको बर्न अस्पतालमा छाला बैंक स्थापना गरिएको १० वर्ष भए पनि हालसम्म ३६ जनाले मात्रै छाला दान गरेका हुन् । छाला दान गर्ने मानिसको संख्या कम हुँदा जलनका बिरामी ठूलो समस्यामा पर्ने गरेका छन् । परिणाम स्वरूप उनीहरूले उपचार नपाएरै अकालमै मृत्युवरण गर्नु पर्ने स्थिति बनेको छ ।
छाला दान गर्नेहरू नहुँदा हाल स्किन बैंक नै प्रयोगविहीन अवस्थामा छ । स्किन बैंकको विषयमा रिपोर्टिङका लागि किर्तिपुरमा रहेको बर्न अस्पतालमा पुग्दा सो बैंक स्थापना गरिएको स्थानमा राखिएका स्किन बैंकका सामान पनि धुलोमाटोले भरिपूर्ण देखिन्छन् । अस्पतालमा काम गर्ने कर्मचारी बस्ने एक कोठामा सानो फ्रिज छ । त्यहीमाथि धुलोले छोपिएको सेकर मेसिन देखिन्छ । त्यही मेसिनभित्र एउटा सानो छालाको टुक्रा थियो । धूलो लागेको सो मेसिन पुछ्दै सो कोठामा रहेकी सहायक अधिकृत पद्मासोभा महर्जनले भनिन्, ‘कसैले छाला दान गर्नै मान्दैनन् ।’
‘यी सामानको अवस्था यस्तो छ, कहिल्यै प्रयोगमा नल्याउँदा छाला दान गर्नेहरू नहुँदा सामान समेत बिग्रन थालिसके,’ सामान देखाउँदे उनले भनिन् ।
एकातिर जलनका बिरामी छाला नपाई अर्को संक्रमण पर्ने जोखिम छ भने अर्कोतिर भएको स्किन बैंकमा छाला नहुँदा बैंक नै लगभग बन्दजस्तो छ । स्वास्थ्यसेवा विभागको तथ्ंयांक अनुसार नेपालमा हरेक वर्ष करिब ७५ हजार नागरिक जलनको समस्या लिएर अस्पताल पुग्ने गर्छन् । जलनमा परेका सबैजसो बिरामी अस्पताल पुग्दैनन् । कोही बिरामी घरमै अनेक उपचार गरी बसिरहेका हुन्छन् । जलन सम्बन्धी प्रत्यक्ष उपचारमा संलग्न चिकित्सकका अनुसार जलनमा पर्ने बिरामीको संख्या लाखभन्दा बढी छ ।
गत वर्ष कीर्तिपुर अस्पतालमा मात्र ७ सय ९० जना गम्भीर जलनका बिरामी भर्ना भएका थिए । तीमध्ये कम्तिमा २० प्रतिशतलाई आफ्नो छालाले नपुग्ने अवस्था हुन्छ । उनीहरूको लागि चाहिने छाला बैंकमा हुँदैन । ‘पैसा हुनेहरूले इन्डिया अथवा कतैबाट आफैं म्यानेज गर्नुहुन्छ नभए छाला बिनै उपचार गर्नुपर्ने बाध्यता छ,’ अस्पताल एकजना चिकित्सकले भने ‘स्किन बैंक स्थापना भएको १० वर्षसम्म ३६ जनाले मात्रै छाला दान गरेका छन् ।
एउटा प्राणीलाई स्वस्थरूपमा जिउन छालाको आवश्यकतापर्छ । छाला जलेको नजलेको दुवैका लागि उत्तिकै आवश्यकपर्छ । छालाले व्यक्तिको स्वरूप निर्धारण गर्नेमात्र नभएर जिउको तापक्रम समेत नियमन गर्ने गर्छ । भिटामिन डीको निर्माण गर्ने विभिन्न खालको संक्रमणबाट पनि बचाउने काम पनि छालाले गर्छ । छाला नभएको अवस्थामा यी सबैकाम प्रभावित हुन्छन् । र, मान्छेको ज्यानमा खतरा हुन्छ । कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा.किरण नकर्मी छाला दान गर्न सकिन्छ भन्ने थाहा भएका व्यक्ति नै दान गर्नमा तयार नरहेको बताउँछन् ।
‘धेरैलाई छाला दान गर्नुपर्छ भन्ने थाहा छैन,’ उनी भन्छन्, ‘हामीले छाला दिँदा शरीरको भित्री भाग देखिएला, रगत आउला भन्ने भय एउटा हुन्छ भने अर्को मरेपछि पनि सग्लो शरीर हुनुपर्छ भन्ने सांस्कृतीक मान्यताले छाला दिन कोही चाहँदैनन् ।’
शरीरका हरेक अंग मान्छे मरे पनि काम लाग्छन् । आँखा, किड्नीजस्तै छाला पनि दान गर्न मिल्छ । कीर्तिपुर अस्पतालमा असपतालले जलन सम्बन्धि विभिन्न कार्यक्रम गर्ने गरेको छ । विभिन्न संघ सस्थासँग आवद्ध भएर जनचेतना जगाउँदा छालाबारे पनि जानकारी गराइन्छ ।
छाला दान गरेकाहरूको अनुभव
काठमाडौँको चाहाबालकी सरस्वती महर्जनका श्रीमानको मृत्यु भएको ६ वर्ष भयो । उनको शरीर खरानी भइसक्यो । तर, उनको आँखाले संसार हेरिरहेको छ । आँखा मात्र होइन, उनको छालाले कसैको शरीर ढाकिरहेको छ । एउटा महिलालाई श्रीमानको मृत्युको पीडा कस्तो हुन्छ ? यो भोग्नेलाई भन्दा बाहेक अरुले कल्पना मात्र गर्न सक्छ ।
श्रीमान नभए पनि श्रीमानका केही अंगले अरु कोही बाँचिरहेकोमा उनी खुसी छिन् । सरस्वतीलाई श्रीमानको आँखा र छाला दान गर्न भने सहज पक्कै थिएन । ‘पुरातनबादी सोच, हाम्रो संस्कार बाधक थियो, श्रीमानका अंग दान गर्दाको क्षण सम्झदै उनी भन्छिन्, ‘अंग दान गर्ने ईच्छा मेरो होइन, श्रीमानकै थियो । तर, अहिले त्यही अंग दान गर्दा आफन्तबाटै एक्लो भएर बस्नु प¥यो ।’
मृत्युअघि सरस्वतीका श्रीमानमा किड्नीको समस्या थियो । १५ दिनमा एक पटक उनको डायलासिस् गर्नु पथ्र्यो । त्यो बेला उनलाई दुई पोका रगत आवश्यक पथ्र्यो । योक्रम करिब १ वर्षसम्म चल्यो । हरेक दिन अरूको रगत आफ्नो शरीरमा राख्दा चन्द्र भन्थे, ‘म यत्रो समय अरुको रगतले बाँचे, म मर्नुभन्दा अगाडि के सेवा गर्न सक्छु होला भनेर प्रश्न गर्थे, ?’ सोही बेला अंग दान गर्ने कुरा भएको हो ।’
सरस्वतीलाई कसरी प्राणीको सेवा गर्ने ? अझ मानवले मानवलाई जीवन्त रहँदा वा मृत्युपरन्त कस्तो सहयोग गर्न सक्छ भन्ने कुरा थाहा थियो । उनी आफ्नो् टोलमा रहेको सन्त निरंकारीको ‘समाधान संत्संगत’मा जान्थिन्, त्यहाँ यस्ता कुराहरू सिकाइन्थ्यो । कुरा सिक्नेमात्र होइन, त्यहाँ बेलाबेला रगत दान पनि गर्नु पर्थ्याे । उनले मानिसको शरीर मरिसकेपछि पनि अंग अरुका लागि काम लाग्छ भन्ने जानकारी त्यहीँ पाएकी थिइन् ।
यी विषयमा उनका श्रीमान पनि जानकार थिए । त्यसपछि उनीहरू दुवैले मृत्युपरान्त आफ्ना शरीर दान गर्ने कुरा गरे । चन्द्रले सरस्वतीलाई आफ्नो मृत्युपछि शरीर नै दान गरिदिन भनेका थिएन । तर, सरस्वतीले आँखा र छालामात्र दान गर्न पाइन् ।
‘मैले श्रीमानको शरीर नै दान गर्ने भनेर वकिल समेत बोलाइसकेको थिएँ । तर, परिवारकै मान्छेले सहयोग गरेनन्,’ उनी भन्छिन्, दान गरिदिनु भनेकाहरूकै अंग दान गर्न नदिने समाज आफैं दान गर्छु भन्दै अगाडि बढ्न कसरी सक्छ ?’
आफ्नै छाला झिक्दाको दुखाइ
काठमाडौंकी जेनी खड्कालाई आजभन्दा चार वर्षअघि उनकै पूर्वपतिले एसिड छ्यापे । उनको हात र गर्धनको भाग जल्यो । उपचारको क्रममा जलेको भागमा छाला राख्नु पर्ने भयो । उनले आफ्नै छाला निकालेर जलेको भागमा राखिन् ।
उनी जिउँदो मान्छेले अरूलाई छाला दिन्छु भन्दा दुखाइ नै सहन नसक्ने बताउँछिन् । ‘सक्छु नै भने त भन्न सकिन्नँ । तर, मलाई जलनको पीडाभन्दा बढी छाला निकाल्दाको भयो,’उनी अनुभव सुनाउँछिन्।
उनी मृत्यु भइसकेपछि छाला दान गर्नु राम्रो भएको बताउँछिन् । ‘तिंग्राको मासु ल्याएर हात र घाँटीमा राखिएको छ । हप्ता दिनमा छाला निकालेको दुखाइहुन्छ, दाग पनि रहन्छ, छाला राखेको भागमा फरक हुन्छ, चिल्लो पसिना आउँदैन, चिलाउने बढी हुन्छ,’ उनी अनुभव सुनाउँदै भन्छिन् ।
‘जिउँदो मान्छेले छाला दिन गाह्रो’
जिउँदो अवस्थामा गर्ने अंग दानको लागि छुट्टै कानुन छ । जसमा आफ्नै परिवारको लागि मात्र अंग दान गर्न मिल्ने प्रावधान छ । जिउँदो मान्छेले दिएको छाला तत्कालै उनीहरूको आफन्तमा प्रत्यारोपण गरिन्छ । तर, यसरी जिउँदो मान्छेबाट छाला लिँदा खतरा हुने चिकित्सकको भनाइ छ ।
छाला निकाल्दा आधा जिउ बेहोस पार्नुपर्छ भने अस्पतालमा पाँच दिनसम्म भर्ना नै गर्नुपर्छ । ‘यो एक प्रकारको अप्रेसन हो, अप्रेसनमा जे–जे गर्नुपर्छ, त्यो सबै खतरा हुन्छ’ डाक्टर किरण भन्छन्,‘ कोही आफ्नै खुसीले आफ्नो मान्छेलाई छाला दिन्छु भन्नुहुन्छ भने हाम्रो भन्नु केही हुँदैन । तर, जिउँदो मान्छेलाई छाला दिन दिन हामी प्रोत्साहन गर्दैनौं ।’
मृत्युपश्चात् भने धेरै छाला लिने प्रयास गरिन्छ । जसमा तिंग्रा, मुनीको भागको, पिडौँला मुनिको छाला, पाखुरा र ढाडबाट छाला लिइन्छ । जिवित अवस्थामा निकालिने छालामा समस्या हुने भएकाले एउटा तिंघ्राबाट निकालिन्छ । अहिलेसम्म अस्पतालमा २९ जनाले आफन्तलाई छाला दान गरेका छन् ।
दानकोरूपमा पाएको छाला प्रयोग गर्दा शरीरमा जलनको गम्भीरतालाई हेरेर प्रत्यारोपण गरिन्छ । २० प्रतिशत बढी जलेको भागलाई गम्भीर जलन भनिन्छ । ३० प्रतिशतभन्दा बढी जलेको बिरामीलाई त्यसको आफ्नो छालाले पुग्दैन । ६० प्रतिशतदेखि माथिको जलनलाई नेपालमा बचाउन गाह्रो हुने चिकित्सक बताउँछन् । त्यो भन्दा माथिको जलन भएकाहरूमा छाला प्रत्यारोपण गरिँदैन । ३० देखि ५० प्रतिशत जलन भएका बिरामीलाई प्राथमिकतामा राखेर छाला प्रयोग गर्ने उनी बताउँछन् । 
के हो छाला बैंक ?
जलेको बिरामीको शरीरबाट धेरै छाला नष्ट हुन्छ । यस्तो बेलामा छाला नहुँदा संक्रमणको जोखिम बढी हुन्छ । कतिपय अवस्थामा जलनको घाउ ठूलो नभएको अवस्थामा बिरामीको आफ्नै छालाले छोप्ने गरिन्छ । छाला धेरै नास भएको अवस्थामा बिरामीको आफ्नो छाला पुग्दैन ।
यस्तो बेलामा छाला चाहिन्छ । कुनैपनि व्यक्तिले मृत्युपरन्त दान गरेका छालालाई ल्याएर एक ठाउँमा राख्ने उद्देश्यले छाला बैंक स्थापना गरिएको हो । यो छाला बैंकमा व्यक्तिले मृत्युअगाडि नै मृत्यु पश्चात मेरो छाला दान गर्नु भनेर सम्झौता नै गरेका हुन्छन् ।
छाला दान गर्ने व्यक्तिको मृत्यु भएपछि अस्पतालमा दाताको परिवारबाट फोन आउँछ । फोन आउने बित्तिकै टोली जान्छ । टोली त्यहाँ पुगिसकेपछि ट्रमोटम मेसिनले छाला निकालिन्छ । छाला निकाल्दा पातलो निकालिन्छ । जुन उसिनेको आलुका छाला जती पातलो हुन्छ । त्यो निकालिएको छाला अस्पतालमा ल्याएर सफा गरिन्छ । त्यसपछि सोलुसन हुन्छ ग्लासोली र एनएस राखेर सेकरमा सेकिन्छ ।
यसरी तयार पारेको छाला ३२.४ डिग्री फ्रीजमा राखिन्छ । यसरी राखेको छालालाई ५ वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ । छाला बिग्रन्छ कि बिग्रदैन भनेर परीक्षणका लागि पहिलो पटक ल्याएको छाला अहिलेसम्म राखिएको छ । १० वर्ष भयो तर, अहिलेसम्म बिग्रेको छैन । यो हेर्दा नेपालमा पनि स्किन डोनेशन गर्ने संख्या बढ्दै गयो भने स्टोर गर्न सकिने रहेछ भन्ने निष्कर्ष अस्पतालको छ ।
मृत्यु भएको ६ घण्टाभित्र छाला लिइसक्नुपर्छ । तर, शवलाई फ्रीजमा संरक्षण गरेर राखिएको छ भने २४ घण्टाभित्र पनि छाला लिन मिल्ने चिकित्सक बताउँछन् ।
जनचेतनाको कमी
नेपाल स्किन बैंक नाम राखेर स्थापना गरिएको बैंकमा छाला नै नपाइने अवस्था आएपछि अस्पतालले लायन्स क्लबसँग सहकार्य ग¥यो । पछि त्यसको नाम पनि लायन्स नेपाल स्किन बैंक राखियो । तर, त्यो सहकार्य लामो समयसम्म रहेन । लायन्स क्लबले बैंकलाई सामान उपलब्ध गरायो । यस्तै लियो क्लब, रोट्रयाक लगायतका विभिन्न संघसस्थासँग सहकार्य गरेर चेतना जोगाउने काम पनि गरियो । तर, पनि जनचेतनामै अभाव रहेको अस्पतालले जनाएको छ ।
कसैले छाला दान गर्न चाह्यो र छाला लिन जानु परेपछि सर्जनले जानुपर्ने अर्को बाध्यता छ । डा. नकर्मी भन्छन्, ‘कहिँलेकाहीँ हामी अप्रेसनको बिचमा हुँदा वा कहिले उपत्यका बाहिर हुँदा पनि हामीलाई फोन आउँछ । तर, त्यो बेला हामी जान सक्दैनौं, छाला लिन जाने अर्को जनशक्ती नहुँदा पनि संकलनमा समस्या छ ।’
एकजना मान्छेको छाला निकाल्दा लगभग १५ हजार पैसा लाग्छ । स्किन बैंकमा रहेको छाला बिरामीलाई दिँदा निःशुल्क दिइन्छ ।
दानकोरूपमा पाएको छाला अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा एचआईभी, हेपटाइटीस बि र सी जाँच गरिन्छ । किनकी छाला लिने व्यक्तिमा यो सर्न पाउँदैन । गम्भीर जलन भएको सुरुको तीन हप्तादेखि जल्ने मान्छेको शरीरमा प्रतिरोधी क्षमता हुँदैन । जसका कारण सुरुमा तीनचार हप्ता छाला लगाएपनि आफ्नो छाला हैन भनेर बिरामीको छालाले पहिचान गर्न सक्दैन ।
उसले आफ्नै छाला जस्तो ठान्छ । तर, पछि जब बिरामी तंग्रदै आउँछ तब उसको प्रतिरोधी क्षमता पनि बढ्दै जान्छ र जिउले अस्वीकार गर्दै जान्छ । छालामा फोका आउने, पिल्सने, रातो हुने गर्छ ।