जलवायु परिवर्तनले फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन

नाइजेरिया । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिन सकिन्छ। यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ। अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सकिन्न। यहाँ एन्टिमलेरिया औषधि वा उपचार अत्यन्त कम हुन्छ। मलेरिया परजीवी अधिकांश सङ्क्रमित लामखुट्टेमार्फत मानिसमा फैलिन्छ र ज्वरो, टाउको दुख्ने र चिसोेलगायतका लक्षण निम्त्याउन सक्छ । यसले धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालिबालिका र गर्भवतीहरूलाई असर गर्दछ । खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो । एन्टिमलेरिया औषधि र कीटनाशकहरूको प्रतिरोधका घटनाहरू बढिरहेका छन् भने सरकार र दाताहरूबाट नवप्रवर्तनका लागि कोष सुस्त भइरहेको छ । भीडभाड भएको क्षेत्र, जमेको पानी, खराब सरसफाई तथा उपचार र रोकथाम सामग्रीसम्म पहुँचको अभावले धेरै क्षेत्रमा बस्ने अवस्थाको भूमिका निर्वाह गर्दछ । यसअघि भारत र फारसको खाडीमा देखिएका लामखुट्टेको आक्रामक प्रजाति नयाँ चिन्ताको विषय बनेको छ । विश्वव्यापीरूपमा मलेरियाका मामिला बढिरहेका छन् । सन् २०१९ मा सङ्क्रमण २३ करोड ३० लाखबाट बढेर सन् २०२२ मा ८५ मुलुकमा २४ करोड ९० लाख पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार मलेरियाबाट मृत्युको सङ्ख्या सन् २०१९ मा पाँच लाख ७६ हजारबाट बढेर सन् २०२२ मा छ लाख आठ हजार पुगेको छ । मलेरियाको विश्वव्यापी बोझको करिब ७० प्रतिशत वहन गर्ने १२ मुलुकमा ११ अफ्रिकामा छन् भने अर्को मुलुक भारत हो । सन् २०२२ मा अफ्रिकामा मलेरियाबाट मर्ने पाँच लाख ८० हजारमा ८० प्रतिशत मृत्यु पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको भएको थियो । मलेरियाविरुद्धको लडाइँले तीव्ररूपमा निदान परीक्षण, खोप र नयाँ मच्छरदानीजस्ता कीटनाशक प्रतिरोधको सामना गर्ने क्षेत्रमा केही प्रगति देखिएको छ तर कोभिड–१९ र फोकस फर फन्डिङमा परिवर्तनले यी प्रयासहरूलाई पछाडि धकेलेको छ । गत वर्ष ट्रपिकल मेडिसिन एन्ड इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ का कारण जारी लकडाउनले सम्पूर्ण अफ्रिकामा ३० प्रतिशत ग्रामीण सामुदायिक स्वास्थ्य विन्दुहरूमा अवरोध उत्पन्न भएको बताइएको छ । सन् २००० र सन् २०१९ को बीच घट्ने प्रवृत्तिलाई तोड्दै मलेरियाका मामिला पुनः बढ्न थालेको छ । डब्ल्युएचओका अनुसार घट्दो प्रवृत्ति चाँडै फर्कन सक्छ । ग्लोबल फन्ड टु फाइट एड्सका कार्यकारी निर्देशक पिटर स्यान्ड्सले भने, ‘अफ्रिका जलवायु परिवर्तनको तीव्र अन्त्यमा छ र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिले निम्न र मध्यम आय भएका क्षेत्रमा मलेरियासँग मुकाबिला गर्ने प्रयासलाई बर्बाद गरिरहेको छ ।’ सन् २०२३ मा डब्ल्युएचओको विश्व मलेरिया प्रतिवेदनमा पहिलो पटक मलेरिया र जलवायु परिवर्तनबीचको सम्बन्धमा एउटा अध्याय समावेश गरिएको छ । यसमा सम्भावित जोखिम गुणकका रूपमा यसको महत्त्माथि प्रकाश पारिएको छ । वैज्ञानिकहरूले माउन्ट किमिमान्जरोको ढलान र पूर्वी इथियोपियाको पहाडलगायत कुनै पनि समयमा लामखुट्टेको बसोबास नहुने क्षेत्रमा बस्ने मानिसहरू मलेरियाको चपेटामा आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दशकौँमा आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको जिम्बाब्वेका केही जिल्लामा मलेरियाको प्रसारण अवधि बढाइएको छ । जिम्बाब्वेमा मलेरियाका लागि डब्ल्युएचओका प्राविधिक अधिकारी डा प्रिसियस एन्डिफासीले भने, ‘यो परिवर्तनका लागि जलवायु परिवर्तनलाई श्रेय दिइएको छ ।’ रासस

ललितपुरमा पाठेघर र स्तन क्यान्सर परीक्षण थालियो

पाटन । ललितपुर महानगरपालिकामा बुधबारदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले बुधबार ललितपुर महानगरपालिका–१४ तिखेदवलमबाट शिविर सञ्चालन गरी गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो । शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले एचपिभीडिएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर रोग लाग्नबाट बचाउने अभियान थालिएको बताए । ‘हामीले पाठेघर क्यान्सर रोकथामका लागि गत वर्षदेखि अभिमुखीकरण र स्क्रिनिङ कार्यक्रम सुरु गरेका थियौँ । गत वर्ष आठ वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा गरिनेछ । पहिला अभिमुखीकरण, त्यसपछि परीक्षण र परीक्षणपछि डाक्टरको परामर्शमा निःशुल्क उपचार गरिनेछ,’ प्रवक्ता महर्जनले भने । ललितपुर महानगरले स्वास्थ क्षेत्रमा ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन विगत दुई वर्षदेखि निःशुल्क खोप सेवासमेत सञ्चालन गर्दै आएको जानकारी गराउँदै उनले गत महिना चार सय जनालाई खोप दिइएको बताए । महानगरले ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमअन्तर्गत चिकित्सकसहित घरमै सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने व्यवस्थासमेत रहेको बताए । हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको प्रवक्ता महर्जनको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका र हुनेका लागि ५० प्रतिशत बिमा शुल्क वडाले बेहोर्ने तयारी भइरहेको उनले जानकारी गराए । हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर बिमाका बिरामीलाई २४सै घण्टा चिकित्सक, ल्याब, एक्सरे र औषधिसहितको सेवा प्रदान गर्दै आइरहेको छ । ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए । ‘समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो,’ उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपिभी डिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । सरकारले आव २०८०÷८१ मा कोशी, मधेस र बागमती र लुम्बिनीका आठ जिल्लाका १४ स्थानीय तहबाट एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सुरु गरेको हो । नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपिभी डिइनए प्रभावकारी विधि हो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये सात जनालाई नसर्ने रोग लाग्ने गरेको तथ्यांक रहेको बताए । महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराए । महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत वर्ष आठवटा वडामा एचपिभी डिएनए विधिद्वारा एक हजार तीन सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको र अहिले उनीहरूको उपचार महानगरले गराइराखेको जानकारी गराइन् । उनले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराइन् ।

पार्किन्सन रोगका कारण वार्षिक ७ सयको मृत्यु, कसरी गर्ने उपचार ?

काठमाडौं । पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ । दिमागको भित्रि भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरिरको सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरिर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तव पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाईन्छ । पार्किन्सन रोगका लक्षणहरु पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाईन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन सुस्तपना, र हिँडाईमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा विरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं । यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनैपनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ । यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदी हुन् । नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेका पाईन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण  ७ सय जनाको मृत्यु भएको पाइन्छ । उपचार विधि दिमागको भित्रि भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ । यो रोग औषधी सेवनका कारण पुरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना विरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि १ लाख रूपैयाँ दिने व्यवस्था गरेको छ । (डा. राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ न्यूरोलोजिष्ट हुन् ।)