क्यूआर कारोबारमा नबिल, एनआईसी र ग्लोबलबीच प्रतिस्पर्धा, कुन बैंकको हिस्सा कति ?
काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४ हजार ५११ पटक भएको कारोबार भएको छ । सो कारोबारमार्फत् कुल ५ अर्ब ८५ करोड २६ लाख ११ हजार रुपैयाँ भुक्तानी भएको देखिएको हो । २७ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको तथ्यांक राष्ट्र बैंकसमक्ष आएको देखिँदैन । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार भुक्तानी नबिल बैंकको क्यूआर कोडमार्फत् भएको छ । नबिल बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४३ हजार ५०६ पटक भएको कारोबारमार्फत् कुल ९८ करोड ८५ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको छ । क्यूआर कोडमार्फत् बढी रकम भुक्तानी हुने दोस्रो बैंकका रुपमा एनआईसी एसिया बैंक देखिएको छ । एनआईसी एसिया बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ७८ हजार ७६७ पटक भएको भुक्तानी संख्यामार्फत् कुल ७८ करोड ८८ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । यस्तै, रकम भुक्तानी बढी हुने बैंकको तेस्रो नम्बरमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४ हजार २६० कारोबार संख्यामार्फत् कुल ५१ करोड २५ लाख ८६ हजार रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । क्यूआर कोडमार्फत बढी कारोबार हुने बैंकको चौथो नम्बरमा भने सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा ७८ हजार ८८० कारोकार संख्यामार्फत् कुल ३६ करोड ७७ लाख ५ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ । क्यूआर कोडमार्फत् भुक्तानी गर्ने बैंकहरूमध्ये प्रभु बैंक, लक्ष्मी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा र सनराइज बैंक पनि अगाडि देखिएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिएसँगै वाणिज्य तथा विकास बैंकहरूले पनि क्यूआर कोडको कारोबारलाई पनि महत्त्वका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम् पनि विभिन्न ठाउँहरूमा गएर बैंकहरूका क्यूआर कोड सेवाको उद्घाटन गरिहरेका छन् । माघ महिनामा विभिन्न कम्पनीहरूमार्फत् हुने क्यूआर कोडको कारोबार बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनामा विभिन्न कम्पनीहरूको क्यूआर कोडमा १७ लाख ८२ हजार ३६३ कारोबार संख्यामार्फत् कुल ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।
बीमाशुल्क आर्जनमा २० निर्जीवन बीमा कम्पनी : ६ वटा बाहेक सबै अर्ब क्लबमा
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनदेखि फागुनसम्म १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरी करिब सवा २५ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये अधिकांश अर्ब क्लबमा छन् भने केही कम्पनी करोड क्लबमै सीमित छन् । दि ओरियन्टल, प्रुडेन्सियल, एभरेष्ट, सानिमा जनरल, नेशनल र जनरल इन्स्योेरेन्सले करोडको क्लबमा छन् भने बाँकी सबैले एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेका समितिले जनाएको छ र सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले ८ महिनाको अवधिमा १ लाख ६५ हजार ५१६ वटा बीमालेख जारी गरी ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, बढी बीमाशुल्क संकलन गर्नेको दोश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको प्रिमियम उठाउनेमा १२ वटा कम्पनी छन् । नेकोले १ लाख ८९ हजार वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कूल २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्सको छ । इन्स्योरेन्सले ८ महिनामा ५७ करोड ९३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । सो अवधिमा कम्पनीले १४ लाख ९२५ वटा बीमालेख जारी गरेको थियो । कुनको कति ? (सूचीसहित)
२१ करोड असुल्न सीटीसी मलका १३० पसल ८० करोडमा बिक्री गरिँदै, बाँकी पैसा के हुन्छ ?
काठमाडौं । कर्मचारी सञ्चय कोष सिटीसी मलभित्रका पसलहरु लिलाम गर्नका लागि अन्तिम तयारीमा जुटेको छ । कोषले इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित सीटीसी मलको मूल्यांकन सकेर अब केही दिनभित्रै लिलामको सूचना निकाल्ने तयारी गरेको हो । कर्मचारी सञ्चय कोषका अनुसार अब केही दिनभित्रै सो सिटीसी मलभित्रका पसलहरु लिलाम गर्नका लागि सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ । मलभित्रका १३० वटा युनिट (पसल)काे मूल्यांकन ८० करोड रुपैयाँको हाराहारीमा भएको काेष स्राेतकाे भनाइ छ । ‘अहिले धितोको मूल्याकंन प्रतिवेदन अध्ययन भइरहेको छ, कसरी धितो लिलाम गर्ने, २१ करोड असुलेपछि बाँकी रकम के गर्ने भन्ने विषयमा कोषमा छलफल भइरहेको छ, त्यो काम सकेपछि सायद अर्को सातासम्म सूचना जारी हुन्छकि भन्ने हो,’ कोष स्रोतले भन्यो । तामाङले कोषको २० करोड ९७ लाख ५४ हजार रुपैयाँ ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मलभित्रका १३० वटा पसल बिक्री गर्न लागेको हो । तर, ऋणभन्दा बढी धितो बिक्री गरेको रकम हुने भएपछि सो रकम के गर्ने भन्ने विषयमा कोषमा छलफल भइरहेको छ । सोही विषयमा विवाद भएर नै हालसम्म कोषले लिलामको सूचना जारी गर्न नसकेको हो । इच्छाराज तामाङ समूहका मानिसहरु लिलाम नगर्न भनिरहेका छन् भने सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ताहरु मलका पसलहरु बेचेर बाँकी रहेको रकम आफुहरुलाई दिन कोषलाई आग्रह गरिरहेका छन् । कोषले सिटिसी मलमा लगानी रहेको भनेर दावी गर्ने सहकारीका बचतकर्तालाई डकुमेन्टस् लिएर आउन भनेको छ । तामाङ सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । तामाङ अहिले पनि थुनामा छन् । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा नै प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । ‘सिटिसी मल बन्दा नै सिभिल सहकारीका बचतकर्ताको पैसा लगानी गरेको रहेछ, त्यसैले पनि सहकारीका बचतकर्ताहरु सिटिसी मल बिक्री भइसकेपछि पैसा तामाङलाई फिर्ता दिने भन्दा पनि आफुहरुलाई दिन आग्रह गरिरहेका छन्, उनीहरुको कारणले नै ढिलाई भएको हो, त्यो विवाद सकेर छिट्टै सूचना जारी गर्दैछौं,’ कोष स्रोतले भन्यो । कोषले यसअघि ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि धितोको मूलयांकन गरेर लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो । कर्मचारी सञ्चय कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो । ‘धेरैले यति सानो ऋणका लागि कोषले त्यत्रो सीटीसी मल लिलाम गर्ला र भन्ने गरेका छन् तर, हामीले पुरै सीटीसी मल लिलामी गर्ने होइन, मलभित्रका पसलहरु (युनिट) लिलाम गरेर बिक्री गर्ने हो, तामाङले सुरुमा ९० करोड रुपैयाँ बढी ऋण लिए वाफत ३ सय बढी पसलहरु धितोमा राख्नु भएको थियो, विस्तारै ऋण तिर्दै जाँदा ती पसलहरु पनि फुकुवा हुँदै गए, अब २० करोड ९७ लाख रुपैयाँ ऋणको १ सय ३० वटा पसल धितोमा छन्, ती पसललाई नै लिलाम गरेर बिक्री गर्ने हो,’ कोष स्रोतले भन्यो । सम्बन्धित सामग्री: इच्छाराजको सीटीसी मलको धितो मूल्यांकन सकियो, कतिमा हुँदैछ बिक्री ? सिटीसी मल बेचेको पैसा आफुलाई पनि दिन सहकारीको कोषलाई आग्रह, २१ करोड असुल्न लिलाम गरिँदै इच्छाराज तामाङलाई दिएको प्रभु बैंकको ४० करोड कर्जा संकटमा ! ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद इच्छाराजको नखुलेको पाटोः करोडौंको आईपीओ, अर्बको सेयरदेखि विदेशमा लगानी ! इच्छाराजले अजय सुमार्गीलाई १ अर्ब २५ करोडमै बेचेका हुन् ‘सिभिल लक्जरी’ ? बैंकिङ च्यानलमा देखिएन इच्छाराज तामाङमाथिको अनुसन्धान सक्यो सीआईबीले, सहकारीको रकम २१ ‘डमी’ कम्पनीमा इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो