काठमाडौं । कर्मचारी सञ्चय कोष सिटीसी मलभित्रका पसलहरु लिलाम गर्नका लागि अन्तिम तयारीमा जुटेको छ । कोषले इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित सीटीसी मलको मूल्यांकन सकेर अब केही दिनभित्रै लिलामको सूचना निकाल्ने तयारी गरेको हो ।
कर्मचारी सञ्चय कोषका अनुसार अब केही दिनभित्रै सो सिटीसी मलभित्रका पसलहरु लिलाम गर्नका लागि सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ । मलभित्रका १३० वटा युनिट (पसल)काे मूल्यांकन ८० करोड रुपैयाँको हाराहारीमा भएको काेष स्राेतकाे भनाइ छ ।
‘अहिले धितोको मूल्याकंन प्रतिवेदन अध्ययन भइरहेको छ, कसरी धितो लिलाम गर्ने, २१ करोड असुलेपछि बाँकी रकम के गर्ने भन्ने विषयमा कोषमा छलफल भइरहेको छ, त्यो काम सकेपछि सायद अर्को सातासम्म सूचना जारी हुन्छकि भन्ने हो,’ कोष स्रोतले भन्यो ।
तामाङले कोषको २० करोड ९७ लाख ५४ हजार रुपैयाँ ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मलभित्रका १३० वटा पसल बिक्री गर्न लागेको हो । तर, ऋणभन्दा बढी धितो बिक्री गरेको रकम हुने भएपछि सो रकम के गर्ने भन्ने विषयमा कोषमा छलफल भइरहेको छ । सोही विषयमा विवाद भएर नै हालसम्म कोषले लिलामको सूचना जारी गर्न नसकेको हो ।
इच्छाराज तामाङ समूहका मानिसहरु लिलाम नगर्न भनिरहेका छन् भने सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ताहरु मलका पसलहरु बेचेर बाँकी रहेको रकम आफुहरुलाई दिन कोषलाई आग्रह गरिरहेका छन् ।
कोषले सिटिसी मलमा लगानी रहेको भनेर दावी गर्ने सहकारीका बचतकर्तालाई डकुमेन्टस् लिएर आउन भनेको छ । तामाङ सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । तामाङ अहिले पनि थुनामा छन् ।
सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा नै प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो ।
‘सिटिसी मल बन्दा नै सिभिल सहकारीका बचतकर्ताको पैसा लगानी गरेको रहेछ, त्यसैले पनि सहकारीका बचतकर्ताहरु सिटिसी मल बिक्री भइसकेपछि पैसा तामाङलाई फिर्ता दिने भन्दा पनि आफुहरुलाई दिन आग्रह गरिरहेका छन्, उनीहरुको कारणले नै ढिलाई भएको हो, त्यो विवाद सकेर छिट्टै सूचना जारी गर्दैछौं,’ कोष स्रोतले भन्यो ।
कोषले यसअघि ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि धितोको मूलयांकन गरेर लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो । कर्मचारी सञ्चय कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो ।
‘धेरैले यति सानो ऋणका लागि कोषले त्यत्रो सीटीसी मल लिलाम गर्ला र भन्ने गरेका छन् तर, हामीले पुरै सीटीसी मल लिलामी गर्ने होइन, मलभित्रका पसलहरु (युनिट) लिलाम गरेर बिक्री गर्ने हो, तामाङले सुरुमा ९० करोड रुपैयाँ बढी ऋण लिए वाफत ३ सय बढी पसलहरु धितोमा राख्नु भएको थियो, विस्तारै ऋण तिर्दै जाँदा ती पसलहरु पनि फुकुवा हुँदै गए, अब २० करोड ९७ लाख रुपैयाँ ऋणको १ सय ३० वटा पसल धितोमा छन्, ती पसललाई नै लिलाम गरेर बिक्री गर्ने हो,’ कोष स्रोतले भन्यो ।
सम्बन्धित सामग्री: