गभर्नर निलम्बित हुँदा विज्ञ समूह चिन्तित; सेयर, सवारी र घरजग्गा कारोबारी उत्साहित
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विज्ञ समूहले विरोध गरेका छन् भने सेयर, सवारी र घरजग्गा काराेबारीले खुशी व्यक्त गरेका छन् । पूर्व मुख्यसचिव डा विमल कोइराला, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत अर्थतन्त्र र बैकिङ प्रणालीबारे जानकारी राख्नेहरुले सरकारी निर्णय गलत भएको प्रतिकृया दिएका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न रामै सुझाव दिनु भएको थियो, सरकारले पचाएन, उहाँलाई निलम्बन गर्नु ठिक भएन’ पूर्वमूख्य सचिव, अर्थसचिव तथा नेपाल राष्ट्र बैंकको सञ्चालकसमेतको भूमिका निर्वाह गरेका डा. कोइरालाले सामाजिक सञ्चालमा लेखेका छन् । पूर्व अर्थसचिव एव अर्थविद् रामेश्वर खनालले पनि सरकारले गलत निर्णय लिएको टिप्पणी गरेका छन् । ‘सडकमा फोहोर थुप्रिएको छ, आपूर्ति प्रणाली र वित्तिय क्षेत्रमा समस्या बढ्दै गएको छ, तर सार्वजनिक संस्थाहरु क्रमशःबनाइदैछ’ उनले गर्भनर निलम्बन गर्ने सरकारी निर्णयलाई लक्षित गर्दै भनेका छन् – ‘यसैगरी निर्वाचन आयोगमाथि पनि आक्रमण भए आश्चर्य नहुने भयो ।’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सरकारको निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीको निलम्बन अत्यन्तै दुर्भाग्यपूर्ण, सरकारले गर्नै नहुने काम गर्यो ।’ बैंकर्सहरुले पनि गभर्नर अधिकारीको निलम्बनलाई गलत भन्ने धारणा व्यक्त गरेका छन् । बहालवाला बैंकर्सहरुले पदीय सीमाका कारण खुलेर विरोध गरेका छैनन् । तर गभर्नर निलम्बन गलत भएको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले पुरानो नजिर सम्झाउदै डा. तिलक रावल भर्सेस महेश आचार्यको पुनारावृति भएको टिप्पणी गरेका छन् । ‘नतिजा के भयो, नजिर हेरम् । हामी केही जाने सुनेका मान्छे हजूर (गभर्नर महाप्रसाद)को पक्षमा छौं ।’ पूर्व बैंकर्स अजय मिश्रले गलत समयमा गभर्नरको निलम्बन भएको भन्दै सरकारले अपरिपक्वता देखाएको बताएका छन् । त्यस्तै पूर्व बैंकर्स परशुराम कुँवर क्षेत्रीले सरकारी निर्णयलाई केटाकेटीले निर्णयसँग तुलना गरेका छन् । त्यस्तै, पत्रकार तुला अधिकारीले ‘अर्थमन्त्री हुत्तिनु पर्ने, गभर्नर पो हुत्याइछन् त’ भनेर आश्चर्य व्यक्त गरेका छन् । पत्रकार रामप्रसाद दाहालले भने गभर्नर निलम्बलनलाई स्वभाविक भन्दै अब अर्थमन्त्री निलम्बनमा परुन् भावना प्रकट गरेका छन् । ‘अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन र चाहिने भन्दा बढी बुझेका गभर्नर महाप्रसादको जुँगाको लडाईमा अर्थमन्त्रीले गभर्नरलाई आज पेनाल्टी सुटआउट गरेछन् । वा… कति रमाइलो’ केदार खड्काले ब्यङ्ग गरेका छन् । ‘अर्थमन्त्री शर्माले तानसेन आक्रमण शैलीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आक्रमण गरे । जसरी गरे पनि आक्रमण गर्ने बानी चाँही बिर्सेका छैनन्’ फेसबुकमा देविड भण्डारीले लेखेका छन् । यता सेयर, घरजग्गा र अटोमोवाइल क्षेत्रका कारोबारीहरुले भने गभर्नर निलम्बन गर्ने सरकारी निर्णयको तारिफ गरेका छन् । सेयर बजारका विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिहरुले ‘जे भयो ठिकै भयो’ भन्ने आशयमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् । त्यस्तै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कार्यकारिणी सदस्य अनुप बरालले गभर्नर अधिकारी लिम्बित समाचार सामाजिक सञ्चालमा सेयर गर्दै ‘डिसिजन अफ द एयर’ अर्थात सरकारले वर्षको उत्कृष्ट निर्णय गरेको भन्ने सरकारलाई प्रणाम गरेका छन् । राष्ट्र बैंकका निर्णयहरुको विरोध गर्दै आएका नाडाका प्रतिनिधि मण्डलले गभर्नर निलम्बित भएको खबर सार्वजनिक भएको दिन बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।
गभर्नर अधिकारीको ‘त्यो निर्देशन’ जुन् आत्मघाती बन्यो
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै विभिन्न समयमा भएको लकडाउन, निषेधाज्ञा र सटडाउनको कारण देशको आर्थिक अवस्था खस्कँदै थियो । उद्योगधन्दाहरु बन्द थिए । व्यापारीको सटरमा ताला थिए । बैंकहरु पनि आंशिक रुपमा सञ्चालन भइरहेका थिए । सडक शान्त थियो । सवारी साधनहरुको आवातजावत ठप्प थियो । सोही अवस्थामा तत्कालीन एमाले सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् बजेट ल्याए । अर्थतन्त्र नाजुक बन्दै गइरहेको अवस्थामा आएको बजेटले व्यापार व्यवसायी र उद्योगीहरुसँगै सर्वसाधारणहरु पनि खुसी हुन सकेनन् । अध्यादेशमार्फत् बजेट ल्याएको केही समयपछि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका नेता शेबहादुर देउवालाई प्रधानमन्त्री बनायो । देउवा प्रधानमन्त्री बनेपछि असार २९ गते अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आए, जनार्दन शर्मा । यसअघि उर्जामन्त्रालय राम्रैसँग हाँकेका शर्मामाथि धेरैको विश्वास थियो कि उनी अर्थमन्त्रालय पनि राम्रैसँग सम्हाल्नेछन् । असार २९ गते अर्थमन्त्रालयको नेतृत्व सम्हालेका शर्माले भदौमा संशोधित बजेट सार्वजनिक गरे । विष्णु पौडेलेको बजेटमार्फत् निराश बनेका उद्योगी व्यवसायी जनार्दन शर्माको बजेटबाट पनि सन्तुष्ट हुन सकेनन् । तर, बजेटपछि सार्वजनिक भएको मौद्रिक नीतिले भने उद्योगी व्यवसायीसँगै बैंकरहरु पनि खुसी भए । सो समयमा गभर्नर महाप्रसाद अधिकारीले वाहीवाही पाए । उनले व्यापार व्यवसाय, उद्योग, पर्यटन व्यवसायसँगै कृषकहरुका लागि पनि विभिन्न राहात तथा सहुलियतका कार्यक्रमहरु ल्याए । राष्ट्र बैंकको मौद्रिक नीतिको कारणले नै अर्थतन्त्र सही ट्रयाकमा भएको धेरैको भनाइ थियो । त्यतिखेर धेरैले गभर्नर अधिकारीको प्रशंसा समेत गरे । तर, अर्थतन्त्र विस्तारै झन-झन जटिल अवस्थामा प्रवेश गर्न थाल्यो । अर्थविज्ञ, बैंकर तथा व्यवसायीहरुले समेत अर्थमन्त्रालय र राष्ट्र बैंकको आलोचना सुरु गरे । धेरैले राष्ट्र बैंकले राम्रो काम गरे पनि अर्थमन्त्रालयले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको आरोप पनि लगाए । अर्थमन्त्री र गभर्नरबीच समन्वय र सहकार्य नभएकोले पनि अर्थतन्त्र झन् समस्यामा परेको धेरैको तर्क थियो । दिन प्रतिदिन विदेशी मुद्रा सञ्चिती घट्नु, व्यापार घाटा बढ्नु, महँगी बढ्नु, रेमिट्यान्स घट्नु लगायत नकारात्मक आर्थिक सूचकले गभर्नर अधिकारीलाई ठूलो ‘प्रेसर’ मा पार्यो । व्यापार घाटा कम गर्न, विदेशी मुद्राको सञ्चिती बचाउनकै लागि उनले विभिन्न वस्तु आयातमा कडाइसँगै सुनको आयातमा पनि कटौती गरेका थिए । अर्थतन्त्रलाई सही दिशा दिन उनी अझै पनि मौद्रिक औजार प्रयोगमा प्रयासरत थिए । उनले कति प्रेसर लिएका छन् भन्ने कुरा शुक्रबार उनले राखेको प्रस्तुतिले पनि पुष्टि गर्छ । शुक्रबार राष्ट्र बैंकले नै आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा उनले यही अवस्था भए देश श्रीलङ्काको अवस्थामा पुग्न बेर नहुने धारणा राखे । यतिको ‘प्रेसर’ खेपिरहेका गभर्नर अधिकारीले गत सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंक बोलाउँदै अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्नुका साथै विलासिताको वस्तुमा आयातको एलसी रोक्न निर्देशन दिए । गभर्नरको त्यो निर्देशनपछि व्यवसायीहरु त्रसित बने । उनीहरुले निरन्तर शक्तिकेन्द्र धाउन सुरु गरे । शुक्रबार मात्रै अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एलसी खोल्न सहयोग गरिदिन आग्रह गरेका गरे । प्रधानमन्त्री देउवाले पनि व्यवसायीलाई वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा जानकारी गराएर सम्झाई बुझाई गर्नु पर्ने अवस्थामा गभर्नर अधिकारीलाई एलसी रोक्नुको कारण सोध्ने प्रतिक्रिया अटो व्यापारी समक्ष राखे । स्रोतका अनुसार गभर्नर अधिकारीको विलासिताको वस्तुमा आयातको एलसी रोक्ने निर्देशन नै उनका लागि आत्मघाती बन्यो । ‘गभर्नरले मौखिक रुपमा विलासिताका वस्तु रोक्नु भनेर निर्देशन दिए, सो निर्देशनपछि विजनेस कम्युनिटीमा त्रास उत्पन्न भयो, गभर्नरको सोही निर्देशनपछि व्यवसायीहरु नै गभर्नर हटाउनु पर्छ भन्नेतर्फ लागे, सोही अनुसार उनीहरु सरकारलाई दवाव दिन थाले, परिणाम स्वरुप गभर्नर निलम्बनमा पर्नु भएको हो, उनको एउटा मौखिक निर्देशन नै उनका लागि आत्मघाती बन्यो’ स्रोतले भन्यो । सम्बन्धि सामग्री: निलम्बित गभर्नरसँग कसरी मञ्च ‘सेयर’ गरे अर्थमन्त्रीले ? सरकारले कुन अवस्थामा गभर्नरलाई निलम्बन गर्न सक्छ ? गभर्नर अधिकारी निलम्बनमा, कार्यबाहकको जिम्मा ढुङ्गानालाई
निलम्बित गभर्नरसँग कसरी मञ्च ‘सेयर’ गरे अर्थमन्त्रीले ?
काठमाडौं । आज दिनभर नेपाली सञ्चार माध्यममा एउटा समाचारले निकै प्राथमिकता पायो । समाचार थियो, अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको ‘टसल’ । शुक्रबार नेपाल राष्ट्र बैंकले नै आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रमको प्रमुख अतिथिको रुपमा अर्थमन्त्री शर्मा नै उपस्थित थिए । सोही कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच मनमुटाव भएको प्रष्ट देखियो । हुन त यसअघि पनि अर्थमन्त्री र गभर्नरबीच मनमुटावकै कारण अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सहकार्य र समन्वय हुन नसकेको विषय मात्रै होइन अर्थमन्त्री र गभर्नरबीच बोलचाल नै बन्द भएको विषय पनि नबाहिरिएका होइनन् । तर, कुनै-कुनै कार्यक्रममा अर्थमन्त्री र गभर्नरसँगै हुँदा भने त्यो किसिमको भ्रम सबैको मनबाट हट्थ्यो । आजको कार्यक्रमबाट भने सबैमा भएको कौतुहलता मेटियो । अर्थमन्त्री शर्मा गभर्नर अधिकारी माथि खनिए । सम्भवतः सार्वजनिक कार्यक्रममै अर्थमन्त्री गभर्नरमाथि आक्रोशित र आक्रामक रुपमा प्रस्तुत भएको याे पहिलो घटना हुन सक्छ । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सूचना चुहाएको आरोप मात्रै लगाएनन् । वर्तमान अथर्तन्त्रमा देखिएका समस्या समाधानमा ‘सिरियस’ नबनेको भन्दै असन्तुष्टि पाेखे । उनले राष्ट्र बैंक अध्ययन अनुसन्धानमा पछाडि परेको आरोप पनि लगाए । गभर्नर अधिकारीले पनि अर्थमन्त्रीकै अगाडि हामी यही अवस्थामा अगाडि बढे श्रीलङ्काको जस्तो अवस्था नआउला भन्न सकिन्न भन्ने डरलाग्दो धारणा प्रस्तुत गरे । यिनै विषय शुक्रबार दिनभर नेपाली सञ्चार माध्यमकाे प्राथमिकतामा परे । धेरैले अर्थमन्त्री र गभर्नरबीच ‘वाक युद्ध’ सुरु भएको धारणा पनि विभिन्न माध्यममार्फत् राखे । अर्थमन्त्री र गभर्नरले राष्ट्र बैंककै कार्यक्रममा एकैपटक सँगै मञ्च सेयर गरेको केही घण्टा भित्रै सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको समाचार सर्वत्र फैलियो । बालुवाटार स्रोतका अनुसार गभर्नर अधिकारीलाई बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले नै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, हिजो निलम्बनमा परेका गभर्नर अधिकारीसँग अर्थमन्त्री जनार्दशन शर्माले शुक्रबारसँगै मञ्च ‘सेयर’ कसरी र किन गरे ? यो प्रश्न भने अहिलेसम्म अनुत्तरित नै छ । के छ ऐनमा ? राष्ट्र बैंक ऐन २०५८ का अनुसार सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्न सक्ने व्यवस्था छ । सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंक ऐन २०५८ को धारा १ को उपधारा १ मा गरिएको व्यवस्था अनुसार निलम्बन गरेको हो । राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा (१) बमोजिम गभर्नर पदमुक्त गर्ने प्रक्रिया सुरु गर्नासाथ निज पदबाट स्वतः निलम्बन भएको मानिने व्यवस्था छ । सोही दफाको उपदफा (५) अनुसार गभर्नर कुनै पनि अवस्थामा पद मुक्त हुने व्यवस्था छ । दफा २१ अनुसार गभर्नर हुन अयोग्य भएमा, वा यस ऐन बमोजिम बैड्ढको उद्देश्य हासिल गर्नको निमित्त बैड्ढले गर्नु पर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा, वा मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानि नोक्सानी पुग्ने कार्य गरेको देखिएमा गभर्नरलाई निलम्बन गर्न सकिने व्यवस्था छ । यस्तै, बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा, खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा, मनासिब माफिकको कारण बिना लगातार तीन पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा सरकारले निलम्बन गर्न सक्ने व्यवस्था छ ।