आयात बन्देजको सल्लाह राष्ट्र बैंकले दिएको हो, कार्यान्वयन गरौं : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आयातमा लगाएको रोक राष्ट्र बैंकको पनि सल्लाह रहेको बताएका हुन् । उनले सरकारको नीति कार्यान्वयन गर्न आग्रह गरे । गभर्नर अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा रहेको पनि बताएका छन् । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले पनि आर्थिक गतिविधि नरोकिएको उनको भनाइ छ । ‘कोभिड–१९ को संक्रमण अझै केही मात्रामा कायमै रहेको छ, संक्रमणको थप लहरको सम्भावना पनि छ, तथापि अधिकांश मानिसले कोभिड–१९ विरूद्धको खोप लगाइसकेको हुँदा आर्थिक गतिविधि पुनरूत्थानको क्रममा नै रहने देखिन्छ, आर्थिक पुनरूत्थानको क्रममा कर्जा प्रवाह र आयात बढ्न गई शोधनान्तर घाटा बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको स्थिति छ जुन अझै केही समय कायम रहन सक्छ, यसैलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको छ,’ उनले भने । उनले बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वको लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको उनले बताए । साथै रेमिट्यान्समा केही सहुलियत दिँदा सहज हुने र मुद्रास्फिति अनुमान रिपोर्ट अब छिटै सार्वजिक गरिने गर्भनर अधिकारीले बताएका छन् । [pdf id=325016]
नौ महिनामा ५७ अर्ब ३५ करोडको आयात भएको थियो सरकारले रोकेका १० वस्तु
काठमाडौं । सरकारले १० प्रकारका सामानहरु आयात गर्न बन्देज नै लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार विलासी उपभोग्य सामान नेपाल आयात गर्न रोकेको हो । सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष भरीको लागि रोकिएको छ । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार बैंकहरुले एलसी खोल्न नै बन्द गरेर आयात रोकिएका वस्तुहरु नेपाल सरकारले अब भने औपचारिक रुपमा नै आयातमा रोक लगाएको हो । अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका) ल्याउन पाइने छैन । सरकारले आयात रोकेका १० वस्तुको आयातमा चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्म) साढे ५७ अर्ब नेपाली रुपैयाँ बराबरको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार उक्त १० वस्तु आयातका लागि ९ महिनाको अवधिमा ५७ अर्ब ३५ करोड ६५ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो । कुन वस्तु कति आयात चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ५८ करोडको कुरकुरे आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतमसान्तसम्मको तथ्यांक अनुसार ५८ करोड ७६ लाख १५ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार किलो कुरकुरेको आयात भएको हो । भारतबाट ४९ करोड ९ लाख ८९ हजार रुपैयाँ र मलेसियाबाट ८ करोड २५ लाख ४२ हजार रुपैयाँको आयात भएको हो । उक्त आयातबाट सरकारले ३६ करोड ६४ लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । १ अर्ब ३२ करोडको मदिरा आयात चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न देशबाट सवा १ अर्ब बढीका मदिरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैतमसान्तसम्म १ अर्ब ३२ करोड ४३ हजार रुपैयाँ बराबरको मदिराको आयात भएको हो । ९ महिनाको अवधिमा १२ लाख ४७ हजार लिटर मदिरा आयातहुँदा सरकारले २ अर्ब ४२ करोड ५५ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आयातित मदिरामध्ये बियरमात्र २ करोड ४४ लाख रुपैयाँको आयात भएको छ । सो आयात हुँदा ५ करोड १ लाख २३ हजार रुपैँया राजश्व संकलन भएको छ । भारतबाट १ करोड ३४ लाख ५८ हजार रुपैयाँ र सिंगापुरबाट ३२ लाख १३ हजार रुपैयाँ, बेजियमबाट ३१ लाख २३ हजार, चीनबाट २१ लाख ३९ हजार, युरोपबाट १९ लाख ९१ हजार र आयरल्याण्डबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको बियर आयात भएको छ । फिलिपिन्स, जर्मनी, जापान, कोरिया, युरोप, इन्डोनोसिया र चीन लगायतका देशबाट ९ महिनाको अवधिमा ११ करोड रुपैयाँ बराबरको चुरोटका परिकारहरु आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त देशबाट ११ करोड ६८ हजार रुपैयाँ बराबरको चुरोट आयात भएको हो । उक्त आयात हुँदा सरकारले २४ करोड ८३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । २ अर्ब बढीको हिरा आयात भएकोे छ । ९ महिनाको अवधिमा भारतबाट मात्रै २ अर्ब १४ करोेड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको हिरा आयात भएको हो । सो आयातबाट सरकारले २ करोड १४ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ३५ अर्ब बढीको मोबाइल फोन तथा उपकरणको आयात भएको छ । ९ महिनाको अवधिमा विभिन्न देशबाट ३५ अर्ब १७ करोड ६२ लाख ५५ हजार रुपैयाँ बराबरको मोबाइल फोन तथा उपकरणको आयात भएको छ । उक्त आयातबाट सरकारले ९ महिनाको अवधिमा ५ अर्ब ५६ करोड ५७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । साढे २ अर्ब बढीको टेलिभिजनको आयात भएको छ । ९ महिनाको अवधिमा २ अर्ब ६७ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको टेलिभिजनको आयात भएको छ । सो आयातबाट सरकारले १ अर्ब ३० करोड ९२ लाख बढी राजश्व संकलन भएको छ । ९ महिनाको अवधिमा नेपालमा करिब १४ अर्ब रुपैयाँ बराबरको कार, जीप तथा भ्यानको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार १३ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको १२ हजार ६३२ थान सवारी आयात भएको हो । उक्त आयातबाट सरकारले ३१ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको राजश्व संक्लन भएको छ । यस्तै, ९ महिनाको अवधिमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको मोटर साइकल, ७१ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको खेलौना र १९ करोड ५५ लाख १० हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।
बीमाशुल्कमा आईएमई, हिमालयन, अजोड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा १३.३२ प्रतिशतले बढी हो । सञ्चालित १९ वटा कम्पनीहरूले अघिल्लो महिना अर्थात फागुन मसान्तसम्म २५ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेका थिए । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कम्पनीहरूले चैत मसान्तसम्ममा २१ लाख ७५ हजारवटा बीमालेख जारी गरी २८ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका हुन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखरको अग्रता कायमै रहेको छ । समीक्षा अवधिमा शिखरले एक लाख ८० हजार ७९९ वटा बीमालेख जारी गरी ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । त्यस्तै, २ अर्बभन्दा बढी र ३ अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । उनीहरुले क्रमशः दुई अर्ब ४२ करोड र दुई अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यता एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा १३ वटा कम्पनी रहेका छन् । जसमा पनि चार वटा कम्पनीबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको छ । बीमाशुल्कको आधारमा आईएमई जनलर, हिमालयन जनरल, अजोड र यूनाइटेड इन्स्योरेन्सबीच दह्रो टक्कर देखिएको छ । यी चार वटै कम्पनीले करिब सवा एक अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यीमध्ये यूनाइटेड इन्स्योरेन्सले भने सबैभन्दा बढी संख्यामा बीमालेख जारी गरेको छ । अरु तीन कम्पनीले पौने एक हजार वटा बीमालेख जारी गर्दा युनाइटेडले एक लाख २७ हजार वटा बीमालेख जारी गर्न सफल भएको छ । एक अर्बभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा एभरेष्ट, जनरल, सानिमा र नेशनल इन्स्योरेन्स रहेका छन् । यीमध्ये सबैभन्दा कम आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्योरेन्सले चालु आवको ९ महिनामा १७ हजार २२९ वटा बीमालेख जारी गरी ६७ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । कुनको कति ?