नौ महिनामा ५७ अर्ब ३५ करोडको आयात भएको थियो सरकारले रोकेका १० वस्तु

<p>काठमाडौं । सरकारले १० प्रकारका सामानहरु आयात गर्न बन्देज नै लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार विलासी उपभोग्य सामान नेपाल आयात गर्न रोकेको हो । सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष भरीको लागि रोकिएको छ । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार बैंकहरुले एलसी खोल्न नै [&hellip;]</p>

काठमाडौं । सरकारले १० प्रकारका सामानहरु आयात गर्न बन्देज नै लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार विलासी उपभोग्य सामान नेपाल आयात गर्न रोकेको हो ।

सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष भरीको लागि रोकिएको छ । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार बैंकहरुले एलसी खोल्न नै बन्द गरेर आयात रोकिएका वस्तुहरु नेपाल सरकारले अब भने औपचारिक रुपमा नै आयातमा रोक लगाएको हो ।

अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका) ल्याउन पाइने छैन ।

सरकारले आयात रोकेका १० वस्तुको आयातमा चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्म) साढे ५७ अर्ब नेपाली रुपैयाँ बराबरको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार उक्त १० वस्तु आयातका लागि ९ महिनाको अवधिमा ५७ अर्ब ३५ करोड ६५ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो ।

कुन वस्तु कति आयात

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ५८ करोडको कुरकुरे आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतमसान्तसम्मको तथ्यांक अनुसार ५८ करोड ७६ लाख १५ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार किलो कुरकुरेको आयात भएको हो ।

भारतबाट ४९ करोड ९ लाख ८९ हजार रुपैयाँ र मलेसियाबाट ८ करोड २५ लाख ४२ हजार रुपैयाँको आयात भएको हो । उक्त आयातबाट सरकारले ३६ करोड ६४ लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

१ अर्ब ३२ करोडको मदिरा आयात

चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न देशबाट सवा १ अर्ब बढीका मदिरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैतमसान्तसम्म १ अर्ब ३२ करोड ४३ हजार रुपैयाँ बराबरको मदिराको आयात भएको हो ।

९ महिनाको अवधिमा १२ लाख ४७ हजार लिटर मदिरा आयातहुँदा सरकारले २ अर्ब ४२ करोड ५५ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आयातित मदिरामध्ये बियरमात्र २ करोड ४४ लाख रुपैयाँको आयात भएको छ । सो आयात हुँदा ५ करोड १ लाख २३ हजार रुपैँया राजश्व संकलन भएको छ ।

भारतबाट १ करोड ३४ लाख ५८ हजार रुपैयाँ र सिंगापुरबाट ३२ लाख १३ हजार रुपैयाँ, बेजियमबाट ३१ लाख २३ हजार, चीनबाट २१ लाख ३९ हजार, युरोपबाट १९ लाख ९१ हजार र आयरल्याण्डबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको बियर आयात भएको छ ।

फिलिपिन्स, जर्मनी, जापान, कोरिया, युरोप, इन्डोनोसिया र चीन लगायतका देशबाट ९ महिनाको अवधिमा ११ करोड रुपैयाँ बराबरको चुरोटका परिकारहरु आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त देशबाट ११ करोड ६८ हजार रुपैयाँ बराबरको चुरोट आयात भएको हो । उक्त आयात हुँदा सरकारले २४ करोड ८३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

२ अर्ब बढीको हिरा आयात भएकोे छ । ९ महिनाको अवधिमा भारतबाट मात्रै २ अर्ब १४ करोेड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको हिरा आयात भएको हो । सो आयातबाट सरकारले २ करोड १४ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

३५ अर्ब बढीको मोबाइल फोन तथा उपकरणको आयात भएको छ । ९ महिनाको अवधिमा विभिन्न देशबाट ३५ अर्ब १७ करोड ६२ लाख ५५ हजार रुपैयाँ बराबरको मोबाइल फोन तथा उपकरणको आयात भएको छ । उक्त आयातबाट सरकारले ९ महिनाको अवधिमा ५ अर्ब ५६ करोड ५७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

साढे २ अर्ब बढीको टेलिभिजनको आयात भएको छ । ९ महिनाको अवधिमा २ अर्ब ६७ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको टेलिभिजनको आयात भएको छ । सो आयातबाट सरकारले १ अर्ब ३० करोड ९२ लाख बढी राजश्व संकलन भएको छ ।

९ महिनाको अवधिमा नेपालमा करिब १४ अर्ब रुपैयाँ बराबरको कार, जीप तथा भ्यानको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार १३ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको १२ हजार ६३२ थान सवारी आयात भएको हो । उक्त आयातबाट सरकारले ३१ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको राजश्व संक्लन भएको छ ।

यस्तै, ९ महिनाको अवधिमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको मोटर साइकल, ७१ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको खेलौना र १९ करोड ५५ लाख १० हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

Share News