शारीरिक अपांगताले रोक्न नसकेको जिलेशन साहको शैक्षिक यात्रा

काठमाडौं । हिँडडुल गर्नै चुनौती भएको जीवनमा धेरैका सपना थाकेर रोकिन्छन् । परिवार, समाजबाटै अपहेलित हुनुपर्छ । भाग्यलाई सराप्दै रोइरहेकाहरू अहिले पनि प्रशस्त छन् । तर शारीरिक अपांगताले रोक्न नसकेको एक यात्रा हो जिलेशन साहको । आजभन्दा ५० वर्ष अगाडिको सोच अहिलेको जस्तो थिएन । शारीरिक अपांगतालाई पूर्वजन्मको पापका रूपमा लिइन्थ्यो । समाज र परिवारकै अपहेलना सहेर बस्नुपर्थ्यो तर, शाहका बुवाआमाले कहिल्यै पापको रूपमा हेरेनन् । बरु भगवानको उपहार भनेर स्वीकारे ।  ‘बुवाको मप्रतिको लगाव, आमाको प्रेरणाले मलाई यो अवस्थामा पुर्याएको हो, अहिले जहाँ म पुगेको छु, जुन अवस्थामा छु, आमाबुवाकै देन हो,’ साहले भने । जिलेशन अहिले काठमाडौं विश्वविद्यालयको इन्क्लुसिभ एजुकेसन अफ डिपार्टमेन्टमा लेख्चररका रूपमा कार्यरत छन् । २५ वर्ष नेपालका विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गराउँदै आएका उनी शिक्षाले नै विभेद, हिंसा रोक्न सिकाउने बताउँछन् ।  ‘यदि मैले शिक्षा प्राप्त गरेको थिइनँ भने म कहिल्यै तपाईंसँग भेट्ने अवसर पाउने थिइनँ, समावेशी शिक्षाको आवाज उठाउन सक्ने हैसियतमा हुँदैन थिएँ । अहिले जुन ठाउँ पुगेको छु, जुन सम्मान पाएको छु, शिक्षाले नै पाएको हुँ, मानवको जीवनमा शिक्षा अनिवार्य छु,’ उनले भने । जिलेशनले शारीरिक, मानसिक, सामाजिक वा आर्थिक हिसाबले पछाडि परेका व्यक्ति वा विभिन्न कारण पढ्न नपाएका व्यक्तिहरूलाई शिक्षा दिइरहेका छन् । कतिपय विद्यार्थी विश्वविद्यालयमै अध्ययनका लागि पुग्छन् भने अनलाइनमार्फत देशभरका शिक्षकहरूलाई सिकाउने काम उनले गर्छन् । २५ वर्षसम्म विभिन्न स्कुल तथा कलेज हुँदै विश्वविद्यालयसम्म अध्यापन गराउनु सहज थिएन । उनी जहाँ पुगे आफ्नै क्षमताले पुगेको दाबी गर्छन् ।  २५ वर्षको शिक्षण यात्रा आफ्नाहरू पराइ हुने सहर हो काठमाडौं । धनसम्पत्ति हुँदा नचिनेकाहरू पछाडि लाग्ने, केही नहुँदा आफन्तहरू पराइ हुने यो सहरमा साहका लागि चुनौती निकै थिए । शक्त व्यक्तिलाई समेत असहज हुने भीडमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई थप चुनौती थियो । हातमा बैशाखीको सहारामा साहले आफूलाई यसरी कुदाएकी जसरी भक्तपुर ठिमीदेखि रत्नपार्क कुद्ने माइक्रो गुड्थ्यो । बिहान कलेज, दिउँसो विद्यालय, साँझ अर्को काम यतिसम्मकि एकै दिन तीन चारवटा शैक्षिक संस्थामा उनी विद्यार्थीलाई अध्यापन गराउँथे ।  कलेज विद्यालयको संख्या गन्ने हो भने करिब दुई दर्जन हाराहारीको शैक्षिक संस्थामा उनले विद्यार्थी पढाएका छन् । जिलेशन साह ‘शैक्षिक संरचना उस्तै, विद्यार्थी पढाउन, तेस्रो, चौथो तलासम्म पुग्नुपर्थ्यो । एक ठाउँ काम सकिनेबित्तिकै अर्को कलेज पुग्नुपर्थ्यो । दिनमा यति दौडधूप हुन्थ्यो कि कहिलेकाँही त दिनभरि थाकेर साँझ सारै गलिन्थ्यो,’ विकासन्युजसँग साहले आफ्नो दौडधूपबारे सुनाए ।  थकित शरीरसँग पैंठेजोरी गर्दै परिवारको सहयोग र आफ्नो आँटले समावेशी शिक्षाको जानकार भएका व्यक्ति हुन् साह । पोलियोले अशक्त बनाएको शरीर सामान्य परिवार । जेठो छोरी पछिको दोस्रो सन्तानका रूपमा जन्मेका साह । छोरा जन्मँदा आमाबुवा कम्ती खुसी थिएनन् । छोरा जन्मँदा उत्सव मनाउने समाजमा छोरीपछिको छोरा हुँदा खुसी नहुने कुरै भएन ।   सर्लाहीको बागमती नगरपालिकामा जन्मेका उनी सात वर्षसम्म शारीरिक रूपमा स्वस्थ थिए । त्यसपछि उनी अशक्त भए– कारण थियो पोलियो । साहलाई पोलियो भएको थियो । त्यो बेला अहिलेको जस्तो स्वास्थ्य सुविधा थिएन । बिरामी भएर थला पर्दामात्र अस्पताल जाने अवस्था थियो । सुरुमा के भएको थियो थाहा भएन, उनका बुवाले धामीझाँक्री सबै लगाए तर निको भएन । अस्पताल पनि पुर्याए त्यहाँ उपचार गरियो तर निको भएन । जिलेशन पोलियोको नाममा भएको गलत उपचारले आफूलाई शारीरिक अपांगता बनाएको बताउँछन् । विभिन्न अस्पताल, धामीझाँक्री गर्दा पनि कतै निको नहुँदा उनका बुवाले उपचारको लागि भारत लगे । भारतमा पनि उनलाई निको भएन । त्यसपछि उनका बुवाले एउटा प्रणय गरे– अब छोरालाई जसरी हुन्छ पढाउँछु ।  ‘वुवालाई कसैले भने– छोराको खुट्टा निको हुँदैन, बरु उसको भविष्य राम्रो चाहने हो भने उसलाई सक्दो शिक्षा दिनुपर्छ,’ उनी भन्छन्, ‘अस्पतालमा चिकित्सकले पनि भन्नुभयो सायद अन्य व्यक्तिले पनि यसै भन्नुभयो अनि बुवाले अठोट गर्नुभयो– जस्तोसुकै अवस्था आओस् छोरालाई पढाउँछु, बुवाको यही हिम्मतले आज म म भएको हुँ ।’ साह आफ्नो कारण बाले धेरै दुःख पाएको बताउँछन् । विभिन्न अस्पताल धाउँदा त्यो बेलाको करिब ९० बिघा जग्गा किन्ने पैसा उपचारमा खर्च गरेको उनको भनाइ छ । मेरो बाले कहिलेकाहीँ भन्नुहुन्छ, ‘तेरो उपचारमा मैले ८० देखि ९० बिघा जग्गा किन्ने पैसा खर्च गरें ।’ त्यो बेला पाँच सय रुपैयाँमा एक बिघा जमिन आउँथ्यो ।  घरमै शिक्षक साहका बुवा पढेलेखेका थिएनन् । तर कखरा बुवाले घरमै सिकाए । केही समयसम्म घरमै शिक्षक बोलाइयो । कक्षा तीनसम्म सर्लाहीमै पढेका उनको परिवार रौतहटमा सर्यो । रौतहटमा पनि विद्यालय नजिक थिएन । घरबाट तीन÷चार किलोमिटरसम्म हिँडेर जानुपर्थ्यो । अहिलेको जस्तो राम्रा बाटो थिएन ।  ‘हिलैहिलोमा घ्रिसिएर पुग्दा शरीरका कपडा समेत भिजेका हुन्थे, म आफै गन्हाएको हुन्थेँ,’ ती दिन सम्झँदै साह भन्छन्, ‘हिलोले म गन्हाए वा म गन्हाउन बाध्य भएँ, धेरै साथीहरूले नाक छोप्नुपर्ने अवस्था आउँथ्यो, शिक्षकलाई उस्तै घिन लाग्थ्यो होला ।’  साहकी दिदी पनि उनीसँगै स्कुल जान्थिन् । पानी पर्दा गाह्रो हुँदा बोकेर लैजान्थिन् । दिदीसँगै स्कुल जाँदा खेतका आलीमा लडेको याद उनलाई ताजै छ । कहिले उनी हिँड्दै गरेको देख्दा बाटोमा हिँड्ने गाडीले सहयोग गर्थे । कक्षा ८ सम्म पढ्दा निकै दुःख पाएका साहले त्यसपछि बैशाखीको सहारा लिन थाले । साहले कक्षा १० सम्म पढ्न ८ विद्यालय जानुपर्यो ।  धेरै पटक विद्यालय नै टाढा हुँदा परिवारले नै बसाइँ सर्नुपर्यो । उनकै शिक्षाका लागि खेती किसान गर्दै आएका बुवाले काम छोडेर कुटानीपिसानीका लागि मिल सञ्चालन गर्नुपर्यो । समाजले गर्ने व्यवहार, साथीसँगीले गर्ने खिसिट्युरी कति हो कति । ती दिन उनलाई अहिले सम्झिन मन पर्दैन तर, खेतका आलीआलीमा बसेर किताबहरू पढेको, आँपको छहारीमा बसेर अंग्रेजी सिकेको, गणीतका हिसाब मिलाएको साहलाई खुब याद आउँछ ।  विभिन्न आरोह–अवरोह पार गर्दै उनले रौतहटको सन्तपुर माविबाट २०४८ सालमा एसएलसी पास गरे । अंग्रेजीमा पास हुने एक्लै विद्यार्थी जिलेशन पढाइमा अब्बल थिए । तीक्ष्ण दिमागका उनी शिक्षकले एक पटक भनेको टपक्कै टिप्थे । अंग्रेजी विषयमा पनि उनी अब्बल थिए । २०४८ सालमा रौतहटमा १८ स्कुलका ९ सय १४ जना विद्यार्थीले परीक्षा दिएकोमा अंग्रेजी विषयमा पास हुने उनी एक्लो विद्यार्थी  थिए ।  अन्य विषयमा पास भएर अंग्रेजी विषय लागेर सबै विद्यार्थी पास हुँदा साहलाई एक विषय पनि लागेन । यो नतिजाले आफूले आफैलाई हेर्ने नजर अझ बलियो भयो । ९ सय १८ जना विद्यार्थीमा एक्लो पास हुँदा उनलाई अंग्रेजी विषयलाई रोज्ने निर्णयमा पुगे । ‘जुन विषयले मलाई मात्र एक विद्यार्थी पास भयो भन्ने बनायो, मलाई चिनायो, त्यो विषयलाई छोड्न मन लागेन, बरु अब यही विषयमा मिहिनेत गरेर यही विषय रोज्छु भन्ने चाहना त्यही दिनबाट सुरु भएको थियो,’ उनले भने । एसएलसीपछि काठमाडौंमा  साहले एसएलसी पास गरिसकेपछि दिदीभाइ नै पढाइका लागि काठमाडौं आए । काठमाडौं झन् सोचेभन्दा फरक थियो । सामान्य मान्छेलाई बाँच्नै गाह्रो हुने यो सहरमा जति पस्न सजिलो छ, त्यति बस्न सजिलो छैन ।  दिदीभाइ काठमाडौंमा डेरा लिएर बसे ।  साहले पाटन क्याम्पस रोजे जहाँ आईएमा अंग्रेजी, राजनीतिकशास्त्र र अर्थशास्त्र तीन विषय लिएर पढे । आईए पास भएपछि बीएमा दुई विषयमात्र छान्न पाइन्थ्यो । आईए बीए हुँदै  २०५४ सालमा अंग्रेजीमा मास्टर्स गरे ।  पढ्दै काम गर्दै साहलाई पढ्नुमात्र थिएन, अब आफै पढ्दै काम गर्नु थियो । उनले पढ्दै गर्दा किसुनजीको सहयोगमा खेतान ग्रुपमा काम गर्ने अवसर पाए ।  त्यसपछि उनी शिक्षण पेशामा आवद्ध भए । ‘शिक्षा नै यस्तो क्षेत्र हो जहाँबाट युवापुस्तालाई चेतना जगाउन सकिन्छ , त्यसैले पनि म शिक्षण पेशामा आएको हुँ । किसुनजीले भनेर जागिर लगाइदिएको हो,’ उनले विगत सम्झिँदै भने । मास्टर्स गरिसकेपछि उनी शिक्षण पेशामा आवद्ध भए । सबैभन्दा पहिले उनले शिक्षण पेशा सुरु गरेको शिक्षण संस्था हो– ग्यालेक्सी पब्लिक स्कुल । साहको स्कुलमा पढाउने तरिका पनि अरूको भन्दा बेग्लै थियो । सबै शिक्षकले विद्यार्थीले राम्रो नतिजा नल्याउँदा विद्यार्थीलाई मात्र भन्थे भने उनी अभिभावक नै बोलाउँथे ।  ‘विद्यार्थी साना बच्चा हुन्छन्, उनीहरूलाई विद्यालयमा शिक्षकजस्तै घरमा अभिभावकले पनि गाइड गर्नुपर्छ । उनीहरू पढ्न बस्दा हेरिदिने, बेलाबेला कपी चेक गर्ने गर्दा बच्चाले राम्रो गर्नसक्छन् तर अभिभावकले नै वेवास्ता गर्यो भने बच्चाको शिक्षा राम्रो हुँदैन,’ उनले भने । साहको पढाउने तरिका स्कुल सञ्चालक गीता राणालाई मन पर्यो । उनले एक शिक्षकबाट पछि इञ्चार्जसम्म बनाइन् । त्यसपछि उनी सेन्ट लरेन्स कलेजमा अंग्रेजी पढाउन थाले । साहले १२ भन्दा बढी कलेजमा पढाए ।  साहलाई सबैभन्दा रमाइलो लाग्ने भनेकै पढ्न हो । उनले तीनवटा विषयमा स्नातकोत्तर गरेका छन् । उनले अंग्रेज, समाजशास्त्र र समावेशी शिक्षामा स्नातकोत्तर गरेका हुन् । हाल उनी पीएचडी गर्ने तयारीमा छन् ।  सञ्चालक बन्न खोज्दा पैसा डुब्यो हर व्यक्तिले आफ्नो क्षेत्रमा काम गर्दै जाँदा आफ्नै काम गर्ने रहर हुन्छ । शिक्षण पेशामा लाग्दै गर्दा एकदिन आफै सञ्चालक हुन पाइने अवसर साहलाई आयो । उनले यो प्रस्तावलाई नकार्न सकेनन् ।  नाशामा पढाउने एक जना शिक्षक सुजित सिंह कोर्डिनेटर थिए । उनको योजनामा उनी लगायत ३८ जनाले गुरुकुल नेशनल फाउण्डेशनमा लगानी गरे । गुरुकुल नेशनल फाउण्डेशन राम्रो कलेज थियो । सुजितले निकालेको प्याकेज पनि एकदम राम्रो प्रभावशाली र अचम्म लाग्दो थियो । त्यो योजनाले साहलाई पनि प्रभावित तुल्यायो । उनले सहमति पनि जनाए तर कलेज चल्न सकेन ।  प्रतिव्यक्ति करिब २८ लाख लगानी गरेको सबैको रकम डुब्यो । कलेज पनि बन्द भयो ।  लगानी डुबेपछि साहलाई तनाव भयो । ‘बिहानदेखि साँझसम्म विद्यार्थी पढाएर कमाएको पैसा डुबेपछि यस्तोसम्मको अवस्था आयो कि ऋण निकालेर केही महिना गुजरा चलाउनुपर्ने अवस्था आयो । झण्डैझण्डै सडकमै आइसकेको थिएँ, अरूको लहलहैमा लाग्दा डुबेको पैसा अहिले पनि पाउन सकेको छैन,’ साहले भने । संस्था २०६६ सालदेखि २०७१ सालसम्ममात्र चल्यो अनि त्यसपछि बन्द भयो ।  सानैबाट शिक्षक बन्ने रुचि शिक्षाले व्यक्तिलाई मात्र नभई, समाज र देशलाई नै शिक्षित बनाउँछ । साहलाई शिक्षाबाट समाजलाई सचेत गर्नु थियो । एकमात्र नभइ हजार विद्यार्थीलाई आफूले जानेको सिकेको कुरा सिकाउन पाउने एउटामात्र अवसर हो शिक्षण पेशा । विद्यार्थी बेला पनि आफूले जानेको कुरा उनी अरू साथीहरूलाई सिकाउँथे । उनलाई आफूले जानेको कुरा अरूलाई सिकाउँदा सन्तुष्टि हुन्थ्यो । ‘खेतका आलीमा बसेर स्कुलका किताबसँगै अन्य कम्युनिष्टका किताबहरू पनि पढिन्थ्यो ।  त्यो बेला पढ्ने माहोल निकै थियो,’ उनी भन्छन्, ‘अहिलेको जस्तो फोन थिएन, रमाइलो गर्ने एउटै काम थियो पढ्ने, पढेरै रमाइलो लिइन्थ्यो । यस्तो पढाइले बाह्य शिक्षा लिन सहज भयो ।’  उपत्यकाका प्रत्येक स्कुल कलेज पढाउँदै गर्दा साह काठमाडौं विश्वविद्यालयमा जोडिने अवसर पाए । अहिले काठमाडौं युनीभर्सिटीको इन्क्लुसिभ एजुकेशन डिपार्टमेन्टको लेख्चररका रुपमा कार्यरत छन् । जहाँ उनले सबै  किसिमका विद्यार्थीलाई विशेष आवश्यक्ता भएका अपांगता भएका, सिकाइमा कठिन भएका भाषा, सांस्कृतिक रूपमा फरक पृष्ठभूमिका वा सामाजिक रूपमा पछाडि परेकाहरूलाई शिक्षा दिइरहेका छन् ।  अनलाइन माध्यमबाट सरकार विद्यालयका शिक्षकहरूलाई कसरी पढाउने, विद्यालय नपुगेका विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा साह प्रशिक्षण गर्छन् । उनी मास्टर अफ स्कुल ट्रान्सफर्मेसन विषय पढाउँछन् । त्यो पढ्न आउने सबै शिक्षक छन् । उनी भन्छन्, ‘म दूरदराजको कुनै स्कुलमा भएको भएर त्यसको प्रभाव थोरै हुन्थ्यो होला तर अहिले म जहाँ छु– मैले नेपालका ग्रामीणस्तरदेखि सहर बजारका शिक्षकहरूलाई सिकाउने अवसर पाइरहेको छु निकै खुसी छु ।’ साहलाई सरकारी शैक्षिक संस्थामा काम गर्न मन थियो । गाउँमै गएर पनि शिक्षा दिन इच्छा थियो । तराईको पनि भित्री मधेसमा गएर पढाउन रहर थियो । परिवारलाई उनको स्वास्थ्यको चिन्ता थियो । उनलाई अझै पनि गाउँमै गएर पढाउन मन छ । जिलेशनले देखेको नेपालको शिक्षा जिलेशनका अनुसार नीतिगत रूपमा नेपालको शिक्षा एकदम राम्रो छ तर, कार्यान्वयन हुन सकेको छैन । गुणस्तरीय शिक्षा सबैलाई अनिवार्य गराइने भनिए पनि शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई भने अहिले पनि शिक्षा पाउन समस्या छ ।  विभिन्न विकासे रिपोर्टदेखि सरकारी रिपोर्टमा शिक्षाको विषयमा राम्रो लेखिएपनि व्यवहारमा लागू भने अझै हुन सकेको छैन । मधेसका कयौ विद्यालयमा विद्यार्थी टन्न छन् तर शिक्षक छैनन्  कतै शिक्षक छन् विद्यार्थी छैनन् । कुनैपनि कार्यालयका भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले अपांगता भएका व्यक्तिहरूका लागि निकै कष्टकर छ ।  काठमाडौं विश्वविद्यालयमा पनि राम्रो सुविधा छैन । तर यसका लागि भुइँतलामै पढाउने व्यवस्था गरिरहेको छ । स्कुल पढ्दाकै साथी अहिले श्रीमती जिलेशनले सिल्की कपाल भएको, पंहेलो कुर्ता सलवार लगाइराख्ने, सररर साइकलमा हिँड्ने एउटी केटी सधैं देखिरहन्थे । सधैं देखिरहने ती केटीलाई उनले कहिल्यै श्रीमतीको रूपमा भने हेरेका थिएनन् तर साइकलमा चढेर स्कुल आउँदै गरेको जाँदै गरेको उनलाई याद हुन्थ्यो ।  ती साइकलवाली केटीले भने जिलेशनलाई मन पराउँदिरहेछिन् । सधैं देखादेख भएपनि त्यतिसारो बोलचाल हुँदैन्थ्यो ।  साह काठमाडाैं आइसकेपछि एकदिन एक्कासि बानेश्वरमा गाडी चढ्ने बेला  ती युवतीसँग भेट भयो । त्यो बेला उनी पाटन ढोका नजिकै लुगा पसल सञ्चालन गरेर बसिरहेकी थिइन् । त्यसपछि दुवैबीच बोलचाल हुँदै गयो ।  बीए दोस्रो वर्षमा अध्ययन गर्ने बेलामा जिलेशनले ती युवतीसँग बिहे गरे । उनीहरूका छोराछोरी विदेशमा अध्ययन गरिरहेका छन् भने बुहारी नेपालमै अध्ययन गरिरहेकी छिन् ।  साह श्रीमतीको साथले नै आफू यहाँसम्म आइपुगेको बताउँछन् ।

४५ वर्षपछि इतिहास पल्टियो : पाँच गुणा महँगो तेल पछाडि, चाँदीले बनायो कीर्तिमान

काठमाडौं । चाँदीको मूल्य हाल तीव्र रूपमा बढेको छ । हालै पहिलोपटक चाँदीको मूल्य प्रतिकिलो ३.२ लाख रुपैयाँ नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा यो करिब ६५ डलर प्रति औंस पुगेको छ ।  अर्कोतर्फ डब्ल्यूटीआई क्रूड ५५.९३ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रूड ५९.७१ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । सन् १९८० पछि यो पहिलो पटक हो, जब चाँदीको मूल्य कच्चा तेलभन्दा माथि पुगेको छ । सन् २०२२ को मध्यतिर डब्ल्यूटीआई क्रूडको मूल्य चाँदीभन्दा करिब ५.५ गुणा बढी थियो । त्यसयता चाँदीको मूल्यमा २०६ प्रतिशतको उछाल आएको छ भने कच्चा तेलको मूल्यमा ४४ प्रतिशत गिरावट आएको छ ।  डब्ल्यूटीआई क्रूडका लागि यो वर्ष महामारीपछिको सबैभन्दा खराब वर्ष बन्ने देखिएको छ भने चाँदीका लागि सन् १९७९ पछिको सबैभन्दा राम्रो वर्ष हो । यस वर्ष मात्रै चाँदीको मूल्यमा ११५ प्रतिशत वृद्धि भएको छ । यसको मूल्याङ्कन माइक्रोसफ्टभन्दा पनि माथि पुगेको छ र यो विश्वको पाँचौं सबैभन्दा मूल्यवान् एसेट बनेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ ।

गणपति वनस्पतिको आम्दानीमा ५६५ प्रतिशत उछाल, १ अर्बबाट सिधै ८ अर्ब

काठमाडौं । वनस्पति घ्यू तथा प्रशोधित खाद्य तेल उत्पादन गर्ने गणपति वनस्पति लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । कम्पनीले एक वर्षमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५६५.६४ प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा सन् २०२५ मा ७ अर्ब १ करोड ४० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो । यद्यपि कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । जुन पछिल्लो एक दशक यताकै उच्च आम्दानी थियो । अघिल्ला वर्षहरूका तथ्याङ्कअनुसार कम्पनीले सन् २०१६ मा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ, सन् २०१७ मा ३ अर्ब १६ करोड रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ७५ करोड रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५१ करोड रुपैयाँ र सन् २०२१ मा ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।  सन् १९९८ मा स्थापित गणपति वनस्पति सन् २०२३ अप्रिलमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीले खाद्य तेल तथा सम्बद्ध उद्योग क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीले बारामा रहेको उद्योगबाट उच्च गुणस्तरीय वनस्पति घ्यू, प्रशोधित तेल, तोरीको तल उत्पादन गर्दै आएको जनाएको छ ।  वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमताको गणपति वनस्पति नेपालकै सबैभन्दा ठूलो तेल उद्योग रहेको कम्पनीको दाबी छ । करिब तीन दशकदेखि खाद्य तेल उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको छ ।  कम्पनीले सफारी, सफारी हेल्थ, छक्र तथा रामदेव ब्राण्डमा तेल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । लक्की ग्रुप अन्तर्गत सञ्चालित गणपति वनस्पतिको अध्यक्ष अमित मोर र सञ्चालक राजीव मोर छन् । कम्पनीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि तेल निर्यात विस्तार गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन बैंक ऋण ४४ करोड २० लाख रुपैयाँका लागि डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तै, ४ करोड रुपैयाँ अल्पकालीन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरिएको छ । साथै इन्फोमेरिक्स नेपालले ६ अर्ब रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन ऋणका लागि डबल बी माइनस तथा ए फोर रेटिङ प्रदान गरेको छ ।