काठमाडौं । नेपाल राष्ट्र बैंकले सामान्य व्यक्तिको ग्राहक पहिचान सम्बन्धी व्यवस्थामा केही सरलीकृत गरेको छ । सामान्य नागरिकलाई पनि बैंकिङ कारोबार गर्न विभिन्न प्रकारका अप्ठेरा प्रावधान राखेको भनेर आलोचना भइरहेको समयमा राष्ट्र बैंकले दुई प्रकारले ग्रहक पहिचान गर्ने गरी सामान्य नागरिकको हकमा केही खुकुलो व्यवस्था बनाइदिएको हो ।
राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै उच्च पदस्थको लागि बृहत ग्राहक पहिचान र सामान्य व्यक्तिहरुको लागि सरलीकृत ग्राहक पहिचान गर्ने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, धितोपत्र ब्रोकरहरु, मनी चेन्जर जस्ता संस्थाहरुले अबदेखि दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारेर राख्नुपर्ने भएको छ ।
एकीकृत परिपत्रको परिच्छेद १० मा बृहत ग्राहक पहिचान सम्बन्धी व्यवस्था छ । सो परिच्छेदमा सम्पत्ति शुद्धीकरण तथा आतंकबादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक, क्षेत्र, उच्च जोखिमयुक्त सेवा लगायतका जोखिमयुक्त कारोबारहरु तथा उच्च पदस्त व्यक्तिहरु र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध ग्राहकका लागि बृहत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने भनिएको छ ।
जोखिम बढी भएका ग्राहकको हकमा बृहत ग्राहक पहिचान पद्धति र जोखिम कम भएका ग्राहकको हकमा सरलीकृत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
पछिल्लो समय राजनीतिक नेतृत्व तथा उच्च तहका कर्मचारीहरु नै भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको चर्चा चलिरहेको समयमा राष्ट्र बैंकले यस्तो परिपत्र जारी गरेको हो । यस्तै, अहिले अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध सुमधुर छैन । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही समयअघि गभर्नर अधिकारीलाई पदबाट हटाउनको लागि छानवीन समिति बनाएको थियो । यद्यपि, सो समिति गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतले खारेज गरेपछि गभर्नर अधिकारीले पदीय जिम्मेवारी संहालिरहेका छन् ।
[pdf id=332915]