अर्बौंको कारोबार गर्ने उद्योगी बञ्जाडे कसरी आए सडकमा ? (भिडियोसहित)

काठमाडौं । बुटवलका नारायण बञ्जाडे तिन दशकदेखि औद्योगिक तथा व्यवसायी क्षेत्रमा रमाइरहेका छन् । सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका नारायण अहिले बुटवलको सबैभन्दा ठुला उद्योगीका रूपमा परिचित छन् । आफ्नै देशमा औद्योगिक क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मनसायले व्यवसायिक यात्रामा लागेका नारायणको व्यवसाय सुरुमा राम्रै चल्दै थियो । आफ्नो उद्योगबाट उत्पादन भएका सामानले बजारको माग पाउन थालेपछि नारायण झन् उत्साहित भए । र, आफ्नो उद्योगको विस्तार गर्न तर्फ लागे । बैंकबाट सस्तो ब्याजमा ऋण लिएर उद्योगको विस्तार गर्नुका साथै थप जनशक्ति पनि थप्दै गए । बैंकको सस्तो ब्याजका कारण उनलाई उद्योग सञ्चालन गरी वस्तु उत्पादन गर्न कुनै समस्या भएन । बैंकबाट थप ऋण लिँदै व्यवसाय विस्तार गर्दै गए । किस्ता पनि समयमै तिर्दै गए । त्यसकारण पनि उनी बैंकको लिष्टमा असल ऋणीका रुपमा गनिए । उद्योगको बजार पनि राम्रै थियो । कर्मचारीहरुले पनि समयमै तलब पाउँथे । व्यवसायिक यात्रा कहिले चुनौती र समस्याहरु नआउने होइन । ती समस्याहरुको समाधान गर्दै उनी अगाडि बढे । अहिले उनका बुटवलको विभिन्न ठाउँमा घर बनाउने थ्रिडी प्यानल, फर्निचर, टायल लगायतको उद्योगहरू सञ्चालनमा छन् । बैंकको ब्याज समयमा तिर्ने र ऋण पनि चुक्ता गर्दै जाने मनसायले बैंकबाट केही रकम र आफ्नो लगानीबाट एन्जी मार्केट सपिङ कम्प्लेक्स पनि बुटवलमा सञ्चालनमा ल्याए । उनका अनुसार सो कम्प्लेक्स साढे २ बिग्गा जग्गामा ८० हजार स्क्वायर फिट फैलिएको छ । एन्जी मार्केट भाटभटेनीपछिको सबैभन्दा ठूलो कम्प्लेक्सको रूपमा सञ्चालनमा रहेको कम्पनीको दाबी छ । तर, यही बिचमा उनलाई एउटा सकस पर्यो । अहिले बैंकको ब्याजदर बढेसँगै किस्ता तिर्न नसकेपछि उद्योग नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको उनी बताउँछन् । बैंकको व्याज बढेसँगै अहिले एकै चोटि दोब्बरले किस्ता बढेको उनले सुनाए । उनले यति धेरै ब्याज तिर्न सक्ने क्षमता आफ्नो नभएको सुनाए । ‘बैंक हाम्रो शत्रु हैन, कोभिड हुँदा पनि बैंक वित्तीय क्षेत्र नाफामा जाने, अन्य व्यवसाय चौपट हुँदा सबै हेरेर बस्ने, ब्याज बढाएको बढाइ गर्ने, हामी सबै डुब्दा बैंक पनि डुब्छ भन्ने कुरा भुल्नु हुँदैन, त्यसैले समयमा नै यस क्षेत्र तर्फ सरकारको ध्यान जानु आवश्यक छ,’ उनले विकासन्युजसँग भने । अहिले आफ्नो उद्योगहरूबाट कुल क्षमताको ३० प्रतिशत मात्र उत्पादन हुँदै आएको उनले जानकारी दिए । तीन दशको व्यवसायिक यात्रामा अहिलेसम्म यस्तो अवस्थामा नभोगेको उनको अनुभव छ । ‘बैंकले एकलाई दुई, दुईलाई तिन गरेर व्याज बढाएका छन्, कागजमा मात्र ब्याज बढाएर हुँदैन, असुल गर्नको गर्नको लागि व्यवसायीहरूसँग पैसा छैन, डिपोजिट गर्नेहरूले बैंकबाट पैसा निकाल्न थाले भने हामीले भन्दा हजार गुणा बैंकलाई समस्या देखिन्छ,’ उनले भने । यसरी नै ब्याजदर बढ्दै गएमा देश नै टाट पल्टिन सक्ने उनको धारणा छ । ५ सय भन्दा बढी बेरोजगार हुने उद्योगी बन्जाडेले आफ्नो उद्योगहरुमा प्रत्यक्ष रूपमा ५ सयभन्दा बढीलाई रोजगारी दिएका छन् । अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिएको उनको भनाइ छ । उनको सपिङ कम्प्लेक्समा मात्र २ सय बढी कर्मचारीहरू कार्यरत छन् । ब्याज बढेपछि उनीहरूलाई तलब दिन नसक्ने अवस्था आएका कारण कर्मचारीलाई समेत निकाल्नु पर्ने बाध्यता आइलागेको उनी बताउँछन् । ‘मेरो उद्योग धरासायी हुने बित्तिकै ५ सय जना बेरोजगार हुन्छन्, हामीले नै दिएका तलबबाट उनीहरूको चुल्हो बलिरहेको छ, वेरोजगार बनेपछि उनीहरूको चुल्हो बल्दैन, म एउटा सामान्य व्यवसायीको त यस्तो अवस्था छ भने झन् ठूला उद्योगी व्यवसायीको हालत के होला ?’ उनले प्रश्न गरे । ‘हामीले कमाएको रकम बाहिर लादैनौं, हामी पनि यही देशका नागरिक हौं, भएको पैसालाई स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरण मिलाउने हो, अब हामी पनि पलायन हुने बाहेक केही पनि छैन,’ उनले निराश हुँदै भने । एक अर्ब ऋण विभिन्न बैंकबाट उनले एक अर्ब रुपैयाँ ऋण लिएका छन् । उनले उद्योगको विकास तथा विस्तार गर्नको लागि सो रकम ऋण लिएको बताएका छन् । सस्तो ब्याज हुँदा नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएको बताए पनि उनले हाल ब्याजदर बढेपछि सकस परेको बताए । ‘हिजो ८/९ प्रतिशत व्याजमा ल्याएको ऋणको व्याज आज १३/१४ प्रतिशतमा पुगेको छ, आम्दानी भन्दा ऋणको व्याज बढी छ, अब व्याज तिर्न सक्दिनँ,’ उनले भने । अहिले उनी बैंकको ब्याज बढी भएको भन्दै सडकमा उत्रिएका छन् । शुक्रबार मात्रै उद्योग व्यवसायीहरु बैंकको ब्याजदर उच्च भएको भन्दै विरोध गर्न सडकमा उत्रिए । उनी पनि सोही विरोध कार्यक्रममा देखिएका थिए ।

आयात प्रतिबन्धले अधिकांश गाडीका सब-डिलर बन्द, ऋण लिएर तलब खुवाइँदै

काठमाडौं । सरकारले विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने चारपाँग्रे सवारी साधनमा प्रतिबन्ध लगाएपछि अधिकांश डिलरहरु बन्द भएका छन् । लामो समयदेखि गाडी आयातमा सरकारले प्रतिबन्ध लगाउँदा काठमाडौं उपत्यका बाहिर सञ्चालित गाडीका अधिकांश डिलर तथा सबडिलरहरु बन्द हुन थालेका हुन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले सरकारी प्रतिबन्धका कारण काठमाडौं उपत्यकाका डिलरलाई समेत समस्या पर्न थालेको जनाएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती लामो समयदेखि गाडी आयातमा लगाइएको प्रतिबन्ध नहट्दा गाडी व्यवसाय नै धरापमा परेको बताउँछन् । ‘लामो समयदेखि गाडी आयातमा लागेको प्रतिबन्ध निरन्तर छ, सरकारले तत्काल खोल्ने अवस्था देखिएको छैन, आयात रोकिँदा काठमाडौं बाहिरका डिलरहरु बन्द भएका छन्, यही अवस्था निरन्तर रहेका (मंसिर पछि पनि आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिएमा) काठमाडौंका समेत अधिकांश डिलरहरु बन्द हुने अवस्थामा पुगिसकेका छन्’, उनले भने, ‘गाडीको बिक्री वितरण ठप्प छ, ऋण लिएर कर्मचारीलाई तलव खुवाउने अवस्था आएपछि डिलरहरु बन्द हुन थाले ।’ उनले आयातकर्ता बाहेक अधिकांश डिलरहरु बन्द हुने अवस्थामा रहेको बताउँदै ठूला इम्पोटर समेत समस्यामा पर्न थालेको बताए । उनले हाल केही डिलरले अल्टरनेटमा काम गराएर कर्मचारीको व्यवस्थापन गर्न थालेका छन् भने अधिकांश डिलरले पछि राख्ने सहमतिमा कर्मचारी कटौती गर्न थालेका छन् । देशभरका गाडीका डिलरहरु बन्द भएसँगै १ हजारभन्दा बढी कर्मचारी जागिरबाट निकालिएको नाडाले जनाएकोे छ । महासचिव उप्रेतीले डिजेल पेट्रोलका गाडी आयातमा रोक लगाएपछि विद्युतीय सवारीको आयातमा बृद्धि भएतापनि बजारको माग धान्न सक्ने अवस्था नरहेको बताए । ‘अहिले सबै कम्पनीसँग विद्युतीय गाडी छैनन्, देशको अवस्था अनुसार सबै स्थानमा विद्युतीय गाडी पुग्न समेत सक्दैनन् ।’ उनका अनुसार ८ हजार बढी कर्मचारीको रोजगारी पनि गुमेको छ भने अझै धेरैले रोजगारी गुमाउन सक्ने देखिएको छ । नाडाका अनुसार अहिले देशभरका विभिन्न सवारीका सोरुम बन्द हुने अवस्थामा पुगेका छन् भने अधिकांश बन्द पनि भइसकेका छन् । नाडाले ५० बढी सोरुम बन्द भइसकेको बताएको छ भने एक सय बढी सोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न दश वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सरकारले उक्त वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै आगामी मंसिर मसान्तसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको छ । अन्य वस्तुको प्रतिबन्धलाई खुलाएपनि सरकारले सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात मंसिर मसान्तसम्म रोकेको छ । अन्य वस्तुको आयात खुलाएपनि गाडी आयात नखुलाएको भन्दै नाडाले आन्दोलनका तयारी थालेको छ । सरकारलाई दबाब दिन नाडाको नेतृत्वमा देशभर रहेका दुई तथा चार पाँग्रे सवारीका शोरुम तथा डिलर बन्द गर्ने तयारी थालिएको छ । सम्बन्धित सामग्री : सवारी साधनका सब-डिलरको व्यापार धरापमा

सेबोनका अध्यक्ष हमालको कथा : एसएलसीमा सुदूरपश्चिम टप, रेलमा लभ परेपछि विवाह

काठमाडौं । भाग्य ठूलो कि मेहनत ? हामीले यो प्रश्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सोध्यौं । उनले जवाफमा भने, ‘भाग्यलाई पाउन धेरै मेहनत गर्नुपर्छ, मलाई सबैभन्दा धेरै मन पर्ने भनेकै मेहनत हो, म सजिलो काम गर्न मन पराउँदिन, जीवनमा चुनौती लिन मन पर्छ, सायद त्यो चुनौति र मेहनत नगरेको भए यो अवस्थामा हुन्थिन कि ।’ त्यस्तो ठूलो चुनौति के लिनु भएको छ ? हामीले प्रतिप्रश्न गर्यौं । उनले आफ्नो जीवनको कहानी सुनाए । सुदूरपश्चिमको डोटीदेखि थाइल्याण्डको बैंकक र नेपाल विद्युत प्राधिकरणको जागिरे जिन्दगीदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदासम्मका किस्साहरु स–विस्तार सुनाए । रमेश हमाल वि.सं २०२१ सालमा डोटीको सिलगढीमा जन्मिए । सामान्य परिवार । हमालका बुवा कर कार्यालयमा खरिदारका रुपमा कार्यरत थिए । रमेश ५ वर्षका हुँदा उनका बुबाको सरुवा कैलालीको धनगढीमा भयो । जतिबेला उनी सिलगढीमै कक्षा एकमा पढ्थे । सिलगढीबाट धनगढी झरेपछि उनको विद्यालय तहको पढाइ धनगढीको हसनपुरमा रहेको पञ्चोदय माद्यमिक विद्यालयबाट सुरु भयो । ‘घर परिवार सामान्य भएकै कारण बाल्यकालमा न धेरै दुःख न त धेरै सुख भोग गर्नु पर्यो तर संघर्ष भने धेरै गरेको छु, बुबा सरकारी जागिरे भएकै कारण पनि पढ्नु पर्छ भन्ने मानसिकता मेरो मनमा सानैदेखि थियो, हुन त दशैंमा कपडा किन्न पनि बुवासँग पैसा हुँदैनथ्यो, त्यो स्थितिबाट अहिले स्थितिमा पुगेको छु, कहिलेकाँही त लाग्छ मलाई अब अपुग के नै छ र,’ उनले मुस्कुराउँदै भने । छ जना भाइबहिनीहरु मध्येका उनी कान्छो भाइ हुन् । कान्छो भाइ भएकै कारण पनि उनले सबैबाट राम्रै माया पाए । पढाइमा पनि राम्रो लगनशिल भएका कारण उनलाई सबैले पढाइमा प्रोत्साहन गरे । एसएलसीमा सुदूरपश्चिम टप हमालले वि.स. २०३८ सालमा पञ्चोदय माद्यामिक विद्यालयबाट एसलएलसी (अहिलेको एसईई) दिए । त्यो साल उनका लागि कहिल्यै नबिर्सिने बन्यो । एसएलसीमा उनी सेती र महाकाली अञ्चल (सुदूरपश्चिम) टप भए । ‘म एसएलसीमा मेरो ब्याचको सेती र महाकाली अञ्चल टप हुँ, त्यतिखेर फष्ट डिभिजनको अंक ल्याउन पनि मुस्किल पर्थ्यो, त्यसअघि कोही पनि एसएलसीमा फस्ट डिभिजनमा पास भएका थिएनन्, अधिकांश विद्यार्थी सेकेण्ड र थर्ड डिभिजनमा पास हुन्थे, त्यो वर्ष मेरो लागि अविस्मरणीय बन्यो,’ उनले आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै भने । उनी एसएलसीमा बोर्ड टप हुनबाट ३ नम्बरले पछि परेको सनाउँछन् । ‘म विद्यालय तहमा पढ्दा जहिल्यै प्रथम हुन्थे, विद्यालयभर नै सबैभन्दा बढी नम्बर ल्याएर टप हुन्थेँ, बोर्डमा ३ नम्बर बढी आएको भए टप टेन भित्र पर्थेँ, पछि बढी किन पढेन हुँला भन्ने ग्लानी भयो,’ उनले पास भइसकेपछिको क्षण सुनाउँदै भने । एसएलसी पश्चात उनी काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा फिजिक्स विषय लिएर पढ्न थाले । अस्कलबाट उनले विज्ञान विषयमा राम्रो अंक ल्याएर प्लस टु पास गरे । त्यसबेला कोलम्बो प्लानमा स्कलरसिप खुल्थ्यो । वि.सं २०४१ मा स्कलरसिपमा इन्जिनियरिङ पढ्न भारतको काेलकत्ता नजिकैकाे टाटानगर पुगे । उनले रिजनल इन्स्च्यिुट अफ टेक्नोलोजीमा पढे । उनले वि.सं २०४५ मा नै इन्जिनियरिङ पास गरे । उनी सोही वर्ष नेपाल फर्किए । विद्युत प्राधिकरणमा ८ वर्ष जागिर रमेश हमालसँग इञ्जिनिरयरका रुपमा नेपाल विद्युत प्राधिकरणमा काम गरेको पनि अनुभव छ । वि.सं २०४५ मा इञ्जिनियरिङ सकेर नेपाल फर्किए लगत्तै उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्न सुरु गरे । अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् । तिनै घिसिङ पनि भारतमा हमाल पढेकै कलेजमा पढेका थिए । घिसिङ आफुभन्दा पाँच ब्याच जुनियर भएको हमाल सुनाउँछन् । विद्युत प्राधिकरणमा प्रोजेक्ट इन्जिनियरिङ भएर उनले ८ वर्ष काम गरे । उनलाई ३ हजार पाँच सय तलब दिइयो । ‘८ वर्षको अवधिमा नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको ट्रान्समिसन लाइन ४ वर्ष ६ महिनामा सम्पन्न गरेको थिएँ, अफिसले मलाई राम्रो काम गर्छ भन्ने बुझेपछि त्यो बेलाको सबैभन्दा ठूलो प्रोजेक्ट कोर्डिनेटरको जिम्मेवारी दियो, त्यो प्रोजेक्ट काठमाडौं उपत्यकामा लागू भएको थियो, त्यो प्रोजेक्ट पनि समयमा सकेँ,’ उनी भन्छन्, तर पछि सरकारी सेवामा खासै कदर नहुने, प्रमोशन गर्दा पनि आफन्तहरुको पावर लगाउनुपर्ने परिस्थिती थाहा पाएपछि पछाडि परिने महसुस भयो र जागिर नै छोडिदिएँ ।’ ३ महिनामै स्टुडेन्ट युनियनको लिडर उनले वि.सं २०५४ मा नेपाल विद्युत प्राधिकरणको जागिर छोडे । उनी जागिर छाडेपछि स्कलरसिपमा एमबिए पढ्न थालेको बताउँछन् । ‘इञ्जिनियर मात्रै भएर हुँदैन, अब एमबिए फाइनान्स पढ्छु भन्ने लाग्यो, अन्तर्राष्ट्रिय स्कलरसिपको लागि आवेदन दिएँ,’ उनले भने, ‘एआइटीबाट सोही वर्ष पूर्ण छात्रवृति आयो, ‘त्यसपछि सोही कलेजमा पढ्न गएँ ।’ एशियन इन्स्च्यूट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्ड एशियाको टप विश्वविद्यालय हो । एउटै कक्षामा मात्रै ३०/३५ देशका विद्यार्थी हुने गरेको उनी बताउँछन् । २४ सै घण्टा कलेजभित्रै बसेर पढ्नु पर्ने बाध्यता थियो । सो कलेजमा स्टुडेन्ट युनियरको लिडरका लागि चुनाव नजिकिँदै थियो । उनका साथीहरुले हमाललाई अध्यक्षका लागि लड्न आग्रह गरे । सुरुमा आफुलाई जोक लागेको उनी स्मरण गर्छन् । ‘कलेजमा भर्ना भएको तीन महिना मात्रै भएको छ, साथीहरु अध्यक्षमा लड्नु भन्छन्, सुरुमा त मलाई जोक जस्तै लाग्यो, चौथो सेमेस्टरका साथीहरु पनि अध्यक्षका लागि उठेका थिए तर पछि मैले ७२ प्रतिशत मत ल्याएर अध्यक्ष बनेँ, ‘एआइटिमा गएर स्टुडेन्ट यूनीयनको लिडर बन्छु भनेर कल्पना नै गरेको थिइनँ,’ उनी भन्छन्, ‘ तर, आँट गरेपछि सम्भव हुने रहेछ भन्ने त्यो घटनाबाट पनि सिकेँ ।’ उनी एमबिएमा पनि टप र्याङ्कमा पास भए । एमबिएमा ५० देशका विद्यार्थीहरुमध्येमा उनी दोस्रो बने । आफु ०.४ अंक कम आउँदा गोल्ड मेडलिष्ट बन्न चुकेको उनी सुनाउँछन् । यूनाइटेड नेशनमा पनि काम गरेको अनुभव एआईटीमा एमबिए सकिएपछि उनले यूनाइटेड नेशन (यूएन) मा काम गर्न थाले । उनलाई जर्मन प्रोफेसरले पिएचडी गर्न सुझाएका थिए । तर, उनले पिएचडी गर्न रुचाएनन् । एशिया प्यासिफिकका ३० वटा देश हेर्नका लागि बैंककमा यूएनको रिजनल अफिस थियो । वि.सं २०५६ मा उनी फण्ड म्यानेजर बनेर यूएनमा काम थाले । उनले यूएनमा १४/१५ महिना काम गरेपछि बृटिस कम्पनीले उनलाई अफर गर्यो । ‘मेरो चरित्र, व्यक्तित्व हेर्दा फ्रि इकोनोमीमा लिडरसिप काउण्टडाउन हुन्छ जस्तो लाग्थ्यो, बृटिस कम्पनीमा चिफ फाइनान्स अफिसर (सीएफओ) भएर काम गर्न थालेँ, सीएफओ भएको डेढ वर्षभित्रै चिप एक्ज्यूटिभ अफिसर (सीईओ) बनेँ, कम्पनी मेरो काम देखेर प्रभावित भयो,‘ उनी भन्छन्, ‘मेरो कारणले नै सो कम्पनीले ठूलो फड्को मार्यो ।’ हमालले वि.सं २०६० देखि २०७१ सम्म सोही कम्पनीमा सीईओका रुपमा काम गरे । सो कम्पनीको सिंगापुर, हङकङ, भियतनाम, इण्डोनोसिया, मलेसिया, थाइल्याण्ड, इण्डिया, श्रीलङ्का, नाइजेरिया, क्यारेबिन लगायत १२/१३ वटा देशमा प्रोजेक्ट तथा लगानी थियो । १५ वर्ष काम गरेपछि उनले सो कम्पनी छोडे । त्यसपछि उनले आफ्नै कम्पनी स्थापना गरे । उनले सन् १९७१ मै सो कम्पनी छोडेर आफ्नै कन्सल्टिङ डिभिजन सुरु गरे । उनले इन्टरनेशन फाइनान्सियल कन्सलटेन्सी भनेर ओमस्टोन कम्पनी स्थापना गरे । उनले बैंकक, सिंगापुर, श्रीलङ्का लगायत देशमा कन्सल्टिङ रलगानीकर्ताहरुलाई विज्ञका रुपमा सुझाव सल्लाह दिने काम गर्थे । एनआरएनएको पनि अध्यक्ष थाइल्याण्डमै बस्दा उनले गैर आवासिय नेपाली संघ (एनआरएनए) को स्थापना गरे । उनी एनआरएनए थाइल्याण्डको दुई पटक अध्यक्ष समेत बने । उनले एनआरएनएको अध्यक्ष भएर सन् २००७ देखि सन् २०१० सम्म दुई कार्यकाल नेतृत्व गरे । ‘एनआरएनए सामाजिक संस्था हो, चुनाव गरेर लिडरसिपका लागि लड्नु हुन्न भन्ने मेरो सोच हो, उनी भन्छन्,‘एनआरएनएको अध्यक्ष बन्न चुनाव गर्नु हुन्न ।’ त्यसका साथै उनले थाइ-नेपाल चेम्बर अफ कमर्सको पनि स्थापना गरे । थाइल्याण्ड र नेपालको बीचमा पर्यटक बढाउने, लगानी बढाउने, आपसी सम्बन्ध बढाउने उद्देश्यले थाइ-नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको उनी बताउँछन् । उनी सो संस्थाको कार्यकारी उपाध्यक्ष काम गरेको पनि सुनाउँछन् । रेल यात्रामा प्रेम, फुटबलको क्रेजी भारतकाे काेलकत्ता नजिकैकाे टाटानगरमा पढ्दा हमाल रेलमा यात्रा गर्थे । रेल यात्राकै क्रममा उनको लभ पर्यो । पछि उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्दा गर्दै विवाह गरे । ‘मेरी प्रेमिका नैनीतालमा पढ्थिन, म टाटानगरमा पढ्थेँ, हाम्रो रेलमा भेटेपछि लभ परेको थियाे, पछि घरको सहमतिमा विवाह गर्यौं,’ उनले ती दिनहरु सम्झिँदै भने,‘ मेरो सफलतामा मेरो श्रीमतिको ठूलो हात छ ।’ हमालको श्रीमतिले पनि पूर्ण छात्रवृतिमा जेण्डर एण्ड डेभलपमेन्ट स्टडिज विषयमा स्नातकोत्तर गरेकी छन् । अहिले उनले हमालको बिजनेस सम्हालिरहेकी छन् । हमालका छोराछोरी अमेरिकामा बस्छन् । हमाल फुटबल क्रेजी हुन् । अहिले पनि उनी समय भएको समयमा फुटबल खेल्ने गर्छन् । उनी कोलकत्तामा पढ्दा आफ्नो कलेजको फुटबलको क्याप्टेन भएको पनि उनी सुनाउँछन् । ‘म सानैदेखि फुटबल खेल्न धेरै रुचाउँथे, जागिर खान्छु भन्ने कल्पना नै थिएन, दिनरात फुटबल खेल्थेँ, फुटबल खेल्न सौखिन भएपनि किन्ने पैसा हुन्थेन, फुटबल खेलेर जिविकापार्जन गर्न सकिन्न भन्ने कुरामा भने म सजग थिएँ, त्यसपछि फुटबललाई प्यासनकै रुपमा राखेर करियर बनाउन लागेँ, त्यतिबेला फुटबल खेल नछोडेको भए म अहिले ठूलो खेलाडी बन्थेँ होला,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनी टाटानगरमा पढ्दा आफु टेबलटेनिसको पनि च्याम्पियन भएको सुनाउँछन् । फुटबलसहित अन्य खेलकुदमा पनि नियमित भाग लिँदा पढाइमा सोच अनरुपको अंक ल्याउन नसकेको उनी सुनाउँछन् । नेपालको मायाले तानेपछि… अध्यक्ष हमालको परिवार । विदेशमा हमालको सुविधा सम्पन्न किसिमले जीवन चल्दै थियो । आफ्नै बिजनेस । सुखी र सानो परिवार । साथीभाइहरुका माझ पनि लोकप्रिय । नपुगेको केही थिएन । तर, हमाललाई एकाएक नेपाल फर्किन मन लाग्यो । ‘विदेशमा बसेर एउटा हाइट बनाइयो, अन्तर्राष्ट्रिय पहुँच भइसक्यो, तर, मनमा एउटा अधुरो सपना थियो कि नेपालका लागि केही गर्न सकिएन, नेपालमै केही गर्नु पर्छ भन्ने लाग्यो, नेपालमै जन्मिएँ, नेपालमै जन्मिएका कारण देश विदेश पुगेँ, तर नेपालका लागि केही गर्न नसकेको अनुभुति भयो, नेपालको मायाले तान्यो र २०७२ सालमा स्वदेश फर्किएँ,’ हमाल भन्छन्, अब जे गर्छु नेपालमै गर्छु ।’ अब नेपालमा आफु पनि लगानी गर्ने र विदेशीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने उनको योजना छ । उनले आफ्नो विदेशमा रहेको ओमस्टोन कम्पनीलाई ओमस्टोन एशियाको नाम दिएर लगानी गर्न थालेका छन् । उनकै लगानीमा काभ्रेको धुलिखेलमा अहिले सुविधासम्पन्न रिसोट बनिरहेको छ ।  उनले अहिले विदेशबाट परिवार पनि ल्याएर ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । गत वर्ष मात्रै उनी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भए । अर्थमन्त्री जनार्दन शर्मा समक्ष बोर्डका अध्यक्षका रुपमा सपथ लिँदै हमाल । ‘मलाई नेपालमै केही गर्ने योजना थियो, ८/९ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले नै मलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन आग्रह गर्नु भयो, उहाँले क्यापिटल मार्केट विकास हुन सकेन, बोर्डमा राम्रो नेतृत्व चाहियो, तपाईंमा अन्तर्राष्ट्रिय विज्ञता छ अध्यक्ष बन्नु पर्यो भनेपछि मैले कम्पनीको सबै काम श्रीमतिलाई सुम्पिएर बोर्डको अध्यक्ष बन्ने सहमति जनाएँ, ‘उनी भन्छन्, अब नेपाली पुँजी बजारको विकास लागि काम गर्छु ।’