सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन ठूलो ?

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको यस अवधिको तुलनामा ५.९३ प्रतिशत नाफा वृद्धि गरेर १८ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेका छन् । जसमा एक दर्जन बैंकहरुको नाफा घटेको छ भने १४ वटा बैंकको बढेको छ । जसमध्ये सरकारको स्वामित्व रहेका विभिन्न ३ बैंकहरुले पनि ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा सरकारको स्वामित्व छ । यी बैंकहरमा सरकारको पनि स्वामित्व रहेकाले वित्तीय विवरणलाई चासोको रुपमा हेरिएको हुन्छ । त्यसैले चालु आर्थिक वर्षको तीन महिनामा यी ३ बैंकहरुको वित्तीय विवरण कस्तो रहेको छ भनि यहाँ उल्लेख गर्न खोजिएको छ । चूक्ता पुँजी चुक्ता पूँजीको आधारमा कृषि विकास बैंक अगाडि छ । कृषि विकास बैंकको १८ अर्ब ६२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष जगेडा कोषका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकको १८ अर्ब ७८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १६ अर्ब ६२ करोड रुपैयाँ र कृषि विकास बैंकको १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । निक्षेप संकलन असोेज मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकले धेरै निक्षेप रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको १ खर्ब ६१ अर्ब रुपैयाँ, नेपाल बैंकको १ खर्ब ९६ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । कर्जा प्रवाह कर्जा प्रवाहमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि नै छ । राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब १० अर्ब रुपैयाँ, कृषि विकास बैंकले १ खर्ब ७५ करोड रुपैयाँ र नेपाल बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । खुद नाफा यस अवधिमा सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २२ करोड ९ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद ब्याज आम्दानी राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब १८ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ९० करोड रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् । खुद ब्याज आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । सञ्चालन मुनाफा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड रुपैयाँ, नेपाल बैंकले ७९ करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन् । वितरणमयोग्य मुनाफा राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको ३ अर्ब २७ करोड रुपैयाँ वितरणमयोग्य मुनाफा रहेको छ । यसअवधिमा नेपाल बैंकको वितरणयोग्य नाफा भने घाटामा छ । नेट फि तथा कमिशन आम्दानी कृषि विकास बैंकको २७ करोड २१ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड १ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १४ करोड ७३ लाख रुपैयाँ नेट फि तथा कमिशन आम्दानी छ । कुल सञ्चालन आय राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब २० करोड रुपैयाँ र नेपाल बैंकको २ अर्ब १५ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी छ ।

कर नतिर्ने कम्पनीमा ताला लगाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला संस्थाहरूलाई कारबाही गर्ने तयारी गरेको छ । महानगरले निश्चित समयको अल्टिमेट दिंदै पत्राचार गरे पनि कर तिर्न अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । महानगरपालिकाले कर नतिर्ने कम्पनीहरूलाई पुनः एक पटक पत्राचार गरेर तिहार पछि कारबाही गर्ने तयारीमा छ । पत्राचार गरेपछि पनि महानगरलाई कर नबुझाए कारबाही हुने महानगरपालिका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । यस अघि लामो समयदेखि कर नतिर्ने ठुला तथा साना संस्थालाई महानगरले निश्चित समय दिंदै कर तिर्नको लागि ताकेता गरेको थियो । विभागीय प्रमुख अधिकारीका अनुसार कर नतिरे कम्पनीमा ताला लगाइने छ । समयमा नै कर नतिर्ने कम्पनीलाई रकमको जरिवाना पनि हुने पनि महानगरको भनाइ छ । कर तिर्ने ताकेता गरेपछि महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा महानगरको राजस्व् करिब दोब्बरले वृद्धि भएको हो । चालु आर्थिक वर्षको असोज महिनासम्ममा २ अर्ब ३५ करोड ८० लाख १८ हजार ३ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ । ‘हामीले कारबाही गर्न पनि प्रक्रिया पुर्याउनु पर्छ, सो प्रक्रिया पुर्याएर कारबाही गर्छौं, तिहारपछि केही समय दिएर पत्राचार गर्छौं, हामीलाई कर नतिर्ने कम्पनीलाई ताला लगाउन सक्नेसम्मको अधिकार छ, ताला लगाउने नलाउने भन्न विषयमा महानगरको पनि छलफल हुन्छ,’ उनले भने । कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्न सक्ने व्यवस्था छ । यी हुन् कर नबुझाउने संस्था तथा कम्पनी काठमाडौं महानगरपालिकाले कर बुझाउन पत्राचार गरेर ताकेता गरे पनि धेरै ठूला संघ संस्था कम्पनीहरुले कर बुझाउन बाँकी छ । महानगरपालिका अनुसार कर नबुझाएका कम्पनीलाई पत्राचार गरे पनि उनीहरूले वास्ता नगरको बताएको छ । कतिपय संघ संस्थाहरूले कर नलाग्ने भन्दै सात प्रतिशत कर छुट समेत मागेको महानगरले जनाएको छ । अधिकारीका अनुसार केही कम्पनीहरूले कर तिर्नको लागि थप समय मागेका छन् । महानगरले पत्राचार गरे पनि खाद्य संस्थान, ह्वाईट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेसनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, आर.बि. कम्प्लेक्स र नेपाल सेयर मार्केटले पनि सम्पत्ति कर बुझाउन बाँकी छ । यसै गरी काठमाडौं प्लाजा, शैलेन्द्र राज मानन्धर, काठमाडौं इन्जिनियरिङ कलेज र सिभिल मलले सम्पत्ति कर बुझाउन बाँकी रहेको महानगरपालिकाले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरलाई १९ करोड रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । यस्तै, क्यासिनो प्याट, र्याडिसन होटल–२, साँग्रिला क्यासिनो, साँग्रिला होटल–३, रोयल र क्यासिनो याक एण्ड यति–१ ले मनोरञ्जन कर तिर्न बाँकी छ । यि हुन् कर बुझाउने २० संस्था काठमाडौं महानगरपालिकाले कर बुझाउनका लागि ताकेता गरेपछि चालु आर्थिक वर्षमा २० वटा संस्थाले भने कर बुझाएका छन् । कुनै संस्थाले थोरै बुझाएर थप किस्ता बुझाउँदै जाने प्रतिबद्धता पनि गरेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ८६ लाख ४५ हजार १ सय ८९ रुपैयाँ मनोरञ्जन कर संकलन भएको छ । काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११, डेल्टीन क्यासिनो होटल म्यारियटले २१ लाख ४२ हजार ३४, क्यासिनो अन्पुर्ण होटलले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । यस्तै, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रीएसन हायात होटलले ९ लाख ८९ हजार ४ सय ६०, बाल्को क्यासिनो होटल एलफ्ट–२६ ले २ लाख १० हजार २ सय ५८, माजोङ्ग इन्टरनमेन्ट होटल सोल्टी–२३ ले ९ लाख ९३ हजार ६ सय र बेलीज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । मनोजङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले १७ लाख ८५ हजार ५ सय र महावीर प्यालेसले १ लाख १५ हजार गरी जम्मा १९ लाख ५ सय व्यवसायिक कर बुझाएका छन् । यसै गरी महानगरपालिकाले पत्राचार गरे पश्चात् २ करोड ३८ लाख १२ हजार ५९ रुपैयाँ सम्पत्ति करको संकलन गरेको छ । मनमोहन मेमोरियल कलेज एण्ड शिक्षणले ८९ लाख, सिविक हस्पिटल प्रा.लि.ले ८ लाख ३५ हजार ३ सय ८०, नेपाल फाइनान्स लिमिटेडले १४ लाख ७० हजार ४ सय १२, शैलेन्द्र राज मानन्धरले २ लाख ४४ हजार ७ सय २८ र केदारलाल श्रेष्ठ १३ लाख ९२ हजार ७ सय ९१ रुपैयाँ सम्पत्ति कर बुझाएका छन् । यस्तै, कान्तिपुर डेण्टल कलेजले ५२ लाख, सगरमाथा इन्स्योरेन्सले ८ लाख ८ हजार १ सय ४७ हजार, भिजी अटो मोबाइलले ११ लाख ७८ हजार, ८ सय ४७, गोपालजी प्रोपर्टिजले ५० लाख ६६ हजार ७ सय ३ सय, देवेन्द्र लाल श्रेष्ठ १४ लाख ८५ हजार ५१, सिद्धार्थ वनस्थली इन्स्टिच्युट २ लाख रुपैयाँ सम्पत्ति कर बुझाएको छ ।

७ बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), ग्लोबल आइएमई बैंक र सानिमा बैंक रहेका छन् । हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूकाे रहेकाे छ । बैंककाे असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा दाेस्राे धेरै लाभांश दिनेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हाे । लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा तेस्राे धेरै लाभांश दिनेमा कुमारी बैंक रहेकाे छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, निफ्रा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको छ। बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।