कडाइका बीच पनि बैंकहरुले घरजग्गा कर्जा बढाउँदै, ब्याज पनि सस्तो

<p>काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् घरजग्गा क्षेत्र केही कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थाहरुले भने घरजग्गा कर्जा बढाउँदै लगेका छन् । सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पनि घरजग्गा कर्जामा कडाइ गरेपनि बैंकहरुले पनि मासिक रुपमा कर्जा बढाउँदै लगेका हुन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार [&hellip;]</p>

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् घरजग्गा क्षेत्र केही कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थाहरुले भने घरजग्गा कर्जा बढाउँदै लगेका छन् । सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पनि घरजग्गा कर्जामा कडाइ गरेपनि बैंकहरुले पनि मासिक रुपमा कर्जा बढाउँदै लगेका हुन् ।

घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा मासिक रुपमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौमा नै बैंकहरुले घरजग्गा व्यवसायमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसअघि साढे १ खर्बको हाराहारीमा घरकर्जा लगानी गर्ने बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा २ खर्ब बढी लगानी गरेका हुन् । यसले पनि घरजग्गा व्यवसायीहरुले कर्जा पाइरहेको र खासै समस्या पनि नभएको देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले भदौमा २ खर्ब २७ अर्ब २५ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । गत वर्षको भदौको तुलनामा यो कर्जा ३७.२० प्रतिशत बढी हो । गत वर्षको भदौमा बैंकहरुले १ खर्ब ६५ अर्ब ६४ करोड १० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका थिए । यस्तै, साउन महिनामा पनि बैंकहरुले २ खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका थिए । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरुले २८ प्रतिशतले कर्जा बढाएको देखिएको छ । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कर्जा लगानीको बढाएसँगै भदौमा बैंकहरुले ब्याजदर पनि घटाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको साउनको तुलनामा भदौमा बैंकहरुले घरजग्गा कर्जाको ब्याज घटाएको देखिन्छ । साउन महिनामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा दिएकोमा भदौमा भने औसतमा ११.८५ प्रतिशतमै कर्जा लगानी गरेको देखिएको छ ।

सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा कारोबारमा सुस्ताता आएको व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले हालका लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जामा केही कडाइ गरेको छ । यी नीतिगत व्यवस्थाले आफुहरुलाई बैंकको ऋण पाउनेदेखि घरजग्गा खरिदबिक्रीमा समस्या भएको उनीहरुको भनाइ छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कारोबारको कुल मूल्याांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत धितोमा कर्जा पाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा लगानी गर्न बन्द गरेसँगै कारोबार ठप्प भएको गुनासो उनीहरुको छ । तर, तथ्यांकले कर्जा बढी नै लगानी भएको देखिन्छ ।

नेपाल जग्गा तथा आवास विकास संघका महासचिव पुरुषोत्तम पौड्याल भने घरजग्गा व्यवसायीले ऋण नपाएको बताउँछन् । उनले राष्ट्र बैंकको तथ्यांकमा कर्जा लगानी बढेको भएपनि आफुहरुले कर्जा नपाएको उनको भनाइ छ । एक वर्षको अवधिमा बैंकहरुले २५ खर्ब ९६ अर्ब १८ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका छन् ।

Share News