काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झाैतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ ।
यस सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । ४०० करोड लगानीको सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको कोर्पले जानकारी दिएको छ ।
नव निर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिने बताइएकाे छ ।
नयाँ योजनाको बारेमा कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल आफ्नाे लागि महत्वपुर्ण बजार भएकाे बताए । ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ, यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ, हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ,’ उनले भने ।
यस्तै, रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले यो ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउने बताए । ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ,’ उनले भने ।
त्यस्तै, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहकाे बताए । ‘आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ,’ उनले भने ।