काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड
काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने । यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ । पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए । उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ ।
पाँचौं पटक संसदमा प्रचण्ड, पूर्वप्रधानमन्त्रीबाट बन्न सक्छन् एक्ला विजेता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् । उनले ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमलाई ७ हजार ३४९ बढी मतान्तरले पराजित गरे । गौतमले ३ हजार ९३३ मत पाएका हुन् । विद्यार्थी जीवनमै राजनीतिक चेतना बोकेका प्रचण्डले कक्षा १० पढ्दादेखि नै राजनीतिक गतिविधिमा रुचि देखाएका थिए। वि.सं. २०२८ सालमा कम्युनिस्ट आन्दोलनसँग औपचारिक रूपमा आबद्धता जनाएका हुन् । त्यसपछि उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्दै गयो । २०४६ सालको जनआन्दोलन हुनुअघि उनी मशालका महासचिव भइसकेका थिए । त्यसपछि नेपालको राजनीतिक इतिहासलाई नै मोड दिने घटनामध्ये एक वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व उनले गरे । त्यस्तै, २०५८ सालमा प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने भने सोही वर्ष उनले जनमुक्ति सेनाको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले । उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसपछि २०७३ र तेस्रो पटक २०७९ मा प्रधानमन्त्री बनेका थिए । वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका उनी वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए । २०७४ मा चितवन–३ बाट निर्वाचित भएका उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए । यस पटक उनी रुकुम पूर्वबाट विजयी भएका हुन् । यो उनको संसदमा पाँचौं पटक हो । यस पटक उनी वियजी हुने सायद एक्ला पूर्व प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ ।
वैकल्पिक राजनीति हुँदै प्रदेश र दोस्रो पटक संघीय सदनमा विराजभक्त
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका हुन् । उनले २४ हजार ५९२ मत पाएर विजयी भएका हुन् । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए । त्यसअघि उनी बागमती प्रदेश सभाका सदस्यका रुपमा पनि काम गरिसकेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । विराजले काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश र संघीय सदनमा हुँदा पनि चर्को आवाजमा नागरिकको आवाज उठाउँदै आएका थिए ।