काठमाडौं बाहिर ठडिँदैछन् एकपछि अर्को तारे होटल, ठूला व्यवसायी धमाधम मोफसलमा

काठमाडौं । काठमाडौ उपत्यकामा केन्द्रित होटल व्यवसाय अब क्रमशः राजधानी बाहिर विस्तार हुँदै गएको छ । पछिल्लो समय उपत्यका बाहिरका प्रदेश र जिल्लाहरूमा पर्यटनको विकास र विस्तार तीव्र रूपमा वृद्धि हुँदै गएसँगै व्यवसायीहरूले पनि आफ्नो परियोजना त्यतैतिर मोड्न थालेका हुन् । विदेशी तथा आन्तरिक पर्यटकहरूको रोजाइ राजधानी बाहिरका पर्यटकीय क्षेत्रहरू बन्दै गएका छन् । राजधानी बाहिर पर्यटकको संख्या बढ्दै गएसँगै स्तरीय होटलहरूको माग बढ्दै गएको छ । त्यसलाई मध्येनजर गरेर व्यवसायीहरूले राजधानी बाहिरका विभिन्न पर्यटकीय क्षेत्रहरूमा लगानी बढाएका छन् । पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर २८ वटा पाँच तारे होटल दर्ता भएर सञ्चालनमा छन् । नयाँ बनेका होटल दर्ता हुनै बाँकी छ भने केही दर्ताको प्रक्रियामा रहेको विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताए ।  उनका अनुसार दर्ता नभईकन पनि केही तारे होटलहरू सञ्चालन भइरहेका छन्  । विभागमा दर्ता हुन आएका २८ तारे होटलमध्ये एक दर्जनजति होटल उपत्यका बाहिर खोलिएका होटलहरू हुन् । राजेन्द्र बजगाईंको टाइगर प्यालेस  रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा पाँच तारे होटल टाइगर प्यालेस सञ्चालनमा छ । पाँच अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटलमा अस्ट्रेलियाका कम्पनी हेरिटेज इन्भेष्टमेन्टको लगानी रहेको छ ।  हेरिटेजका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईं हुन् । रिर्सोटमा चार सय कोठा, दुईवटा भिल्ला छन् । होटलमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फर्नलगायत आकर्षणहरू पनि रहेका छन् । फैलिँदैछ सिद्धार्थ हस्पिटालिटी  सिद्धार्थ बिजनेस ग्रु्प अफ हस्पिटालिटीले रुपन्देहीको भैरहवामा सिद्धार्थ इन्टरनेशल होटल सञ्चालनमा ल्याएको छ । सिद्धाथए हस्पिटालिटीले कैलालीको धनगढीमा पनि तारे होटल सञ्चालनमा ल्याएको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, टिकापुर, चितवन, बिर्तामोड लगायत ठाउँमा होटल विस्तार गरिसकेको छ ।   २५ वर्षअघि सुदूरपश्चिमको कैलाली, टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पाँच तारे होटल सञ्चालनमा ल्याएको हो । हस्पिटालिटीका अध्यक्ष हुन् चिन्तामणि (लक्ष्मण) न्यौपाने । भैरहवाको सिद्धार्थ इन्टरनेशनल होटलमा साढे २ अर्ब रुपैयाँ लगानी रहेको छ । ४ विघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेण्ट तथा स्वीमिङ पुल, फिटनेस, जीम, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुममा क्यासिनो सञ्चालन सुविधा होटल सञ्चालनमा आउँदा ३ सय भन्दा बढीले रोजगारी पाएका छन् । होटल द किग्सवरी झापामा सञ्चालनाम आइसकेको होटल हो दि किग्सवरी । यसको सञ्चालक प्रकाश गोतामे हुन् । २ अर्ब रुपैयाँ लागतमा सञ्चालनमा आएको हो । उक्त होटलमा सय वटा बेड र ८२ वटा कोठाहरू रहेका छन् । मेची क्राउन  झापाको धुलाबारीमा अर्को पाँच तारे होटल मेची क्राउन सञ्चालनमा छ । कोरोना संक्रमणकै बीचमा सञ्चालनमा आएको उक्त होटलमा हेलिकप्टर व्यवसायमा रहेका पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरिगोल्ड ज्वेलरीका सञ्चालक सुरेशमान श्रेष्ठ र क्षमादेवी बिल्डर्स ग्रुपको लगानी रहेको छ । ८ बिघामा निर्माण भएको होटलमा डेढ अर्ब रुपैयाँ लगानी रहेको छ । यो होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटर दुरीमा छ । होटलमा १०५ वटा कोठा छ, पाँच वटा मेची स्वीट्स १० वटा एक्जुकेटिभ भिल्ला, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको छ ।  होटल रोयल क्रियसन नेपाल झापामै सञ्चालनमा रहेको अर्को पाँच तारे होटल हो होटल रोयल क्रिएसन ।  १ अर्ब लगानीमा निर्माण भएको होटल झापाको तेस्रो पाँच तारे होटल हो । भारतीय पर्यटकलाई लक्षित गरेर बनाईएको उक्त होटल नेपाल–भारत सीमानाबाट ९ किलोमिटर दुरीमा अवस्थित छ । होटलमा १५८ कोठा र ३ सय शैया रहेका छन् । होटलका लगानीकर्ता प्रदीप मित्तल हुन् । अश्वत्थ पाँच तारे होटलको हबको रुपमा चिनिने झापामा एकपछि अर्को होटलहरू सञ्चालनमा आउने क्रममा छन् । पछिल्लो पटक सञ्चालनमा आएको पाँच तारे होटल हो ‘अश्वत्थ’ । काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इँटाभट्टामा पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेको लगानी रहेको यस होटलको लागत एक अर्ब ३० करोड रुपैयाँ रहेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा छन् ।  मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ । पोखरामा पाँच तारे होटल  पर्यटकीय नगरीको रुपमा परिचित सुन्दर ठाउँ पोखरामा पनि तारेसहित अन्य ठूला र सुविधासम्पन्न होटलहरू सञ्चालनमा रहेका छन् । पोखरामा स्तरीय होटलहरू चार सय भन्दा बढी छन् । बुटिक होटल र रिर्सोटहरू पनि खुलेका छन् ।विभागमा पाँच तारे होटलको रुपमा दर्ता भएको होटलहरूमा पोखरा ग्राण्ड, होटल द फूलबारी छन् । होटल फूलबारी भने अहिले सञ्चालनमा छैन । आधिकारिक रुपमा पोखरामा पाँच तारे होटलहरू यी नै देखिएपनि बुकिङ डटकममा दर्जनभन्दा बढी होटलहरूलाई पाँच तारे प्रदान गरेको देखिन्छ । जसमा टेम्पल ट्री रिर्सोट, माउन्टेन ग्लोरी फोरेस्ट, ल्याण्डमार्क पोखरा, होटल दिप ओसिस, महाराजा द रोयल होटल एण्ड क्यासिनोलगायत छन् ।  इच्छा होटल बाराको सिमरामा पाँच तारे होटल सिमरा सञ्चालनमा छ । होटलका सञ्चालक हुन् इच्छा हस्पिटालिटीका इच्छा बहादुर वाग्ले । १ अर्ब २० करोड लगानीमा निर्माण भएको यो होटल मधेश प्रदेशकै पहिलो पाँच तारे होटल हो । सिमरा एयरपोर्टबाट २ किलोमिटर र हेटौंडाबाट ३५ किलोमिटर दुरीमा रहेको होटल दुई बिघा जमिनमा फैलिएको छ । ह्यायात प्यालेस बुटलमा होटल ह्यायात प्यालेस सञ्चालनमा छ । सुरुमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको भए पनि सञ्चालनमा आउँदा ह्यायात प्यालेस ब्राण्डअन्र्तगत सञ्चालनमा आएको हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कठ्ठा क्षेत्रफलमा बनेको यो होटलमा यशोदा फुड्स ग्रुपको लगानी रहेको छ । होटलको सञ्चालकमा चुन्नु प्रसाद पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना छन् । होटल ३ अर्ब ५० करोड लगानीमा निर्माण भएको थियो । होटलमा २५० पाहुना अट्न सक्ने १०९ वटा कोठाहरू छन् । सोल्टी शिवविक्रम होटल्स एण्ड रिसोर्टस पूर्व राजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको सोल्टी होटलको शाखा नेपालगञ्जमा सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट सञ्चालनमा छ । यसमा मूख्य लगानी सोल्टीका अध्यक्ष प्रभाकर शमशेरकै रहेको छ ।  होटल ५५ करोड रुपैयाँ लागतमा बनेको होटलमा ८१ वटा कोठाहरू छन् । सोल्टी नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा पूरानो हो । होटल सेन्ट्रल प्लाजा बाँकेको कोलपुरमा सेन्ट्रल प्लाजा सञ्चालनमा छ । २०७५ सालदेखि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागमा पछिल्लो पटक २०८० सालमा पाँच तारे होटलको रुपमा नवीकरण गरेको हो । यसअघि उक्त होटल चार तारेको रुपमा सञ्चालनमा थियो । ५० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक एवं म्यानेजिङ म्यानेजिङ डाइरेक्टर देवानन्द अर्याल हुन् । मानसरोवर, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीय स्थलहरू अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर निर्माण गरेको यो होटल सुदूरपश्चिमाञ्चलमै सबैभन्दा ठूलो होटल हो ।  रोयल टुलिप चितवनको सौरहवामा भखरै मात्रै पाँच तारे होटल रोयल टुलिप सञ्चालनमा आएको छ । यो होटल विभागमा पाँच तारे होटलको रुपमा भने दर्ता हुनै बाँकी छ ।  केटिएम हस्पिटालिटीले सन् २०२० बाट निर्माण सुरु गरेको यो होटल यही मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीका अध्यक्ष रामेश्वर शाह  । एक अर्ब ७५ करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटल चितवनकै पहिलो पाँच तारे रिर्सोट हो । होटलको व्यवस्थापन चिनियाँ कम्पनी जिन जियाङ इन्टरनेशनल फ्रान्सेली होटल लुभ्र होटल्स ग्रुपले गरेको छ ।  एक दर्जन बढी होटल निर्माणाधीन होटल बाराही सेदी होटल बाराही ग्रुपले पोखराको लेकसाइडमा होटल बाराही सेदी निर्माण गरिरहेको छ । ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यो होटल सन् २०२६ मा सञ्चालनमा आउने छ । होटलमा सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडेलको रहेको छ । निर्माणधीन होटलमा १७१ कोठा हुने छन् । यसमा क्यासिनो, स्पा र फिटनेस सम्बन्धी उत्कृष्ट सुविधाहरू हुनेछन् । कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ बैंकिङ कर्जाको लागि रेटिङ पाइसकेको छ । धनगढीमा खुल्दै दुई पाँच तारे होटल  सुदूरपश्चिम प्रदेशमा पनि होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । धनगढीमा पछिल्लो समय साना तथा ठूला होटल निर्माण तीव्र गतिमा हुँदै गएको छ ।  विगतमा एउटा पनि तारे होटल नभएको धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै खुल्ने क्रममा छ । यसअघि चारेतारे होटलहरू सञ्चालनमा आए पनि पछिल्लो पटक पाँच तारे होटल निर्माण हुने भएको छ । चौलानी ग्रुपले धनगढीमा पाँच तारे होटल निर्माण प्रक्रिया अगाडि बढाएको हो । चौलनी ग्रुपले सवा एक अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको हो । ग्रुपका अध्यक्ष हुन् मानसिंह साउद । ग्रुपले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको हो । त्यस्तै, सिद्धार्थ हस्पिटालिटीले पनि धनगढी चौराहामा पाँचतारे होटल निर्माण अगाडि बढाएको छ । होटल अट्रियम झापाको विर्तामोडमा होटल अट्रियम निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको उक्त होटलको कुल लगानी ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब रुपैयाँको लागि रेटिङ गराइसकेको छ । होटलमा ९८ वटा कोठाहरु हुनेछन् । झापाको चन्द्रगढीस्थित विमानस्थलबाट १२.९ किलोमिटर तथा भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटरको स्थानमा उक्त होटलको निर्माण हुन लागेको हो । पर्यटकीय दृष्टिकोणले पनि इलाम तथा बुढासुब्बा मन्दिरलगायतको नजिक रहेको उक्त ठाउँमा होटल बन्न लागेको हो । सन् २०२६ को मध्य जुलाईबाट सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण भइरहेको उक्त होटलमा ९८ वटा, ब्याङ्क्वेट, क्यासिनोका साथै स्पा, स्वमिङ पुललगायतका अन्य पूर्वाधारसमेत रहेका छन् । होटल पौवा एक अर्ब रुपैयाँ लगानीमा नेपालगञ्जमा होटल पौवा निर्माणाधीन अवस्थामा छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको यो होटलका सञ्चालक विष्णु ज्ञवाली हुन् । करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण थालिएको यो होटलको करिब १ अर्ब रुपैयाँ लागत छ । ९ तलाको बन्ने उक्त होटलमा क्यासिनो, स्पा, स्विमिङ पुल, जिम सुविधा रहने छ। एक्सिस पाँचतारे होटल  विराटनगरमा पाँच तारे होटल एक्सिस निर्माण भइरहेको छ । भारतीय र नेपाली पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागेको होटल विमानस्थलबाट एक किलोमिटर टाढा छ । होटल १ अर्ब ७५ करोड लगानीमा निर्माण हुन लागेको हो । एक्सिस हस्पिटालिटी प्रालिको लगानी रहेको यो होटलमा २२५ कोठा हुने जनाएको छ । होटलमा बैङ्क्विट हल, मिटिङ हल, स्पा, साउना, जिम, स्वीमिङ पुललगायतको सुविधा हुने छ ।

नक्कली झन्डाको प्रयोग गर्दै रूसले भारतमा तेल पुर्‍याएको खुलासा

काठमाडौं । रूसले भारतलाई कच्चा तेल आपूर्ति गर्न ‘नक्कली झन्डा’ लागेका जहाजहरूको प्रयोग गरेको खुलासा भएको छ । यो तथ्य युरोपेली थिंक ट्यांक ‘सेन्टर फर रिसर्च अन एनेर्जी एन्ड क्लीन एयर’ (सीआरईए) को रिपोर्टमा उल्लेख गरिएको हो ।  रिपोर्टअनुसार जनवरीदेखि सेप्टेम्बर २०२५ बीच यस्ता ३० वटा जहाजमार्फत भारतले ५.४ मिलियन टन रूसी कच्चा तेल आयात गर्‍यो, जसको मूल्य २.१ अर्ब युरो (करिब ३५.२ हजार करोड रुपैयाँ) पर्छ । यी जहाजहरू ‘नक्कली झन्डा’ राखेर सञ्चालनमा थिए । यहाँ ‘नक्कली झन्डा’ को अर्थ भनेको जहाजले आफ्नो वास्तविक देशको झन्डा नफहराई अर्को देशको झन्डाको प्रयोग गर्नु हो, जसले गर्दा जहाज र मालिकको वास्तविक पहिचान लुकाउन सकियोस् । रिपोर्टका अनुसार रूसको यस्तो तरिका अहिले उसको तेल निर्यातको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । युक्रेनमाथि रूसले आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले रूसी ऊर्जामा कडा प्रतिबन्ध लगाए । आरोप छ कि मस्ट्रोले ती प्रतिबन्धबाट जोगिन ‘शेडो फ्लीट’ अर्थात् नकली झन्डा राखिएको ट्यांकर–जहाज प्रयोग गरिरहेको छ । यी जहाज प्रायः पुराना हुन्छन्, ग्रे एरियामा चलाइन्छन्, मालिक को भन्ने कुरा अस्पष्ट हुन्छ, दर्ता कागजात नक्कली हुन्छ र ट्र्याकिङ प्रणाली बन्द राखिन्छ । यही माध्यमबाट चीन, भारत र टर्की जस्ता मुलुकतर्फ तेल पठाइँदै आएको छ । हेलसिंकीस्थित सीआरईएका अनुसार सन् २०२५ का पहिलो नौ महिनामा कुल ११३ रूसी जहाजले नक्कली झन्डा प्रयोग गरे, जसले रूसी कच्चा तेलको १३ प्रतिशत अर्थात् ११ मिलियन टन तेल ढुवानी गरे । यसको मूल्य ४.७ अर्ब युरो (५.४ अर्ब अमेरिकी डलर) बराबर थियो ।  रिपोर्टका अनुसार सेप्टेम्बर २०२५ सम्म ९० रूसी ‘शेडो जहाज’ नक्कली झन्डा अन्तर्गत सञ्चालनमा थिए, जुन डिसेम्बर २०२४ को तुलनामा छ गुणा वृद्धि हो । यद्यपि रिपोर्टले कुन–कुन देशहरूमा तेल पठाइयो भन्ने खुलाएको छैन । पीटीआईले भारतमा तेल ल्याउने नक्कली झन्डा भएका जहाजबारे सोद्धा सीआरईएले २०२५ को पहिलो नौ महिनामा यस्ता ३० जहाजमार्फत भारतमा रूसी कच्चा तेल आयात भएको जानकारी दियो । सीआरईएका अनुसार २०२५ का पहिलो तीन त्रैमासिकमा नकली झन्डा भएका ट्यांकरबाट पठाइएको ४.६ अर्ब युरो बराबरको रूसी तेलमध्ये २.१ अर्ब युरो (५.४ मिलियन टन) मूल्य बराबरको तेल भारतले पायो। भारत परम्परागत रूपमा मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको हो । तर फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्ध र युरोपमा माग कमी हुँदा रूसी तेल निकै सस्तो भयो, जसले भारतलाई आकर्षित गर्‍यो । भारतको कुल तेल आयातमा रूसी हिस्सेदारी १ प्रतिशतभन्दा कमबाट बढी झन्डै ४० प्रतिशत पुग्यो । नोभेम्बर महिनामा पनि रूस भारतको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता रह्यो, जसले भारतको कुल आयातित तेलमध्ये एक–तिहाइभन्दा बढी हिस्सा ओगट्यो । समुद्रमा चल्ने सबै जहाजहरूले कानुनी अधिकार क्षेत्र सुनिश्चित गर्न कुनै न कुनै देशको झन्डा बोक्नु अनिवार्य हुन्छ । संयुक्त राष्ट्रको ‘समुद्री कानुन महासन्धि’ (यूएनसीएलओएस) अनुसार कुनै देशले जहाज दर्ता गराई आफ्नो झन्डा फहराउन अनुमति दिन सक्छ । केही देशले ‘ओपन रजिस्ट्री’ सञ्चालन गर्छन्, जसले विदेशी जहाजहरूलाई कम लागत र सजिलो नियमअन्तर्गत दर्ता गराउँछन् । यस्तो दर्ता लचिलोपन खोज्ने शिपरहरूका लागि लोकप्रिय हुन्छ । सीआरईएका अनुसार सेप्टेम्बर २०२६ को अन्त्यसम्म प्रतिबन्धित ९६ रूसी जहाजले कम्तीमा एकपटक नक्कली झन्डा प्रयोग गरेका थिए । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

द्वन्द्वकालमा गएको नेपाल बैंक फर्किने पर्खाइमा

जागिरे भएपछिको पहिलो पटक बाहिर जाँदै गर्दा बेग्लै अनुभव, सबैले भने आफ्नै घरगाउँमा जाँदै हुनुहुँदो रैछ, बधाई छ ! हो, हुन त, मेरो जन्मथलो हो, हुर्केको गाउँघर हो तर के गर्नु ? यो पनि अब एकादेश भैसकेको थियो मेरा लागि । मनलाग्दा, फुर्सद हुँदा जाने थलो बनिसक्यो मेरो जन्मथलो । मेरो जे छ अब काठमाडौंमै छ । त्यसैले पनि होला आफ्नै जन्मघर आउन पनि सजिलो चाहिँ भएन मलाई । घर छोडेर हिँड्ने अघिल्लो रातको त्यो छट्पटि र पीडा त मलाई थाहा छ । रात बाक्लिँदै जान्छ, निद्रा भने झन् पातलिँंदै जान्छ । के के भुलेँ जस्तो लाग्छ, के छुटे जस्तो लाग्छ । भोलि एक दिनको भए पनि सबै तयारी गरिदिनुपर्छ भन्ने लाग्छ । कपडामा आइरन, जुत्ता, मोजा, टाई, टिफिन, पानी, ब्याग आदि सबै सबै । सबैतिर व्यवस्थापन गर्न कहाँ सजिलो छ र ! म आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन बिहानको घरका सबै काम सकेर सबेरै नुवाकोटतिर लागेको थिएँ । वास्तवमा म नुवाकोटमै जन्मिएर पनि मलाई मेरो बैंकको शाखा कहाँनिर छ थाहा थिएन । काठमाडाैं सहरभित्रै काम गरेर अनुभव भएको म सहरबाहिरको शाखामा काम गर्नुपर्ने हुँदा नितान्त फरक लागिरहेको थियो मलाई । परिवेश, काम गर्ने शैली, सेवा लिने शैली र दिने शैलीमै फरक लाग्यो । सहरका तुलनामा गाउँका समस्यामा नै फरकपन पाएँ । साह्रै सोझा अनि अशक्त लाग्ने ग्राहकहरू, सेवामूलक कार्यमा समय बढी व्यतीत हुने, समय परिवर्तन भएर कार्डलेसका समयमा आइपुग्दा डिजिटल ज्ञानसमेत कम भएका ग्राहकसँग काम गर्दा ठूलो ठूलो स्वरमा कुरा गर्नुपर्ने, भिडभाड एवम् कोलाहलको माहोल सृजना हुने जस्ता कुराहरूले गर्दा फरक अनि भिन्न ग्राहकहरूको अनुभव गरिरहेको थिएँ मैले । अशक्तहरूका भीडमा शक्तहरू पनि अशक्त बनेर ससाना कुरामा पनि कर्मचारीहरूको भर परेको देख्थें । एकदमै फरक तर बेग्लै अनुभव लाग्थ्यो मलाई ।  कोही समस्यालाई सुस्तरी शान्त भएर सुनाउँछन् त कोही हतासमा रिसाएर सुनाउँछन् तर हामीले धैर्यपूर्वक सुनिदिनुपर्छ अनि बुझेर समाधान पनि निकालिदिनुपर्छ । हाम्रो पेसा नै यस्तै छ, सुन्न सक्ने क्षमता एकदमै हुनुपर्ने । त्यसैले पनि हाम्रा बुढापाकाहरूले भन्नुहुन्छ नि– कम बोल्नु, धेरै सुन्नु । सुन्न सक्ने बानीले समस्यालाई बुझ्न सक्छौँ र सुल्झाउन पनि किनकि ठाउँ, परिवेश, समय र उमेरसँगै फरक फरक कथा, व्यथा र समस्या अनि सुनाउने र बुझाउने शैली पनि फरक फरक ।  नेपाल बैंकको महत्त्वपूर्ण के रैछ भन्ने कुरा सहरका शाखाहरूबाट भन्दा यस्ता गाउँमा भएका शाखाहरूबाट थाहा हुने रैछ । नेपाल बैंकप्रतिको लगाव, तछाडमछाड अनि भिडमभिडले स्पष्ट हुन्छ कि नेपाल बैंकप्रतिको आस्था र विश्वास कति अटल र अटुट छ भन्ने कुरा । जति नै भिड किन नहोस्, बरु नेपाल बैंकमै बास बस्न तयार हुन्छन्, एक हप्ता धाउन तयार हुन्छन् तर बैंक छाडेर जाने कुरा कहिल्यै गर्दैनन् । छोराछोरीले घुर्काए जस्तो गाह्रोसाह्रोमा घुर्काउन थाल्छन् तर नराम्रो सोच्दैनन्, गाली पनि गर्दैनन् । कति सादा र सरल व्यवहार उहाँहरूको । हाम्रा यिनै इमान्दार एवम् सोझा ग्राहकहरू नै नेपाल बैंकको पहिलो बलियो आधार हुन् भन्दा खासै फरक नपर्ला । यस्ता प्रकारका हाम्रा ग्राहकहरू जोगाइराख्नु नै हाम्रो पहिलो कर्तव्य पनि हो जस्तो लाग्छ । पेन्सन अनि सामाजिक सुरक्षा भत्ताका ग्राहक जोगाउनु बैंकको पहिलो कर्तव्य हो जस्तो लाग्छ मलाई जसले बैंक रहेसम्म स्वेच्छाले साथ दिइरहन्छन् । कस्ता कस्ता ग्राहक हुन्छन् सायद कमैले कल्पना गर्न सक्छन् ।  एक दिन एकजना आमा मेरो रूममा आएर भुइँमा टुसुक्कै बस्नुभयो । हातमा एउटा बोराको पोको थियो । पछि थाहा भयो कि उहाँको एफडी खाता रैछ । आज सकिने भनेर उहाँको दिमागमा बसेको रैछ, अनि हतार-हतारमा बैंक आउनुभएको रहेछ । उहाँको ३० लाख रकम बैंकमा जम्मा थियो, फेरि थप गर्न भनेर २० लाख बोरामा राखेर आउनुभएको थियो, कल्पना पनि गर्न नसकिने । आफ्ना कागजात ५ वटा खामभित्र स्टिच लगाएर सुरक्षित राख्नुभएको थियो । मलाई कागजात निकाल्नै १५ मिनेट लागेको थियो । जति गाढा आस्था उति गहिरो विश्वास नेपाल बैंकसँग । हाम्रो नेपाल बैंकका ग्राहकहरू यस्तै नै हुन्छन्, सोझा अनि सादा । यही नै नेपाल बैंकको जग हो । जबसम्म ग्राहकहरू हाम्रा साथमा रहन्छन् तबसम्म हामी रहन्छौं साथै जबसम्म नेपाल बैंक रहन्छ तबसम्म साथ दिइरहन्छन् हाम्रा यस्ता ग्राहकहरूले । एक दिन एक जना ८२ वर्षको बाजे आउनुभयो बैंकमा । उमेरले ८२ तर उहाँ एकदमै भरिलो, रसिलो र तगडा देखिनुहुन्थ्यो । कान भने कम सुन्नु हुँदो रैछ, अलि बेस्सरी बोल्नुपर्ने । उहाँले धेरै वर्ष पहिले कर्जा लिएको रे १० लाख रुपैयाँ । अनि चुक्ता पनि उही छोटो समयमै गर्नुभएको रैछ । तर फुकुवा नगरी बस्नुभएको रैछ जग्गा । पुरानो फाइल भएकाले हामीलाई त्यो जग्गा फुकुवा गर्नका लागि प्रक्रिया पूरा गर्न समय पनि लाग्यो अनि अलि सजिलो पनि भएन । अनि मैले किन यति लामो समय राख्नुभएको फुकुवा नगरी भनेर सोधेको त उहाँको जवाफ सुनेर म छक्क परेँ । नेपाल बैंकमा राखेपछि ढुक्क हुन्छ किनभने यहाँबाट कतै हराउन्न भनेर उहाँले भन्दा म छक्क परेँ । न चोरीको डर न सन्तानले खालान् भन्ने डर भन्दै हँसाउनुभयो । ग्राहकहरूबाट थाहा हुन्छ हामीलाई उहाँहरूको नेपाल बैंकप्रतिको अथाह विश्वास ।  पेन्सन लिन आउने समय र चाडपर्वका समयमा हामीले राम्रो सेवा दिन सक्नु पनि कर्मचारीको एक परीक्षा जस्तो हुन्छ । सामान्य अवस्थामा त गर्न सकिन्छ अनि त्यति साह्रो खटिनु नपर्ला तर भीडभाड अनि चाडपर्वमा छिटो छरितो अनि राम्रो सेवाको अपेक्षा गर्नु उहाँहरूको अधिकारको कुरा पनि हो । हामी हरेक कर्मचारीले यस्ता कुरामा ध्यान दिन सकेमा पनि हाम्रो सेवालाई उत्कृष्ट बनाउन सहयोग पुग्दछ । एक त हामी प्रत्येक कर्मचारीले आफूलाई आफ्नो कामको, आफ्नो डेस्कको अनि आफ्नो कर्तव्यको बोस मानेर समयमै उचित निर्णय लिई सेवा दिन सक्नुपर्छ भने अर्कातिर भिडभाड अथवा असमान्य अवस्थामा आफूसम्म आइपुगेका ग्राहकलाई आफैले सेवा दिई काम निम्टाइदिने, उसको र फलानोको भनेर नपन्छाइदिने अनि अर्को फाँट नदेखाइदिने, एउटा साथीसँग रिसाइरहेको र डिसकस परिरहेको ग्राहकलाई हेरेर सुनेर बस्नुभन्दा अवस्था हेरेर फरक अनि समझदारीको वातावरण सृजना गर्न सहयोग गरिदिने, यस्ता हाम्रा स-साना सहयोगी भावले एकातिर ग्राहकले सहज वातावरणको अनुभव गर्न थाल्छन् भने कार्यालयमा कर्मचारीहरूमा कामको प्रेसर कम अनुभूति हुने, कर्मचारी साथीहरूमा सौहाद्र भावको सृजना हुन जाने हुँदा यसले अन्ततः ग्राहकले पनि प्रत्येक कर्मचारीलाई विश्वास गर्न सक्ने वातावरण बन्छ । यसरी नै हामी प्रत्येक कर्मचारी प्रत्येक ग्राहकको विश्वासिलो एवम् भरपर्दो बन्न सक्नुपर्छ । यो पनि प्रत्येक कर्मचारीका लागि एउटा चुनौती बन्दै गइरहेको छ जस्तो लाग्छ । नेपाल बैंकका तत्कालीन ३ वटा शाखा यसै शाखामा गाभिई सेवा प्रदान गर्दै आइरहेको यस शाखामा पेन्सन तथा सामाजिक सुरक्षा भत्तालगायतका सेवा प्रदान गर्दा ग्राहकको भीडभाड अत्यधिक हुने, कतिपय ग्रामीण भेगका र वित्तीय साक्षरताको कमै ज्ञान भएका विशेष गरी कृषक, ज्येष्ठ नागरिक र शारीरिक रूपले दुर्बल अवस्थाका ग्राहकलाई सेवा प्रदान गर्दाका अवस्थामा हामीले नरिसाई, झन्झट नमानी सहज तरिकाले सेवा दिने वातावरण सृजना गर्न सक्नु नै चुनौती बन्न जान्छ । आएका ग्राहकलाई सन्तुष्ट बनाएर फर्काउन सक्नु नै शाखाको ठूलो उपलब्धि मानिन्छ ।  अधिकांश गृहिणी दिदीबहिनीहरू भने खाली हात नबसेको पनि पाइयो । पेवा तथा खेती किसानी गर्दै बैंकमा पैसा जम्मा गर्न आउने, आफ्नो सिप एवम् कलाका सामान अनि करेसाबारीका अर्गानिक कृषिका सामानहरू बेचेर राम्रै आम्दानी गरेको पनि देखियो । यो अवसर पनि हो उहाँहरूका लागि । सामूहिक रूपमा स्थानीय तहमा आयोजना गरिने विभिन्न घरेलु तथा हस्तकलाका साथै विभिन्न सृजनशील कलासम्बन्धी तालिम लिनु, यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनु, विभिन्न समूहहरूको प्रतिनिधित्व गर्नु अनि समसामयिक विषयमा चासो राख्नु जस्ता विविध कार्यहरूमा व्यस्त रहनु नै उनीहरूको दिनचर्या रहेको छ भने के कसो गर्दा गाउँघरको राम्रो हुन्छ त्यो आफै सोच्न सक्ने बन्नु दिदीबहिनीहरूका लागि यो राम्रो उपलब्धि पनि लाग्यो भने अहिलेको समयमा गाउँघरको समस्या भनेको युवापुस्ताको सङ्ख्यामा कमी आउनु, गाउँघरमा बिरलै युवायुवतीको बसोबास हुनु र सङ्ख्यात्मक हिसाबले ज्येष्ठ नागरिकहरूको बाहुल्य हुनु हो ।  गाउँघरमा गइयो भने बुढाबुढी अनि विदेशमा रहेका छोराछोरीका सन्तान स-साना नातिनातिनाभन्दा अरू भेटिन्नन् । बैंक टाढा हुनु, सहयोगका लागि सहयोगी युवा हातहरू साथमा नहुनु, बुढेसकालमा बुबाआमाहरू एक्लो जीवन बाँच्नुपर्ने अवस्था अहिले गाउँघरको तीतो यथार्थ बन्न पुगेको छ । त्यसैले पनि समस्यामाथि समस्या थपिएको हो । सवारी साधनमा ल्याइदिने मान्छे छैनन्, सार्वजनिक साधनको भर पर्नुपर्छ, यसो गरिदेऊ न भनेर पठाउने मान्छेको अभाव छ, जता गए पनि बुढाबुढी भएको बुबाआमा नै अघि लाग्नुपर्छ । युवाहरू गाउँबाट बेँसी, बेँसीबाट सहर, सहरबाट विदेश जाने क्रम घट्दो होइन, बढ्दो रूपमा देखिन्छ । यसकारण पनि गाउँबाट आउनुपर्ने आमाबुबालाई बैंकिङ कारोबार गर्न समस्या भएको हो । फोन गर्न सक्नुहुन्न, भनेको बुझ्नुहुन्न, डिजिटल ज्ञान छैन । जसले गर्दा बैंकिङ कारोबारमा असहज भएको देखिन्छ । त्यसैले पनि अहिलेको समयमा गाउँघरमा बैंक खाता बढाउन सक्ने अवस्था नभए पनि भएका खाताहरूलाई जोगाउन सक्नु नै सफल मान्नुपर्ने अवस्था आएको छ । यी सब कुरा भनिरहँदा कथा जस्तो लाग्न सक्छ तर वास्तवमा आजको गाउँघरको तीतो यथार्थ यही हो ।  यस्तैमा एक दिन गेटसम्म आइदिनुपर्‍यो म्याडम, मैले मान्छे लगाएर बोकाएर ल्याएको छु आमालाई भन्दै एकजना पाको अर्थात् बुबाको उमेरको व्यक्ति आउनुभयो । म गएँ, उहाँको शारीरिक अवस्था अनि बिरामी भई अशक्त अवस्थामा आफ्नै खाताको पैसा झिक्न पनि कति गाह्रो, बैंकमा राखिएको आफ्नै पैसा पनि एक प्रकारको घाँडो बनेजस्तो आभास भयो मलाई, उहाँलाई देखेर । लामो समयदेखि उहाँको पैसा निकाल्न केही बैंकिङ नियम मिलिरहेको थिएन, त्यसैले उहाँले आफैँ आउनुपरेको थियो । भित्र आउन सक्नुभएन अनि आउन पनि मान्नुभएन । बाहिरै बसेर कुरा गर्न खोजेको देखेर मैले उभिएर नै कुरा गरें । उहाँको पहिलो शब्द नै आम्मै म जस्तै केटी मान्छे रैछ नि हाकिम त, उहाँको मुहारमा एक प्रकारको आशाको उज्यालोपन देखें । सायद उहाँलाई समस्या मैले बुझिदिन्छ भन्ने पनि लाग्यो । उहाँले नेपाल बैंकमा खाता कसरी खोलियो अनि किन नेपाल बैंक छोड्न सकिएन, सबै खासखुस खासखुसमै भन्दै जानुभयो । म कतिपय शब्द बुझ्दिनथें तैपनि ओठको लवजमै बुझ्ने कोसिस गर्दै गएँ, उहाँ आफै पनि कतिपय कुरा दोहोर्‍याई तेहेर्‍याई भन्नुहुन्थ्यो । बोली प्रस्ट छैन तैपनि मनभित्र गुम्सिएर बसेका धेरै धेरै कुरा सुनाउन चाहनुहुन्थ्यो । आँखामा रोशनी थिएन तैपनि मलाई राम्ररी नियाल्न खोज्दै हुनुहुन्थ्यो । आँखामा भएका आँसु सुकेर सुक्खा भैसकेका थिए, शब्द शब्दमा मन भकानिथ्यो, मन रुन्थ्यो तर सुक्खा आँखाले साथ दिँदैनथ्यो । हामी जस्ता अनपढ, सोझा अनि गाउँघरका सबैको नजिकको साथी जस्तो थियो नेपाल बैंक । खै, कता हरायो, कता गयो भन्दै लामो सास तान्नुभयो।  बेग्लाबेग्लै नौवटा स्थान जनाउने नौ कोटहरू बुझाउने शब्दहरूबाट बनेको शब्द अपभ्रंश भएर बनेको नुवाकोट जिल्ला रमणीय मात्र होइन यसको आफ्नै ऐतिहासिक विशेषता पनि छ । नेपाललाई सार्वभौम सम्पन्न मुलुक बनाउन राजा पृथ्वीनारायण शाहले युद्धमा प्रयोग गरेको महत्त्वपूर्ण ऐतिहासिक जिल्ला मानिन्छ नुवाकोट । काठमाडौंबाट नजिक रमणीय र एक अलग ऐतिहासिक विशेषता रहेको यस जिल्लालाई सेरा दरबार, सात तले नुवाकोट दरबार, भैरवी मन्दिर अनि दुप्चेश्वर मन्दिरले अझ थप परिचित बनाएको देखिन्छ ।  काठमाडौंबाट नजिक मानिने यो जिल्ला पर्यटकीय रूपमा पनि विकसित हुँदै गइरहेको देखिन्छ भने नजिक र कम दूरीमा रहेको शाखाका रूपमा लिइन्छ त्रिशूली शाखालाई । द्वन्द्वकालभन्दा अघि नुवाकोटमा नेपाल बैंकका देउराली शाखा, ढिकुरे शाखा, चोकदे शाखा र त्रिशूली शाखासमेत गरेर जम्मा चार शाखा थिए । जसबाट हाम्रा ग्राहकहरूले राम्रै सेवा सुविधाहरू लिइरहेका थिए । सशस्त्र द्वन्द्व चलिरहेका समयमा यी सबै शाखाहरू हटाइए अनि एउटै शाखाका रूपमा त्रिशूली शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । अहिले पनि नुवाकोटका धेरै टाढाका ठाउँहरू घ्याङफेदी, भाल्छे, मेदान र उर्लिनी जस्ता ठाउँबाट ग्राहकहरू सेवा लिन आउनुहुन्छ । के गाउँ, के सहर, के सिधासादा, के बाठा, सबै प्रकारका ग्राहकहरूको भिड नेपाल बैंकको यस शाखामा हुने गरेको पाइन्छ । यहाँ आउने सबै ग्राहकहरूको एउटै इच्छा हुन्छ, विनाझन्झट छिटोछरितो सजिलै काम होस् अनि कर्मचारीको व्यवहार पनि सद् भावपूर्ण होस् । यसकारणले नै आमाको पनि यही इच्छा पनि हो अनि आमाको भावानात्मक सम्बन्धसँग जोडिएको, एक प्रकारको गहिरो अटूट आस्थाले भरिएको पनि थियो ‘नेपाल बैंक । नुवाकोटको सबैभन्दा ठूलो गाउँपालिका सूर्यगढी गाँउपालिकालाई सेवा दिने नेपाल बैंकको चोकदे शाखा पुनःस्थापना हुन सकेन । द्वन्द्वकालमा गएको नेपाल बैंक कहिले आउँछ, म पर्खाइमा छु नानी भन्नुभयो आमाले मसँग । श्रीमान् आर्मी हुनुहुन्थ्यो । छोरा फार्मेसी पढेर गाउँमै सानो औषधि पसल गर्दै थियो । म घर सम्हाल्थें । लामो कथा छ तर एउटै शब्दमा भन्नुपर्दा दुवैले नेपाल आमाका लागि ज्यान दिए । म एक्लो भएँ । पछि सरकारले दिएको पैसा लिन मैले यस नेपाल बैंकमा खाता खोलेँ । हुन त म पटक पटक नेपाल बैंक श्रीमान्सँग आइरहेकी हुन्थँे तर मेरा नाममा खाता थिएन । मेरा श्रीमान्को निधनले नेपाल बैंकमा सुरु भएको मेरो खाता तर मलाई खाताभन्दा पनि नेपाल बैंक प्यारो लाग्छ । यस बैंकमा आएपछि त्यतिबेलाका सम्झनाहरू ताजा हुन्छन् मेरा स्मृतिमा । नेपाल बैंकमा जाँदा धेरै कुरा सोध्न मन लाग्थ्यो अनि उहाँ व्यस्त भएका बेला म गार्डलाई अनि त्यहाँ सरसफाइ गर्ने बहिनी थिइन् उनैसँग सबै कुरा सोध्थें । एक दिन मलाई उहाँले खुब चासो लिएकी छौ त तिम्रो नाममा पनि खोलिदिन्छु नि खाता, त्यसमा म केही पैसा राखिदिन्छु अनि तिमी बाख्रा र कुखुरा खुब पाल्नु अनि मेरो पेवा भन्दै बेचेर पैसा धेरै बनाउनु भनेर भन्नुभएको थियो । त्यो त सपना नै रह्यो मेरो । औषधि पसल पनि छोड्नुपर्‍यो । चोकदेमै खोलेको थिएँ खाता, त्यसको केही समयपश्चात् बैंक गाउँबाट सरेर सहर गयो, पछि फेरि आउँछ भन्नुहुन्थ्यो तर कहिल्यै आएन । हामी जस्ता अशक्तहरूलाई धेरै गाह्रो भयो । निल्नु नओकल्नु भयो । यति टाढा छ बैंक आउन । त्यो बैंक फेरि ल्याउन मिल्दैन र ? कसलाई भन्नुपर्ने हो नानी ? सरकारले किन यस्तो हामीहरूको पीडा नबुझेको ? हामी जस्ता अशक्तहरूको गुनासो पनि सुन्ने ठाउँ छ र भनेको ? ए नानी ! ल न भन्दिनुपर्‍यो सरकारलाई । मेरो भदो छोरा हो यो, न मैले अधिकार दिन मिल्छ, न आफै आइरहन सक्छु । एक त साधन पनि समयमा पाइन्न अनि दिन नै माया मारेर आउनुपर्छ । एक पटक त म यतै बास बस्नुपरेको नि नानी । लोकल गाडी हिँडिसकेछ अनि यतै बास बस्नुपर्‍यो तर म आफन्तकहाँ गएर बसेँ । एक हजार रकम लिन आउन पाँच सय खर्च गर्नुपर्छ नानी । घर नजिकै अरू दुईटा बैंक छन् छ न त तर जान मन लाग्दैन मलाई ती बैंकमा । किन किन यही बैंकसँग मेरो आत्मीयता छ अनि बढी विश्वास पनि । तर नानी मलाई यहाँसम्म पटक-पटक आइरहन नपर्ने गरी मिलाइदिनु प¥यो भन्दै व्यथा पोख्दै भन्नुभयो, ‘अब त आउनुपर्ने हो, फर्किनुपर्ने हो, लामो समय भयो क्यार आउँछु भनेर गएको हो । सबैले भन्छन् आउँछ, हाम्रो गाउँमा नेपाल बैंक फेरि आउँछ । मलाई विश्वास छ नानी नेपाल बैंक म नमर्दै फर्केर मेरो गाउँ आउँछ, म पर्खाइमा हुनेछु ।’’ (लक्ष्मी पण्डित नेपाल बैंककी उपप्रबन्धक हुन् ।)