फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान
काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्नै प्लेटफर्मले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको देखाउने आन्तरिक अनुसन्धान बीचमै रोकिदिएको सनसनीपूर्ण खुलासा अदालतमा दायर दस्तावेजले गरेको छ । शुक्रबार सार्वजनिक भएको कानुनी दस्तावेजका अनुसार मेटाले २०१९ को अन्त्यतिर सुरु गरेको ‘प्रोजेक्ट मक्र्युरी’ मा फेसबुक र इन्स्टाग्राम प्रयोग एक महिना बन्द गर्ने उपभोक्ताहरूको व्यवहार विश्लेषण गरिएको थियो । प्रारम्भिक नतिजाले फेसबुक छाड्नेहरूले एक सातामै चिन्ता, एकलोपन र सामाजिक तुलना कम महसुस गरेको देखाएको थियो। तर यिनै नतिजाले मेटालाई ‘निराश’ बनायो र कम्पनीले अनुसन्धानै रोक्ने निर्णय गरेको उजुरीमा उल्लेख छ । नतिजा सार्वजनिक नगरी मेटाले बरु कङ्ग्रेसमै झुट बोलेको दाबी उजुरीमा उल्लेख छ । यो खुलासा अहिले अमेरिकामा चलिरहेको ठूलो मुद्दासँग जोडिएको छ, जहाँ विद्यालय, अभिभावक र विभिन्न राज्यका कानुनी अधिकारीहरूले मेटा, युटुब, स्न्याप र टिकटक विरुद्ध बालबालिकाको मानसिक स्वास्थ्य बिगार्ने प्रवृत्तिबारे उजुरी दर्ता गरिरहेका छन् । उजुरीकर्ताको आरोप छ– कम्पनीहरूले समस्या थाहा हुँदाहुँदै पनि कारबाही गरेनन् र बरु शिक्षक तथा अधिकारीहरूलाई भ्रममा पारे । मेटाका प्रवक्त्ता एन्डी स्टोनले दाबीहरूलाई गलत बुझाइमा आधारित भ्रामक आरोप भन्दै खारेज गरेका छन् । उनको भनाइमा कम्पनीले दशकभन्दा बढी यस्ता समस्यामा अनुसन्धान, अभिभावकसँग संवाद र किशोर सुरक्षाको लागि ठोस कदमहरू उठाउँदै आएको छ। गुगलले पनि उजुरीमा लगाइएका आरोपलाई पूर्ण गलत बुझाइ भन्दै अस्वीकार गरेको छ। उसका अनुसार युट्युब मुख्यतः टीभीमा हेर्ने स्ट्रीमिङ सेवा हो, सामाजिक सञ्जाल नै होइन । स्न्याप र टिकटकले भने तत्काल प्रतिक्रिया दिएका छैनन् । उजुरीमा मेटाका एक कर्मचारीलाई उद्धृत गर्दै भनिएको छ, नतिजा नराम्रा थिए । हामीले यो लुकायौं । के यो चुरोट कम्पनीहरूले हानिकारक थाहा पाउँदा पनि लुकाएको जस्तै देखिँदैन ? एन्डी स्टोनले सामाजिक सञ्जालमा भने अध्ययन ‘त्रुटिपूर्ण’ भएको र नतिजाबाट ‘कारण–परिणाम’ सिद्ध हुन्न भनी प्रतिक्रिया दिएका छन् । उनका अनुसार ‘फेसबुक प्रयोग हानिकारक छ’ भन्ने विश्वास गरेका मानिसहरूलाई प्रयोग छोड्दा राम्रो महसुस भयो । स्टोनले यस्तो नतिजा अन्य सार्वजनिक अनुसन्धानसँग मेल खाने बताउँदै यसले प्लेटफर्म प्रयोगको वास्तविक असर नदेखाउने स्पष्ट पारे । १ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल
निर्यात ७७ प्रतिशतले बढ्यो, चार महिनामा ६ खर्ब बढीको आयात
काठमाडौं । भन्सार विभागले निर्यात बढेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालबाट कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो । गत आवको कात्तिकसम्म कुल ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । यो अवधिमा कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कुल ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो । विभागका अनुसार यो अवधिसम्म कुल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ । कात्तिकसम्म कुल ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । चार महिनाको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत र आयातको हिस्सा ८६.७० प्रतिशत रहेको छ ।
जेनजी विद्रोह, ‘प्रिगनेन्ट’ कांग्रेस र जनअपेक्षा
जेनजी विद्रोहको साढे २ महिना पुग्न लाग्दा नेपाल राजनीतिक दिशाहिनताको घनघोर क्षणबाट गुज्रिरहेको छ । शासन व्यवस्था झन् अस्थिर हुँदैछ, आर्थिक सूचकहरू अवनति उन्मुख छन्, लगानीमा उत्साह नहुँदा बैंकमा पैसा थुप्रिँदैछ र जनताको भरोसा लगातार खस्किँदैछ । यस्तो बेला देशले विश्वसनीय, अनुशासित र वैचारिक आधार भएको राजनीतिक दल र अहिलेको अन्यौलको भूमरीबाट उकास्न सक्ने नेतृत्व खोजिरहेको छ । तर विडम्बना, ठिक यतिखेर देशका प्रमुख पार्टी दिशाहीन जस्तै देखिएका छन् भने पछिल्लो विद्रोहको सुत्रधार जेनजी पुस्ता पनि तितरवितर भएर चौबाटोमा छ । त्यसो त हरेक खाले आन्दोलन वा विद्रोहपछि क्षणिक आशा पलाउने अनि केही समयमै त्यो निराशामा बदलिने नेपाली नियति नै बनिसकेको छ । यसपालि पनि कम्तिमा अहिलेसम्मको घटनाक्रम हेर्दा योभन्दा भिन्न हुने अपेक्षा गर्न सकिने आधार तय भएका छैनन् । दुई ठूला दलको सत्ता सहवास केपी शर्मा ओली र शेरबहादुर देउवाको कुर्सी दौडमा मात्र सीमित भएपछि गत भदौको विरूप विद्रोह जन्मिएको जगजाहेर नै छ । दुई तिहाइको जनमत एक ठाउँमा आउँदा जुन ऐतिहासिक रूपले परिवर्तन वा सुधारका लागि प्रयोग हुन सक्थ्यो, त्यो ‘सत्ता गणित’मा सीमित हुँदा उनीहरू सडकमा पछारिए भने देश र जनता अँध्यारोमा फसेका छन् । नेपालको सबैभन्दा पूरानो र प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्व दिएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस आफ्नै आन्तरिक गतिरोधमा झण्डै २ महिना कैद भयो । यद्यपि ढिलै भए पनि उसले फागुनमा तोकिएको आम चुनावमा जाने परिपक्व निर्णय लिएको छ । साथै उसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । फागुनमा तोकिएको चुनाव होला कि नहोला भन्ने आशंका बढिरहेका बेला कांग्रेसको डेढ महिना चलेको केन्द्रीय समितिको बैठकको यो निर्णयले आमचुनावको माहोल खडा गर्ने अपेक्षा गर्न सकिन्छ । किनभने कांग्रेसले ताजा जनादेशमा जाने कित्ता समाउने बित्तिकै एमाले अब चुनावमा लतारिने पक्का छ । बाँकीले चुनावमा जाने बताइसकेकै छन् । यो निर्णय सँगै कांग्रेसले फेरि एकपटक आफूलाई नेपाली राजनीतिको परिपक्व अभिभावकमा दर्ज गरेको छ । तत्कालीन सत्ताको नेतृत्व सम्हालेको नेकपा एमाले भाद्र २३ र २४ मा केही नभए जस्तो गरेर सडक र बोलीमा रमिता देखाइरहेको छ । ‘सत्ता हुँदा पनि भर नभएको र सडकमा हुँदा पनि डर भएको’ पार्टीको छवि बनाउन एमाले उद्यत रहेको टिप्पणी गर्न थालिएको छ । तर, उ सके संसद् पुनःस्थापना गराउने नसके चुनावमा होमिने गरी आन्तरिक तयारीमा जुटिसकेको छ । अर्को दल तत्कालीन माओवादी केन्द्रका चतुर अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि पूरानो रक्सी नयाँ बोतलमा भरेर ‘मार्केटिङ’ सुरु गरिसकेका छन् । बाँकी दलहरूको त संरचना नै अस्थायी, आधार नै क्षणभंगुर हुँदा भरोसा गरिहाल्ने आधार बनेको देखिँदैन । पछिल्लो ८० वर्षमा नेपालका प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको पार्टी कांग्रेसले आफ्नो ‘स्ट्याण्ड क्लियर’ गर्न निकै ढिलो गर्यो । खासगरी यो पार्टीका दोस्रो पुस्ताका नेताको पहल र सकृयताले परिवर्तन पक्षधरलाई आशाबादी पनि बनाएको थियो । जेनजी बिद्रोहमा ज्यान लिने गरी भौतिक आक्रमणमा परेर पनि यो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमा दिएको सन्तुलित र परिपक्व विचारले पनि कांग्रेससँग अप्ठ्यारोमा धेरैले आशा बढाएको देखिएको हो । तर, कांग्रेस आफ्नो म्याद आइसकेको महाधिवेशनको मिति तोक्ने विषयमा डेढ महिना दन्त बजान गरेर पनि टुंगोमा पुग्न नसक्दा भने धेरैलाई निराश बनाएको छ । कांग्रेस ‘किस्तामा बैठक’ गर्दै कछुवा गतिमा अलमलिँदा देश नै अलमलिए जस्तो भएको छ । देशभरका चिया चौतारामा मानिसहरू अब राजनीतिले कुन बाटो समाउला ? त्यो सहज होला कि नहोला ? के व्यवस्था सही बाटोमा जाला ? जस्ता विषयमा अनेक कोणबाट छलफलमा आफ्नो समय खर्चिन बाध्य छन् । गत साता झण्डै दर्जन जिल्लाका विभिन्न विचार र पेशाकर्मीहरूसँग पंक्तिकारले सम्वादको मौका पाउँदा मानिसमा ठूलो अन्यौल र अनिश्चय स्पष्ट देखियो । साना बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिस ठूलो चिन्तामा देखिए । भदौ २४ को जनउभार र आगोले केही राम्रो होला कि भनेर आशा राख्नेहरु अहिले यसभन्दा पनि खराब अवस्था आउन लागेको शंकामा पिल्सिएको पाइयो । सहज रूपमा गरिखान समेत गाह्रो हुने हो कि भन्नेमा अधिकांश चिन्तित सुनिए । बेथिति र भ्रष्टाचारविरुद्ध चलेको हावाले आँधीको रूप लिएर सत्ता पखालेर लगेपछिका साढे २ महिनामा पनि न जेनजी युवाहरुले बाटो समाए न पूराना भनिएका दलहरुले आत्मसमीक्षासहित बाटो सुधारे । यो अन्यौलले आम निराशा र आक्रोश झन्झन् बढाउँदै लगेको छ । जननिर्वाचित संसद् छैन । आम चुनाव कहिले हुने हो टुंगो छैन । आज देश एक असामान्य घडीबाट गुज्रिरहेको छ । राणा शासनदेखि पञ्चायतसम्म, राजतन्त्रदेखि कम्युनिस्ट अधिनायकवादसम्म, कांग्रेसले संघर्षको इतिहास बोकेको छ । तर, आज कांग्रेस देशको सवालभन्दा पनि आन्तरिक सवालमा रुमलिएको छ । जब देशले आशा गरिरहेको छ, यस्तो बेला कांग्रेसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न असफल भयो भने यसको अस्तित्व किन छ ? यो केवल एक दर्जन शीर्ष नेताहरूको राजनीतिक जीवनको ‘क्यालकुलेटर’ मात्र हो ? यो पार्टीमा यी नेता बाहेकका लाखौं नेता कार्यकर्ताको कुनै मूल्य छैन ? यस्ता प्रश्न कांग्रेस कार्यकर्ताहरूले नै उठाउन थालेका छन् । प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले बीपी कोइरालाको पहलमा २००३ सालमा स्थापित नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बीपीदेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू सम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन, २०१७ सालको संघर्ष, २०४६ सालको पुनर्जागरणसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो । २०६२/०६३ को आन्दोलन र २०७२ सालमा संविधानसभामार्फत संविधान जारी गर्दा पनि कांग्रेसको अगुवाइ निर्णायक रह्यो । तर, समयको प्रवाहसँगै कांग्रेसको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ । बीपीले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर, त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद, पैसा र पहुँचको राजनीति हावी भएको छ । सिँगो पार्टीले दिशा तय गर्न नसकिरहेका बेला पार्टीका कतिपय नेताहरूले हिन्दू राज्यका पक्षमा त कोहीले संवैधानिक राजसंस्थाको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । पार्टीले एउटा आशा र स्पष्टता सञ्चार गर्न नसक्दा ‘मास–बेस्ड पार्टी’का ‘स्वीङ’ भोटहरू बरालिने र अराजकतावादी, प्रतिक्रियावादी वा क्षणिक लोकप्रियतामा चल्ने शक्तितिर बग्न सक्छन् । यसर्थ कांग्रेसको समग्र ढिलाई केवल पार्टीको समस्या होइन, देशको राजनीतिक स्थायित्वमै प्रत्यक्ष असर पार्ने विषय हो । ‘स्वीङ’ भोट देशको राजनीतिक मौसम हो । यही भोट ‘मास वेस्ड’ कांग्रेस पार्टीको मुख्य बल हो । अस्पतालमा जस्तै—जहाँ संकटका बेला डाक्टरको हात चाँडो चल्नु पर्छ, ठीक त्यस्तै अवस्था अहिले देशको छ । तर राणा, राजा, पञ्च, कम्युनिस्ट सबैसँग संघर्ष गर्दै, भारतको असहज छायाँलाई पन्छाउँदै संविधानसभामार्फत् संविधान जारी गरेर यहाँसम्म देशलाई डोर्याएको कांग्रेस आज संकटका बेला आन्तरिक महाधिवेशनको रडाकोबाट बाहिर आउन नसक्नु आश्चर्यजनक र गैह्रजिम्मेवार मानिएको छ । नयाँ पुस्ता, नयाँ दृष्टिसहित निर्णय क्षमता अगाडि ल्याउन सकेन भने कांग्रेसप्रति बचेखुचेको अपेक्षा सकिनेछ । कांग्रेस यी सवालमा छरितो र उत्तरदायी बन्नै पर्छ । फुर्मासको समय छैन । कांग्रेसले आफ्नो नियमित वा विशेष जुन भए पनि महाधिवेशनको मिति समयमैं सक्ने गरी तोकोस् । अनि बदलिएको परिवेशमा ताजा जनादेशका लागि आम चुनावमा एकमतले होमिएको सन्देश देओस् । पार्टीबाट समयको पदचाप बुझ्न सक्ने नयाँ नेतृत्व छानोस् र अहिलेको राजनीतिक भूमरीबाट देशलाई उकास्न फेरि एक पटक विगतको कालखण्डजस्तै गरी भरोसायुक्त नेतृत्व लेओस् भन्ने आम अपेक्षा रहेको छ । जेनजी विद्रोहपछि कांग्रेसमा दोस्रो पुस्ताका गगन थापा लगायतको आवाज जोडदार रूपमा मुखरित भएको छ । यसले संस्थापन पक्षभन्दा संस्थापन इतरपक्षको आवाज बलियो बन्दै गएको छ । कांग्रेसलाई ‘प्रिगनेन्ट’ त बनाएको छ तर न बच्चा जन्मिने मिति टुंगो छ न बच्चा जन्मिने कुराकै सुनिश्चितता । तैपनि महाधिवेशन आम चुनावअघि कि पछि भन्ने विषय कांग्रेसमा अहिले प्रसव पीडाजस्तै गरि बल्झिएको छ । अहिले कांग्रेस सभापतिका नाममा मिडियामा, कार्यकर्ता तहमा खुला पत्र लेखिन थालेका छन् । नेपाली कांग्रेसलाई नयाँ उर्जा र भविष्यको ताकत बनाउने कि इतिहासको पानामा खुम्च्याउने दिशामा डोर्याउने भनेर सभापति देउवाको आलोचना भैरहेको छ । देश जलिरहेका बेला सबै दल र नेताहरु दुला पसेका बेला समेत पार्टीका तर्फबाट सन्देश प्रवाह गरेर एउटा ढाडसको बल दिने महामन्त्री गगन थापा र उनीहरूको पुस्तामा ऊर्जा, योजना, टिम, जनआकर्षण सबै छ भनेर मत बन्दै गएको छ । सँगै वरिष्ठ नेता शेखर कोइरालाप्रति पनि कार्यकर्ताको आशा छ । यसले स्वतन्त्र जनमतलाई अझै कांग्रेस निर्णयको प्रतीक्षामा राखेको विश्लेषण गरिन्छ । वि.सं २०५६ मा गिरिजाप्रसाद कोइरालाले आफ्ना कट्टर विरोधी कृष्णप्रसाद भट्टराईलाई नै भावी प्रधानमन्त्री भन्न सके, किनकी उनले बुझेका थिए कि पार्टी चलाउने कुरा व्यक्तिगत मनोविज्ञान होइन, जनमतको विज्ञान हो । भट्टराई अघि सार्दा पार्टीले बहुमत ल्यायो । कांग्रेसको बाँकी सम्भावना दोस्रो पुस्तामा टल्किएको बेला यसको सदुपयोग किन नगर्ने ? नेतृत्वको गरिमा कहिलेकाहीँ आफूभन्दा सक्षम वा भविष्यदृष्टि भएको पुस्तालाई अघि लगाउन सक्ने साहसमा पनि नापिन्छ । नेतृत्व त्यही हो, जहाँ व्यक्तिगत भावनाभन्दा संस्थाको भविष्य ठूलो हुन्छ । तर, आज कांग्रेसले त्यो इतिहास बिर्सेको हो कि भन्ने प्रश्न सामुन्ने आएको छ । यस्तै कारणले विश्वभर ‘पुराना दलहरूको संकट’ जन्मिएको हो, इटालीको डेमोक्रेटिक पार्टी, फ्रान्सको सोसलिस्ट पार्टी, भारतको कांग्रेस—सबै नयाँ पुस्तालाई समयमै अगाडि नसार्दा कमजोर हुँदै गए । क्यानडाको लिबरल पार्टी दशकौंसम्म थाकेको संरचना जस्तै थियो, जसलाई जस्टिन ट्रुडोको नेतृत्वमा पुनःसंगठित गरिएपछि मात्र पुनर्जीवन मिल्यो । युकेको लेबर पार्टी बाहिर निस्किनै सकेन, जबसम्म उसले पूराना अनुहारहरूको चक्र तोडेन । नेपालमा कांग्रेस आज यस्तै मोडमा पुगेको छ । कार्यबाहक सभापति तोकेर उपचारका लागि सिंगापुर जानुअघि देउवाको अभिव्यक्ति र उदारताले कांग्रेस र उनको छविमा नयाँ रक्तसञ्चारको आशा पलाएको टिप्पणी सुरु भएको थियो । तर, उनी फर्केपछि पुनः पूरानै राजनीतिक रक्तसञ्चार लिएर फर्किएको मत निर्माण भैरहेको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साझा निकास निस्कने र सभापति देउवा सक्रिय राजनीतिमा नफर्कने संकेत दिएका छन् । हुन पनि कांग्रेस सभापति देउवाको जस्तो सरल व्यक्तित्व र सौम्य अभिव्यक्ति जस्ता गुण अहिलेका समकालीन कुनै नेतामा पनि छैन । विधानको व्यवस्था अनुसार महाधिवेशनमा जानु पर्ने पार्टीपंक्ति मितिको रडाकोमा फसेको छ । यसले जति सक्यो छिटो आमचुनावमा लगाउनु पर्ने शक्ति आफै भित्रको लडाइँमा क्षयीकरण भैरहेको छ । संस्थापन तर्फका आधा दर्जन भाइहरूको जिद्दीले कांग्रेस र देश अनिर्णयमा फसेका छन् । तर, संस्थापन तर्फ अहिले चुनावी लहर ल्याउन सक्ने नेता छैनन् । कांग्रेसको दोस्रो पुस्ताका गगन थापा जो विद्यार्थी राजनीतिबाट उदाएका हुन्, उनीजत्तिकै देश हाँक्ने योजना बनाएर तयार भएका र विश्वप्रकाश जस्ता सारथी भएका नेता अरु कुनै पार्टीमा छैनन् । देउवा समेतका सबै नेता अभिभावकीय कवजमा बसेर यी युवाहरूलाई अघि सारेर पार्टी र देशलाई सही दिशा दिन सकिन्छ भन्ने मत पार्टीभित्र र आम जनतामा बलियो हुँदै गएको छ । तर, ‘प्रिग्नेन्ट’ कांग्रेसले यो निर्णय लिन सक्छ वा सक्दैन भन्ने कुरा निकट भविष्यमा थाहा होला । हो, राजनीतिमा आफ्नो खास अनुयायी भन्दा अर्कालाई अघि सार्न गाह्रो छ । तर, सबैले कांग्रेसलाई आशाले हेरिरहँदा यस भन्दा फरक सोच्ने छुट कांग्रेस र यसको संस्थापन पक्षलाई छैन । पूरानो पुस्ताको सम्मान र नयाँ पुस्ताको भावना बोक्न सक्ने ल्याकतसहित हालसम्मका राम्रा कुराको श्वेतपत्र जारी गरि कमजोरीहरुको आत्मालोचनासहित यो पार्टीले जेन्जी पुस्ताको भावना र सन्देश आत्मसात् गरेर अघि बढ्न जति ढिलो गर्यो देश र कांग्रेस दुवै उत्तिकै ठूलो अन्यौल र अस्थिरताको भूमरीमा फस्तै जाने खतरामा छन् ।