सेयर बिक्री प्रकरणमा सीडीएससीमाथि प्रश्न

काठमाडौं । साबिक मिर्मिरे लघुवित्त वित्तीय संस्था (हाल नेरूडे मिर्मिरे लघुवित्त) को वि.सं. २०७६ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट टेक बहादुर बोहरा सञ्चालकमा निर्वाचित भए । साथै सञ्चालक समितिको निर्णय अनुसार बोहरा संस्थाको अध्यक्ष बने । तर, ४ वर्षका लागि अध्यक्ष बनेका बोहरा नेपाल राष्ट्र बैंकको वि.सं. २०८० भदौ ११ गतेको पत्र बमोजिम पदमुक्त भए । राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम बोहरालाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गर्यो । तर, राष्ट्र बैंकको सो निर्णयलाई चुनौती दिँदै बोहरा उच्च अदालत पाटन पुगे । अदालतले २०८१ जेठमा राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः संस्थामा सक्रिय हुने बाटो खुल्यो । यसबीचमा मिर्मिरे र नेरूडे लघुवित्त मर्ज भएर संस्था ‘नेरूडे मिर्मिरे लघुवित्त’ बनिसकेको थियो । अदालतको आदेशपछि बोहरा पुनः अध्यक्ष बन्ने प्रक्रिया अघि बढे पनि राष्ट्र बैंकसँगको असहजता र सपथ खुवाउन आनाकानी गरेपछि उनी पछि हटे ।  वि.सं. २०८२ जेठ ५ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट बोहरा फेरि नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालकमा निर्वाचित भए । तर, राष्ट्र बैंकको गत वैशाख २८ गतेको निर्देशन बमोजिम उनी लघुवित्तको सञ्चालकबाट पदमुक्त भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ङ) बमोजिम उनलाई पदमुक्त गरेको हो । यसकारण पदमुक्त भए बोहरा राष्ट्र बैंकले गैरकानुनी रूपमा साबिक मिर्मिरे लघुवित्तको अध्यक्षबाट हटाइएपछि बोहरा वि.सं. २०८० भदौ १७ गतेदेखि वि.सं. २०८२ जेठ ४ गतेसम्म संस्थामा जिम्मेवारीविहीन थिए । तर, बोहराले अध्यक्ष पदबाट अलग भएको एक वर्ष नहुँदै आफ्नो नाममा रहेको सो संस्थाको सेयर दोस्रो बजारमार्फत बिक्री गरे । उनले वि.सं. २०८० पुस १६ गते लघुवित्त संस्थाको १ हजार कित्ता सेयर बिक्री गरे । साथै विभिन्न समयमा गरी बोहराले २० हजार ५०७ कित्ता सेयर बिक्री गरेका छन् । अध्यक्ष पदबाट अलग भएको एक वर्ष नहुँदै बोहराले आफ्नो नाममा रहेको सो संस्थाको सेयर दोस्रो बजारमार्फत बिक्री गरी हक हस्तान्तरण गरेको देखिएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२ को उपदफा (१) र एकीकृत निर्देशन १०-०८१ को बुँदा नं. २(ङ)(१०) विपरीत कार्य गरेको राष्ट्र बैंकको निष्कर्ष छ । सोही आधारमा वि.सं. २०८२ माघ ११ गते उनलाई स्पष्टीकरण सोधिएको थियो । बोहराले १५ बुँदे स्पष्टीकरण पेस गरे पनि चित्त नबुझेपछि राष्ट्र बैंकले उनलाई पुनः सञ्चालक पदबाट पदमुक्त गर्यो । यसपटकको पदमुक्तिको मुख्य कारण भने बोहराले सञ्चालक पदबाट अलग भएको एक वर्षभित्र आफ्नो नाममा रहेको संस्थाको सेयर बिक्री गर्नु बनेको छ । राष्ट्र बैंकको नियम अनुसार सञ्चालक वा पदाधिकारीले पदावधि सकिएको वा अवकाश लिएको एक वर्षभित्र सेयर बिक्री गर्न नपाउने व्यवस्था रहेको भन्दै नियामकले यसलाई नियम उल्लंघन मानेको हो । राष्ट्र बैंकविरुद्ध अदालत जाने बोहराले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णयविरुद्ध अदालत जाने बताएका छन् । विकासन्युजसँग कुरा गर्दै उनले आफूलाई गैरकानुनी रूपमा सञ्चालक पदबाट हटाइएपछि आफ्नो नाममा रहेको रूपान्तरण भएको साधारण सेयर बिक्री गर्न बाध्य भएको दाबी गरे । ‘मैले नयाँ सिर्जना गरेको सेयर बिक्री गरेको होइन, कन्भर्जन भएर आएको सेयर हो । करिब २० हजार कित्ता सेयर साधारण सेयरमा रूपान्तरण भएको थियो,’ उनले भने । बोहराले आफूले बिक्री गरेको सेयर रोक्का नरहेको र राष्ट्र बैंकको नियमन विपरीत कुनै काम नगरेको दाबी गरे । उनका अनुसार पदावधि सकिएको वा अवकाश लिएको अवस्थामा लाग्ने एक वर्षभित्र सेयर बिक्री गर्न नपाउने व्यवस्था आफूमा लागू नहुने जिकिर गरे । ‘न त मैले अवकाश लिएको हो, न पदावधि सकिएको हो । मलाई राष्ट्र बैंकले गैरकानुनी रूपमा हटाएको हो, जुन अदालतले समेत स्वीकार गरिसकेको अवस्था छ,’ उनले भने । उनले रोक्का रहेको सेयर भने बिक्री नगरेको स्पष्ट पारे । बोहराले आफूलाई व्यक्तिगत रिसइबीका कारण हटाइएको आरोप पनि लगाए । उनले थपे, ‘संस्था डुबेको अवस्था थिएन । यदि डुबेको भए म फेरि किन सञ्चालक बन्थेँ ? आवश्यकताका आधारमा सेयर बिक्री गरिएको हो ।’ बोहराका अनुसार आफूलाई यसअघि नै राजीनामा दिन दबाब दिइएको थियो । तर राजीनामा नदिएको र लामो समयपछि मात्रै कारबाही गरिएको उनको भनाइ छ । सीडीएससीमाथि प्रश्न बोहराको सेयर बिक्री प्रकरणले नयाँ बहस जन्माएको छ । राष्ट्र बैंकले कानुनी व्यवस्था उल्लंघन गरेको निष्कर्ष निकालेर पदमुक्त गरे पनि याे घटनाको केन्द्रमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रणालीगत कमजोरी बहसको विषय बनेको छ ।  'सूचीकृत संस्थाका सञ्चालक वा पदाधिकारीले पद छोडेको एक वर्षसम्म आफ्नो तथा एकाघर परिवारको नाममा रहेको सेयर बिक्री गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था छ । त्यसैले हटाइएको अवस्थामा पनि यही व्यवस्था लागू हुन्छ,’ एक बैंकरले भने । उनका अनुसार यस्तो अवस्थामा सेयर डिम्याट खातामा देखिए पनि त्यो स्वतः बिक्रीयोग्य हुँदैन । सीडीएससीले त्यस्ता सेयरलाई ‘लक’ गरेर राख्नुपर्ने व्यवस्था हुन्छ । ‘जस्तो खातामा पैसा देखिन्छ तर चलाउन मिल्दैन, त्यस्तै लक गरिएको सेयर पनि देखिन्छ तर कारोबार गर्न मिल्दैन,’ उनले भने । उनका अनुसार सीडीएससीको प्रणालीले प्रतिबन्धित सेयरलाई कारोबारयोग्य देखाएमा त्यसको जिम्मेवारी प्रणालीमाथि नै जान्छ । ‘यो सीडीएससीको सिस्टम कमजोर भएको संकेत हो,’ उनले भने । बोहरा प्रकरणले पुँजी बजारको प्रणालीगत व्यवस्थापनमाथि प्रश्न उठाएको उनले बताए । प्रतिबन्धित सेयर प्रणालीमै कारोबारयोग्य देखिने अवस्था भए अन्य यस्ता विवाद पनि जन्मिन सक्ने उनकाे दाबी छ ।  बोहराको सेयर बिक्री प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का एक उच्च अधिकारीले सेयर रोक्का नभएको अवस्थामा पनि कानुनी जिम्मेवारी सम्बन्धित व्यक्तिमाथि नै रहने दाबी गरे ।  उनका अनुसार संस्थाका सञ्चालक वा पदाधिकारी पदबाट बाहिरिएको एक वर्षसम्म सम्बन्धित संस्थाको कुनै पनि किसिमको सेयर खरिदबिक्री गर्न नपाउने स्पष्ट व्यवस्था छ । उनले डिम्याट खातामा रहेको सेयर स्वतः रोक्का नहुने तर कम्पनीले सीडीएससीलाई जानकारी दिएपछि मात्र रोक्का हुने प्रक्रिया अघि बढ्ने बताए । सेबोनका ती अधिकारीले यस विषयमा बोहरा र सीडीएससीको भूमिकाबारे अध्ययन हुन सक्ने संकेत दिए । राष्ट्र बैंकबाट कारबाही भइसकेको सन्दर्भमा एउटै विषयमा दोहोरो कारबाहीको प्रश्न कानुनी रूपमा व्याख्या गर्नुपर्ने उनको भनाइ छ । ‘एउटै मुद्दामा दोहोरो कारबाही गर्दा के हुन्छ भन्ने विषय कानुनी रूपमा बुझ्नुपर्छ,’ उनले भने । उनका अनुसार आवश्यक परे सेबोनले अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छ र त्यसक्रममा सीडीएससीको प्रणाली तथा सम्बन्धित कारोबारको विवरणसमेत अध्ययन गरिनेछ ।

यी हुन् विदेश जाँदा र फर्किँदा छुट पाइने वस्तु

काठमाडौं । सरकारले नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु तोकेको छ ।  नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरेको छ । यस्तै, तोकिएको परिमाणसम्म सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना, आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक एक थान पनि महसुस नतिरेरै ल्याउन सक्नेछन् । तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने उल्लेख छ ।   श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई लगातार कम्तीमा बाह्र महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको पैंसट्टी इञ्चसम्मको टेलिभिजन एक थान ल्याउन सकिने छ । तर, उल्लेखित सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ । यस्तै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेशासँग सम्बन्धित वस्तुहरू एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता वस्तु), सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको एक बोतलमा महसुल लाग्ने छैन । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले उल्लिखित वस्तु आफैं उपस्थित भई भन्सार जाँचपास गराउने गरी आफू आउनु भन्दा अघि वा पछि हुलाक पुलिन्दा, कार्गो वा अन्य माध्यमबाट पठाउन सक्नेछ ।  यस्तै, नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो, घडी, अभििगभिच मोबाइल फोन एक एक थान, लुगाफाटा, जुत्ता, कष्मेटिक्स जस्ता वस्तु बढीमा पाँच पाँच थान, घरायसी प्रयोगका विद्युतीय उपकरण (जस्तै– मिक्सर, जुसर, सिलाई मेशिन, इस्त्री, राइस कुकर जस्ता वस्तु) बढीमा दुई दुई थान, दश किलोग्रामसम्म खाद्य परिकार र डाक्टर, इञ्जिनियर, खेलाडी जस्ता पेशागत यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने वस्तु बढीमा दुई दुई थान महसुल तिरेर ल्याउन सक्नेछन् ।  यस्तै, छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चिस हजार रुपैयाँसम्मका वस्तु आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा देहाय बमोजिमको मूल्यसम्ममा लाग्ने महसुल पूर्ण रूपमा छुट दिई त्यस्तो वस्तुको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ ।  तर छुट सीमाभन्दा बढी मूल्यको वस्तु भएमा बढी मूल्यमा प्रचलित कानून बमोजिम महसुल लाग्ने उल्लेख छ ।  सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछन् । विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उल्लेखित वस्तुमध्ये अमेरिकी डलर पाँच सयसम्मको वस्तु पठाएमा प्रमाण हेरी लाग्ने महसुल लिई जाँचपास गर्न सकिनेछ ।  अमेरिकी डलर पाँचसय भन्दा बढी मूल्यको वस्तुलाई न्यून मूल्य देखाई पठाएको पाईएमा त्यस्तो वस्तु जफत गर्न वा उल्लिखित सीमा भन्दा बढी भएको मूल्य बराबरको रकम जरिबाना र लाग्ने महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था छ ।  चुरोट दुई सय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म प्रचलित कानून बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने, भारतीय सेना वा प्रहरीबाट निवृत्तभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्केको व्यक्तिले आफ्नो निवृत्तभरणको कागजात पेश गरेमा अभिलेख रहने गरी एक पटकको लागि पचास हजार रुपैंयाँसम्मको निजी प्रयोगका घरायसी वस्तुहरुमा (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरु बाहेक) सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ ।  कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तुहरु (सवारी साधन, हातहतियार, खरखजाना एवं अन्य प्रतिबन्धित वस्तुहरू बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुने व्यवस्था गरिएको छ ।  विदेश जाने नेपाली यात्रुका लागि विदेश जाँदा आफ्नो प्रयोगका लागि लैजाने सौगातको रुपमा प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका पचास हजार रुपैयाँ मूल्यसम्मका वस्तुमा महसुल नलाग्ने व्यवस्था गरिएको छ । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख छ । सम्बन्धित वायुसेवाले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तुहरु लैजान चाहेमा आवश्यक कागजातहरु पेश गरी कानून बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछन् भने यसरी वस्तु लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक नपर्ने उल्लेख छ ।  नेपाली यात्रुले पाउने सुविधा गैरआवासीय नेपाली यात्रुले आफू गैरआवासीय नेपाली भएको प्रमाण पेश गरेमा उडानमा गएका वायु सेवाका चालक दलका सदस्य (क्रु मेम्बर) ले आफ्नो प्रयोगमा रहेका निजी वस्तु बाहेक अन्य कुनै वस्तु ल्याउन नपाउने व्यवस्था गरिएको छ ।  स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ । यसअघि १०० रुपैयाँसम्मको व्यवस्था थियो ।  यस्तै, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल नलाग्ने व्यवस्था गरिएको छ ।  विदेशी यात्रुले पाउने छुट  अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले आफ्नो साथमा ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) बाइनाकुलर (दूरविन) एक वटा, ट्याबलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा एक एक वटा,  पोर्टेवल म्युजिक सिष्टम एक सेट, लुगाफाटा, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना वस्तुहरू, पेराम्बुलेटर र ट्राइसाइकल एक एक वटा, साइकल एक वटा, घडी एक वटा र सेलुलर मोबाइल फोन एक वटा ल्याउन पाउनेछन् ।  यस्तै, पेशाकर्मीले आफूले गरिआएको काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा एक सेट, डाक्टर वा वैद्यले आफ्नो पेशा अनुसारको काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजार र औषधि तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय वस्तु, गायक वा सङ्गीतकारले ल्याएको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक वस्तु, खेलाडीले आफूले खेल्ने खेलसँग सम्बन्धित वस्तु,  माछा मार्ने रड, पावर बैङ्क एक वटा ल्याउन पाउने छन् ।  उल्लिखित वस्तुका अतिरिक्त प्रचलित कानून बमोजिम निकासी वा पैठारी गर्न निषेध वा नियन्त्रण गरिएका र व्यापारिक प्रयोजनका वस्तु बाहेक विदेशी यात्रुले निकासी वा पैठारी गर्ने अन्य वस्तुहरु भन्सार प्रमुखले औचित्य हेरी बिना महसुल वा कानून बमोजिम लाग्ने महसुल लिई ल्याउन र लैजान दिन सक्ने व्यवस्था छ ।  राहदानी लिई आउने जाने विदेशी यात्रुले मदिरा एक लिटरसम्मको बोतल एक वा बियर बाह्र क्यानसम्म, चुरोट दुई सय खिल्ली, सिगार पचास खिल्ली, टोबाको दुई सय पचास ग्रामसम्म, दश हजार रुपैयाँ मूल्यसम्मका औषधि (प्रचलित कानून बमोजिम पैठारी गर्न निषेध गरिएका बाहेक), पाँच हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा (टिन प्याक समेत) र दुई हजार रुपैयाँ मूल्यसम्मका ताजा फलफूल ल्याउन पाउनेछन् ।  विदेशी यात्रुले नेपालबाट लैजान सक्ने सौगातको हकमा निजले नेपालमा विदेशी मुद्रा सटही सम्बन्धी कारोबार गर्ने बैंक वा त्यस्तो विदेशी मुद्रा सटही गर्न तोकिएको अधिकृत डिलरसँग विदेशी मुद्रा सटही गरेको प्रमाणित हदसम्म नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध नगरिएका वस्तु बिना इजाजतपत्र लैजान वा पठाउन सक्नेछन्।  विदेशी यात्रुले उल्लिखित वस्तुका अतिरिक्त नेपाली बजारमा खरिद गरिएका प्रचलित कानून बमोजिम निकासी गर्न निषेध गरिएका बाहेकका पाँच लाख रुपैयाँसम्मका वस्तु आफूसाथ लैजान वा पठाउन सक्नेछन् । तर मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा यस उपदफा बमोजिमको मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख गरिएको छ ।  हवाईमार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले पाँच हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउनेछ। सो भन्दा बढी ल्याउनु परेमा भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्था गरिएको छ ।  कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै वस्तु लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा यस सूचनाको प्रतिकूल हुने गरी कुनै वस्तु ल्याउन र लैजान खोजेमा त्यस्तो वस्तु जफत गरी प्रचलित कानून बमोजिम कारबाही गरिने उल्लेख छ ।   

भन्सारमा १०० मूल्य बढीका वस्तुमा कर लाग्ने व्यवस्था हट्यो

काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुहरूका लागि साथमा ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानको भन्सार छुटको सीमामा बढाएको छ । विगत लामो समयदेखि कायम रहेको १ सय रूपैयाँको झन्झटिलो सीमालाई पाँच गुणाले बढाएर ५०० रुपैयाँ पु¥याइएको छ । यस नयाँ व्यवस्थाबाट सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा दैनिक ओहोरदोहोर गर्ने आम यात्रुहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ । सरकारले भन्सार ऐन, २०८२ को दफा २० को उपदफा (१) तथा भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको नयाँ नियमावली अनुसार यो व्यवस्था गरेको हो ।  राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।  यसअघि १०० रुपैयाँभन्दा बढी मूल्यका सानातिना घरायसी वस्तुमा समेत भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको सीमावर्ती क्षेत्रका बासिन्दा र सर्वसाधारणबाट चर्को विरोध हुँदै आएको थियो । राजपत्रको दफा ५ को उपदफा (१) बमोजिम स्थलमार्गबाट ओहोरदोहोर गर्ने व्यक्तिले अन्य ठूला हवाई यात्रु सरहका विशेष सुविधाहरू नपाए पनि घरायसी तथा व्यक्तिगत प्रयोजनका साना सामानमा राहत पाउने भएका छन् ।  यस्तै, सरकारले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको हित र डिजिटल सिकाईलाई ध्यानमा राख्दै नयाँ शैक्षिक सहुलियत समेत घोषणा गरेको छ । राजपत्रको दफा ५ को उपदफा (२) मा गरिएको विशेष व्यवस्था अनुसार भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले आफ्नो साथमा लगेको वा नेपाल ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नु पर्ने छैन । यो निर्णयले प्रविधिको पहुँच बढाउन विद्यार्थी वर्गमा ठूलो उत्साह थपेको छ । राजपत्रको सूचनामा स्पष्ट व्यवस्था गरिए अनुसार कुनै पनि यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाई–छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा तोकिएको सीमा भन्दा बढी सामान अवैध रूपमा ओसारपसार गरेमा त्यस्ता वस्तुहरू जफत गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ ।