एक रात बस्न लाखसम्म तिर्नुपर्ने होटल, यस्तो छ १० होटलको रुमरेट
काठमाडौं । एक दशकअघि नेपालमा ठूला होटल (तारे होटल) हरूको संख्या न्यून थियो । अहिले होटलको संख्या पनि बढेको छ । नेपालमा १० वर्षअघिदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरूमा द एभरेष्ट होटल, द सोल्टी होटल, याक एण्ड यति, हायातलगायत हुन् । होटलको संख्या वृद्धि भएसँगै आजको दिनसम्म आइपुग्दा तारे होटलको एक रातको रेट दोब्बरले वृद्धि भएको छ । नेपाल होटल संघका महासचिव साजन शाक्य नेपालमा चेन होटलहरू सञ्चालनमा आउनु र नयाँ होटलको संख्या बढ्न थालेसँगै होटलको रेट ह्वातै बढेको बताउँछन् । शाक्यका अनुसार एक दशकअघि पाँचतारे होटलहरुको रुम रेट सामान्यतया १२० डलरदेखि १५० डलरसम्म उपलब्ध हुन्थ्यो । हाल पाँचतारे होटलहरूले कोठाको मूल्य एक रातकै दुई सय डलरदेखि पाँच सय डलरसम्म तोकिसकेका छन् । जुन नेपाली रुपैयाँ २७ हजारदेखि ६७ हजार रुपैयाँ हो । औसतमा हाल पाँचतारे होटलहरूको रुम रेट नै १५० डलर हो । अझ अहिले धेरैजसो तारे होटलहरूमा लक्जरियस रुम आइसकेका हुनाले त्यसको रेट एक लाखभन्दा माथिसम्म पर्ने संघका महासचिव शाक्यले सुनाए । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड- १९ को समयमा भने पाँच तारे होटलहरूको रुम रेट ह्वातै घटेको संघका महासचिव शाक्यले बताए । उनका अनुसार उक्त समयमा पाँच तारे होटलको कोठाको मूल्य दैनिक ५० डलरको हाराहारीमा झरेको थियो । कोभिडका कारण पर्यटक आगमन ठप्प हुनु र धेरैजसो होटलहरू बन्द भएका कारण कोठाको मूल्य पनि घट्न पुगेको उनले सुनाए । महासचिव शाक्यका अनुसार होटलहरूले अहिले वार्षिक ३० लाख पर्यटकलाई ८ देखि १० दिनसम्मको लागि राख्न सक्ने क्षमता भइसकेकेको छ । द सोल्टी काठमाडौंमा रहेको सुविधा सम्पन्न होटल द सोल्टीमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम १८ हजार ३२६ रुपैयाँदेखि ७१ हजार रुपैयाँसम्म रहेको छ । यसले स्वीट्स रुमको ६३ हजार १२२ रुपैयाँ चार्ज लिँदै आएको छ । चन्द्रगिरी हिल्स अन्तर्राष्ट्रियस्तरको सुविधाले सम्पन्न चन्द्रगिरी हिल्समा एक रातको एउटा रुमको रेट २५ हजार ३९१ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स रुमको रेट २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म रहेको छ । माउन्टेन भ्यू हेर्न मिल्ने डबल बेड भएको रुमको २५ हजारदेखि २६ हजार रुपैयाँसम्म र किङ बेड रुमको २९ हजार रुपैयाँसम्म तोकेको छ । द एभरेष्ट होटल काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित द एभरेष्ट होटलमा एक रातको एउटा रुमको रेट १७ हजार ३७५ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स डबल रुमको २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म तोकेको छ । त्यस्तै, होटलले माउन्टेन भ्यूसहितको डबल बेडको २५ देखि २६ हजारसम्म र किङ रुमको २६ देखि २९ हजारसम्म मूल्य तोकेको छ । हिल्टन काठमाडौं काठमाडौंमा रहेको चेन होटल हिल्टनमा एक रातको कोठाको मूल्य न्यूनतम २३ हजार रुपैयाँदेखि माथि छ । होटलले प्रिमियम टुइन रुमको मूल्य २५ हजारदेखि ४२ हजारसम्म तोकेको छ । त्यस्तै, एक्सक्युटिभ किङ रुमको न्यूनतम ३१ हजार रुपैयाँदेखि ४८ हजारसम्म, एक्सक्युटिभ टुइन रुम ३१ हजार रुपैयाँदेखि ४४ हजार, प्रिमियम किङ रुमको मूल्य ३६ हजार रुपैयाँदेखि ५३ हजार र किङ स्वीटको मूल्य ५० हजारदेखि ६७ हजारसम्म तोकेको छ । हायात प्लेस काठमाडौं धेरैलाई हायात होटलमा बस्न सकिँदैन, त्यहाँको रुम रेट महँगो लाग्न सक्छ । तर हायात प्लेस होटलमा एउटा कोठाको मूल्य न्यूनतम १६ हजार रहेको छ । त्यस्तै, एउटा रुममा दुईटा बेड भएको कोठाको मूल्य पनि १६ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्म रहेको छ । हायातले दुईवटा बेडसहित बौद्धनाथ स्तुप हेर्न मिल्ने कोठाको मूल्य १८ हजारदेखि २० हजार रुपैयाँसम्म निर्धारण गरेको छ । हायातमा क्लबसहितको रुम पनि रहेको छ । जसको एक रातको मूल्य २२ हजार रुपैयाँदेखि २५ हजारसम्म तोकेको छ । हायातमा २ लाख रुपैयाँसम्मको कोठाको रेट रहेको छ । द मल्ल होटल द मल्ल होटलमा एउटा कोठाको मूल्य न्यूनतम १४ हजार ९८५ रुपैयाँ रहेको छ । त्यहाँ डिलक्स रुमको १७ हजार ७१० रुपैयाँ (सिंगल बेड) र डबल बेडका लागि १९ हजार रुपैयाँ रेट तोकिएको छ । त्यस्तै, जुनियर स्वीट रुमको २० हजार १३५ रुपैयाँदेखि २१ हजार ७९७ रुपैयाँसम्म छ । मल्ल होटलमा डिलक्स रुमको ४० हजार ८७० रुपैयाँदेखि ४३ हजार रुपैयाँ तोकिएको छ । अलप्ट, काठमाडौं ठमेलमा रहेको अलप्ट होटलमा एउटा रुम न्यूनतम १४ हजार ८४९ रुपैयाँमा उपलब्ध हुन्छ । त्यहाँ क्लब, लञ्जसहितको सिंगल बेडको रेट २० हजारदेखि २१ हजारसम्म तोकिएको छ । अन्य कोठाहरूको मूल्य पनि अलप्टले त्यहीअनुसारको रेट तोकेको छ। अकामा होटल, काठमाडौं धुम्बाराहीमा रहेको अकामा होटलमा एउटा कोठाको रेट २४ हजार हजारदेखि माथि छ । अकामामा सुपर किङ र टुइन रुमको २७ हजार रुपैयाँ, डिलक्स रुम २९ हजार ९७१ रुपैयाँ रहेको छ । यसैगरी, स्वीट रुमको ४० हजार ८७० रुपैयाँदेखि ५४ हजार ४९३ रुपैयाँ तोकिएको छ । अकामामा एक रातको ६८ हजार रुपैयाँको कोठासमेत रहेको छ । याक एण्ड यति नेपालमा पाँच तारे होटलमध्ये एक याक एण्ड यतिमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम २० हजार रुपैयाँ रहेको छ । यहाँ १ लाख ५१ हजार रुपैयाँसम्मको कोठा पाइन्छ । उक्त होटलमा डिलक्स रुम २० हजारदेखि २५ हजारसम्मको रहेको होटलले जनाएको छ । क्लबसहितको कोठाको रेट ३० हजार रुपैयाँदेखि ३४ हजार, स्वीट रुमको ६८ हजारदेखि डेढ लाखसम्मको रेट तोकिएको छ । होटलहरूको पछिल्लो अवस्था र सम्भावना नेपाल पर्यटन विभागका अनुसार पछिल्लो समय होटलहरूको संख्या ११२ पुगिसकेको छ । जसमध्ये २६ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । यसमा पनि तीनवटा पाँचतारे (डिलक्स) रहेका छन् । त्यस्तै, ३९ चारतारे, ४० तीनतारे, ५२ दुईतारे र ४७ वटा एकतारे होटलको संख्या पुगेको छ । नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । नेपालमा धेरै मात्रामा पर्यटक भित्र्याउन सकियो भने र सरकारले त्यहीअनुसार होटल क्षेत्रमा साथ दिएको अवस्थामा होटल व्यवसायमा राम्रो सम्भावना भएको होटल संघका महासचिव शाक्यको भनाइ छ । होटल व्यवसायको चुनौती शाक्यका अनुसार पछिल्लो समय होटल व्यवसायले खासै राम्रो गर्न नसकेपनि लगानी गरिसकेको हुनाले त्यसलाई जसरी पनि उठाउनुपर्ने ठूलो चुनौती छ । ‘अहिलेको अवस्थामा होटलहरूले त्यति राम्रो गरेका पनि छैनन्, खासै घाटामा पनि छैनन् । व्यवसाय ४० प्रतिशतमात्रै छ । जबकि होटलहरूको खर्च नै ४० प्रतिशत छ,’ महासचिव शाक्यले भने । होटल निर्माणमा ठूलो लगानी लागेको हुँदा व्यवसायीहरूलाई ठूलो चुनौती छ । नेपालमा पर्यटनको वृद्धि बढाउन सकेसँगै होटल व्यवसायी पनि फस्टाउँदै जाने सम्भावना देखिन्छ । होटलहरूले पनि विगतका तुलनामा पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको सेवासुविधाहरू बढाउँदै लगेका छन् । होटलमा त्यहीअनुसारको नयाँनयाँ इक्युपमेन्टको प्रयोग हुन थालेको छ । पर्यटन बोर्डका प्रवक्ता कालीप्रसाद भुजेल पछिल्लो तथ्यांकमा विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएका हुनाले यसले होटल व्यवसायीलाई ठूलो राहत पुग्ने बताउँछन् । साथै पछिल्लो समय आन्तारिक पर्यटकको संख्या पनि बढ्दो भएकाले व्यवसायीहरूले निराशा नै हुनुपर्ने अवस्था नभएको पनि उनले बताए । उनका अनुसार यो वर्ष पनि तीनवटा नयाँ पाँचतारे होटल थपिनु र बाँकी चारवटा पाइपलाइनमा हुनु भनेको होटल व्यवसायमा सम्भावना नै रहेको भन्ने बुझिन्छ ।
बढ्यो मस्कको सम्पत्ति, ४०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति
एलान मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ अर्ब डलर रहेको छ । एकै दिन कमाए ६३ अर्ब डलर मस्कले एकैदिन ६२.८ बिलियन डलर कमाए । उनको एक दिनको कमाइ विश्वका धेरै अर्बपतिभन्दा बढी छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरूको कुल सम्पत्तिलाई पछाडि पारेको छ । यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाइलाई उनको कुल कमाइ मान्ने हो भने पनि उनी विश्वको चौथो धनी हुनेछन् । २ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । उनको कम्पनी टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्प विजयी भएका थिए । नोभेम्बर ४ मा टेस्लाको सेयर मूल्य २४२.८४ थियो । हिजो (बिहीबार) यसको मूल्य ४२४.७७ छ । यस्तो अवस्थामा ट्रम्पको जितपछि टेस्लाको सेयर करिब ७५ प्रतिशतले बढेको छ । टेस्ला बाहेक मस्कको सम्पत्ति उनका अन्य कम्पनीहरू एक्सएआई, स्पेसएक्स आदिमार्फत पनि बढेको छ ।
अन्तर बैंक ब्याजदर ह्वात्तै घट्यो, पौने ७ खर्ब लगानीयोग्य रकम
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पौने ७ खर्ब लगानीयोग्य रकम हुँदा अन्तर बैंक कारोबार पनि घटेको छ भने ब्याजदर पनि न्यूनतम बिन्दुमा छ । बैंकहरूबाट कर्जा प्रवाहमा सुधार नआउँदा बैंकमा पैसा थुप्रिएको छ । अहिले बैंकहरू अधिक तरलताको अवस्थामा पनि छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.९१ प्रतिशत रहेको छ । २०८० कात्तिकमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.३९ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.७७ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा अन्तर बैंक ब्याजदर करिब ३७ प्रतिशत घटेको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत, विकास बैंकहरूको ८.९६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०३ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरूको १२.०० प्रतिशत र वित्त कम्पनीहरूको १३.३३ प्रतिशत रहेको थियो । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१ प्रतिशत, विकास बैंकहरूको ५.८३ प्रतिशत र वित्त कम्पनीहरूट्कोठ ७.१८ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरूको ९.११ प्रतिशत र वित्त कम्पनीहरूको १०.०२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७ प्रतिशत, विकास बैंकहरूको १०.४३ प्रतिशत र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत, विकास बैंकहरूको १३.७० प्रतिशत र वित्त कम्पनीहरूको १४.४८ प्रतिशत रहेको थियो ।