टेस्लाको ‘सर्ट पोजिसन’ले गेट्सलाई १. ५ बिलियन डलर घाटा, ‘गेट्स ऋणमा डुब्न सक्छन्’
काठमाडौं । अर्बपति एलन मस्क र बिल गेट्सबीच फेरि विवाद उत्पन्न भएको छ । टेस्लाको सेयरले गर्दा दुईबीच विवाद उत्पन्न भएको हो । मस्कले यदि टेस्ला संसारको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्स ऋणमा डुब्न सक्ने बताएका छन् । गेट्सले टेस्लाको सेयरमा ‘सर्ट पोजिसन’ लिएका थिए । यसको मतलब यो हो कि उनले टेस्लाको सेयर घट्ने अनुमान गरेका थिए । मस्कका अनुसार यसबाट गेट्सलाई १.५ बिलियन डलर नोक्सान भएको छ । हाल टेस्लाको मार्केट क्याप १.२५ ट्रिलियन डलर छ भने एप्पलको ३.७२ ट्रिलियन । टेस्ला शीर्ष स्थानमा पुग्न लगभग २०० प्रतिशत ग्रोथ हुनुपर्छ । मस्कले सोशल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) मा लेखेका छन्, ‘यदि टेस्ला विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्सको ‘सर्ट पोजिसन’ ले उनलाई ब्याङ्करप्ट (ऋणमा डुब्नु) बनाउनेछ ।’ दुई अर्बपतिबीच लामो समयदेखि चलिरहेको विवादको यो नयाँ अध्याय हो । यस विवादको जराे टेस्ला स्टकमा लिइएको गेट्सको ‘सर्ट पोजिसन’ हो । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यो ‘सर्ट पोजिसन’ मा १.५ बिलियन डलर गुमाए । सर्ट पोजिसन भनेको के हो ? ‘सर्ट पोजिसन’ एक सेयर बजार रणनीति हो । यसमा लगानीकर्ताले आफूसँग नभएको सेयर उधारो लिएर बिक्री गर्छ । सेयरको मूल्य घट्ने उसको अपेक्षा हुन्छ । त्यसपछि कम मूल्यमा सेयर किनेर नाफा कमाउँछ । गेट्सले सन् २०२१ मा सीएनबीसीसँगको अन्तर्वार्तामा आफ्नो पोजिसनबारे बोल्न अस्वीकार गरेका थिए । यद्यपि उनले टेस्लाको उपलब्धिको प्रशंसा गरे । उनले भनेका थिए, ‘एलनले टेस्लासँग जे गरे त्यो शानदार छ ।’ टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार मस्क र गेट्सबीचको विवाद टेस्ला स्टकको विरुद्ध गेट्सको ‘सर्ट पोजिसन’बाट सुरु भएको थियो । २०२२ मा गेट्सले टेस्लाविरुद्ध शर्त लगाएको बताएका थिए । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यस शर्तबाट १.५ बिलियन डलर गुमाए । भर्खरै एक पूर्व प्रयोगकर्ता टेस्लाकोनोमिक्सले मस्कको पुरानो ट्वीट पोस्ट गरेको थियो । यसमा मस्कले भनेका थिए, ‘यदि टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल हुन्छ भने त्यो सर्ट पोजिसनले बिल गेट्सलाई समेत ब्याङ्करप्ट बनाउन सक्छ ।’ गेट्सले टेस्लाविरुद्ध ठूलो बाजी लगाउँदा टेस्ला केही वर्ष पहिले सबैभन्दा कमजोर थियो । टेस्लाको सेयर ५६.९१ प्रतिशतले वृद्धि टेस्लाको सेयर यस वर्ष ५६.९१ प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित हासिल गरेसँगै मस्क मालामाल भएका हुन् । मस्कको ट्रम्पसँग गहिरो सम्बन्ध छ । गत महिना टेस्ला र स्पेसएक्सका सीईओसमेत रहेका मस्कले सम्पत्तिमा नयाँ कोसेढुंगा हासिल गरे । उनी अहिलेसम्मकै धनी व्यक्ति बनेका हुन् । फोर्ब्सका अनुसार आफ्नो कम्पनीको सेयर मूल्यमा भएको वृद्धि र उनको उद्यमको बढ्दो मूल्याङ्कनका कारण मस्कको कुल सम्पत्ति ३३४.३ बिलियन डलरको सर्वकालीन उच्च बिन्दुमा पुगेको छ । मस्क र गेट्सबीचको यो विवादले दुई दिग्गजबीचको प्रतिस्पर्धा झल्काउँछ । एकातिर प्रविधिको क्षेत्रमा नयाँ प्रयोगका लागि परिचित मस्क छन् । अर्कोतर्फ परोपकारी कार्यमा सक्रिय गेट्स छन् । यी दुईबीचको विवाद अझै जारी रहन सक्छ ।
चार महिनामा काठमाडौं महानगरको १२ प्रतिशत बजेट खर्च, कुन महानगरको कति ?
काठमाडौं । देशभर रहेका ६ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको बजेट खर्च गर्न सकेको छैनन् । पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब ८ करोड ८४ लाख बजेट खर्च गरेको छ । जुन महानगरपालिकाले विनियोजन गरेको कुल बजेटको १२.४ प्रतिशतमात्रै प्रगति हो । चालु आवको लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो । महानगरले सोही अवधिमा एक अर्ब २८ करोड २९ लाख पुँजीगत बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फ १५ अर्ब २ करोड २८ लाख बजेट छुट्याएकोमा सो रकम बराबरमात्रै खर्च भएको हो । तथ्यांकअनुुसार महानगरले पहिलो चौमासिकमा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ९ अर्ब ७५ करोड ४९ लाख बजेट विनियोजन गरेको थियो । कुन महानगरको कति बजेट खर्च ? ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले चालु आवको चार महिनामा ३३ करोड २९ लाख पुँजीगत खर्च गरेको छ, जुन विनियोजित कुल पुँजीगत खर्चको ७.११ प्रतिशत हो । महानगरले चालु आवको लागि ४ अर्ब ६७ करोड ९४ पुँजीगततर्फ बजेट छुट्याएको थियो । त्यस्तै, चालुतर्फ कुल २ अर्ब ७८ करोड ८९ लाख बजेट विनियोजन गरेकोमा महानगरले पहिलो चौमासिकमा ५३ करोड ३६ लाख मात्रै चालु बजेट खर्च गरेको छ । यो विनियोजित कुल बजेटको २६.०४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले चालु आवको लागि ७ अर्ब ४६ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकाले चालु आव २०८१/८२ को लागि कुल ६ अर्ब ५६ करोड १ लाख बजेट विनियोजन गरेको थियो । महानगरले कुल विनियोजित बजेटमध्ये पहिलो चौमासिकसम्ममा ७३ करोड ३५ लाख खर्च गरेको छ जुन कुल बजेटको ११.१८ प्रतिशत प्रगति हो । कार्तिक मसान्तसम्ममा महानगरले २२ करोड ७७ लाख पुँजीगत बजेट खर्च गरेको महानगरपालिको सूचना अधिकारी मेनुका पण्डितले बताइन् । जुन विनियोजित बजेटको ५.९६ प्रतिशत हो । सूचना अधिकारी पण्डितका अनुसार चालु आवको लागि महानगरले पुँजीगततर्फ ३ अर्ब ८२ करोड ४८ लाख बजेट छुट्याएको थियो । त्यस्तै भरतपुर महानगरले चालुतर्फ २ अर्ब ७३ करोड ५२ लाख बजेट विनियोजन गरेकोमा चार महिनामा ५० करोड ५७ लाख खर्च भएको छ । जुन समग्र बजेटको १८.४८ प्रतिशत प्रगति हो । पोखरा महानगरपालिका पोखरा महानगरपालिकाले चालु आवको पहिलो चौमाासिकमा कुल विनियोजित बजेको १५ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ७ अर्ब ५१ करोड ३२ लाख बजेट छुट्याएकोमा एक अर्ब १२ करोड ७४ लाख बजेट खर्च गरेको हो । महानगरले सोही अवधिसम्म पुँजीगततर्फ ४६ करोड तीन लाख बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फको लागि भने कुल ४ अर्ब २९ करोड ७ लाख बजेट विनियोजन गरेकाो थियो । त्यसैगरी, महानगरले चालुतर्फ ६६ करोड ७१ लाख ८ लाख बजेट खर्च गरेको छ । कुल ३ अर्ब २२ करोड २५ लाख चालुतर्फ बजेट छुट्याएकोमा चार महिनामा सो रकम बराबरको मात्रै बजेट खर्च भएको महानगरले जनाएको छ । विराटनगर महानगरपालिका विराटनगर महानगरपालिकाले चालु आवको लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये पहिलो चौमासिकमा लक्ष्यको १३.६५ प्रतिशत अर्थात ४७ करोड ७७ लाख बजेट खर्च भएको महानगरको तथ्यांक छ । महानगरका अनुसार पुँजीगततर्फ बजेट विनियोजन एक अर्ब ६६ करोड ७९ लाख विनियोजन गरेकोमा जसमध्ये चार महिनामा १० करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन लक्ष्यको ६.३३ प्रतिशत हो । त्यस्तै, महानगरले चालुतर्फ एक अर्ब ७८ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चौमासिकमा महानगरले छुट्याएको बजेटको ३०.८९ अर्थात ३७ करोड २२ लाख रुपैयाँ चालुतर्फ बजेट खर्च गरेको छ । वीरगञ्ज महानगरको बारेमा विकासन्यूजबाट बुझ्न खोज्दा सम्पर्क भए पनि सम्बन्धित व्यक्तिले जानकारी दिन मानेनन् ।
अर्थतन्त्र ‘सन्तोषजनक छैन’ भन्ने अवस्थामा पुग्यो अर्थमन्त्रालय, ‘बोर्डरका बजार सुके’
काठमाडौं । यसअघि अर्थतन्त्र सही दिशामा रहेको दाबी गर्दै आएको अर्थमन्त्रालय र त्यसका पदाधिकारीहरू अहिले अर्थतन्त्र कमजोर अवस्थामा पुगेको वक्तव्य दिन थालेका छन् । अर्थमन्त्रीबाट अझै पनि अर्थतन्त्र सही दिशामा रहेको धारणा सार्वजनिक हुने गरेपनि ब्यूरोक्रेसीले भने अर्थतन्त्र सकारात्मक दिशामा छैन भन्ने आँट गर्न थालेका हुन् । यसअघि अर्थमन्त्रीकै भनाइमा लयमा मिलाउने अर्थमन्त्रालयका सचिव तथा उच्च अधिकारीहरू अब भने अर्थतन्त्र सन्तोषजनक अवस्थामा नरहेको भन्न थालेका हुन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै अर्थसचिव डा. रामप्रसाद घिमिरे र राजस्व सचिव दिनेश घिमिरेले अर्थतन्त्र सही दिशामा नरहेको संकेत मात्रै गरेनन्, राजस्व संकलन र लगानीका दृष्टिकोणले थप कमजोर बन्दै गएको धारणा राखे । अर्थसचिव डा. रामप्रसाद घिमिरेले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक नै रहे पनि आन्तरिक क्षेत्र भने अझै कमजोर अवस्थामा रहेको बताए । उनका अनुसार अर्थमन्त्रालयलाई समस्यामा परेको अर्थतन्त्र चलायमान बनाउनका लागि ठुलो चुनौती छ । उनले चालुआर्थिक वर्षको ६ महिना बितिसक्दा पनि पुँजीगत खर्च ११ प्रतिशतको हाराहारीमै सीमित रहेकोले त्यसलाई सन्तोषजनक रूपमा लिन नहुने धारणा राखे । बैंक तथा वित्तीय संस्थाबाट अपेक्षाकृत ढंगबाट कर्जा प्रवाह हुन नसकेको धारणा राख्दै अहिलेको ठूलो चुनौती अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताए । राजस्व सचिव सचिव दिनेश घिमिरेले पनि राजस्व संकलन र लगानीमै जोड दिएर आफ्नो धारणा राखे । उनले अझै पनि राजस्व चुहावट र विभिन्न छुटका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसेकको धारणा राखे । ‘हामीले धेरै क्षेत्र तथा उद्योगी व्यवसायीलाई धेरै छुट दिएका छौं, राजस्व चुहावटका कारण पनि अपेक्षाकृत संकलन हुन सकेको छैन, बैंकिङ क्षेत्रको व्यवसाय घटेका कारण वित्तीय क्षेत्रबाटठ आउने राजस्व पनि खुम्चिँदै गएको छ, अन्य व्यवसायमा पनि समस्या नै छ, यी विविध कारणले हामीले अपेक्षा गरेअनुसारको राजस्व संकलन गर्न सकेका छैनौं,’ उनले भने । दुई जना सचिवको कुरा सुनेपछि पूर्वअर्थन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या प्रष्ट देखिएको र वर्तमान सरकारले ती समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे । लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । उनले बैंकबाट कर्जा लगानी, बीमा क्षेत्रको समस्या समाधान र निर्माण क्षेत्र चलायमान बनाउनका लागि सरकारसँग आग्रह गरे । यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको खर्च नै कमजोर रहेको धारणा राखे । ‘पुँजीगत खर्चमै समस्या छ, अब नयाँ चरणको आर्थिक सुधार आवश्यक छ,’ उनले भने । उनले कृषि उद्योग, पर्यटनलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने धारणा राखे । छलफलमा सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने गरेको धारणा राखे । ‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्नु परेको छ,’ बोर्डर छेउका नेपाली बजार सुक्दै गएका छन्, भारतीय बजार बढ्दै गएका छन्, त्यस कारण पनि राजस्वमा कमी आएको हो,’ उनले भने ।