वाणिज्य बैंकलाई १२/१४ वटासम्म झार्नुपर्छ, नबिल अहिले पनि ‘नम्बर वान’ नै हो : सुजित शाक्य

नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंकर हुन् सुजित शाक्य । शालीन र सजगरूपमा प्रस्तुत हुन रुचाउने शाक्य अहिले नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत छन् । नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशक बढी कार्यानुभव भएका शाक्यले आधा दर्जन बैंकमा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । उनै बैंकर शाक्यसँग पछिल्लो बैंकिङ क्षेत्रले भोग्नु परेका विभिन्न आरोह-अवरोह र नबिल बैंकको व्यवसायको विषयमा विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानीको सम्पादित अंश : कुनैबेला निक्षेपको ब्याजदर १४ प्रतिशत र कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले घटेर ५ प्रतिशत हुँदापनि निक्षेपको ब्याजदरले थिचिए भनेर सुनिन्छ । बैंकिङ क्षेत्रमा ब्याजदरमा यो किसिमको उतारचढाव किन हुन्छ ? यो अर्थतन्त्रको चक्र हो । चक्र भएपनि किन यति धेरै छिटो घटबढ हुन्छ ? हाम्रो बजारमा त्यो किसिमको गहिराइ छैन । अहिले तरलता सहज छ । निक्षेप परिचालन गर्न अर्थतन्त्रमा लगानीका अवसर हुनुपर्छ । अर्थतन्त्र चलायमान हुँदा नयाँ किसिमका लगानीका अवसर आउँछन् । लगानीका अवसर भयो भने कर्जाको माग बढ्ने हो । कर्जाको माग भएपछि निक्षेप सोसिएर जान्छ । कर्जाको माग अझै बढ्न सकेको छैन । गत वर्ष कमजोर मनोबलमा अर्थतन्त्र चलिरहेको थियो । आजको दिनमा व्यापारीहरूसँग कुराकानी गर्दा घट्न कम भयो, माथि आउन अझै समय लाग्छ भन्नुहुन्छ । विगत २ वर्षमा व्यवसायमा घाटा भयो । घाटा भएको पूर्ति हुन सकेको छैन । रेमिट्यान्स बढेको छ । अन्य सूचकमा पनि सुधार हुँदैछ । तर, माग किन भएन ? भनेर उद्योगी व्यवसायीहरूसँग सोधपुछ गर्दा अझै पनि ‘स्ट्रङ डिमाण्ड’ आएको छैन भन्नुहुन्छ । उपभोक्ताको माग नआउँदासम्म बैंकमा त्यसको प्रभाव पर्दैन । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ‘ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यही ब्याजदरमा कर्जाको माग ह्वार्र आउनुपर्ने हो । तर, खासै सन्तोषजनक माग छैन । त्यसैले अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरूट’ मा मनोबल उच्च हुन जरूरी छ । एउटा ठूलो उद्योग वा व्यापार कम्पनीले राम्रो गरेर मात्रै हुँदैन । १५/२० जनासम्म रोजगारी दिइरहेका साना तथा मझौला उद्योगमा माग नआउँदासम्म बैंकमा कर्जाको माग बढ्न सक्दैन । अहिले समस्या पनि त्यही नै भएको देखिन्छ । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । नयाँ गरौं कि नगरौं भनेर अलमलमा पनि छन् । माग नआउनुको अर्काे कारण भनेको सबै मान्छे विदेश पलायन भएका छन् । आन्तरिकतर्फ पहाडबाट तराई वा सहरमा बसाइँसराइ सर्ने र बाह्यतर्फ क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा युवा पलायन भइरहेका छन् । युवाहरू खपत गर्ने पिल्लर हुन् । दुई पाङ्ग्रे सवारीसाधनको बिक्री ४० प्रतिशत घटेको छ । बाइक चलाउने युवाहरू विदेश गएपछि बाइक कहाँबाट बिक्री हुन्छ ? ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गएर त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन । उल्टै यहाँको पैसा विदेश लैजान्छन् । त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं । ठेकेदारहरूलाई सरकारको भुक्तानी गर्ने क्षमता नहुनु पनि अर्काे कारण हो । ठेकेदारले पैसा नपाएपछि मजदुरले ज्याला पाएको छैन । मजदुरले पैसा नपाएपछि मासु खान छोडेको छ । जबकि उहाँहरूको मुख्य स्रोत भनेकै प्रोटिन हो । जसको प्रत्यक्ष प्रभाव ह्याचरी, पोल्ट्री फर्ममा पनि परेको छ । केही फर्महरू बन्द भए । केही व्यवसायीहरू डुबे । युवापुस्ता विदेश पलायन हुँदा बैंकलाई कस्तो प्रभाव परेको छ ? बैंकमा संलग्न कर्मचारी राजीनामा दिएर बाहिरिने कति छन् ? नयाँ जनशक्ति ल्याउन कतिको सकस भइरहेको छ ? पहिलाभन्दा अहिले छोड्ने दर बढेको छ । तर, नबिल बैंकमा त्यति धेरै छोडेका छैनन् । विगतमा पढ्नका लागि जान्थे भने अहिले विदेश जानका लागि छाड्नेहरू छन् । त्यसलाई पूर्ति गर्न बजारबाट मान्छेहरू ल्याउँदा पहिलाको जस्तो गुणस्तरीय जनशक्ति पाउन गाह्रो छ । जबकि २/४ वर्ष अघिसम्म गुणस्तरीय जनशक्ति आउँथे । अहिले त्यो गुणस्तर पनि घटेको छ । एक दशक अगाडिसम्म सम्पत्ति बेचेर क्यानडा, अष्ट्रेलिया जान्छु भन्ने थिएनन् । अहिले छोराछोरी विदेश छन्, म पनि घरजग्गा बेचेर उतै जान्छु भन्ने धेरै भेटिन्छन् । तपाईंहरूको नजरमा यो आकार कति ठूलो छ ? ठ्याक्कै आकार निकाल्न सकिँदैन । तर, प्रत्येक दिन बढ्दो क्रममा छ । यसैसँग सम्बन्धित शिक्षा कर्जाको कथा छ । शिक्षा कर्जामा नबिल बैंक मार्केट लिडर हो । गाउँगाउँ, दुर्गम गाउँ, पहाडबाट परिवारका मान्छेहरूले शिक्षा कर्जा लिएर आफ्ना बच्चाहरूलाई पढाउँदैछन् । साना तथा मझौला व्यवसाय अहिलेको अवस्थामा धान्न सकेनन् । धेरै असफल भए । असफल दर बढी भएपछि बैंकले राष्ट्र बैंकको नियमभित्र रहेर डिफल्ट भएका कर्जाको धितो लिलामीमा राखेको हुन् । किनभने लिलामीका सूचना निकाल्नुपर्ने कानूनी प्रावधान भएकाले प्रक्रिया पूरा गर्न सूचना धेरै आएका हुन सक्छन् । कतिपय त्यस्ता सम्पत्ति फोर्स सेलमा बिक्रीमा आए । हाम्रो समुदायमा सम्पत्ति लिलामीमा आएपछि वा तीनपुस्ते सार्वजनिक भएपछि कर्जा तिर्न खोज्छन् । नियतवस तिर्न नखोजेको होइन । तर, व्यवसाय असफल भएपछि घरजग्गा बिक्रीको संख्या बढेको हुन सक्छ । धेरै सम्पत्ति बिक्रीमा आएपछि छानीछानी किन्न मिल्छ । त्यसैले पनि मूल्य घटेको हो । काठमाडौंको घरजग्गाको मूल्य कति प्रतिशत घटेको छ ? घरजग्गाको मूल्य २० प्रतिशतदेखि ३० प्रतिशतसम्म घटेको हुनसक्छ । अबको ट्रेण्ड के हुन सक्छ ? ट्रेण्ड ठ्याक्कै निर्क्याैल गर्न गाह्रो छ । त्यसका लागि अर्थतन्त्रमा सुधार हुनुपर्ने हो । जस्तो पुँजी बजार सुधारको अवस्थामा छ । २ हजार बिन्दुमा रहेको सेयर बजार अहिले २७ सय अंकमा पुगेको छ । लगानीकर्ता लगानी गरिरहेका छन् । त्यो पैसा अलिअलि घरजग्गामा पनि आउँछ । त्यो पैसा आयो भने एक राउण्ड फेरि खरिदबिक्री बढ्न सक्छ । मान्छेहरूले जति विदेश जाने कुरा गरेपनि यही‌ं बस्ने मान्छेले माटोमा लगानी गर्न रुचाउँछन् । त्यो अवसर आयो भने यी सबै सम्पत्ति बिक्री हुन्छ । तर, यो परिस्थितिबाट उम्किन त्यति सजिलो छैन । शिक्षा कर्जाका लागि गाउँगाउँ, दुर्गमबाट फोन गर्छन् भन्नुभयो । शाखा कार्यालयबाट निश्चित दूरीभन्दा टाढाको धितो राख्न नपाइने व्यवस्था छ । नबिल बैंकले कसरी कर्जा दिइरहेको छ ? नबिल बैंकमा यो समस्या तीन/चार वर्ष अगाडि थियो । किनभने त्यतिबेला नबिल बैंकको शाखा सञ्जाल विस्तार भएको थिएन । ५९ वटा मात्रै शाखा कार्यालय थिए । तर, आजको दिनमा नबिल बैंक आफैंले शाखा विस्तार गरेर २६८ शाखा कार्यालय पुगेका छन् । देशका कुनाकाप्चामा नबिल बैंकको पहुँच पुगेको छ । त्यसैले धितो राख्ने समस्या अहिले छैन । बैंकको शाखा कार्यालयबाट २५/३० किलोमिटरको दूरीमा रहेको धितो बैंकले लिने गरेको छ । मान्छे गाउँमा जन्मियो, गरिब नै रह्यो । उसको सम्पत्ति छ । तर, बैंकको लागि स्वीकार्य छैन । दुर्गम क्षेत्रमा जन्मिएको कारण क्षमता भएर पनि विदेश गएर पढ्ने मौका नपाउने अवस्था हुन सक्छ । बैंकले यस्तो केसमा कसरी सहजीकरण गर्छ ? बैंकले लिन सक्ने सीमासम्म सहजीकरण हुन्छ । कतिपय केसमा १० फिटको बाटो चाहिनेमा ८ फिट मात्रै छ भनेपनि बैंकले स्वीकार गरेको हुन्छ । शाखा कार्यालयबाट ३० किलोमिटर टाढाको धितो आएमा नगर्ने भन्ने हुँदैन । बैंकले स्वीकार गरिरहेको हुन्छ । अन्य प्वाइन्टले पनि सहयोग गरिरहेको हुन्छ । त्यो नगरीकन नबिल बैंक शिक्षा कर्जामा मार्केट लिडर हुन सक्दैन । किनभने कुनाकाप्चाबाट प्रस्तावहरू आइरहेका छन् । अहिले सस्तो ब्याजदरमा कर्जा दिएपनि कुन दिन ह्वात्तै बढाइदिन्छ भन्ने ऋणीको मनमा त्रास छ । बैंकबाट कर्जा लिएर जोखिम मोल्नु हुँदैन भन्ने एकथरिको पीडा छ । त्यो पीडाको असर कर्जाको माग नहुनुमा परेको हो कि ? निक्षेपकर्ताले पाउने ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म छ । यो बजारका लागि राम्रो होइन । कर्जा लिने जहिले पनि सीमित हुन्छन् । निक्षेपकर्ता जहिले पनि बढी नै हुन्छन् । ब्याजदर कम हुँदा त्यो वर्गमा असर पर्छ । जब निक्षेपको ब्याजदर सस्तो हुँदै जान्छ । बजारमा तरलता सहज हुन्छ र कर्जाको ब्याजदर पनि घट्छ । कर्जाको ब्याजदर जब धेरै नै सस्तो हुन्छ, तब मान्छेहरू अन्य क्रियाकलाप गर्न थाल्छन् । वास्तविक व्यवसाय हुँदैन । त्यसैले वास्तविक व्यवसायलाई बढाउन निक्षेपको ब्याजदर मुद्रास्फितीभन्दा माथि राख्ने गरिन्छ । नबिल बैंकको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ । १४/१५ प्रतिशत ब्याजदर महँगो हो भने ७ प्रतिशतमै कर्जा पाउने पनि अर्थतन्त्रका लागि राम्रो होइन । साढे ९/१० प्रतिशतको हाराहारीमा ब्याजदर रह्यो भने व्यापारमा पनि वास्तविक व्यवसायी मात्रै आउँछन् । व्यापार गर्ने मनसाय भएका आउँदैनन् । व्यापार गर्ने मनसाय भएका व्यक्ति जब छिर्छन्, तब अर्थतन्त्र समस्यामा परेका बेला उनीहरूले घाटा खान्छन् । अहिलेको रेञ्जभन्दा नघट्ने गरी स्थिर राख्न सकियो भने राम्रो हुन्छ । निक्षेपकको ब्याजदर तोक्ने विषय बेलाबखत राष्ट्र बैंकबाट पनि निर्देशित हुन्छ । तपाईंहरुको काबुभन्दा बाहिरि किन गयो ? ग्राहक संरक्षणमा राष्ट्र बैंकले गरिरहेका काम उत्कृष्ट छन् । जस्तो ब्याज बढाउँदा राष्ट्र बैंकले बैंकहरूलाई फिर्ता गर्न लगायो । प्रतिस्पर्धी बजारमा बढाउने दबाब आउँदा अधिकांशले बढाए । ग्राहक संरक्षणमा जसरी नियमन भइरहेको छ ब्याजदर घट्दा र बढ्दा बैंकहरूलाई खेल्न दिनुपर्छ । तर, बैंकहरूको प्रोटेक्सनमा कुनै काम भएको छैन । जस्तो ब्याजदर घट्दैछ । बैंकले जलविद्युत आयोजनामा लगानी गरेको थियो । जलविद्युत आयोजनाको जोखिम बैंकले लिएको थियो । आयोजनाबाट बत्ति बल्न सुरु भयो । बत्ति बल्न सुरु हुँदा उतिबेला बैंकले लिएको जोखिम देखेर २५/५० पैसा बढायो भने त्यो आयोजनामा तुरुन्तै अर्काे बैंक जान सक्छ । तर, बैंकलाई संरक्षण गरिएको छैन । त्यस किसिमका संरक्षण गर्दै जाने हो भने बजारमा रहेको उथलपुथल मत्थर हुन्थ्यो । बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउँदा अस्वस्थ प्रतिस्पर्धा घटेर स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा थियो । नियामक र संस्थाले पनि त्यही अपेक्षा राखेका थिए । तर, हुन सकेन नी ? ३२ वटा बैंक हुँदा र २० वटा बैंक हुँदा धेरै परिवर्तन आएको छ, सुधार पनि भएको छ । अर्थतन्त्रलाई कति वटा बैंक ठिक होला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । १२ वटा बैंकमा झार्नुपर्छ भन्ने विभिन्न किसिमका तर्क हुन सक्छन् । त्यसमा पनि तीन वटा सरकारी बैंक छन् । हाम्रो अर्थतन्त्रको आकार र भविष्यको वृद्धिका लागि २० वटाबाट कन्सोलिडेन्स भएर १२/१४ मा झर्नुपर्ने होकि जस्तो लाग्छ । १२/१४ वटा भयो भने अझै स्ट्याण्डर्ड कायम गर्न सकिन्छ । अहिलेको भन्दा बढी स्थिरता आउँछ । पहिला ३२ वटा बैंक हुँदाको तुलना गर्ने हो भने अहिले धेरै स्थिर छ । पहिला क्रेडिट स्ट्याण्डर्ड कायम थिएन । स्ट्याण्डर्डमा बस्ने बैंकलाई पनि दबाब आउँथ्यो । त्यो आजको दिनमा छैन । बैंकको कन्सोलिडेसन राम्रो नै भएको छ । थप कन्सोलिडेसन जरूरी हुन सक्छ । त्यो अर्काे २/४ वर्षमा पूरा होला । नबिल बैंकले थप मर्जरका लागि केही गृहकार्य गरिरहेको छ ? तत्काल आन्तरिक रूपमा सोचेका छैनौं । तर, त्यो बाटो जहिल्यै पनि खुला रहन्छ । किनभने प्रतिस्पर्धाको दबाब छ । बजारमा नम्बर वान कायम रहनुछ । टप वा बटम लाइनबाट नहुन पनि सक्छ । कार्वन शून्यमा हामी नेृतत्व गरिरहेका छौं । नयाँ-नयाँ सोचको विकास गर्नुपर्छ । व्यवसायमा हार खाएपछि नयाँ सोच्ने हो ? आजको दिनमा हेर्ने हो भने बटम लाइनमा नबिल बैंक नै नम्बर वान छ । पुँजीमा नम्बर वान नहोला तर बटम लाइनमा नम्बर वान छ । पुँजी राम्रोसँग प्रयोग गरेर लागत व्यवस्थापन गरिएको छ । नबिललाई धेरै समय लिडर बैंकको रूपमा बजारले स्वीकार गरेको थियो । बजारमा आइडियल बैंकका रूपमा लिन्थे । पछिल्लो समय त्यो स्वीकार्यता गिर्दै गएको भन्ने आरोप छ । नबिललाई लिडर बैंकको पोजिसनमा राख्न पुँजी, नेटवर्क, सेयर मूल्य, नाफा, धेरै कर तिर्ने, व्यवसाय अभ्यासमा सुशासन लगायतका सूचकमा अगाडि देख्न सकिन्छ कि सकिँदैन ? सबै प्यारामिटरमा देख्न पाइनेछ । आजको दिनमा पनि नबिल बैंक हरेक कोणबाट नम्बर वान हो । वित्तीय विवरणको आकार टप लाइनको मात्रै हेर्नु हुँदैन । लिडरसिपको सोचाई, ब्राण्ड लिवरेज र ब्राण्डको क्लाउड प्रयोग गरेर समाजमा के-के परिवर्तन ल्याएको छ भनेर पनि हेर्नुपर्छ । बैंकले नबिल स्कुल अफ सोसियल इन्टप्राइज ल्याएको छ । कार्वन ट्रेडिङको व्यापार काम भइरहेको छ । यी सबै उदाहरणले पनि नबिल नम्बर वान कायम छ । विगतमा सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कम्बल बाँडेर सकिन्थ्यो । अब नबिल स्कुल अफ सोसियल इन्टप्राइजमा लगानी गर्दा राम्रो काम गरेको महसुस भएको छ । यसले उद्यमी जन्माएको छ । कतिपयले अन्तर्राष्ट्रिय स्टेजमा गएर अवार्ड जितेर ल्याउनु भएको छ । अझै राम्रो भयो भने नयाँ सोच ल्याउन सहयोग पुग्नेछ । समग्र ब्राण्डको लेविरेज र ब्राण्ड इक्विटीबाट बेस्ट बैंक अफ इण्डिष्ट्रिका रुपमा नबिल बैंकलाई लिन्छु । नबिल बैंकको रिजर्भ जति हुन्थ्यो, अरू कुनै बैंकसँग हुँदैनथ्यो । सेयर मूल्यमा नम्बर वान थियो । बैंकको नाफा र बैंकले दिने लाभांशदर अन्य बैंकको भन्दा उच्च थियो । अहिले यी सबै सूचकमा अरू बैंक नै अगाडि छन् । पुँजीवादी अर्थतन्त्रमा ठूलो अंकले पनि ठूलो भूमिका खेल्छ । त्यसैले यी सबै सूचकमा नबिल नम्बर वान भएको कहिले देख्न पाइन्छ ? यो चाँडै पुरा हुन्छ । किनभने दैनिक त्यही पुरा गर्न भिडिरहेका छौं । नयाँ उपकरण अग्राधिकार सेयरका लागि पनि आवेदन दिएका छौं । अग्राधिकार सेयर जारी गरेर थप व्यवसाय आर्जन गर्न सकिनेछ । व्यवसाय गर्ने क्षमता वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्न लागिएको हो । २६८ वटा शाखाबाट सेयर कर्जा, शैक्षिक कर्जा, घरजग्गा कर्जा सहज रूपमा पाउन सकिन्छ । १ सय अर्बको पोर्टफोलियो रिटेल बैंकिङको मात्रै भइसकेको छ । जबकि विगतमा एउटा बैंकको कर्जाको पोर्टफोलियो हुन्थ्यो । एसएमईजमा आक्रामक भएर काम गरिरहेका छौं । ती सबैमा नबिल बैंक पछाडि पर्दैन । चाँडै नै त्यो पुरा हुन्छ । नबिल बैंकले ६ अर्ब पोर्टफोलियो भएको सानो फाइनान्स कम्पनी र ७०/८० अर्ब पोर्टफोलियो भएको बैंक प्राप्ति गरेको हो । कुनै बैंकले ३/४ वटा बैंकसम्म मर्ज गरेको छ । त्यसैले त्यसमा पनि तुलना हुन आवश्यक छ । आन्तरिक प्रणाली र व्यवस्थापन डेफ्थ पनि हेर्नुपर्छ । उच्च व्यवस्थापकमा सीईओ, सिनियर डीसीईओ २ जना, एक जना डीसीईओ छन् । सायद यस किसिमको म्यानेजमेन्ट डेफ्थ अन्य बैंकमा देखिँदैन । कतिपय बैंकमा लिडरसिप अभाव वा संकट पनि छ । तर, नबिल बैंकमा त्यो छैन । मध्यम तहको व्यवस्थापनमा पनि नबिल बैंक अग्रस्थानमा छ, बलियो पनि छ । विगतमा नबिल बैंकको सेयर मूल्य ६ हजारभन्दा बढी थियो । अहिले ५ सयमुनि छ । बैंक बलियो हुँदै गयो सेयर भ्यालू घट्दै गयो । किन ? म सेयरको विज्ञ होइन । बैंकको पुँजी बढेको छ । बोनस सेयर थप्दै गएपछि सेवामा गाह्रो हुन्छ । जसकारण प्रतिफल कम हुँदै गएको हो । कतिपय बैंकले कोरोनादेखिको लाभांश नदिइकन राखेको पैसा तीन वर्षमा एकैपटक दिएको छ । कसैले बचाएर अलिअलि दिएको छ । त्यसको असर पनि परेको हुन सक्छ । अनि विगतमा सेयर बजारमा बैंकको दबदबा थियो । अन्य क्षेत्रको सेयर खासै थिएन । अहिले विविधिकरण भएको छ । सेयर बजारमा अलिअलि स्पेकुलेसन भइहाल्छ । त्यही बजार हो, नबिल बैंकको सेयर मूल्य ६ हजारको हाराहारीमा हुँदा यूनिलिभर नेपालको सेयर मूल्य ११ हजारको हाराहारीमा थियो । अहिले पनि त्यही बजार हो, यूनिलिभरको सेयर मूल्य ५० हजार रुपैयाँ पुगेको छ भने नबिल बैंकको सेयर मूल्य ५ सयमा झरेको छ । यसले त स्पेकुलेसन हुन्छ भनेर जस्टिफाइ गरेन नि ? त्यतिबेला बजारको दायरा फराकिलो नहुँदा सबै बैंकहरूको सेयर मूल्य उच्च थियो । अहिले सबै बैंकको घटेको छ । बैंकहरूको होल्डिङ चौडा हुन्छ । आजको दिनमा फाइनान्स कम्पनीको सेयर मूल्य बैंकको भन्दा उच्च छ । त्यसलाई पनि जस्टिफाइ गर्न सकिँदैन । पुँजी बजारका लगानीकर्ता धेरै चलाख र स्मार्ट हुन्छन्, त्यसकारण उनीहरूले सही मूल्याङ्कन गरेका हुन्छन् भन्ने लाग्छ । नबिल जस्तो राम्रो मार्केट, नेटवर्थ, ब्राण्ड भ्यालू र रेपुटेसन छ । तर, त्यसको प्रभाव बजारमा देखिएन नी ? आज पनि नबिल बैंक ब्लुचिफ स्टक हो । दीर्घकाल सोच्नेहरूले नबिल खरिद गरिरहेका छन् । जहाँ सेयर कम छ त्यहाँ सर्टटम लगानीकर्ताले स्पेकुलेसन वा कर्नरिङ हुन्छ । संसारभरि नै सेयर बजारमा स्पेकुलेसन हुन्छ । २० प्रतिशत विश्लेषण गरेर खरिदबिक्री गर्छन भने ८० प्रतिशत स्पेकुलेसन हुन्छ । अहिले नियम अनुसार ८ अर्ब मात्रै पुँजी भनेको छ । राष्ट्र बैंकले तोकेकोभन्दा तीन गुणा माथि भइसक्यो नि ? बोनस दिँदै गयो भने सर्भिसेज क्षमता घट्दै जान्छ । त्यसमा अनेकन रेगुलेटरी फ्रेमवर्क छन् । त्यही विषय भारतको बैंकमा १० रुपैयाँको सेयर हुने क्यापिटल सानो हुन्छ । रिटेन्ड अर्निङमा राखेर कति राम्रो सेयर मूल्य गरेका छन् । विगतको तुलनामा नबिल बैंकले १३ प्रतिशतमा झरेको छ । आगामी दिनमा यो अझै घट्छ कि बढ्छ ? त्यसलाई घटबढ भन्दा पनि जस्टिफाइड रिटर्न, स्थिर र ग्रोथको प्रयास रहनेछ । अंकमा भन्न अलिकति गाह्रो छ । चौथो त्रैमासको लाभांश क्षमता १४ प्रतिशत छ । गत वर्ष स्थित र एनपीएलले हिट गरेको हो । त्यो एनपीए सकारात्मक भएपछि फिर्ता आउँछ । अर्थतन्त्र एक राउण्डको टर्नओभर भएर ग्रोथ भयो भने यो वर्षभित्र प्रोभिजनमा राखेको पैसा फिर्ता आउँछ । धेरै बैंकलाई सम्पत्ति व्यवस्थापन गर्न गाह्रो भएको देखिन्छ । नबिल बैंकको अवस्था के छ ? यूनाइटेड फाइनान्स अक्वायर गरेपछि व्यावसायीक सवारी धेरै आएका छन । त्यसमा रिकभरीका प्रयास भएका पनि छन् । व्यावसायिक सवारी टिप्परहरू, स्काभेटर पहाडतिर गएका हुन्छन्, तिनीहरूलाई ल्याउन सजिलो छैन । ती ल्याएर कतै भाडामा लिएपछि राख्नुपर्छ । तिनीहरू भाडामा राखिएका छन् । विशालनगरको जग्गामा पनि राखेका छौं । आइरहन्छन्, गइरहन्छन् । जग्गा जमीन व्यवस्थापन वा बिक्री गर्न कति गाह्रो भइरहेको छ ? मार्केटबाट हामी अछुतो छैनौं । नबिल बैंकले अक्सन गर्‍यो भन्दैमा किन्ने र अरूले अक्सन गर्‍यो भन्दैमा नकिन्ने भन्ने हुँदैन । बजारमा घरजग्गा कारोबारमा मनोबल बढेको छैन । अहिल गैर बैंकिङ सम्पत्ति बिक्री गर्न गाह्रो नै छ । बैंकको व्यवसाय बदल्न अब कार्बन व्यापार

ईभीको बीमा गर्न पन्छिँदै कम्पनी, ‘मूल्यभन्दा बढी दाबी’

काठमाडौं । गत असोजको अविरल वर्षाले गएको बाढीमा काठमाडौंका प्रविन (नाम परिवर्तित) को गाडी डुब्यो । एक वर्षअघि मात्रै खरिद गरेको सो गाडीको उनले एउटा अटो मोबाइल्स कम्पनीमार्फत् बीमा कम्पनीमा बीमा गरेका थिए । गाडी डुबानमा परेर पूर्ण क्षति भएपछि उनी अटो मोबाइल्स कम्पनीकहाँ पुगे । बीमा गरेको अटो मोबाइल्स कम्पनीले बीमा कम्पनीलाई खबर गर्‍यो । २४ घण्टा पानीमा डुबेको अमोडा ई फाईभ एसयूभी गाडी पूर्ण क्षति भएको सूचना पाएपछि सो बीमा कम्पनीले सर्भे गर्न सर्भेएरलाई खटायो । गाडीमा के कति क्षति भयो भनेर सर्भेयरले वर्कसपको समन्वयमा रिपोर्ट बनायो । सो रिपोर्टअनुसार बीमा कम्पनीमा गाडीको ९२ लाख रुपैयाँको दाबी पेस भयो । जबकी नयाँ गाडीको मूल्य ६१ लाख रुपैयाँ थियो । गाडीको कुल मूल्यभन्दा बीमा कम्पनीमा ३१ लाख धेरै दाबी पेस भएपछि कम्पनी सशंकित बन्यो । पूर्ण रुपमा क्षति भएको गाडीको हरेक पार्टपुर्जा र ब्याट्री पनि फेर्नुपर्ने भएपछि गाडीको मूल्यभन्दा ३१ लाख रुपैयाँ बढी दाबी पेस भएको कम्पनीले जानकारी पायो । यसरी मूल्यभन्दा धेरै दाबी परेपछि गाडीको बीमा दाबी भुक्तानी बीमा कम्पनीले अहिलसम्म गर्न सकेको छैन । यो एउटा उदाहरण मात्रै हो । अहिले बीमा कम्पनीमा यस्ता किसिमका धेरै उदाहरण देखिन थालेका छन् । बीमा कम्पनीमा बाढीले होस् या कुनै दुर्घटनाले यस्ता खालका बीमा दाबी आइरहेको बीमा कम्पनी बताउँछन् । ईभी गाडीमा क्षति हुँदा आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) गाडीको तुलनामा धेरै दाबी पेस हुने गरेको बीमा कम्पनीहरूले बताउँदै आएका छन् । जसले गर्दा बीमा कम्पनीहरू ईभी गाडीको बीमाबाट पछि हट्न थालेका छन् । नेपालमा विद्युतीय गाडी (ईभी) आयात बढेसँगै यसका धेरै चुनौतीहरू पनि भित्रिएका छन् । तर, सम्बन्धित निकायले यसतर्फ ध्यान दिन सकेको छैन । सरकारले आईसीई सवारीसाधन विस्थापित र ईभीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै नेपालमा ईभीको आयात ह्वात्तै बढ्न थालेको हो । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी (जीप, भ्यान र कार) आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात हुने गरेको छ । सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिएसँगै आयात पनि बढेको हो । सरकारले विद्युतीय गाडीमा भन्सार छुट पनि दिएको छ । यसले गर्दा १ करोड ५० लाख रुपैयाँसम्म पर्ने ईभी गाडी कर छुटकै कारण ८० लाख रुपैयाँको हाराहारीमा किन्न सकिन्छ । यसरी ईभीको आयात र प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा बीमामा भने अर्को समस्या देखा परेको हो । विद्युतीय गाडीमा बिक्रि पछिको सेवा अर्थात् ‘आफ्टर सेल्स सर्भिस’ र बीमाको विषय झन् पेचिलो बन्दै गएको हो । दक्ष जनशक्तिको अभावका कारण नेपालमा ईभीमा सानो समस्या आउँदा पनि बिक्रेता कम्पनीले नै सञ्चालन गरेको वर्कशपमा मर्मत गर्न पुग्नुपर्ने, पार्टपूर्जा फेर्दा महँगो पर्ने, सानो दुर्घटनामा पनि ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने, चार्जिङ स्टेशनको अभाव लगायतको विषय अहिलो ईभी बजारको जल्दोबल्दो समस्याका रुपमा देखिएका छन् । ईभीको स्पेयर पार्ट्सको मूल्य आईसीई गाडीको तुलनामा महँगो, ब्याट्रीको एउटा सेल ड्यामेज भए पनि पुरै ब्याट्री फेर्नुपर्ने, गाडीको वर्कशपले पार्टस् को मर्मतभन्दा पनि पुरै फेर्नुपर्ने हुँदा सानो दुर्घटना भएको गाडीको पनि धेरै मूल्यको दाबी पेस हुने गरेको कम्पनीहरूले जानकारी गराएका छन् । ईभी कमर्सियल भेहिकलको पुरै बडी च्यासिससँगै जडान हुने भएकाले च्यासिसमा केही समस्या आए पुरै बडी फेर्नुपर्ने हुन्छ । यसले गर्दा च्यासिसको मात्रै बिग्रिएको वा बाँगिएको खण्डमा पनि पुरै गाडीको मूल्य बराबरको दाबी भुक्तानी बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ । यस्तै, ईभीको कुल मूल्यको ७० प्रतिशत हाराहारीमा ब्याट्रीको मूल्य पर्ने गर्छ । अर्थात् कुनै एक करोड पर्ने ईभीको ब्याट्री फेर्नु पर्यो भने ७० लाख रुपैयाँको हाराहारी पर्छ । अर्थात्, पुरै ब्याट्री फेर्नु भनेको गाडीको पुरै क्षतिको बराबरको दाबी भुक्तानी दिनु सरह नै हो । बीमा कम्पनीहरुलाई अहिले यो विषय ठूलो समस्याको रुपमा खडा भएको छ । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको अटो पोलिसीअनुसार आईसीई इन्धन सवारीको तुलनामा ईभीको बीमा गर्दा २५ प्रतिशत छुट सुविधा रहेको छ । अर्थात्, ईभीको बीमाबाट बीमा कम्पनीहरूलाई २५ प्रतिशत कम प्रिमियम प्राप्त हुन्छ । यही कारणले बीमा कम्पनीमा ईभीको धेरै दाबी भुक्तानी पेस हुने भएकाले कम्पनीहरू ईभीको बीमाबाट पन्छिन खोजेका छन् । एकातिर समस्या नै समस्या, अर्कोतिर बीमा गर्दा २५ प्रतिशत छुट दिनु पर्ने र तिनै गाडीको उच्च दाबी परेपछि कम्पनीहरु अहिले ईभीको बीमा गर्न पन्छिरहेका छन् । अहिलेकै पोलिसीअनुसार ईभीको बीमाबाट कम्पनीलाई केही फाइदा नहुने कम्पनीहरूले बताएका छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले ईभी गाडीहरूमा दाबी संख्या र दाबी रकम दुवै धेरै हुने भएकाले अहिलेको पोलिसीअन्तर्गत बीमा गर्दा कम्पनीहरूलाई घाटा हुने धारणा राखे । ‘इन्धन भेहिकलको तुलनामा ईभीको दाबी पेस हुने संख्या र दाबी रकम दुवै उच्च छ । यसले गर्दा कम्पनीलाई यसको बीमा गरेर फाइदा भन्दा पनि घाटा नै छ,’ उनले भने । अध्यक्ष क्षेत्रीले ईभी गाडीमा सरकारले भन्सार छुट दिएका कारण १ करोडभन्दा बढी मूल्य पर्ने गाडी ५० लाख रुपैयाँभन्दा कम मूल्यमा नेपालमा किन्न सकिने अवस्था भएको र स्पेयर पार्ट्समा कर छुट नदिँदा कम्पनीहरूलाई समस्या भएको बताए । १ करोड मूल्य पर्ने गाडीलाई नेपालमा ५० लाख पर्ने र बीमा कम्पनीले सोही ५० लाख रुपैयाँबाट प्रिमियम लिने गर्दछ । तर, स्पेयरमा कर छुट नहुँदा गाडी मूल्यको तुलनामा स्पेयर पार्ट्स महँगो भएको उनको बुझाइ छ । यसले गर्दा क्षति भएको खण्डमा महँगो मूल्यमा पार्ट्स फेर्नुपर्ने हुँदा कम्पनीहरू मारमा परेको उनको भनाइ छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका क्षेत्रीले अब ईभी बीमाको हालसम्मका अवस्थालाई विश्लेषण गर्नुपर्ने बेला आएको बताए । हालसम्म भएको बीमा, दाबी अनुपात, संकलन भएको प्रिमियम रकम लगायत विषयमा गहन रूपमा विश्लेषण गरेर ईभीको नयाँ पोलिसी बनाउनु पर्नेमा उनको जोड छ । वर्कशपहरूले गाडीको केही सामान्य क्षति भएको खण्डमा पनि सो पार्ट्स मर्मतभन्दा पनि पुरै पार्ट्स नै परिवर्तन नै गर्न कन्भिन्स गर्ने गरेको बीमा कम्पनीहरुका अधिकारीहरु बताउँछन् । ‘ईभी गाडी मर्मतका लागि स्वयम् बिक्रेता कम्पनीले नै वर्कशप स्थापना गरेको हुन्छ । अन्य स्थानमा ईभीको मर्मत हुँदैन । वर्कशपहरूले आफ्नै तरिकाले पार्ट्सको मूल्य लिने, मर्मत अन्तर्गत श्रमिक खर्च धेरै राख्ने गरेको सुनिएको छ,’ एक बीमा कम्पनीका उच्च तहका कर्मचारीले भने । निर्जीवन बीमा कम्पनीका एक जना सीईओले अहिलेकै पोलिसीअनुसार ईभीको बीमा गर्न कम्पनीहरूलाई गाह्रो पर्ने बताए । उनले आफूहरू ईभीको बीमाबाट पन्छिन खोजेको जानकारी दिए । उनले भने, ‘बीमा नै गर्दैनौं त भन्न मिलेन । तर, ईभी बीमाका लागि हामी जनशक्ति खर्च गर्दैनौं । मार्केटिङका कर्मचारी परिचालन गर्दैनौं । आएकालाई गराउँछौं । खोल्दै जादैनौं ।’ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले ईभीको बीमामा बीमा कम्पनीहरूलाई केही समस्या भएमा वार्ताको माध्यमबाट समाधान गर्न सकिने धारणा राखे । उनले हालसम्म ईभीको बीमामा समस्या भएकोबारे बीमा कम्पनीहरूले आधिकारीक रूपमा नाडालाई जानकारी नगराएको बताउँदै समाधानको पहल गर्न आफूहरू तयार रहेको सुनाए । ईभी गाडीको हरेक पार्ट्समा सेन्सर जोडिएको हुन्छ । सोही कारणले पनि पार्ट्सको मूल्य केही महँगो हुन गएको उनले स्वीकार गरे । यस्तै, वर्कशपले मर्मतभन्दा पनि पार्ट्स नै परिवर्तन गर्ने गरेको गुनासोप्रति उनले ध्यानाकर्षण भएको बताए । उनले भने, ‘यदि कतै कसैले त्यस्तो गरेको भए त्यो गलत भयो । मर्मत गर्न सकिने मर्मत गर्नुपर्यो । मर्मत गर्न नसकिने मात्र परिवर्तन गर्नु पर्छ ।’ पोलिसी पुनरावलोकन गर्दै प्राधिकरण बीमा प्राधिकरणले हालको पोलिसीलाई पुनरावलोकन गर्ने तयारी भइरहेको बताइन् । प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलले हालको पोलिसीलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले समिति नै गठन गरिएको जानकारी दिइन् । प्राधिकरणको बीमा प्रबर्द्दन महाशाखाकी प्रमुख समेत रहेकी ढुङ्गेलकै संयोजकत्वमा समिति गठन भएको हो । जहाँ सबै सरोकारवाला निकायका प्रतिनिधिहरू पनि छन् । अबको केही दिनपछि समितिले काम सुरु गर्ने उनले जानकारी दिइन् । के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयको निष्र्कश तीन महिनापछि मात्रै आउने उनको भनाइ छ । हालसम्म भएको ईभीको बीमा, क्लेम हिस्ट्री र प्रिमियमलाई गहन ढंगले अध्ययन गरेर नयाँ पोलिसी निर्माण हुने अधिकारीले जानकारी दिइन् ।

युवापुस्तामा रफ्तारले बढ्दै क्यान्सर, यसरी बनौं सजग

क्यान्सर एक जटिल रोग हो । यो खर्चालु पनि उत्तिकै हुन्छ । नेपालमा बर्सेनि क्यान्सर हुने र क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको पाइन्छ । नेपालीलाई सबैभन्दा धेरै हुने फोक्सो क्यान्सर हो । त्यसपश्चात् अनौठो तरिकाले पाचन प्रणाली सम्बन्धीको क्यान्सर देखिन थालेको छ । जस्तै- मुख, पेट, आन्द्रा, मलाशय लगायतका विभिन्न ठाउँमा क्यान्सर देखा परिरहेको छ । पाचन प्रणाली सम्बन्धी क्यान्सरबाट युवाहरू बढी प्रभावित भएका छन् । नेपालमा फोक्सोको क्यान्सरपछि आमाशयको क्यान्सर निकै बढेको देखिन्छ । हामीकहाँ प्रोष्टेट क्यान्सर अलि कम छ तर, पश्चिमी देशहरूमा प्रोष्टेट क्यान्सर धेरै बढेको छ । नेपालमा क्यान्सर : विगत र वर्तमान नेपालमा क्यान्सरका रोगमा प्याटर्न परिवर्तन हुन थालेको छ । पहिले कम देखिने रोग अहिले बढी देखिन थालेका छन् भने पहिले धेरै देखिने क्यान्सर अहिले केही कम हुन थालेको छ । तर, नेपालमा पहिलेदेखि अहिलेसम्मै अग्रस्थानमा रहेको फोक्सोको क्यान्सर अहिले पनि उही स्थानमा छ । किनकि नेपाल अत्यधिक चुरोट खाने देशमा पर्छ र अहिले कलेजमा अध्ययनरत विद्यार्थीले पनि यसको सेवन बढी गर्न थालेको पाइन्छ । अर्को कुरा नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर पनि बढी देखिएको थियो तर अब विस्तारै स्तन क्यान्सर अग्रस्थानमा जाँदै छ । स्तन क्यान्सर अहिले पश्चिमी देशहरूमा सबैभन्दा बढी छ । अहिले नेपालमा पनि यो बढिरहेको छ । मैले पढ्ने बेला अथवा म वीर अस्पतालमा आवद्ध हुने बेलामा समेत अहिले देखिरहेका क्यान्सर त्यो बेला यति धेरै मात्रामा देखिँदैनथ्यो । आन्द्राको क्यान्सर कुरा गर्दा मैले त्यो बेला पनि रिसर्च गरेको थिएँ जतिबेला युवाहरूमा अलि बढी नै आन्द्राको क्यान्सर देखिएको थियो तर यति धेरै नम्बरमा बिरामी थिएनन् । अहिले निकै धेरै नम्बरमा बिरामीको संख्या बढ्दै गएको छ । यो अवस्था हेर्दा हामीले जुन तरिकाले पहिले खानेकुरा खान्थ्यौं, अब फेरि त्यहीँतिर फर्कन आवश्यक देखिन्छ । जस्तै पहिले हामी आफ्नै बारीमा आफैले फलाएको चामल, दाल, तरकारी खान्थ्यौँ भने दूध दही पनि आफ्नै घरमा बनाइन्थ्यो । अहिले अवस्था निकै फेरिएको छ । केटाकेटीदेखि युवापुस्ताले जंक फुड खाने बानी बसालिसकेका छन् । हुँदाहुँदै मासु पनि अहिले अष्टे«लियाबाट आयात हुन थालेको छ । हामी धेरै परनिर्भर हुँदा रोग पनि नयाँ नयाँ किसिमका देखिन थाले । गहुँ, तोरी, लसुन, फलफुल सबै आयात हुन्छ । अब जबसम्म यो प्रक्रिया रोकिँदैन तबसम्म अवस्था जोखिमपूर्ण हुन्छ । खानामै गडबड विगतमा निकै कमदेखि पाचन प्रणाली सम्बन्धीको क्यान्सर अहिले आएर निकै बढ्नुमा हामीले खाइरहेको खानामा शंका गर्नुपर्ने अवस्था आएको छ । किनकि आन्द्राको क्यान्सर भएकाहरू युवा उमेरमै देखिएको हुन्छ । २५/३० वर्षको उमेरमै आन्द्राको क्यान्सर भएर बिरामी आइरहेका छन् भने पक्कै पनि खानामा कहीँ न कही कमजोर छ भन्ने हो । यो अवस्थाले हामीले खाइरहेका कुरामा प्रयोग गरेको विषादीहरू निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ । विशेषगरी प्याकेजिङ गरिएका खानेकुरामा बाहिर एउटा लेवलिङ गरिएका हुन्छ भने भित्र अर्कै चीज प्रयोग गरिएको हुन्छ । अब लेबलिङ अनुसारको भित्र छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने अवस्था आएको छ । हामीले खाने खानामा समस्या छ, यो प्रष्ट छ किनभने आन्द्राको क्यान्सर, पेटको क्यान्सर लिभरको क्यान्सर एकदमै बढ्नु भनेको यो सबै पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । हामीले खाने बजारमा आयातित फलफूल, सागसब्जी लगायत हरेक सामग्रीमा केमिकल मिसिएको छ कि छैन जस्ता कुरामा निगरानी राख्न अब निकै आवश्यक भइसकेको छ । वीर अस्पतालमा आउने दैनिक सय जनामध्ये झण्डै १५ देखि २० प्रतिशत बिरामीमा पाचनसम्बन्धी क्यान्सर बोकेर आउँछन् । यो अलाराम वार्निङ हो । यही अवस्थामा हामी सचेत बनेनौँ वा सरकारले केही गर्न सकेन भने भोलिको अवस्था डरलाग्दो हुने छ । अहिले वीर अस्पतालमा दैनिक १ सय जना क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गर्छन् । जसमा नयाँ र पुराना बिरामी रहेका छन् भने वर्षमा करिब १ हजार क्यान्सरका नयाँ बिरामी र ६-७ हजार पुरानो बिरामीहरू हामीले हेर्नुपर्छ । हाम्रो अस्पतालको कुरा गर्दा अहिले क्यान्सरका बिरामीको त्यति धेरै रस पनि छैन, तर थोरै बिरामी अहिले पनि छैनन् । म पहिले यो अस्पतालमा सुरु गर्दा नेपालमा धेरै अस्पतालहरू थिएनन् । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पतालमा मात्र क्यान्सरको उपचार गरिन्थ्यो । वीर अस्पतालमा बिरामीको निकै चाप हुन्थ्यो । तर, आजभोलि क्यान्सर रोगको उपचार हुने अस्पतालको संख्या बढेको छ भने निजी अस्पतालले पनि राम्रो सेवा दिन थालेका छन् । जसका कारण वीर अस्पतालमा केही चाप घटेको छ । पहिलेको भन्दा चाप रेडियशनमा कम छ तर, पालो भने बैशाखसम्म पुगिसकेको छ । यो राम्रो होइन । क्यान्सर लागेको बिरामीलाई चाँडै उपचार दिनुपर्ने हुन्छ । केही क्यान्सर छ जसलाई अलि ढिलो गरेपनि फरक पर्दैन । मुख र फोक्सोको क्यान्सरको उपचार जतिसक्दो चाँडो गर्नुपर्छ । यस्तो खालको बिरामीको लागि हामीलाई नयाँ मेशिनको तुरुन्त आवश्यकता परेको छ । क्यान्सर यही कारणले लाग्छ भनी किटान गर्न सकिने अवस्था अहिलेसम्मै पनि छैन । तर अन्दाज भने गर्न सकिन्छ । जस्तै आजभन्दा २५–३० वर्ष अगाडि पाचन प्रणालीमा अहिले जस्तो क्यान्सरको समस्या थिएन । त्यो बेला अहिले जस्तो खानेकुराहरू बाहिरबाट आयात पनि हुँदैनथ्यो । जब बाहिरबाट खानेकुरा आयात गरेर खान सुरु गरियो त्यसपछि यो क्यान्सर देखिन थाल्यो । त्यस्तै नेपालमा चुरोट सुर्तीको सेवन बढ्न थालेसँगै फोक्सोको क्यान्सर पनि बढ्दै छ, मुखको क्यान्सर बढ्दै छ । कुनै क्यान्सरको कारण के हो भन्ने नै थाहा हुँदैन । क्यान्सरका चरण क्यान्सर लागेका बिरामी उपचारका लागि अस्पतालमा पुग्ने भनेको स्टेज थ्री वा फोरमा हो । त्योभन्दा अगाडि प्रायः बिरामी अस्पताल पुग्दैनन् । कतिपय क्यान्सर रोगमा कुनैपनि लक्षण देखिँदैन । लक्षण नदेखिँदा कोही पनि व्यक्ति अस्पताल पुग्दैनन् । जब खोकी लाग्न थाल्छ, टाउको दुख्न थाल्छ वा ढाड दुख्न थाल्छ अनि अस्पताल पुग्दा स्टेज तेस्रो, चौथोमा पुगिसकेको हुन्छ । फोक्सोमै भयो भने पनि फैलिसकेको हुने, ब्रेनमा पुगिसकेको हुने हुन्छ । ढाड किन दुख्यो भनी एक्सरे गर्दा त्यहाँ ढाड भाँच्चिसकेको हुन्छ । किन भनेर हेर्दा क्यान्सर भइसकेको हुन्छ । स्टेजमा थ्रीमा आउँदा उसको निको हुने चान्स उपचार गर्दा ३० प्रतिशत हुन्छ भने चौथो स्थानमा पुगेका बिरामीको ५ प्रतिशत मात्र उपचार हुन्छ । क्यान्सरको आफ्नै संसार हुन्छ । कुनै क्यान्सर हामीले गरेको उपचारमा तुरुन्त काम गर्छ । बिस्तारै हराउँछ पनि कतिपय जति उपचार गर्दा पनि राम्रो हुँदैन । यो रोग निकै खर्चालु पनि हुन्छ । ज्यान जोगाउन पनि गाह्रो हुन्छ । स्टेज थ्री, फोरमा आएपनि केही हदसम्म सर्वाइभल बढाउने र बाँचिएन भने पनि जुन पीडा हुन्छ त्यो कम बनाउन सकिन्छ । यस्तो अवस्थामा आए पनि प्यालिएटिभ केयर गर्न सक्छौँ भने कतिपय व्यक्ति स्टेज फोरमा पुगेर पनि निको भएको बिरामी पनि हुनुहुन्छ । नेपालमा उपचार आजभोलि नेपालमा सबै किसिमको क्यान्सरको उपचार हुन थालेको छ । पहिले चिकित्सक पनि कम थिए, उपकरण पनि थिएन । आजभोलि जनशक्ति विकास हुँदै गएको छ । रेडियशन अन्कोलोजी अथवा क्लिनिकल अन्कोलोजीको पढाइ नेपालमै हुन थालेको छ । वीर अस्पतालबाटै ४० जना उत्पादन भइसकेका छन् । म पनि यही अस्पतालमा पढेर यही अस्पतालम सेवा गरिरहेको व्यक्ति हुँ । बाहिरबाट पनि पढेर आइरहेका छन् । तर, यो जनशक्ति अझै यो रोगको लागि पर्याप्त होइन । अर्को कुरा भएको जनशक्ति पनि एकै ठाउँ अथवा काठमाडौं उपत्यकाभित्रै बस्ने चलन छ । उपत्यका बाहिरको कुरा गर्दा अहिले पनि क्यान्सर रोगको उपचारका लागि सबै प्रदेशमा अस्पताल बनिसकेका छैनन् । पूर्वतिर केही अस्पताल सञ्चालनमा आइरहेका छन् भने चिकित्सक पनि बढी हुनुहुन्छ तर पश्चिममा निकै कम छ । भरतपुर चितवनभन्दा पर अझै यो सेवा पुगेको छैन । भर्खर नेपालगञ्जमा एउटा क्यान्सर अस्पताल स्थापना भएपनि त्योभन्दा पर सुदूरपश्चिम, कर्णाली प्रदेशसम्म पुग्न सकेको छैन । अहिले पनि नेपालको ठूलो ठाउँमा क्यान्सरको उपचार पुगेको छैन । भएका ठाउँमा पनि राम्रो उपकरण र दक्ष जनशक्तिको अभाव कम छ । अहिलेको अवस्थाअनुसार नेपालमा रेडियशनको करिब ३० देखि ४० वटा मेसिन अनिवार्य छ । तर, अहिले १० वटा जतिमात्र छ । जसका कारण दुरका मान्छेलाई काठमाडौं आएर उपचार गर्न निकै कठिन परिरहेको छ । यसको लागि सरकारले प्रत्येक प्रदेशमा कम्तिमा पनि एउटा क्यान्सर अस्पताल आवश्यक छ । जिल्ला अस्पतालमा पनि क्यान्सरको सामान्य भएपनि सेवा सुरु गर्न आवश्यक छ । यसरी बनौं सजग हामी धेरैको बानी बिरामी नहुञ्जेलसम्म अस्पताल नपुग्ने हुन्छ । लक्षण नदेखिनु र स्क्रिनिङ नगराउनाले पनि धेरै जस्तोलाई यस्तो रोग लागिरहेको हुन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण भनेको स्क्रिनिङ नै हो । यसका लागि विभिन्न खालको स्क्रिनिङ गर्नुपर्छ । जस्तै पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर हेर्न पाठेघरको मुखको जाँच गर्नुपर्छ । स्तन क्यान्सरको लागि स्क्रिनिङमा जाँदा म्यामोग्राम गर्नुपर्छ । अल्ट्रासाण्ड, एमआरआई पनि गराउन सकिन्छ । पाचन प्रणालीका लागि इण्डोस्कोपी गर्न सकिन्छ, फोक्सोको लागि सिटीस्क्यान गर्न सकिन्छ । कलेजोको लागि अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ । कतिपय देशमा सरकारले स्क्रिनिङ गर्नैपर्छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ । साउथ कोरियाको कुरा गर्ने हो भने त्यहाँ यो व्यवस्था छ । यसले गर्दा नागरिकको ज्यान जोगिने सम्भावना धेरै हुन्छ । यसको लागि राष्ट्रले कडाइ गर्नुपर्यो या नागरिक आफै सचेत हुनुपर्यो । सचेतनामूलक कार्यक्रम निकै आवश्यक छ । यसो गर्दा मान्छे सचेत हुँदै जान्छ । यसमा धेरै समस्या छ । कतिपय व्यक्ति क्यान्सर भन्ने बित्तिकै आत्तिने हुन्छ । कुनैपनि रोग लाग्दा आत्तिनु हुँदैन । उपचार सम्वभ छ । कतिपय रोग उपचारपछि निको हुन्छ भने कतिपय निको नभएपनि कम पक्कै हुन्छ । धेरै भ्रमहरू पनि छन् । कतिपय व्यक्तिलाई औषधीले पनि काम गर्दैन । अहिले नेपालमा क्यान्सर लागेर निको भएकाहरू पनि धेरै छन् । सरकारले पनि एक लाख रुपैयाँ सहयोग गरिरहेको छ । वीर अस्पतालमा आएका बिरामीको एक लाख रुपैयाँमा उपचार हुन्छ । रेडियशनको लागि खर्च छैन भने कतिपयको हकमा अस्पतालले मिलाउने गरेको छ भने १० प्रतिशत बिरामीले रेडियशन फ्रीमै गरिन्छ । कुनै पनि क्यान्सरको बिरामी वीर अस्पतालमा आयो र उसले पैसा छैन भन्यो भने उपचार नपाएर फर्कनुपर्ने अवस्था हामीले गरेका छैनौँ । तर बाध्यता हामीसँग पनि छ । हामीसँग एउटा मात्र रेडिशेयन मेसिन छ जसका कारण बिरामीले उपचारको लागि पालो कुर्न परेको छ । यसका लागिथ हामीले सरकारसँग अर्को एउटा मेसिनको लागि माग गरेका छौँ । अर्को मेसिन आयो भने सबै बिरामीको उपचार समयमै गराउन सकिन्छ । सरकारले गर्नुपर्ने काम क्यान्सर रोग नेपालमा सबैभन्दा बढी जोखिम रोगमध्येको एक हो । यसको मृत्युदर पनि बढिरहेको छ । नेपाल सरकारले यसका लागि ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-२०३० ’ तयार पारेको छ । जसमा रोग लाग्नेको संख्या कम गर्न वा यसबाट हुने मृत्युदर कम गर्न के गर्ने भन्ने रणनीति बनाइएको छ । जसमा सातवटै प्रदेशमा क्यान्सर अस्पताल स्थापना गर्नेदेखिका विभिन्न ९ वटा रणनीति तयार पारिएको छ । यो रणनीतिअनुसार काम गर्न सक्यो भने अबको ३०-४० वर्षपछि क्यान्सर कम गर्न सकिन्छ । यस्तै रणनीति चलाएको पश्चिमी देशमा अहिले क्यान्सर कम गर्दै गएको छ । क्यान्सर लागे पनि मर्नेको संख्या त्यहाँ निकै कम छ । किनकि पहिले नै यो रोगसम्बन्धी जानकारी दिने वा नियमित जाँच गर्न लगाउने काम त्यहाँ भइरहेको छ । अब नेपालमा पनि यस्तै सचेतनामूलक कार्यक्रम गर्न निकै आवश्यक छ । अहिले विकसित देशमा क्यान्सर लागेर मर्नेको संख्या निकै कम हुँदै जान थालेको छ तर नेपालमा भने बढ्दै जान थालेको छ । नेपालमा सन् २०२० को तथ्यांकअनुसार हरेक वर्ष झण्डै २० हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् भने यसमा १४ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो तथ्यांकले क्यान्सर भएका बिरामीमध्ये ६५ देखि ७० प्रतिशतको मृत्यु हुने गर्छ । यो भयावह अवस्था हो । कुन–कुन ठाउँमा के गर्न सकिन्छ, प्रादेशिक अस्पतालमा के गर्न सकिन्छ, क्यान्सर अस्पताल नयाँ बनाउन नसकेपनि भएका अस्पतालहरूमा राम्रा उपकरणहरू राखेर आवश्यक चिकित्सक पूर्ति गर्ने लक्ष्य राखिएको छ । ध्यान दिनैपर्ने विषय सबैभन्दा पहिले हामीले खानपानमा ध्यान दिऔँ । निरोगी रहनको लागि चुरोट नखाऔँ । कुलतबाट टाढा रहन सिकौँ, हरेक दिन शारीरिक व्यायाम गरौँ । सकिन्छ भने योगा गरौँ, हरियो सागपात, फलफुल प्रशस्त मात्रामा खाऔँ । यदि वजन बढी छ भने त्यो घटाउनुपर्छ । यति गर्दागर्दै पनि कतिपयलाई क्यान्सर लाग्न सक्छ । यसको लागि ५० वर्ष पुगेपछि एक पटक क्यान्सर अस्पतालमा गएर अनिर्वार्य जाँच गरौँ । यदि आफ्नो परिवारमा कलिलै उमेरमा कसैलाई क्यान्सर लागेको छ भने आफू पनि सचेत भएर जुनसुकै उमेरमा भए पनि सोध्न जरुरी हुन्छ । किनकि यो वंशाणुगत कारणले पनि लाग्छ । कतिपय बिरामीहरू आजभोलि उपचारको लागि अन्य विधामा जानुहुन्छ । खर्च पनि धेरै गरेर अन्त्यमा ठूलो ट्युमर बोकेर हामीकहाँ नै आउनुहुन्छ । अन्य विधामा जानुभन्दा अगाडि पहिले एक पटक चिकित्सकको सल्लाह चाहिं लिनै पर्छ । (क्यान्सररोग विशेषज्ञ, प्रा. डा. विवेक आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । )