आम्दानी बढाउँदै औषधी उद्योग, आईपीओबाट पब्लिक बनाउने उद्योगीको रणनीति
काठमाडौं । नेपाली औषधी उद्योगले बर्सेनि सन्तोषजनक आम्दानी गरेको देखिएको छ । विभिन्न सार्वजनिक प्लेटफर्महरूमा उद्योगीहरूले व्यवसाय नहुँदा आफूहरू समस्यामा परेको गुनासो गर्दै आइरहेको भए पनि तथ्यांकले भने प्रत्येक वर्ष आम्दानी बढ्दै गरेको देखिएको हो । हाल ६ दर्जन औषधी उद्योग सञ्चालन भएपनि हामीले १० वटा उद्योगको वित्तीय विवरणलाई नमुनाको रूपमा लिँदा सबैको आम्दानी बढेको देखिएको हो । सन् २०२४ मा दुईवटा औषधी उद्योगको वित्तीय विवरण सार्वजनिक नहुँदा २०२४ र २०२३ को आम्दानीको तुलना गर्दा ८ वटा उद्योगको आम्दानीलाई औसतमा गणना गरिएको छ । ८ वटा फर्मास्युटिकल्स उद्योगले २०२४ मा कुल ८ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । जुन २०२३ को तुलनामा ६.७९ प्रतिशत बढी हो । २०२३ मा ती उद्योगले कुल ७ अर्ब ८४ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेका थिए । ती उद्योगहरूले २०२२ मा कुल ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ, २०२१ मा ६ अर्ब ४ करोड ९० लाख र २०२० मा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको तथ्यांकबाट देखिन्छ । २०२० को तुलनामा २०२४ मा ५५.३० प्रतिशतले आम्दानी बढेको देखिन्छ । देउराली फर्मास्युटिकल्स देउराली फर्मास्युटिकल्स नेपालको पुरानो औषधी उद्योग हो । १९९१ मा स्थापना भएको यस उद्योगले औषधी उत्पादनमा पृथक किसिमको पहिचान बनाएको छ । यस उद्योगले मुटु तथा उच्च रक्तचाप (कार्डियोभास्कुलर), मधुमेह (डायबेटिक), स्त्री तथा बाल स्वास्थ्य (गाइनोकोलोजी र चाइल्ड केयर), पेट तथा कलेजो सम्बन्धी (ग्यास्ट्रोलोजी र हेपाटोलोजी), छाला रोग (डर्माटोलोजी) लगायत विभिन्न रोगहरूका औषधिहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीले अहिले विभिन्न वर्गका २५० भन्दा बढी उत्पादनहरू बजारमा पठाइरहोके छ । यो कम्पनीको अध्यक्ष हरिभक्त शर्मा हुन् । यो औषधी उद्योगले सन् २०२४ मा २ अर्ब २ करोडको सञ्चालन आम्दानी गरेको छ । उद्योगले सन् २०२३ मा १ अर्ब ८६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा उद्योगको आम्दानी ८.४२ प्रतिशतले बढेको छ । यस उद्योगले सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख र सन् २०२० मा १ एक अर्ब १९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस उद्योगको आम्दानी प्रत्येक वर्ष बढेको देखिन्छ । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी ६८.८८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । एशियन फर्मास्युटिकल्स सन् १९९७ मा स्थापित एसियन फार्मास्युटिकल्सले पनि विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले एन्टिबायोटिक्स, पेट तथा पाचन प्रणालीसम्बन्धी (एसिड स्राव रोक्ने औषधी), अर्टो (युरिक एसिडसम्बन्धी, दुखाइ कम गर्ने र सूजन निरोधक), दम (अस्थमा) सम्बन्धी, एन्टी-एलर्जिक, भिटामिन तथा पशुचिकित्सासम्बन्धी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीका अध्यक्ष तथा प्रवन्धक निर्देशक हुतानन्द खनाल हुन् भने शंकर घिमिरे कार्यकारी निर्देशक हुन् । यो कम्पनीको सबैभन्दा ठूलो सेयरधनी खगिसरा घिमिरे हुन् । जसको स्वामित्व करिब १०.३ प्रतिशत रहेको छ भने बाँकी स्वामित्व २१ जना अन्य व्यवसायीको छ । यस उद्योगले पनि पछिल्लो समय आम्दानी बढाउँदै लगेको छ । यो कम्पनीले २०२४ मा २ अर्ब १७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ को तुलनामा यस उद्योगको आम्दानी ७ प्रतिशतले बढेको छ । यस उद्योगले २०२३ मा कुल १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा १ अर्ब ६७ लाख, २०२१ मा १ अर्ब ३५ करोड र २०२० मा १ अर्ब २४ करो १० लाख रुपैयाँको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा ६२.५३ प्रतिशतले उद्योगको आम्दानी बढेको छ । यस उद्योगको सञ्चालन नाफा पनि प्रत्येक वर्ष बढेको तथ्यांकबाट देखिन्छ । २०२० मा ११.२ प्रतिशत सञ्चालन नाफा रहेको यस उद्योगको २०२४ मा १७.४ प्रतिशत नाफा देखिएको छ । क्वेस्ट फार्मास्युटिकल्स क्वेस्ट फार्मास्युटिकल्सले कार्डियोवास्कुलर, मधुमेह, छालाका रोग र हाइपोलिपिडेमिक रोगहरू सहित अन्य विभिन्न प्रकारका सामान्य र विशेष औषधीहरू उत्पादन गर्दै आइरहेको छ । हाल यो उद्योगले एक सयभन्दा बढी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीमा उमेश लाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माले ४५ पतिशत लगानी गरेका छन् भने बाँकी हिस्सा उनीहरूको परिवारका सदस्यहरू र व्यापार साझेदारहरूको छ । श्रेष्ठले यो उद्योगको नेृत्व गर्दै आएका छन् । यो उद्योगले २०२४ मा २ अर्ब १० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी ०२३ को तुलनामा १७.२८ प्रतिशत कम हो । यस उद्योगले २०२३ मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा २ अर्ब ३२ करोड २० लाख, २०२१ मा १ अर्ब ९५ करोड र २०२० मा १ अर्ब ८० करोड १० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । विगतका वर्षमा निरन्तर आम्दानी बढाउँदै गएको यो उद्योग २०२४ भने केही खस्किएको छ । यद्यपि, २०२० को तुलनामा २०२४ मा यस उद्योगको आम्दानी १६.७७ प्रतिशतले वृद्धि भएको छ । उसो त उमेशलाल श्रेष्ठका हरेक व्यवसाय पछिल्लो समय सुस्ताएका छन् । उनको व्यक्तिगत व्यावसायिक सुस्सताको प्रभाव यस उद्योगमा पनि परेको तथ्यांकले देखाउँछ । हुकुम फर्मास्युटिकल्स सन् १९९६ मा स्थापित यो औषधी उद्योगले ट्याब्लेट, क्याप्सूल, सिरप, सस्पेन्सन र ड्राई सिरपको रूपमा फार्मास्युटिकल डोजहरू उत्पादन गर्दै आएको छ । हाल यो उद्योगले २६ किसिमका औषधी उत्पादन गर्दै आइरहेको छ । एचसी दुगर ग्रुपको मुख्य लगानी रहेको यस उद्योगका मुख्य सेयरधनी विजयकुमार दुगर हुन् । यो उद्योगले २०२४ मा ७० करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ८८.२९ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा ३७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, २०२२ मा ३४ करोड ६० लाख, २०२१ मा ३९ करोड ९० लाख र २०२० मा ३९ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको सञ्चालन आम्दानी ८१ प्रतिशतले बढेको देखिएको छ । प्राइम फर्मास्युटिकल्स २०१६ स्थापना भएको प्राइम फर्मास्युटिकल्सको कार्यालय वीरगञ्ज पर्सामा रहेको छ । यो उद्योगले औषधी व्यवस्था विभागबाट १ सय १५ किसिमका विभिन्न औषधीहरूको उत्पादन तथा बिक्रीको लागि स्वीकृति लिएको छ । यस उद्योगमा अजय कुमार साहको ५९.३४ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले २०२४ मा २ अर्ब ६१ करोडको आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ३१.८१ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा १ अर्ब ९८ करोड रकमको आम्दानी गरेको थियो । यस्तै, २०२२ मा ६ करोडको आम्दानी गरेको थियो भने २०२१ मा ९ करोड र २०२० मा ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी २२६ प्रतिशतले बढेको देखिन्छ । टाइम फर्मास्युटिकल्स यो औषधी उद्योग नेपालको पुरानो र स्थापित फर्मास्युटिकल कम्पनीहरूमध्ये एक हो । १९९४ मा स्थापना भई १९९७ देखि सञ्चालनमा आएको थियो । यो उद्योगले एण्टीकोल्ड एन्टिबायोटिक, सप्लिमेन्ट्स, एनाल्जेसिक र एन्टिडाइबेटिक लगायतका विभिन्न २०० औषधीहरु उत्पादन गर्दै आएको छ । यस उद्योगको अध्यक्ष नारायणबहादुर श्रेत्री हुन् । यस उद्योगको मुख्य लगानीकर्ता राजु कर्माचार्य, झंकानाथ भट्ट र नारायण बहादुर क्षेत्री हुन् । अन्य व्यक्तिको पनि यस उद्योगमा लगानी छ । २०२४ मा ९५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको यस उद्योगले २०२३ मा ८२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२३ को तुलनामा यस उद्योगको आम्दानी २०२४ मा १६.३० प्रतिशतले बढेको छ । यस उद्योगले २०२२ मा ९९ करोड, २०२१ मा ७९ हरोड १० लाख र २०२० मा ६८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२० को तुलनामा यस उद्योगले २०२४ मा ३९.६९ प्रतिशत आम्दानी बढेको छ । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले नबिल इन्भेस्ष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कान्तिपुर फर्मास्युटिकल्स कान्तिपुर फर्मास्युटिकल्स नेपालमा रहेको पशु औषधी कम्पनी हो । यो उद्योगले एलोपाथिक पशु चिकित्सा औषधीहरू, जनावरको पोषण, चारा थपकर्ताहरू, फाइटो चारा थपकर्ताहरू र अन्य जनावर लगातका लागि औषधी उत्पादन गर्दै आएको छ । नेपालमा २ दशकभन्दा बढी समयदेखि भेटरीनरी औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यो उद्योगले काभ्रेको पाँचखाल- ७ मा स्थित एक प्लान्टमा पशु चिकित्सा औषधीहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले २०२४ मा २२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि यो भन्दा अघिल्लो वर्ष यसको आम्दानी १६ करोड थियो । यो एक वर्षको अवधिमा यस उद्योगको आम्दानी ४१ प्रतिशतले बढेको छ । यस्तै, २०२२ मा यो कम्पनीले १५ करोडको आम्दानी गरेको थियो । यो तीन वर्षको अवधिमा भने उद्योगको आम्दानी ५१.३३ प्रतिशत बढेको छ । यस कम्पनीले कुल चुक्ता पूँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने तयारी पनि अगाडि बढाएको छ । कम्पनीले ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । ओम मेगा श्री फार्मास्युटिकल्स यो फर्मास्युटिकल चितवनको जुगेडीमा अवस्थित छ । विदेशबाट स्वदेश फर्किएर पर्वतका अर्जुन श्रेष्ठले यो आषधी उद्योग सञ्चालनमा ल्याएका हुन् । आयातित् औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा नागरिक परेको भन्दै अर्जुनले आयात भइरहेका औषधी रोकी विदेशमा निर्यात गर्ने उद्देश्यले यो उद्योग सञ्चालनमा ल्याएको छन् । गत वर्षदेखि सञ्चालनमा आएको यो उद्योगले २०२४ मा करिब ९ करोड सञ्चालन आम्दानी गरेको छ । श्रेष्ठले देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रष्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । उनले देशमा औषधी उद्योगको सम्भावना पनि राम्रो रहेको सुनाए । उनका अनुसार यो उद्योग पनि आईपीओ निष्कासनको प्रक्रियामा छ । सोपान फर्मास्युटिकल्स सोपान फर्मास्युटिकल्स अहिले पब्लिक कम्पनीका रुपमा काम गरिरहेको छ । २००९ मा स्थापना भएको यो कम्पनीले १०२ प्रकारका औषधि उत्पादन अनुमति पाएको छ भने ५१ प्रकारका औषधि बजार व्यवस्थापनको अनुमति लिएर काम गरिरहेको छ । यो उद्योगले पनि आईपीओको निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस उद्योगले २०२३ मा १४ करोड रुपैयाँ, २०२२ मा ४ करोड र २०२१ मा ६ करोड १० लाख रुपैयाँ सञ्चालन आमद्यानी गरेको थियो । यो तीन वर्षको अवधिमा उद्योगको आम्दानी बढ्दै गएको छ । यस उद्योगको अध्यक्ष डा. अनिल पोखरेल हुन् । अकर्ड फर्मास्युटिकल्स अकर्ड फर्मास्युटिकल्स नेपाली औषधी उद्योगमा नयाँ उद्योग हो । २०१३ मा स्थापना भएको यो उद्योगले २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । अहिले यो उद्योग पनि आईपीओ निष्कासन गर्ने प्रक्रियामा छ । काठमाडौंको तीनकुनेमा कार्यालय रहेको यस उद्योगको कारखाना भने ललितपुरमा छ । डा. किरणराज पाण्डेले उद्योगको नेतृत्व गरिरहेका छन् । उनको यस उद्योगमा ०.६ प्रतिशत सेयर छ । बाँकी सेयर २१ जना व्यक्ति तथा संस्थाको रहेको छ । यस उद्योगले पनि २०२३ मा ११ करोड रुपैयाँ आम्दानी गरेको थियो भने २०२२ मा ५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा यस उद्योगको आम्दानी १०२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । कुनै बेला विदेशी औषधको दबदबा रहेको नेपाली बजारमा अहिले ४० हिस्सा स्वदेशी उद्योगले ओगटेका छन् । ६० प्रतिशत हिस्सा अझै पनि आयातको छ । उद्योगीहरू आयातलाई प्रतिस्थापन गरेर निर्यात गर्ने योजनाका साथ काम गरिरहेका छन् । नेपाली उद्योगहरूले देशलाई आवश्यक पर्ने करिब ७० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता राख्ने भए पनि सरकारले स्वदेशी उद्योगका उत्पादनलाई टेवा पुग्ने नीति अवलम्बन नगर्दा समस्या भइरहेको गुनासो उद्योगीहरूको छ । नेपालमा ६५ अर्बको औषधीको बजार रहेको उद्योगीहरू बताउँछन् । नेपालमा वार्षिक ४० अर्ब हाराहारीको औषधी आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
बैंकको मुद्दतीभन्दा सञ्चयकर्ता र योगदानकर्तालाई लगानी बढाउँदै कोष, ब्याज घट्दा आम्दानीमा असर
काठमाडौं । ‘बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ । बजारमा लगानीको माग छैन । न्यून ब्याजदरमा पनि लगानी गर्न धौधौ भइरहेको छ । संस्थागत लगानीकर्ताहरूले निक्षेपमा लगानी नगरे हुन्थ्यो नि,’ एक बैंकरले भने, ‘अब लगानी नगरौं, समस्या परेको बेला निक्षेप माग्न गाह्रो हुन्छ । लगानी गरौं कर्जाको माग छैन ।’ अहिले न्यून ब्याजदरमा बोलकबोल गर्दा पनि संस्थागत लगानीकर्ताहरूले सहजै निक्षेप दिने गरेको ती बैंकरको भनाइ छ । सम्बन्ध कायम राख्नका लागि मात्रै संस्थागत निक्षेपमा लगानी गरिरहेको उनको भनाइ छ । तर, अधिकांश बैंकले त निक्षेप नै लिन छाडिसकेको उनले बताए । बैंकरले गुनासो गरेजस्तै नागरिक लगानी कोषका बरिस्ठ सहायक (सूचना प्रविधि) देवनारायण गुरागाईं बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा कोषको लगानीमा समस्या भइरहेको बताउँछन् । कोषले योगदानकर्ताबाट ५ प्रतिशतबाट बचत लिनुपरको तर सस्तो ब्याजदरमा बैंकमा लगानी गर्नु परेको उनको भनाइ छ । ‘बैंकहरूमा पर्याप्त तरलता छ । ब्याजदर पनि न्यून छ । न्यून मूल्यमा बोलकबोल गर्छन् । कम मूल्यमा बिड गर्दा समस्या छ । कोषले ५, साढे ५ प्रतिशतमा बचत लिइरहेको छ । तर, हामीले बैंकको मुद्दतीमा राख्ने ब्याजदर एकदमै न्यून छ । ३/४ प्रतिशत हाराहारीमा मुद्दतीमा राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामी बिडिङ जान्छौं । बिडिङमा जाँदा बिड नहाल्ने, हालेपनि न्यून मूल्यमा बिड हाल्ने गरेका छन् । ‘पहिलाको जस्तो पैसा चाहियो हजुर भनेर माग्दै आउँदैनन् । पहिला अनुनय, विननय गर्थे । अहिले बजारमा प्रयाप्त तरलता हुँदा वास्ता नै गर्दैनन् । कोषमा पनि सञ्चयकर्ताहरूले सञ्चय गरिरहनु भएको छ । निक्षेप संकलन भइरहेको छ । सोच जस्तो लगानी नहुँदा सस्तो दरमा पनि लगानी गरिरहेका छौं, ’ उनले थपे । उनका अनुसार नागरिक लगानी कोषको मासिक ५/६ अर्ब रुपैयाँ होल्ड हुने गर्छ । तर, फालाफालको अवस्था भने हुँदैन । ९ प्रतिशत ब्याजमा लगानी गरेको रकम परिपक्व भएर नवीकरण गर्दा ब्याजदर ३/४ प्रतिशतमा झर्ने गरेको उनले बताए । कुनै परिपक्व भएको निक्षेप त परिपक्व भएपछि लगानी नै नहुने अवस्था रहेको उनले बताए । सञ्चयकर्ताबाट मासिक ५ अर्ब भन्दा बढी संकलन हुने गरेको उनले जानकारी दिए । कोषको कुल रकम २ खर्ब ६५ अर्ब रुपैयाँ पुगिसकेको उनको भनाइ छ । कोषले तत्काल कुनै क्षेत्रमा लगानी नगरेको उनले बताए । ‘सहभागीहरूलाई दिने कर्जामा भने कोषको लगानी बढेको छ । विगतका तुलनामा घरकर्जा, ओडी, सापटीमा बढेको छ,’ उनले भने, ‘अन्य जलविद्युत आयोजना वा प्रोजेक्ट लोन गइरहेको छैन । बजारमा माग पनि छैन । बैंकमा पनि माग कम छ । झन् हाम्रा संस्थामा अलिअलि आएका हुन्छन् । तैपनि त्यहाँ लगानी भइसकेको अवस्था भने छैन ।’ कर्मचारी सञ्चय कोषका वरिष्ठ प्रबन्धक रामचन्द्र पोखरेलले पनि बैंक तथा वित्तीय संस्थाहरूले सहज रूपमा निक्षेप नलिँदा समस्या भइरहेको बताउँछन् । विगतमा निक्षेप माग्दै आउने बैंकरहरू यतिबेला चासो नै दिन छाडेको उनले गुनासो गरे । ‘हाल बैंकको ब्याजदर न्यून छ । ब्याजदर न्यून हुँदा पनि हाम्रो सबै रकम लगानी हुन सकिरहेको छैन । ३ प्रतिशत ब्याजदर निक्षेप राख्न बाध्य छौं । लगानी नभएपछि के गर्नु ?,’ उनले भने, ‘बैंकहरूलाई अफ्ठेरो पर्दा हामीले निक्षेप दिने गरेका छौं । संस्थासँग हारगुहार गरेर निक्षेप लगेर चलाएर नाफा खान्छन् । आज निक्षेप लिँदैन भन्दा संस्थाले कहाँ लगानी गरुन् ?’ उनका अनुसार कर्मचारी सञ्चय कोषको डेढ खर्ब रुपैयाँ संस्थागत मुद्दती निक्षेपमा लगानी छ । तर, पछिल्लो समय बैंकहरूले निक्षेप नलिँदा विकास ऋणपत्र, ट्रेजरी बिलमा लगानी गर्नुपरेको उनको भनाइ छ । जबकि सञ्चय कोष जस्तो संस्थाले ट्रेजरी बिलमा लगानी गर्नु हुँदैन । ‘हामीलाई समस्या छ । अहिले बैंकहरूको सेयर मूल्य कम छ । बैंकको सेयरमा लगानी गर्न दिने हो भने लगानी व्यवस्थापन गर्न सकिन्छ । तर, यहाँ कसैले बुझिदिँदैनन्,’ उनले भने, ‘अरु बेला लाइन लाग्ने आज लिन मान्नु हुन्न । प्रोजेक्ट लोन दिन हाम्रो पनि इच्छा छ । तर, कोही पनि कर्जाका लागि आउँदैनन् । नआएपछि हामीले सरकारी बण्डमा १०/१२ अर्ब रुपैयाँ र ५/६ अर्ब रुपैयाँ ट्रेजरी बिलमा लगानी गरेका छौं ।’ उनका अनुसार खराब कर्जा (एनपीएल) अनुपातको सीमा ५ प्रतिशतभन्दा बढी भएका बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा समेत निक्षेप राख्ने गरिएको छ । बजारमा बैंकको कर्जा लगानी नहुँदा समस्या भइरहेको उनले बताए । ‘बजारबाट मासिक २०/२५ अर्ब रुपैयाँ फिर्ता आइरहन्छ । अनि सञ्चयकर्ताको बचत र ब्याज गरेर थप ८/१० अर्ब रुपैयाँ आउँछ । सञ्चय कोषले महिनामा ३०/४० अर्ब रुपैयाँ व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यो रकम व्यवस्थापन गर्न हामीलाई सकस भइरहेको छ,’ उनले भने, ‘हामी टाइट हुँदा २ अर्ब रुपैयाँ राख्छौं भने अहिले १०/१२ अर्ब रुपैयाँ होल्ड भएर बसेको होला । साढे ६ खर्ब रुपैयाँमा १०/१२ अर्ब रुपैयाँ भनेको खासै ठूलो रकम पनि होइन ।’ कर्मचारी सञ्चय कोषले सञ्चय कोष (प्रोभिडेन्ट फण्ड) तथा निवृत्तभरण कोष (पेन्सन फण्ड) ५.५० प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । साढे ६ लाख सञ्चयकर्ता तथा योगदानकर्तालाई कोषले उक्त ब्याज दिइरहेको छ । यस्तै, नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा ५ प्रतिशत, कर्मचारी वचत वृद्धि सेवानिवृत्ति कोषमा ६ प्रतिशत, नागरिक इकाई योजनाको व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, लगानीकर्ता तथा उपदान कोष, बीमा कोषतर्फ निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका लागि ३.५ प्रतिशत तोकेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले महँगो ब्याजदरका सञ्चयकर्ता तथा योगदानकर्ताबाटबचत संकलन गरेपनि सस्तो दरमा लगानी गर्नुपर्ने बाध्यता छ ।
ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी
काठमाडौं । प्रायः सबै प्रमुख अटो निर्माता कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक व्यापार समूहले क्यानडा र मेक्सिकोबाट आयातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको नयाँ २५ प्रतिशत ट्यारिफले सवारीसाधनको मूल्यमा अत्यधिक वृद्धि गर्ने चेतावनी दिएको छ । ‘क्यानडा र मेक्सिकोमा लगाइने यी ट्यारिफले सबै अटो निर्माता कम्पनीहरूलाई असर गर्नेछ,’ अमेरिकी प्रमुख अटो निर्माता कम्पनीहरू (टेस्लाबाहेक) को प्रतिनिधित्व गर्ने ‘अलायन्स फर अटोमोटिभ इनोभेसन’ का प्रमुख जोन बोजेलाले मंगलबार भने । यस समूहका सदस्यहरूमा जनरल मोटर्स, फर्ड, टोयोटा, फक्सवागन, हुन्डाई र स्टेलान्टिस रहेका छन् । ‘धेरै कम्पनीहरूले केही सवारीसाधन मोडेलहरूको मूल्य २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन् र सवारीसाधनको मूल्य तथा उपलब्धतामा पर्ने नकारात्मक असर तुरुन्तै महसुस गरिनेछ,’ बोजेलाले थपे । अटो निर्माता कम्पनीहरूले चेतावनी दिएका छन् कि यी ट्यारिफहरूले २५ वर्षभन्दा बढी समयदेखि कायम रहेको उत्तर अमेरिकी आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्नेछन् । केही अटो पाट्र्स अन्तिम असेम्ब्ली हुनुअघि छ वा सोभन्दा बढी पटक सीमाना पार गर्छन् । ‘अटोमोबाइल उत्पादन र आपूर्ति श्रृंखलालाई रातारात सार्न सकिँदैन । यही नै चुनौती र दुविधा हो । उत्तर अमेरिकामा अटो ट्यारिफले उपभोक्ताहरूका लागि लागत बढाउन सक्छ,’ बोजेलाले भने । स्टेलान्टिसले मंगलबार डिलरहरूलाई कम्पनी ट्रम्प प्रशासनसँग निरन्तर छलफल गरिरहेको सूचना दिएको थियो । किनभने यी ट्यारिफले ग्राहकहरूलाई थप ‘लागतको बोझ पार्नेछ । ‘यी ट्यारिफले स्टेलान्टिसको प्रमुख क्रिसलर, डोज, जीप र राम ब्रान्डहरूलाई कोरियन, जापानी र युरोपेली आयातकर्ताहरूको तुलनामा प्रतिस्पर्धात्मक रूपमा कमजोर बनाउन सक्छ,’ कम्पनीले रोयटर्सले देखेको इमेलमा उल्लेख गरेको छ । वाणिज्य सचिव हावर्ड लुटनिकसँग गत हप्ता धेरै अटो निर्माता कम्पनीहरूले भेट गरे र व्यापक ट्यारिफ वृद्धिलाई अगाडि नबढाउन प्रशासनलाई आग्रह गरेका थिए । गत महिना फर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम फार्लीले मेक्सिको र क्यानडामा २५ प्रतिशत ट्यारिफले अमेरिकी अटो उद्योगलाई ‘ठूलो घाटा’ पुर्याउने चेतावनी दिएका थिए । ‘हामीले अहिले धेरै लागत, धेरै अव्यवस्था देखिरहेका छौं,’ उनले भनेका थिए । यता युनाइटेड अटो वर्कर्स (यूएडब्ल्यू) संघले ट्रम्पको समर्थन गर्दै अप्रिलमा प्रस्तावित थप ट्यारिफ योजनालाई स्वागत गरेको छ । ‘हामी अमेरिकी राष्ट्रपतिद्वारा गरिएको आक्रामक कारवाहीलाई देखेर खुसी छौं । हामी ह्वाइट हाउससँग मिलेर अप्रिलको अटो ट्यारिफ योजनालाई श्रमिक वर्गको हितमा विकास गर्न तत्पर छौं,’ संघले भनेको छ । अमेरिकी अन्तर्राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसनले पनि टिप्पणी गर्दै डिलरहरू पहिले नै बढ्दो सवारीसाधन तथा पाट्र्स मूल्यहरू र उच्च ब्याज दरहरूको सामना गरिरहेको बताएको छ । ‘ट्यारिफहरूले सिधै सवारीसाधनको मूल्यमा हजारौं डलरको वृद्धि गराउन सक्छ,’ समूहले जनाएको छ । (एजेन्सीहरूको सहयोगमा) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै