काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई जति स्पष्टीकरण सोधे पनि त्यसले कुनै महत्व नराख्ने बताएका छन् । बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधिररेको प्रशंग कोट्याउँदै त्यसले कुनै माने नराख्ने बताएका हुन् ।
उनले आफू काममा विश्वास गर्ने भएकोले प्राधिकरणमा रहँदासम्म अन्तिम घडीसम्म पनि काम गर्ने ताकत र ल्याकत रहेको बताएका हुन् ।
यस्तो छ कुलमानको संक्षिप्त धारणा :
मेरो कार्यकालको विषयमा आज होकि भोलि हो भन्ने हल्ला छ, सबैले सुन्नु भएकै होला । हल्ला भएपनि लाष्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ५/६ वटा स्पष्टीकरण सोधे होलान्, जवाफ पनि दिए हुँला । त्यसले मलाई कुनै माने राख्दैन, मलाई शून्य दिए पनि सय दिए पनि त्यसले पनि माने राख्दैन ।
प्रदेशको मूल्यांकन तपाईंहरुले गर्नु भएको होला, यो प्रदेशमा तपाईंहरुले ० अंक दिनु हुन्छ कि सय अंक दिनु हुन्छ ? त्यो तपाईंहरुले मुल्यांकन गर्नु भएकै होला । पफर्मेन्सको आधारमा मूल्यांकन गर्ने हो । हामीले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहेका छौं । काम गर्दै गर्दा जतिसुकै स्पष्टीकरण खानु परे पनि, अन्तिम एक घण्टा भए पनि काम गर्ने आँट, ताकत र ल्याकत राख्नु पर्छ भन्ने हिसाबले काम गरिरहेको छु । कर्मचारीसँग सोही किसिमले समन्वय गरेर गरिरहेको छु । यसमा साथीहरुले पनि सहयोग गरिरहनु भएको छ ।