निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै
निसानको ईभी लिफसँग कम्पनीका सीईओ माकोटो उचिडा । फाइल तस्बिर । काठमाडौं । जापानी अटो निर्माता कम्पनी निसानले अर्को महिना आफ्ना उच्च पदस्थ व्यवस्थापनमा ठूलो फेरबदल गर्ने तयारी गरेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा हालसम्म आफ्नो पदमा रहने सम्भावना रहेको तीन जना जानकार स्रोतहरूले बताएका छन् । निसानमा व्यवस्थापन पुनर्गठन निसाले मार्च १२ मा निसान व्यवस्थापन सुधारको घोषणा गर्ने जनाइएको छ । यो योजनासँगको असफल विलय वार्तापछि ल्याइएको हो । निसान लगातार दुई त्रैमासिक कमजोर प्रदर्शनपछि गहिरो संकटमा परेको छ । निसानको बोर्डले यस पुनरुद्धार योजनाको प्रभावकारिता र हालको टोलीको क्षमताको मूल्यांकन गरिरहेको छ । के उचिडा हट्न सक्छन् ? स्रोतहरूका अनुसार यदि उचिडाले राजीनामा दिए भने कम्पनीले स्थायी सीईओ चयन गर्नुभन्दा पहिले एक अन्तरिम सीईओ नियुक्त गर्न सक्छ । ब्लुमबर्ग न्युजले भने निसान उचिडालाई हटाउने तयारीमा रहेको बताएको छ । निसानका निर्देशकहरू सम्भावित उत्तराधिकारीको खोजी गरिरहेका छन् । उचिडा सन् २०१९ को अन्त्यदेखि निसानको सीईओ रहेका छन् । निसानको पुनरुद्धार योजना तीनवटा कारखाना बन्द गरी व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने स्रोतहरूले जनाएका छन् । कम्पनीले आफ्नो वर्तमान आर्थिक वर्षको पूर्वानुमान तेस्रो पटक घटाएको छ, जसले अमेरिका र चीनजस्ता प्रमुख बजारहरूमा चुनौतीहरू देखाएको छ । उचिडाको अन्तिम लक्ष्य उचिडाले निसानलाई संकटबाट निकाल्नु आफ्नो मुख्य उद्देश्य बताउँदै आएका छन् । उनी भन्छन्, ‘मिसन पूरा भएपछि म राजीनामा दिन तयार छु ।’ तर, उनी हटेपछि कसले उनको ठाउँ लिनेछ भन्ने अझै स्पष्ट छैन । निसान–होन्डा मर्जर असफल किन ? निसान र होन्डाको ६० अर्ब डलरको मर्जर योजना फेब्रुअरी असफल भएको थियो । दुवै कम्पनीले डिसेम्बरदेखि मर्जरबारे वार्ता गरिरहेका थिए, तर होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन खोजेपछि वार्ता टुंगिएको हो । यो योजना पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । नयाँ साझेदारीको खोजीमा निसान निसान अब विशेषगरी प्रविधि कम्पनीहरूसँग सहकार्य गर्न खुला रहेको छ । कम्पनी इलेक्ट्रिक गाडी, स्वचालित कार र चीनमा छिटो अगाडि बढिरहेका कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छ । एक स्रोतका अनुसार निसान ताइवानको ‘फक्सकन’सँग पनि सहकार्य गर्न इच्छुक छ । फक्सकन जो विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माण कम्पनी हो र एप्पलको आईफोन उत्पादन गर्छ । उसले आफ्नो इलेक्ट्रिक गाडी निर्माण व्यवसाय विस्तार गर्न खोजिरहेको छ । डिसेम्बरमा फक्सकनले निसानसँग सहकार्य गर्ने प्रस्ताव राखेको थियो तर निसानले अस्वीकार गरेको थियो । निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
बैंकमा निक्षेप राख्दा खराब कर्जाको सीमा ८ प्रतिशत, यी एक दर्जन बैंकलाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा राख्ने निक्षेपका लागि निष्क्रिय कर्जा अनुपात (एनपीएल)को सीमा ८ प्रतिशत पुर्याएको छ । विभिन्न कारणले पछिल्लो समय बैंकहरूको खराब कर्जा ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले पनि एनपीएलको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याएको हो । आइतबार राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ, विकास बैंकमा ६० करोड ११ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा २० करोड ३ लाख रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ४ अर्ब ७९ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ । जसमा राष्ट्र बैंकले एनपीएल अनुपात ८ प्रतिशत र खुद एनपीएल अनुपात ३ प्रतिशत हुनुपर्ने सर्त राखेको छ । यसअघि ५ प्रतिशतसम्म एनपीएल भएका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै राष्ट्र बैंकले लगानी गर्दै आएको थियो । तर, पछिल्लो समय ऋण असुलीमा सकस परेर बैंकहरूको खराब कर्जाको सीमाले ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले पनि उक्त सर्तलाई संशोधन गर्दै ८ प्रतिशत पुर्याएको हो । राष्ट्र बैंकबाहेक अन्य सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा लगानी गर्छन् । उनीहरूले पनि निक्षेपमा लगानी गदौ बैंकको खराब कर्जाको सीमा ५ प्रतिशत ननाघेको हुनुपर्ने सर्त उल्लेख गरेका हुन्छन् । राष्ट्र बैंकजस्तै केही गैर बैंकिङ संस्थाहरूले खराब कर्जाको सीमालाई बढाएका छन् भने केही संस्थाहरूले तत्कालका लागि खराब कर्जाको सीमालाई नहेर्ने गरी बैंकहरूमा लगानी गरिरहेको एक बैंकरले विकासन्युजलाई बताए । ‘अधिकांश सरकारी संस्था र बीमा कम्पनीहरूले ५ प्रतिशतको खराब कर्जाको सीमा हुनुपर्ने सर्त राखेका हुन्छन् । जसकारण ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप लगानी गर्दैनन्,’ एक बैंकरले भने, ‘संस्थाहरूले पनि अहिलेको अवस्था बुझेका छन्। त्यसैले सहजीकणका लागि सम्बन्धित संस्थाहरूले आन्तरिक रुपमा नीति परिवर्तन गर्नुपर्ने हुन्छ । कतिपय संस्थाले उक्त नीति परिवर्तन गरिसकेका पनि छन् ।’ राष्ट्र बैंकले निक्षेप राख्दा खराब कर्जाको सीमा ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याएपछि अन्य संस्थाहरूले पनि सोही अनुसार निर्णय गर्ने बैंकरहरूको दाबी छ । सामाजिक सुरक्षा कोषले २/३ महिना अघि नै निक्षेप लगानी गर्दा खराब कर्जाको सीमा नहेरी लगानी गर्ने निर्णय गरिसकेको छ । अब जुन संस्थाले खराब कर्जाको हेरिरहेका छनु उनीहरूले राष्ट्र बैंकलाई पच्छ्याउन सक्ने बैंकरहरूको भनाइ छ । संस्थाहरूले बैंकको निक्षेपमा लगानी गर्दा खराब कर्जाको सीमा यति हुनुपर्छ भनेर राष्ट्र बैंकले कुनै व्यवस्था गरेको छैन । सामान्यतया ५ प्रतिशतसम्मको खराब कर्जालाई औसत रुपमा लिइने भएकाले सोही अनुसार सर्त राख्ने गरेको बैंकरहरू बताउँछन् । साथै राष्ट्र बैंकले पनि निक्षेपमा लगानी गर्दा विगतमा ५ प्रतिशतसम्म खराब कर्जा हुनुपर्ने सर्त राख्ने भएकाले अन्य संस्थाले पनि सोही अनुसार लागू गर्न गरेका थिए । अब राष्ट्र बैंकले उक्त व्यवस्थालाई बढाएको हुँदा अन्य संस्थाहरूले पनि लागू गर्न सक्नेछन् । ‘हाल अर्थतन्त्रको अवस्था नाजुक भएकाले ८ प्रतिशतसम्मको खराब कर्जालाई ठिकै छ भनेर स्वीकार गर्न सक्छन् । बीमा कम्पनीहरूले पनि राष्ट्र बैंकलाई नै मान्न सक्छन्,’ ती बैंकरले भने, ‘अहिले बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप भएर खासै असर गरेको छैन । सीडी रेसियो पनि ७०/८० प्रतिशत हाराहारीमा छ । विगतको जस्तो निक्षेपको हाहाकार भएको अवस्थामा धेरै समस्या हुन्थ्यो । अहिले प्रयाप्त तरलता भएकाले बैंकहरूले पनि संस्थागत निक्षेप लिन मानिरहेका छैनन् ।’ राष्ट्र बैंकको यो व्यवस्थाले ५ प्रतिशत खराब कर्जा नाघेका र ५ प्रतिशतको हाराहारीमा रहेका बैंकलाई राहत मिल्नेछ । पपिछल्लो तथ्यांकअनुसार कुमारी, एआईएमबि, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, नेपाल बैंक, प्राइम कमर्सियल, नबिल र कृषि विकास बैंकलाई ठूलो राहत मिल्नेछ ।
४० हजारले लियो सुरेन्द्रको प्राण, ७ महिनामै पुछियो सरस्वतीको सिउँदो
काठमाडौं । रातको ८ बज्नै लागेको थियो । हरेक दिनझै सुरेन्द्र विष्ट शनिबार दिनभर गाडी चलाएर घर फर्के । उनको घर नजिकै छ माल्लेक चौसिला बजार । जहाँ उनी गाडी राखेर त्यही बस्ने गर्थे । नजिकै घर भएपनि उनको बसाइँ त्यही बजारमा हुन्थ्यो । घरमा उनकी श्रीमती, भाउजु र बुवा थिए । उनकी आमा माइत गएकी थिइन् । शनिबार पनि उनि दिनभर आफ्नो काममा व्यस्त भए । कालागाउँबाट सिल्लेगडा, सिल्लेगडाबाट सतबाँझ हुँदै सदरमुकाम गोठालापानीसम्म गाडी चलाउने उनको दैनिक रुट थियो । दिनभर यात्रु ओसारपसार गर्दै साँझ घर फर्के । उनी गाडी रोकेर खाना खान होटल पसे । खाना खाने होटल थियो महेश विष्टको । जुन बजार नजिकै रहेको रौलेश्वर माविको छेवमै छ । उनीसँगै खाना खाने अरु तीन/चार साथीहरू पनि थिए । टेबुलको छेउमा थिए दशरथ विस्ट । सुरेन्द्र बिचमा बसेका थिए भने छेउमा अर्का साथी थिए । टेबलमा बसेर खानामा हात हालेकामात्रै के थिए होटलको माथिबाट साइड साइड भन्दै आवाज आयो । सुरेन्द्रसँगै बसेका साथीहरू भात छोडेर हतार-हतार उठे । सुरेन्द्रलाई पनि तान्दै गर्दा उनलाई गोली लागिसकेको थियो । गोलीको ठूलो आवाज सुन्दा हो-हल्ला मच्चियो । सुरेन्द्र दशरथको हातबाट चिप्ले । उनको पेटबाट रगतको खोला बग्यो । मलाई बचाउ बचाउ भन्दै सुरेन्द्र छटपटाउन थाले । हातै समाएर साइड लगाउन खोजेका दशरथ टोलाए । अरु साथीहरू पनि आँत्तिए । पसलका सहुजी र बजारमा रहेका अरु मान्छे बाहिर निस्के । रगतमा छटपटाइरहेका सुरेन्द्रलाई अस्पताल लैजान सुरु गरे । कसैले आफन्तलाई खबर गरे । कसैले प्रहरीलाई खबर गरे । यो घटना हो शनिबार रातीको । घटना भएको स्थान थियो बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ चौसिला । शनिबार राति भएको घटनाबारे विकासन्युजसँग कुरा गर्दै दशरथले भने, ‘म अहिलेसम्म राम्रोसँग बोल्न सकिरहेको छैन, हात खुट्टा कापिरहेको छ, सँगै खान बसेका सुरेन्द्र कहिल्यै नउठ्ने गरी गइसकेका छन् ।’ हामीसँग कुरा गर्दा पनि उनको आवाज डर लाग्दो थियो । घटानाबारे सविस्तारमा सोध्यौँ । ‘गोली लाग्नेवित्तिकै सुरेन्द्र बचाउ-बचाउ भनेर छटपटीरहेका थिए, हामीले हेर्न बाहेक गर्न केही सकेनौँ, छटपटाइरहेका उनी केहीबेरपछि बोहोस भए,’ घटना सुनाउँदै दशरथले भने । त्यसपछि जीपमा राखेर सुरेन्द्रलाई अस्पताल लगियो । अस्पताल पुर्याउन नपाउँदै गयो प्राण गोली लागेर घाइते भएका सुरेन्द्रको अस्पताल पुर्याउन नपाउँदै मृत्यु भयो । दशरथका अनुसार घाइते सुरेन्द्रलाई कालागाउँबाट सदरमुकाम गोठालापानी लगिँदै थियो । घटना भएको ठाउँबाट अस्पताल भएको ठाउँ गोठालापानी पुग्न करिब २ घण्टा लाग्छ । त्यसमा पनि एक घण्टा बढी कच्ची बाटो छ । अस्पताल टाढा हुँदा पनि समयमै पुर्याउन सकिएन । एक घण्टा बढीको कच्चीबाट पार गर्दै सुरेन्द्रलाई सतबाँझ पुर्याएको थियो । तर, उनको स्वास अस्पतालसम्म पुग्न पाएन । ‘कास नजिकै अस्पताल भएको भए, शरीरबाट बगेको रगत रोक्नमात्र सकेपनि पनि उसको ज्यान बाँच्थ्यो होला, हामीले प्रयास गर्दापनि अस्पताल पुर्याउनै सकिएन,’ स्थानीय प्रकाश विस्टले भने । उनको शव अहिले जिल्ला अस्पताल बैतडीमा छ । जीप व्यवसायी थिए सुरेन्द्र सुरेन्द्र एक जीप व्यवसायी हुन् । उनले एक वर्ष अगाडि मात्र जीप किनेका थिए । त्यो भन्दा पहिले उनी अरुको गाडी चलाउँथे । दिनभर गाडी चलाएर किनेको पैसाले घर व्यवहार चलाउनु पथ्र्यो । उनका दाइ नविन विस्ट नेपाल प्रहरीमा जागिर गर्छन् । उनी आमाबुवा भाउजु र श्रीमतीसँग घरमा बस्थे । उनका दाइ नविन विस्ट नेपाल प्रहरीमा जागिरे छन् । घटनापछि नविन बैतडी पुगेका छन् । के थियो विवाद ? सुरेन्दमाथि गोली प्रहार गर्ने व्यक्ति हुन् कर्ण विस्ट । जो उनको नजिकैको दाइ नाता पर्छन् । कर्णले तीन चार वर्ष पहिले सुरेन्द्रबाट ४० हजार रुपैयाँ ऋण लिएका थिए । चार वर्ष भइसक्दा पनि कर्णले पैसा फिर्ता दिएनन् । सुरेन्द्रले कर्णलाई आफुलाई पैसा आवश्यक परेको भन्दै पटक-पटक माग्न थाले । कर्णले विभिन्न बाहनामा टार्दै आएका थिए । यही विषयले उनीहरूविच मनमुटाव बढ्दै गएको स्थानीयहरूको भनाइ छ । यही विषयलाई लिएर शनिबार फेरि विवाद भएको थियो । दिउँसो विवाद हुँदा सुरेन्द्रले कर्णको गालामा दुइ झापड हानेका थिए । त्यहीबेला कर्णले सुरेन्द्रलाई मार्ने धम्की दिएका थिए । यो घटना पछि सुरेन्द्र आफ्नै काममा लागे । कर्णले त्यही कुरामा उनलाई मार्ने योजना बनाइसकेका रहेछन् । दिउँसो कर्णाले रक्सी खाएको स्थानीयहरूको भनाइ छ । सुरेन्द्र साँझ आइसकेपछि कर्णसँग एकछिन फेरि झगडा पर्यो । सुरेन्द्र झगडा भएको ठाउँबाट अली पररहेको होटलमा खाना खान आए । कर्ण घरमा गएर बन्दुक लिएर आइसकेका रहेछन् यो कुरा कसैलाई थाहै भएन । सुरेन्द्र खाना खाइरहेको बेला स्कुले कुनामा लुकेर कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रत्यक्ष दर्शीहरूले बताएका छन् । गोली प्रहार भएको पसल घटना पछि कर्ण अहिले फरार छन् भने सुरेन्द्रको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पतालमा राखिएको छ । ‘हामी न सुरेन्द्रलाई बचाउन सक्यौँ, न कर्णलाई छोप्न सक्यौँ, आँखै अगाडी घटना हुँदा पनि केही गर्न सकिएन,’ स्थानीय दशरथले विकासन्युजसँग भने । के भन्छ प्रहरी ? जिल्ला प्रहरी कार्यलयका डिएसपी मितेन्द्र मिश्रले फरार व्यक्तिको पक्राउका लागि खोजी भइरहेको बताए । घटना स्थलमा प्रहरी निरिक्षक बलदेव बडुको नेतृत्वमा प्रहरी परिचालन भइरहेको उनको भनाइ छ । ‘हामीले फरार व्यक्तिको फोटो सहित सामाजिक सञ्जालमा राखिसकेका छौँ भने, घटनास्थल वरिपरी प्रहरी परिचालन पनि गरिसकेका छौँ, हिजो रातीको कुरा हो अपराधी बैतडी भन्दा बाहिर जानकेको छैन, जसरी पनि समातिन्छ,’ उनले भने । उनका अनुसार लेनदेनकै घटनाले यो रुप लिएको हो । डिएसपी मिश्रले अहिले मृतकका आफन्तले जाहेरी पनि दिसकेकाले मुद्दा प्रक्रिया पनि अघि बढेको बताए । ७ महिनामै पुछियो सिउँदो सुरेन्द्रको मृत्यु पश्चात उनकी श्रीमती सरस्वती विष्ट अहिले पनि बहोस अवस्थामा छिन् । सुरेन्द्रले ७ महिना अघि पुर्चौडीबाट बिहे गरेका थिए । बिहे गरेको ७ महिनामै सरस्वतीको सिउँदो पुछिएको छ भने आमा धनमती विस्टको कोख उजाडिएको छ । एउटी श्रीमतीको आँसु र आमाको कोखले अहिले कर्णलाई सारपिरहेको छ । अपराधिक कार्यमा हतियार आजभोलि धेरै जसो घटनामा हात हतियार प्रयोग गरी हत्या गरिएको पाइन्छ । बैतडीको घटनामा पनि हतियारको प्रयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक मिश्रले धेरैजसो व्यक्तिले अनुमती लिएर भन्दा पनि घरमै हतियार निर्माण गरेर राख्ने गरेको बताए । बैतडीमा गोली प्रहार भएको घटनाको छर्रा हेर्दा पनि डण्डी काटेर गोली बनाएको जस्तै देखिएको छ । ‘खासमा कस्तो हतियार हो भन्ने त गोली प्रहार गर्ने व्यक्ति र गोली भेटेपछि मात्र भन्न सकिन्छ । तर गोलीको छररा हेर्दा आफै निर्माण गरेको हतियारको जस्तै देखिन्छ,’ डिएसपी मिश्रले भने । जिल्ला प्रशासन कार्यालय बैतडीले भने घटनामा प्रयोग भएको हतियार कुन हतियार हो भन्नेबारे अनुसान्धान गरिरहेको बताएको । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पवन कुमार शाहीले कसको नाममा रहेको हतियार हो, लाइसेन्स प्राप्त हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । हातहतियार खरखजाना २०१९ अन्तर्गत नागरिकलाई हतियार राख्न पाउने व्यवस्था छ । तर, यसका लागि निजी हतियार राख्न चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्छ । निवदेन पश्चात् हतियार लिन चाहने व्यक्ति र तिनको छरछिमेकीको अवस्थाबारे अध्ययन गरिन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य अवस्था पनि हेरिन्छ । यसरी हतियार राख्ने व्यक्तिले प्रत्येक दुई वर्षमा नवीकरण गराउनुपर्छ । यस्ता व्यक्तिले लिएको हतियार अर्को व्यक्तिलाई बेच्न चाह्यो भने पनि प्रशासनको अनुमति चाहिन्छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार ९ सय जना व्यक्तिले लाइसेन्स लिएर हतियार लिएका छन् ।