मौन महाप्रसाद, सलबलाएका आगामी गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनैलाग्दा नयाँ गभर्नर को बन्लान् भन्ने विषयले यतिखेर अर्थ र वित्तीय बजार तातेको छ । गभर्नर अधिकारी ५ वर्षे कार्यकाल पूरा गरी चैतमा बाहिरिँदैछन् । तथापि आगामी कार्यकालका लागि उनलाई पनि धेरैले दोहोरिन सक्छन् कि भन्ने आँकलन गरेका छन् । तथापि, उनी आफैले भने यो विषयमा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनैलाग्दा नयाँ गभर्नर को बन्लान् भन्ने विषयले यतिखेर अर्थ र वित्तीय बजार तातेको छ । गभर्नर अधिकारी ५ वर्षे कार्यकाल पूरा गरी चैतमा बाहिरिँदैछन् । तथापि आगामी कार्यकालका लागि उनलाई पनि धेरैले दोहोरिन सक्छन् कि भन्ने आँकलन गरेका छन् । तथापि, उनी आफैले भने यो विषयमा मुख खोलेका छैनन् ।

यद्यपि अधिकारीले चाहेमा उनी दोस्रो कार्यकालका लागि दोहोरिन सक्ने सम्भावना प्रवल रहेको उनी निकटस्थहरू बताउँछन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई राष्ट्र बैंकको नेतृत्व गर्न जिम्मेवारी दिएका थिए ।

अधिकारीको कार्यकाल सकिन अब एक महिना मात्रै बाँकी रहँदा बजारमा नयाँ गभर्नरका लागि विभिन्न व्यक्तिहरू सलबलाएका छन् । जसरी रगत चुस्न नपाएका जुकाहरू सलबलाउँछन्, त्यसैगरि अहिले गभर्नर बन्छु भन्दै मिडियाबाजी र शक्तिकेन्द्र धाउने व्यक्तिहरू सक्रिय बनेका छन् । गभर्नर भइसकेपछि मन्दी उन्मुख देशको अर्थतन्त्रलाई छिनको छिन लयमा फर्काउन सक्छु भन्ने जसरी विभिन्न व्यक्तिहरू गभर्नरका लागि नेताहरूको घर-घरमा एकाबिहानै पुग्ने गरेका छन् ।

विकासन्युजको सम्पर्कमा आएका एक जना गभर्नरका उम्मेदवारले भने, ‘अबको गभर्नर म नै हो, सोही किसिमले प्राथमिकता दिनुपर्छ ।’ अहिले ती उम्मेदवारजस्तै धेरै व्यक्तिहरू गभर्नर बन्नका लागि आफूलाई फ्रन्टलाइनमा देखाउन खोजिरहेका छन् ।

राष्ट्रको ढुकुटीको जिम्मेवारी सम्हाल्नका लागि पृथक प्रशासनिक तथा व्यवस्थापकीय क्षमता र अब्बलता आवश्यक पर्छ । तर, अहिले अधिकांश व्यक्ति क्षमता बेगर आफू गभर्नरको प्रतिस्पर्धी भनेर प्रचारबाजी गरिरहेका छन् । राष्ट्र बैंकको १८औं गभर्नर बन्नका लागि अहिले विभिन्न पात्र र तिनीहरूले आफू निकट नेताहरूलाई राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट पठाइरहेका छन्, दौडधुप गरिरहेका छन् ।

राजनीतिक भागवण्डा नै भएपनि नेपाल राष्ट्र बैंक एमालेको भागमा परेको छ । नेकपा एमालेका केही नेताहरूले नेपाल बीमा प्राधिकरण नेपाली कांग्रेसले पाउँदा अब राष्ट्र बैंकको नेतृत्व एमाले निकट व्यक्तिले पाउनुपर्ने सुझाव शीर्ष नेतालाई दिइरहेका छन् । अहिले प्रधानमन्त्री र अर्थमन्त्री पनि एमालेको भएकै कारण गभर्नर पनि एमाले निकटै बनाएर काम गर्ने वातावरण सहज बनाउन चाहन्छन् अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि ।

यदि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले एमाले निकट नै गभर्नर बनाउन चाहेमा वर्तमान गभर्नर महाप्रसाद अधिकारीको दोहोरिने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ । तर, अधिकारीले दोहोरिने इच्छा भने प्रकट गरेका छैनन् । तर, उनले त्यो इच्छा देखाएमा काम छिनमै फत्ते हुने देखिन्छ । किनकि प्रधानमन्त्री ओलीका उनी प्रिय पात्र हुन् । प्रधानमन्त्री ओलीकै प्रमुख आर्थिक सल्लाहकार तथा उनै अधिकारीलाई गभर्नरका लागि सिफारिस गर्ने तत्कालीन अर्थमन्त्री डा. खतिवडा पनि अहिले ओली सचिवालयमै छन् । अर्थमन्त्री पनि एमालेकै हुँदा गभर्नर अधिकारीलाई दोहोरिन त्यति असजिलो छैन ।

दोहोरिने विषयमा गभर्नर मौन रहे पनि यसअघि भने उनले ग्रिन सिग्नल देखाएका थिए । गत साउनमा चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि सुझाव संकलनका क्रममा गभर्नर अधिकारीले पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति भनेका थिए । त्यस आधारमा भने उनले दोहोरिन चाहेको बुझ्न सकिन्छ ।

तर, गभर्नर अधिकारीकै कार्यकालमा देश ‘ग्रे लिष्ट’मा पर्दा भने प्रधानमन्त्री ओली खुसी छैनन् । उनी यो विषयलाई लिएर विकल्प खोज्न सक्ने सम्भावना पनि रहेको उनी निकटस्थहरू बताउँछन् । तर, ग्रे लिष्टमा भने गभर्नर अधिकारीकै कारणले मात्रै भने परेको होइन । त्यसको केही हिस्सेदार भने उनी पक्कै छन् ।

राष्ट्र बैंकबाटै दर्जन दाबेदार

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्नका लागि विभिन्न व्यक्तिहरूले दौडधुप गरिरहँदा नेपाल राष्ट्र बैंकबाटै आधा दर्जन व्यक्तिले चासो राखेका छन् । हालका डेपुटी गभर्नर डा. निलम ढुंङगाना तिम्सिना र डेपुटी गभर्नर वमबहादुर मिश्र आगामी गभर्नरका लागि बलियो दाबेदार हुन् । यी दुई जनामध्ये एक जनाको नाम अनिवार्य रूपमा गभर्नर नियुक्तिका लागि मन्त्रीपरिषदमा सिफारिस हुनेछ ।

डेपुटी गभर्नर मिश्र नेकपा एमाले निकट पात्र हुन् । कार्यकारी निर्देशकमा बढुवा भएको केही समयमै मिश्र डेपुटी गभर्नर बनेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका छिमेकी समेत भएकाले गभर्नरको बलियो दाबेदारका हेरिएको छ । उनी राजनीतिक लविङमा माहिर छन् ।

यस्तै, डेपुटी गभर्नर ढुंगाना पनि एमाले निकट छिन् । पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटघाटले उनलाई पनि भावी गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएको छ । प्रधामन्त्री ओलीले समेत आफू सत्तामा रहेका बेला महिलाहरूलाई प्रमुखको भूमिका दिने गरेको बताउँदै आएका छन् । सोही कारण पनि ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला गभर्नर बन्ने अवसर कुरिरहेकी छन् ।

राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशक डा. गुणकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ पनि गभर्नर बन्ने दौडमा छन् । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट छन् । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिरहेका छन् । सुदूरपश्चिम घर भएका भट्ट कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् । कांग्रेसको भागमा परे देउवाले भट्टलाई गभर्नर बनाउने सम्भावना उच्च देखिन्छ । किनभने देउवाकै जोडबलमा सुदूरपश्चिमका शरद ओझा नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनिसकेका छन् ।

हाल राष्ट्र बैंकको सञ्चालक रहेका चिन्तामणी शिवाकोटी, डा. शंकरप्रसाद आचार्य र डा. रविन्द्रप्रसाद पाण्डे पनि गभर्नरको दौडमा छन् । शिवाकोटी डेपुटी गभर्नर हुँदा गभर्नर पदका लागि सिफारिस भइसकेका व्यक्ति हुन् । विगतमा एमाले निकट रहेका शिवाकोटी प्रधानमन्त्री ओलीसँग बिग्रिएको सम्बन्ध सुधार गर्नतर्फ लागिरहेका छन् । पाण्डे भने नेपाली कांग्रेस निकट छन् ।

राष्ट्र बैंकको भावी गभर्नरका लागि राष्ट्र बैंककै पूर्वकार्यकारी निर्दशक रमण नेपाल, देव कुमार ढकाल, राजनसिंह भण्डारी पनि राजनीतिक नेतृत्वकहाँ पुगेर आफ्नो इच्छा प्रस्तुत गरिरहेका छन् ।

राष्ट्र बैंकबाट अवकाश पाएपछि नागरिक लगानी कोषको कार्यकारी निर्देशक बनेका नेपालले बीमा प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका थिए । उनी हाल लक्ष्मी सनराइज बैंकको अध्यक्षसमेत हुन् । ढकाल भने नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल निकट व्यक्ति हुन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल, राजन खनाल, लालशंकर धिमिरे, पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ पनि प्रतिस्पर्धामा लागिरहेका छन् । श्रेष्ठ माओवादी निकट मानिन्छन् ।

सीईओ पनि लबिङमा

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पनि गभर्नर बन्ने लविङमा छन् । उनलाई पनि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । उनले बोर्डमा आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका छन् । शक्तिकेन्द्र धाउनसमेत माहिर उनी पनि अहिले राजनीतिक भेटघाटमा व्यस्त छन् ।

यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना पनि आगामी गभर्नर बन्ने दौडमा छन् । उनले आफू निकटस्थहरूलाई डेढ वर्ष पहिले नै आफू गभर्नरको प्रतिस्पर्धामा लाग्ने सूचना दिइसकेका थिए । अहिले उनलाई एमालेको भागमा गभर्नर पर्दा भने उनी आवदेन नदिने कि भन्ने मनसायमा रहेको बुझिएको छ । किनकि उनी कांग्रेस निकट मानिन्छन् । उद्योगी विनोद चौधरीको लगानी रहेको नबिल बैकका सीईओ ढुंगानालाई चौधरीकै जोडबलमा गभर्नर बनाइने चर्चा पनि चलेको छ । कांग्रेसका नेता आनन्द ढुङ्गाना पनि उनको दाजु हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार गभर्नरको नियुक्तिका लागि तत्काल कुनै प्रक्रिया अघि बढ्ने छैन । यदि गभर्नर अधिकारी बिदामा बसे भने प्रक्रिया छिटो अघि बढ्ने र बिदामा बस्न मानेन भने ढिला हुन सक्ने मन्त्रालय स्रोतको भनाइ छ ।

‘अब गभर्नरज्यू आफै बिदा बस्नु भयो छिट्टै नियुक्ति प्रक्रिया अघि बढ्न सक्छ । यदि बिदा बस्नु भएन भने केही समय लाग्न सक्छ, अर्थमन्त्रीज्यूसँग गर्भरको भेटघाट निरन्तर भइरहेको छ, सोही आधारमा प्रक्रिया अगाडि बढ्ला,’ स्रोतले भन्यो ।

मन्त्रालय स्रोत पनि गभर्नर अधिकारीले दोहोरिन इच्छा देखाएमा फ्याट्ट पुनः नियुक्ति हुन बेर नलाग्ने अर्थमन्त्री पौडेल निकट स्रोतको भनाइ छ । स्रोतका अनुसार गभर्नर अधिकारीको यस विषयमा अर्थमन्त्री पौडेलसँग धेरै पटक छलफल भइसकेको छ । निष्कर्श बाँकी छ । स्रोतका अनुसार राष्ट्र बैंक काँग्रेसले पाउने वा एमालेले भन्ने विषयपछि मात्रै आफ्नो निर्णय गर्नेछन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिमा पूर्वगभर्नरहरूमध्येबाट एक जना र आर्थिक, मौद्रिक, वित्तीय तथा व्यवस्थापन क्षेत्रका विज्ञहरूमध्येबाट एक जना सदस्य रहन्छन् । सरकारले गठन गरेको समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । सिफारिस गरिएका ३ जनामध्ये एकजनालाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

Share News