काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा राख्ने निक्षेपका लागि निष्क्रिय कर्जा अनुपात (एनपीएल)को सीमा ८ प्रतिशत पुर्याएको छ । विभिन्न कारणले पछिल्लो समय बैंकहरूको खराब कर्जा ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले पनि एनपीएलको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याएको हो ।
आइतबार राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ, विकास बैंकमा ६० करोड ११ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा २० करोड ३ लाख रुपैयाँ गरी बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ४ अर्ब ७९ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।
जसमा राष्ट्र बैंकले एनपीएल अनुपात ८ प्रतिशत र खुद एनपीएल अनुपात ३ प्रतिशत हुनुपर्ने सर्त राखेको छ । यसअघि ५ प्रतिशतसम्म एनपीएल भएका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै राष्ट्र बैंकले लगानी गर्दै आएको थियो । तर, पछिल्लो समय ऋण असुलीमा सकस परेर बैंकहरूको खराब कर्जाको सीमाले ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले पनि उक्त सर्तलाई संशोधन गर्दै ८ प्रतिशत पुर्याएको हो ।
राष्ट्र बैंकबाहेक अन्य सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा लगानी गर्छन् । उनीहरूले पनि निक्षेपमा लगानी गदौ बैंकको खराब कर्जाको सीमा ५ प्रतिशत ननाघेको हुनुपर्ने सर्त उल्लेख गरेका हुन्छन् । राष्ट्र बैंकजस्तै केही गैर बैंकिङ संस्थाहरूले खराब कर्जाको सीमालाई बढाएका छन् भने केही संस्थाहरूले तत्कालका लागि खराब कर्जाको सीमालाई नहेर्ने गरी बैंकहरूमा लगानी गरिरहेको एक बैंकरले विकासन्युजलाई बताए ।
‘अधिकांश सरकारी संस्था र बीमा कम्पनीहरूले ५ प्रतिशतको खराब कर्जाको सीमा हुनुपर्ने सर्त राखेका हुन्छन् । जसकारण ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप लगानी गर्दैनन्,’ एक बैंकरले भने, ‘संस्थाहरूले पनि अहिलेको अवस्था बुझेका छन्। त्यसैले सहजीकणका लागि सम्बन्धित संस्थाहरूले आन्तरिक रुपमा नीति परिवर्तन गर्नुपर्ने हुन्छ । कतिपय संस्थाले उक्त नीति परिवर्तन गरिसकेका पनि छन् ।’
राष्ट्र बैंकले निक्षेप राख्दा खराब कर्जाको सीमा ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याएपछि अन्य संस्थाहरूले पनि सोही अनुसार निर्णय गर्ने बैंकरहरूको दाबी छ ।
सामाजिक सुरक्षा कोषले २/३ महिना अघि नै निक्षेप लगानी गर्दा खराब कर्जाको सीमा नहेरी लगानी गर्ने निर्णय गरिसकेको छ । अब जुन संस्थाले खराब कर्जाको हेरिरहेका छनु उनीहरूले राष्ट्र बैंकलाई पच्छ्याउन सक्ने बैंकरहरूको भनाइ छ ।
संस्थाहरूले बैंकको निक्षेपमा लगानी गर्दा खराब कर्जाको सीमा यति हुनुपर्छ भनेर राष्ट्र बैंकले कुनै व्यवस्था गरेको छैन । सामान्यतया ५ प्रतिशतसम्मको खराब कर्जालाई औसत रुपमा लिइने भएकाले सोही अनुसार सर्त राख्ने गरेको बैंकरहरू बताउँछन् ।
साथै राष्ट्र बैंकले पनि निक्षेपमा लगानी गर्दा विगतमा ५ प्रतिशतसम्म खराब कर्जा हुनुपर्ने सर्त राख्ने भएकाले अन्य संस्थाले पनि सोही अनुसार लागू गर्न गरेका थिए । अब राष्ट्र बैंकले उक्त व्यवस्थालाई बढाएको हुँदा अन्य संस्थाहरूले पनि लागू गर्न सक्नेछन् ।
‘हाल अर्थतन्त्रको अवस्था नाजुक भएकाले ८ प्रतिशतसम्मको खराब कर्जालाई ठिकै छ भनेर स्वीकार गर्न सक्छन् । बीमा कम्पनीहरूले पनि राष्ट्र बैंकलाई नै मान्न सक्छन्,’ ती बैंकरले भने, ‘अहिले बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप भएर खासै असर गरेको छैन । सीडी रेसियो पनि ७०/८० प्रतिशत हाराहारीमा छ । विगतको जस्तो निक्षेपको हाहाकार भएको अवस्थामा धेरै समस्या हुन्थ्यो । अहिले प्रयाप्त तरलता भएकाले बैंकहरूले पनि संस्थागत निक्षेप लिन मानिरहेका छैनन् ।’
राष्ट्र बैंकको यो व्यवस्थाले ५ प्रतिशत खराब कर्जा नाघेका र ५ प्रतिशतको हाराहारीमा रहेका बैंकलाई राहत मिल्नेछ । पपिछल्लो तथ्यांकअनुसार कुमारी, एआईएमबि, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, नेपाल बैंक, प्राइम कमर्सियल, नबिल र कृषि विकास बैंकलाई ठूलो राहत मिल्नेछ ।