७ महिनामा बैंकहरूको नाफा ३६ अर्ब रुपैयाँ, आधा दर्जन बैंक करोड क्लबमै सीमित

काठमाडौं । वाणिज्य बैंकहरूले ७ महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा २० वटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ७ महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत माघसम्म नबिलले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, नाफा गरेका छन् । ७ महिनाको अवधिमा हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा गरेका छन् । अधिकांश बैंकले ७ महिनाको अवधिमा अर्बभन्दा बढी नाफा गरेपनि विभिन्न आधा दर्जन बैंक भने करोड क्लबमै सीमित भएका छन् । जसमध्ये माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।

संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा । फाइल तस्बिर । काठमाडौं । जापानको तेस्रो ठूलो अटो निर्माता निसानका निर्देशकहरूले मार्च ११ मा बस्ने बैठकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिडाको सम्भावित उत्तराधिकारीबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीको प्रदर्शन बिग्रँदै गएपछि उचिडाको पद धरापमा रहेको यस विषयमा जानकार तीन जना स्रोतले बताएका छन्। उम्मेदवारहरूमध्ये मुख्य वित्तीय अधिकारी (सीएफओ) जेरिमी पापिन र मुख्य योजना अधिकारी (सीपीओ) इभान एस्पिनोसा छन्, तर उनीहरू नै सीईओ बन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । अर्को स्रोतका अनुसार नयाँ सीईओलाई अस्थायी वा संक्रमणकालीन रूपमा नियुक्त गर्न सकिने जनाइएको छ । यसले बोर्डलाई स्थायी प्रतिस्थापन खोज्न थप समय दिनेछ। सूचनाहरू सार्वजनिक नभइसकेका कारण यी व्यक्तिहरूले आफ्नो परिचय खुलाउन अस्वीकार गरे । निसानका प्रवक्ताले यसबारे कुनै टिप्पणी गर्न मानेनन् । मार्च ११ को बैठकको मिति पहिलो पटक क्योदो न्युजले रिपोर्ट गरेको थियो । यपोनको योमिउरी पत्रिकाले मुख्य कार्यसम्पादन अधिकारी (सीपीओ) गिलियम कार्टियर पनि पापिन र एस्पिनोसासँगै विचाराधीन रहेको जनाएको छ । होन्डासँगको मर्जर वार्ता असफल भएपछि उचिडाको सम्भावित बर्खास्ती गत महिनामा निसान र होन्डाबीच ६० अर्ब डलरको संयुक्त कम्पनी बनाउने वार्ता असफल भएपछि उचिडाको पद झन् धरापमा परेको हो । सन्तुलन र शक्ति बाँडफाँडमा असहमत भएपछि मर्जर रद्द भएको हो । रोयटर्सका अनुसार यो सम्झौता होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन प्रस्ताव गरेपछि अन्ततः भत्कियो । निसान ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनसँग सहकार्य गर्न खोज्न सक्ने अनुमान गरिएको छ । फक्सकनले हालै इलेक्ट्रिक सवारी व्यवसाय सुरु गरेको छ । यो व्यवसाय पूर्व निसान कार्यकारी जुन सेकीले नेतृत्व गरिरहेका छन् । जापानी सञ्चारमाध्यमहरूका अनुसार यदि निसानले होन्डा, फक्सकन र मित्सुबिसी मोटर्ससँग चार–पक्षीय सम्झौता ग¥यो भने जुन सेकी सम्भावित उत्तराधिकारी हुन सक्छन् । निसानको व्यवस्थापन संकटः ६ वर्षमा चौथो सीईओ निसानको उच्च व्यवस्थापनमा देखिएको यो नयाँ उथलपुथल २०१८ को अन्त्यमा पूर्व अध्यक्ष कार्लोस गोस्न बर्खास्त भएयता निरन्तर जारी छ । यदि उचिडा पदमुक्त भए भने यो कम्पनीले ६ वर्षभित्र चौथो सीईओ परिवर्तन गर्नेछ । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनीहरूले अटो उद्योगलाई नै धरापमा पारिरहेको बेला निसानले थप गम्भीर संरचनागत समस्याहरूको सामना गरिरहेको छ । वर्षौंसम्म कम्पनी मूल्यभन्दा बढी संख्यामा केन्द्रित रहँदा यसको ब्रान्ड इमेज कमजोर बनायो । निसानले पहिले इलेक्ट्रिक सवारी लिफमार्फत अग्रणी भूमिका खेले पनि टेस्लाले जस्तो उछाल वा नाफा कहिल्यै पाउन सकेन । अमेरिकामा हाइब्रिड सवारीको माग गलत अनुमान गर्नु निसानका लागि ठूलो गल्ती सावित भएको छ, जुन सुधार गर्न कम्पनीले निकै संघर्ष गरिरहेको छ । अब निसानले मेक्सिकोबाट अमेरिका निर्यात गरिने गाडीमा सम्भावित शुल्कको सामना गर्नु पर्नेछ, जसले यसको उत्पादन केन्द्रलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । ‘जङ्क स्टाटस’ पछिल्लो महिना फिच रेटिङ्सले निसानको क्रेडिट रेटिङ घटाएर ‘जङ्क स्टाटस’ मा राखेको छ । यसले कम्पनीको लगानीयोग्य दर्जा गुमाएको छ र यसको निरन्तर कम लाभदायकता तथा पुनरुद्धार योजनाबारे अनिश्चितता झल्काएको छ । एलएसईजीका अनुसार निसानसँग हाल १.८ ट्रिलियन येन (१२.२ अर्ब डलर) बराबरका बन्डहरू बाँकी छन्, जसमा २३३ अर्ब येन यस वर्ष भुक्तान गर्नुपर्नेछ । कम्पनीसँग पर्याप्त नगद र बलियो वित्तीय संरचना भए पनि विश्लेषकहरूले दीर्घकालीन चुनौतीहरूको सम्भावना औंल्याएका छन् । यसअघि पनि निसानले अन्तरिम सीईओ नियुक्त गरेको थियो । २०१९ मा कार्लोस गोस्नका उत्तराधिकारी हिरोटो साइकावा बर्खास्त भएपछि कम्पनीका अनुभवी यासुहिरो यामाउचीलाई अस्थायी सीईओ बनाइएको थियो । उचिडाको भविष्यबारे पहिलो संकेत डिसेम्बरमा रोयटर्सले दिएको थियो, जसमा स्रोतले भनेको थियो कि आगामी केही महिना उनको र निसानको भविष्यका लागि निर्णायक हुनेछन् । उचिडाले जापानको तेस्रो ठूलो अटो निर्माता कम्पनीलाई पुनरुत्थान गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका थिए । उनी यो चुनौती पार गरेपछि बाहिरिने तयारीमा रहेको इङ्गित दिएका थिए । (एजेन्सीहरूको सहयोगमा) कमजोर प्रदर्शनका कारण दबाबमा उचिडा, यी हुन् निसानका सम्भावित सीईओ निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी

निर्माण क्षेत्रका ‘ठेकेदार महिला’

काठमाडौं । निर्माण व्यवसायी भन्नेवित्तिकै धेरैको दिमागमा आउने चित्र हो पुरुष । किनकि सडक, घर, भवनको ठेक्कापट्टा गर्ने काम पुरुषको हो भन्ने सोच अझै जनमानसमा छ । जसका कारण झट्टै दिमागमा पुरुषको चित्र आउँछ । तर, आजभोलि महिलाहरू पनि यो व्यवसायमा सक्रिय बन्दै गएका छन् । यिनै मध्येकी एक व्यवसायी हुन् मोहन कालीकोटे । उनी यो क्षेत्रमा काम गर्दै आएको २६ वर्ष भयो । अविरल निर्माण सेवाबाट काम सुरु गरेकी उनी विसं २०६० सालदेखि कञ्चन निर्माणसेवा कम्पनी स्थापना गरेर यो क्षेत्रमा लागेकी हुन् । अवस्था सहज थिएन, ठेक्का पाउन निर्माण व्यवसायीबिच निकै हानथाप हुन्थ्यो । जुन कम्पनीमा ठेक्का खुलेको थाहा भयो, व्यवसायीको लाम लाग्थ्यो । मोहन पनि त्यही लाइनमा हुन्थिन् । पुरुषको लाइनमा देख्नेबित्तिकै धेरैले उनलाई हाँसेरै उडाउँथे । मोहनलाई यस्ता कुराले छोएन । उनी आफ्नो काममा लाग्दै गइन् । यही क्रममा उनले काठमाडौं उपत्यकाका सडकदेखि विभिन्न विद्यालय बनाउने सम्मका धेरै ठेक्का पाएर काम सम्न्नि गरिसकेकी छन् । मोहन कालीकोटे । उनी भन्छिन्, ‘काम हो, जुनसुकै काम जसले गर्दा पनि हुन्छ, तर त्यसमा संघर्ष आवश्यक हुन्छ, जसका कारण म यो ठाउँमा पुग्न सकेँ ।’ उनलाई यो ठाउँमा पुग्दा थुप्रै चुनौतीका चाङसँग पैठेजोरी खेल्नुपर्यो । २०६२/६३ को कुरा हो । सडक डिभिजन कार्यालयले एउटा सडकको ठेक्का लागि सूचना जारी गरेको थियो । ठेक्काका लागि विभिन्न निर्माण व्यवसायी कम्पनी फाइल दर्ता गर्न लाइन लागेका थिए । उनी पनि गइन् । तर, उनलाइ रोक्न धेरै प्रयास भयो । ती दिनहरु स्मरण गर्दै उनले विकासन्युजसँग भनिन्, ‘मलाई पुरुष व्यवसायीहरूले फाइलले पाखुरामा हान्थे, हातबाट फाइल भुइँमा झारिदिने नियत उनीहरूको हुन्थ्यो तर मैले खुट्टाले फाइल भित्र पठाएर पनि दर्ता गरेको छु ।’ मोहनले काठमाडौं उपत्यकाका रिङरोडदेखि थुप्रै भित्रि सडक निर्माण गरेकी छन् । काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा पनि उपत्यकाको सडक मर्मत गर्ने जिम्मा उनकै कम्पनीको थियो । मैले काठमाडौंका भित्रिसडक, भवन निर्माणका काम थुप्रै गरेँ, ’उनी भन्छिन्, ‘उपत्यकामा सडकको काम गर्न निकै सकस हुन्छ, राती काम सकेर बिहान काम पुरा गरिसक्नुपथ्यो, मैले कामका लागि न दिन भनेँ न रात भनेँ । तर, अहिले पनि मैले विभिन्न ठेक्काको करोड बढी पैसा पाउन सकेको छैन ।’ मोहनको घर पूर्वको इलाम हो । उनी इलाममै हुर्किन्, बढिन् । एसएलससी पास गरेपछि उनले धरानमा विवाह गरिन् । छोराछोरी जन्मिसकेपछि उनलाई जिम्मेवारी थपियो । छोराछोरीको पालन पोषणका लागि उनी दुबइ जाने तयारीमा काठमाडौं आइन् । उनले म्यानपावर कम्पनीलाई ९० हजार बुझाइन् । तर, उनलाई विदेश नपठाउँदै म्यानपावर कम्पनी हरायो । विदेश जान नसकेपछि गाउँमा पनि फर्कने अवस्था थिएन । त्यसपछि उनी काठमाडौंमा संघर्ष गर्दै बसिन् । उनले नापी कार्यालयमा सरकारी जागिर गरिन् । काठमाडौंमा बस्दै जाँदा उनको संगत राजनीतिज्ञहरूसँग हुन थाल्यो । उनलाई पनि राजनीतिप्रति आस्था बढ्यो । त्यसपछि उनी सरकारी जागिर छोडेर राजनीतिमा लागिन् । भन्छिन्, ‘म यो क्षेत्रमा आउनु रहेछ र त विदेश पनि भएन, जागिर पनि भएन, अहिले म जुन क्षेत्रमा जसरी पुगे यसमा निकै खुसी छु ।’ उनी अहिले महिलाको सहभागिता निर्माण क्षेत्रमा पनि उल्लेख्य रहेको बताउँछिन् । श्रीमानको सहयोगले ठेकेदार बनेकी गंगा गंगा पोखरेल । बर्दियाको गुलरिया नगरपालिकाकी गंगा पोखरेललाई निर्माण व्यवसायमा लागेको २० वर्ष भयो । विवाह नहुँदासम्म उनलाई यो क्षेत्रबारे खासै ज्ञान थिएन । जब उनले विवाह गरिन् त्यसपछि सुरु भयो उनको निर्माण व्यवसायीको यात्रा । किनकि उनका श्रीमान ठेकेदार थिए । उनी सडकदेखि भवन निर्माणका काम गर्थे । श्रीमानले एक्लै हाकेको व्यवसायमा गंगाले काँध थापिन् । त्यसपछि श्रीमान श्रीमती दुवै मिलेर यो व्यवसायमा अघि बढे । त्यति बेला निर्माण क्षेत्रमा महिलाहरु फ्याट्फुट्ट मात्रै देखिन्थे । जानअञ्जानमा सुरु गरेको यो यात्रामा श्रीमानको सहयोगले अहिले उनको परिचय नै ठेकेदार बनेको छ । उनलाई गाउँमा सबैजनाले यही नामले चिन्छन् । गंगा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेकी छन् । उनले भण्डारी निर्माण सेवा र देउराली निर्माण सेवामार्फत् काम गरिरहेकी छन् । भण्डारी निर्माण सेवाको नेतृत्व गंगाले गरिरहेकी छन् भने उनका श्रीमानले देउराली निर्माण सेवा कम्पनीको नेतृत्व गरिरहेका छन् । ‘म यहाँसम्म पुगेको श्रीमानकै कारण हो, काखमा तीन वर्षको छोरा हुँदै मैले यो काम सिकेँ, मेरो सफलतामा रोलमोडल मेरै श्रीमान हुनुहुन्छ,’ उनले भनिन् । गंगा निर्माण क्षेत्रमा काम गर्न ठूलो चुनौती रहेको बताउँछिन् । ‘हामीलाई धेरै समस्या छ । पाठेघरको समस्यादेखि गर्भवतीसम्मको पीडा । त्यसमा पनि अझ पुरुषहरुको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण समाजमा फरक छ,’ उनी भन्छिन्, ‘ यो चिर्न आवश्यक छ ।’ उनी पहिलेको तुलनामा अहिले मान्छेको सोंच परिर्वतन हुँदा यो क्षेत्रमा धेरै सुधार आएको बताउँछिन् । पहिले महिलाले गरेको काम मन नपराउनेहरु अहिले तारिफ गर्छन् । अन्य क्षेत्रमा जस्तै हाल निर्माण क्षेत्रमा पनि महिलाको सहभागिता बढेको उनको भनाइ छ । गंगा अहिले सडक निर्माण पुल, भवन, सिंचाइ खानेपानीलगायत क्षेत्रमा काम गरिरहेकी छन् । गंगा अहिले निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्यका रुपमा पनि काम गरिरहेकी छन् भने महिला ठेकेदार समन्वय समितिकी संयोजक समेत हुन् । उनी यसअघि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष थिइन् । सुदूरपश्चिममा निर्माणको काम गरिरहेकी यमुना यमुना भट्ट । निर्माण क्षेत्रकी अर्की अब्बल व्यवसायी हुन् यमुना भट्ट । यमुना विसं २०६५ सालदेखि निर्माण क्षेत्रमा आवद्ध छिन् । उनी सुरुवातमै जिल्ला संघमा सदस्य आवद्ध भएकी थिइन् भने हाल केद्रीय सदस्य छिन् । जसले पुरुष प्रधान समाजलाई उछिन्दै एक साहसी निर्माण व्यवसायीको परिचय बनाएकी छन् । सुदुरपश्चिम प्रदेशको धनगढी घर भएकी उनले सप्तशती निर्माण सेवा कम्पनीमार्फत् काम गरिरहेकी छन् । सुदुरपश्चिमका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यमा उनी सक्रिय छिन् । ‘पूर्वाधार निर्माणका कामहरु गर्न गाह्रो छ, घरको सम्पूर्ण जिम्मेवारी हाम्रै काधँमा हुन्छ, जसमा चुलो चौकोका कामसँगै बच्चाहरुको रेखदेखको काम पनि आफै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘चुनौतीका बाबजुत पनि काम गरिएको छ ।’ असहले आफूले गरेको कामले सम्मान पाउने गरेको उनले सुनाइन् । ‘सुरु–सुरुमा कामप्रति विश्वास नै गर्दैनथे, ठेक्का लगाए पनि महिलाले के काम गर्न सक्छिन् र भन्ने बुझाइ हुन्थ्यो, विस्तारै काम गर्दै गइयो, धेरैको मन जित्न सफल भइयो, अहिले पृथक किसिमको सम्मान पाइन्छ, खुसी लाग्छ,’ उनले सुनाइन् । काममा इमान्दारिता र लगनशिलता देखायो भने विश्वास जित्न सकिने उनको भनाइ छ । उनका श्रीमान् सरकारी इन्जिनियर भएपनि उनी अहिले रिटायर्ड भइसकेका छन् । कर्मचारीदेखि मालिकसम्म गीता शाही । गीता शाहीको घर जुम्ला हो । उनी हाल ललितपुरमा बस्दै आएकी छन् । सुरुमा निर्माण कम्पनीमै काम गरेकी गीता हाल कम्पनीकी मालिक छिन् । उनी निर्माण क्षेत्रमा विस २०६५ सालदेखि आवद्ध भएकी हुन् । उनले हाल एस एल कन्स्ट्रक्सन कम्पनीमार्फत् काम गरिरहेकी छन् । निर्माण क्षेत्रमा पुरुषको तुलनामा महिलालाई बढी समस्या रहेको उनको अनुभव छ । ‘महिलालाई यो क्षेत्रमा ठूलो कठिनाइ छ, केही महिला यो क्षेत्रमा भएपनि अझ पनि महिलालाई पत्याउने अवस्था छैन,’ उनी भन्छिन्, ‘विश्वास आवश्यक छ ।’ ‘महिला पनि ठेक्कापट्टा गर्न सक्छन् भन्ने प्रश्न उठ्ने गर्छ । तर, हामीले काम गरेर देखाएका छौं,’ उनी भन्छिन्, विगतको तुलनामा अहिले महिलाले पनि गर्न सक्छन् है भन्ने विश्वास जागेको छ ।’ उनले कान्तिपथ सडक निर्माणदेखि अन्य धेरै ठूला आयोजना सफलताका साथ सम्पन्न गरेको सुनाइन् । उनी निर्माण व्यवसायी महासंघकी केन्दीय सदस्य हुन् भने पुर्वाधार महिला महासंघकी अध्यक्ष पनि हुन् । पूर्वाधार महिला महासंघ भनेको निर्माण क्षेत्रको महिलाहरुको संगठन हो । यो दर्ता गरेको दुई महिना भएको छ । महिलाहरुलाई निर्माण क्षेत्रमा ल्याउनका लागि यो संस्थाको स्थापना गरिएको उनले सुनाइन् ।