निर्माण क्षेत्रका ‘ठेकेदार महिला’

<p>काठमाडौं । निर्माण व्यवसायी भन्नेवित्तिकै धेरैको दिमागमा आउने चित्र हो पुरुष । किनकि सडक, घर, भवनको ठेक्कापट्टा गर्ने काम पुरुषको हो भन्ने सोच अझै जनमानसमा छ । जसका कारण झट्टै दिमागमा पुरुषको चित्र आउँछ । तर, आजभोलि महिलाहरू पनि यो व्यवसायमा सक्रिय बन्दै गएका छन् । यिनै मध्येकी एक व्यवसायी हुन् मोहन कालीकोटे । उनी [&hellip;]</p>

काठमाडौं । निर्माण व्यवसायी भन्नेवित्तिकै धेरैको दिमागमा आउने चित्र हो पुरुष । किनकि सडक, घर, भवनको ठेक्कापट्टा गर्ने काम पुरुषको हो भन्ने सोच अझै जनमानसमा छ । जसका कारण झट्टै दिमागमा पुरुषको चित्र आउँछ । तर, आजभोलि महिलाहरू पनि यो व्यवसायमा सक्रिय बन्दै गएका छन् । यिनै मध्येकी एक व्यवसायी हुन् मोहन कालीकोटे । उनी यो क्षेत्रमा काम गर्दै आएको २६ वर्ष भयो ।

अविरल निर्माण सेवाबाट काम सुरु गरेकी उनी विसं २०६० सालदेखि कञ्चन निर्माणसेवा कम्पनी स्थापना गरेर यो क्षेत्रमा लागेकी हुन् । अवस्था सहज थिएन, ठेक्का पाउन निर्माण व्यवसायीबिच निकै हानथाप हुन्थ्यो । जुन कम्पनीमा ठेक्का खुलेको थाहा भयो, व्यवसायीको लाम लाग्थ्यो । मोहन पनि त्यही लाइनमा हुन्थिन् । पुरुषको लाइनमा देख्नेबित्तिकै धेरैले उनलाई हाँसेरै उडाउँथे । मोहनलाई यस्ता कुराले छोएन । उनी आफ्नो काममा लाग्दै गइन् । यही क्रममा उनले काठमाडौं उपत्यकाका सडकदेखि विभिन्न विद्यालय बनाउने सम्मका धेरै ठेक्का पाएर काम सम्न्नि गरिसकेकी छन् ।

मोहन कालीकोटे ।

उनी भन्छिन्, ‘काम हो, जुनसुकै काम जसले गर्दा पनि हुन्छ, तर त्यसमा संघर्ष आवश्यक हुन्छ, जसका कारण म यो ठाउँमा पुग्न सकेँ ।’

उनलाई यो ठाउँमा पुग्दा थुप्रै चुनौतीका चाङसँग पैठेजोरी खेल्नुपर्यो । २०६२/६३ को कुरा हो । सडक डिभिजन कार्यालयले एउटा सडकको ठेक्का लागि सूचना जारी गरेको थियो । ठेक्काका लागि विभिन्न निर्माण व्यवसायी कम्पनी फाइल दर्ता गर्न लाइन लागेका थिए । उनी पनि गइन् । तर, उनलाइ रोक्न धेरै प्रयास भयो । ती दिनहरु स्मरण गर्दै उनले विकासन्युजसँग भनिन्, ‘मलाई पुरुष व्यवसायीहरूले फाइलले पाखुरामा हान्थे, हातबाट फाइल भुइँमा झारिदिने नियत उनीहरूको हुन्थ्यो तर मैले खुट्टाले फाइल भित्र पठाएर पनि दर्ता गरेको छु ।’

मोहनले काठमाडौं उपत्यकाका रिङरोडदेखि थुप्रै भित्रि सडक निर्माण गरेकी छन् । काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा पनि उपत्यकाको सडक मर्मत गर्ने जिम्मा उनकै कम्पनीको थियो । मैले काठमाडौंका भित्रिसडक, भवन निर्माणका काम थुप्रै गरेँ, ’उनी भन्छिन्, ‘उपत्यकामा सडकको काम गर्न निकै सकस हुन्छ, राती काम सकेर बिहान काम पुरा गरिसक्नुपथ्यो, मैले कामका लागि न दिन भनेँ न रात भनेँ । तर, अहिले पनि मैले विभिन्न ठेक्काको करोड बढी पैसा पाउन सकेको छैन ।’

मोहनको घर पूर्वको इलाम हो । उनी इलाममै हुर्किन्, बढिन् । एसएलससी पास गरेपछि उनले धरानमा विवाह गरिन् । छोराछोरी जन्मिसकेपछि उनलाई जिम्मेवारी थपियो । छोराछोरीको पालन पोषणका लागि उनी दुबइ जाने तयारीमा काठमाडौं आइन् । उनले म्यानपावर कम्पनीलाई ९० हजार बुझाइन् । तर, उनलाई विदेश नपठाउँदै म्यानपावर कम्पनी हरायो । विदेश जान नसकेपछि गाउँमा पनि फर्कने अवस्था थिएन । त्यसपछि उनी काठमाडौंमा संघर्ष गर्दै बसिन् ।

उनले नापी कार्यालयमा सरकारी जागिर गरिन् । काठमाडौंमा बस्दै जाँदा उनको संगत राजनीतिज्ञहरूसँग हुन थाल्यो । उनलाई पनि राजनीतिप्रति आस्था बढ्यो । त्यसपछि उनी सरकारी जागिर छोडेर राजनीतिमा लागिन् । भन्छिन्, ‘म यो क्षेत्रमा आउनु रहेछ र त विदेश पनि भएन, जागिर पनि भएन, अहिले म जुन क्षेत्रमा जसरी पुगे यसमा निकै खुसी छु ।’

उनी अहिले महिलाको सहभागिता निर्माण क्षेत्रमा पनि उल्लेख्य रहेको बताउँछिन् ।

श्रीमानको सहयोगले ठेकेदार बनेकी गंगा

गंगा पोखरेल ।

बर्दियाको गुलरिया नगरपालिकाकी गंगा पोखरेललाई निर्माण व्यवसायमा लागेको २० वर्ष भयो । विवाह नहुँदासम्म उनलाई यो क्षेत्रबारे खासै ज्ञान थिएन । जब उनले विवाह गरिन् त्यसपछि सुरु भयो उनको निर्माण व्यवसायीको यात्रा । किनकि उनका श्रीमान ठेकेदार थिए । उनी सडकदेखि भवन निर्माणका काम गर्थे ।

श्रीमानले एक्लै हाकेको व्यवसायमा गंगाले काँध थापिन् । त्यसपछि श्रीमान श्रीमती दुवै मिलेर यो व्यवसायमा अघि बढे । त्यति बेला निर्माण क्षेत्रमा महिलाहरु फ्याट्फुट्ट मात्रै देखिन्थे । जानअञ्जानमा सुरु गरेको यो यात्रामा श्रीमानको सहयोगले अहिले उनको परिचय नै ठेकेदार बनेको छ । उनलाई गाउँमा सबैजनाले यही नामले चिन्छन् ।

गंगा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेकी छन् । उनले भण्डारी निर्माण सेवा र देउराली निर्माण सेवामार्फत् काम गरिरहेकी छन् । भण्डारी निर्माण सेवाको नेतृत्व गंगाले गरिरहेकी छन् भने उनका श्रीमानले देउराली निर्माण सेवा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

‘म यहाँसम्म पुगेको श्रीमानकै कारण हो, काखमा तीन वर्षको छोरा हुँदै मैले यो काम सिकेँ, मेरो सफलतामा रोलमोडल मेरै श्रीमान हुनुहुन्छ,’ उनले भनिन् ।

गंगा निर्माण क्षेत्रमा काम गर्न ठूलो चुनौती रहेको बताउँछिन् । ‘हामीलाई धेरै समस्या छ । पाठेघरको समस्यादेखि गर्भवतीसम्मको पीडा । त्यसमा पनि अझ पुरुषहरुको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण समाजमा फरक छ,’ उनी भन्छिन्, ‘ यो चिर्न आवश्यक छ ।’

उनी पहिलेको तुलनामा अहिले मान्छेको सोंच परिर्वतन हुँदा यो क्षेत्रमा धेरै सुधार आएको बताउँछिन् । पहिले महिलाले गरेको काम मन नपराउनेहरु अहिले तारिफ गर्छन् । अन्य क्षेत्रमा जस्तै हाल निर्माण क्षेत्रमा पनि महिलाको सहभागिता बढेको उनको भनाइ छ । गंगा अहिले सडक निर्माण पुल, भवन, सिंचाइ खानेपानीलगायत क्षेत्रमा काम गरिरहेकी छन् ।

गंगा अहिले निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्यका रुपमा पनि काम गरिरहेकी छन् भने महिला ठेकेदार समन्वय समितिकी संयोजक समेत हुन् । उनी यसअघि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष थिइन् ।

सुदूरपश्चिममा निर्माणको काम गरिरहेकी यमुना

यमुना भट्ट ।

निर्माण क्षेत्रकी अर्की अब्बल व्यवसायी हुन् यमुना भट्ट । यमुना विसं २०६५ सालदेखि निर्माण क्षेत्रमा आवद्ध छिन् । उनी सुरुवातमै जिल्ला संघमा सदस्य आवद्ध भएकी थिइन् भने हाल केद्रीय सदस्य छिन् । जसले पुरुष प्रधान समाजलाई उछिन्दै एक साहसी निर्माण व्यवसायीको परिचय बनाएकी छन् ।

सुदुरपश्चिम प्रदेशको धनगढी घर भएकी उनले सप्तशती निर्माण सेवा कम्पनीमार्फत् काम गरिरहेकी छन् । सुदुरपश्चिमका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यमा उनी सक्रिय छिन् ।

‘पूर्वाधार निर्माणका कामहरु गर्न गाह्रो छ, घरको सम्पूर्ण जिम्मेवारी हाम्रै काधँमा हुन्छ, जसमा चुलो चौकोका कामसँगै बच्चाहरुको रेखदेखको काम पनि आफै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘चुनौतीका बाबजुत पनि काम गरिएको छ ।’

असहले आफूले गरेको कामले सम्मान पाउने गरेको उनले सुनाइन् । ‘सुरु–सुरुमा कामप्रति विश्वास नै गर्दैनथे, ठेक्का लगाए पनि महिलाले के काम गर्न सक्छिन् र भन्ने बुझाइ हुन्थ्यो, विस्तारै काम गर्दै गइयो, धेरैको मन जित्न सफल भइयो, अहिले पृथक किसिमको सम्मान पाइन्छ, खुसी लाग्छ,’ उनले सुनाइन् ।

काममा इमान्दारिता र लगनशिलता देखायो भने विश्वास जित्न सकिने उनको भनाइ छ । उनका श्रीमान् सरकारी इन्जिनियर भएपनि उनी अहिले रिटायर्ड भइसकेका छन् ।

कर्मचारीदेखि मालिकसम्म

गीता शाही ।

गीता शाहीको घर जुम्ला हो । उनी हाल ललितपुरमा बस्दै आएकी छन् । सुरुमा निर्माण कम्पनीमै काम गरेकी गीता हाल कम्पनीकी मालिक छिन् । उनी निर्माण क्षेत्रमा विस २०६५ सालदेखि आवद्ध भएकी हुन् । उनले हाल एस एल कन्स्ट्रक्सन कम्पनीमार्फत् काम गरिरहेकी छन् ।

निर्माण क्षेत्रमा पुरुषको तुलनामा महिलालाई बढी समस्या रहेको उनको अनुभव छ । ‘महिलालाई यो क्षेत्रमा ठूलो कठिनाइ छ, केही महिला यो क्षेत्रमा भएपनि अझ पनि महिलालाई पत्याउने अवस्था छैन,’ उनी भन्छिन्, ‘विश्वास आवश्यक छ ।’

‘महिला पनि ठेक्कापट्टा गर्न सक्छन् भन्ने प्रश्न उठ्ने गर्छ । तर, हामीले काम गरेर देखाएका छौं,’ उनी भन्छिन्, विगतको तुलनामा अहिले महिलाले पनि गर्न सक्छन् है भन्ने विश्वास जागेको छ ।’

उनले कान्तिपथ सडक निर्माणदेखि अन्य धेरै ठूला आयोजना सफलताका साथ सम्पन्न गरेको सुनाइन् । उनी निर्माण व्यवसायी महासंघकी केन्दीय सदस्य हुन् भने पुर्वाधार महिला महासंघकी अध्यक्ष पनि हुन् ।

पूर्वाधार महिला महासंघ भनेको निर्माण क्षेत्रको महिलाहरुको संगठन हो । यो दर्ता गरेको दुई महिना भएको छ । महिलाहरुलाई निर्माण क्षेत्रमा ल्याउनका लागि यो संस्थाको स्थापना गरिएको उनले सुनाइन् ।

Share News