तीनकुने घरभित्रको त्यो ‘अन्तिम आवर’ : म बल्लतल्ल बाँचे, सुरेश दाई अस्ताए

हातका औंला काँपिरहेका छन् । क्यामेराको सटर थिच्ने यी औंला आज किबोर्ड थिच्न मानिरहेका छैनन् । तर, कतिपय भिडियो र तस्बिरमा कैद हुन नसकेका विषयलाई शब्दजालले सहयोग गरिदिँदा रहेछन् । मैले कतै पढेको थिएँ, ‘हजारौं शब्द एउटै तस्बिरले बोल्छ ।’ तर, म त्यही तस्बिर खिच्ने मान्छे आज कनिकुथी शब्द खेलाएर सन्देश दिँदैछु । उसो त आन्दोलन मलाई झर्को लाग्छ । सकेसम्म देश शान्त रहोस्, हामी सबै सुखी र खुसी रहूँ भन्ने मनोकांक्षा सबैको हुन्छ । तर, सबैको आकांक्षा, चाहना र मनसाय कहाँ एउटै हुँदो रहेछ र ! विगतमा विभिन्न उश्रृङ्खल गतिविधि गरेर जनतालाई भड्काउँदै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन हुने खबर सुनियो । आन्दोलन नहोस् भन्ने चाहना भएपनि हामी फोटो/भिडियो पत्रकारको काम त्यहाँ पुग्नै पर्ने । समाचार त फोनबाट सोधेर पनि लेख्न सकिन्छ होला तर फोटो र भिडियोका लागि भने फिल्डमा दगुर्नै पर्ने । यही बाध्यता, विवशता र आफ्नो कामप्रतिको धर्म र इमानदारिताले पनि म १५ गते हुने गणतन्त्रवादी अर्थात् समाजवादी मोर्चा नेपाल र राजावादीले गर्ने प्रदर्शनको रिपोर्टिङका लागि १४ गतेदेखि नै खटिएँ । १४ गते राति ११ बजे प्रदर्शनी मार्गमा पुगेर विकासन्यूजको फेसबुक पेजबाट त्यहाँको तयारीको विषयमा प्रत्यक्ष प्रसारण गरें । धमाधम स्टेज निर्माणको काम हुँदै थियो । ठाउँ-ठाउँमा माइक राखिँदै थिए । गणतन्त्रवादीको प्रदर्शन १५ गते भव्य र सभ्यका साथ हुन सक्ने आँकलन मैले त्यतिखरै गरें । मञ्च व्यवस्थापन तथा अन्य तयारी गरिरहेकाहरुसँग कुराकानी गर्दा महसुस गरेको कुरा थियो त्यो । प्रदर्शनी मार्गको तयारीको अवस्थामा अपडेट सकाएपछि तीनकुनैतर्फ लागें । साथमा सहकर्मी महेश पौडेल पनि हुनुहुन्थ्यो । हामीबीच भोलि अर्थात् १५ गते हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शन कस्तो होला ? भन्ने कुरा बाटोमा चलिरह्यो । हामी तीनकुने पुग्यौं । पत्रकारिता पढेको र गरिरहेको हिसाबले पनि मलाई कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रही हुनु हुँदैन । समाचार सामग्रीहरू सन्तुलित हुनुपर्छ भन्ने थोरबहुत ज्ञान छ । यही विषयलाई महसुस गर्दै हामी प्रदर्शनी मार्गको लाइभ सकेर तीनकुने पुगेका थियौं । तीनकुनेमा पनि राजावादीले धमधाम तयारी गर्दै थिए । त्यहाँ पुगेर पनि साढे ११ बजे लाइभ गरें । प्रदर्शनी मार्गजस्तै मैले त्यहाँ पनि तयारी गरिरहेकाहरूसँग कुराकानी गरें । भोलिको राजावादीको प्रदर्शन उश्रृङ्खल बन्न सक्ने आँकलन मैले त्यतिखेरै गरें । १५ गतेको प्रदर्शनीका लागि तोकिएको कमाण्डर दुर्गा प्रसाईंले नेतृत्व गर्ने जत्थाले के-कतिसम्म र कस्तो हर्कत देखाउँछन् भन्ने कुरा जोकोहीले पनि सहजै पूर्वानुमान लगाउन सक्छन् । मैले पनि त्यहाँ कुराकानी गर्दा त्यस्तै महसुस गरें । मैले १५ गते हुने गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनीमध्ये राजावादीको प्रदर्शन रोजें । केही चुनौतीपूर्ण र सकसपूर्ण हुने भएपनि फोटो पत्रकारका लागि मुडभेड र आन्दोलन तस्बिर खिच्न उद्देलित नै गर्छ । यो मेरो भोगाइ हो । स्टेजमा बोलिरहेका नेताहरूका तस्बिर खिच्नुभन्दा सडकमा उफ्रिन सक्ने राजावादीको तस्बिर र भिडियोहरू चर्चामा आउन सक्ने आत्मबोध गर्दै म तीनकुनेतर्फ लागें । सहकर्मी बटुराज गिरी गणतन्त्रवादीको प्रदर्शनीको कभरेज गर्न गए । फोटो पत्रकारिता यस्तो काम हो जति गरेपनि जस्तो गरे पनि आत्मसन्तुष्टि नहुने । तस्बिरको तिर्खा लागिरहने । भइरहेको कामलाई थप गरौं भन्ने चाहना हुने । एउटा फोटो खिचिसकेपछि अर्को राम्रो फोटो आउँछ कि भनेर थप लालायित बनिहाल्ने । यही चाहना र लोभले कामको शिलशिलामा सँगसँगै फिल्डमा भेटिरहने फोटो पत्रकार दाई सुरेश रजकको काम गर्दागर्दै ज्यान गयो । यो विषयमा एकछिन पछि कुरा गर्छु । चैत १५ गते बिहान ११ बजे नै सुरु हुने भनिएको राजावादीको प्रदर्शन साढे ११ बजिसकेको थियो सुरु हुने छाँटकाट थिएन । साढे ११ बजेसम्म सीमित प्रदर्शनकारी मात्रै तीनकुने आइपुगेका थिए । केही समयपछि एउटा समूह चाबहिल र अर्को समूह कोटेश्वरबाट र्‍याली निकाल्दै तीनकुनेमा आइपुग्यो । तीनकुनेमा हुने भनिएको प्रदर्शन फिल्ड नै वेवास्ता गर्दै बानेश्वरतर्फ लम्कियो । सञ्चारकर्मीहरूले प्रदर्शनकारीहरूसँग कुराकानी गर्न थाल्यौं । उनीहरु भन्दै थिए, ‘मिडियामा बोलेर केही हुँदैन, जाऔं बानेश्वरमा सुरक्षाकर्मीले लगाएको बार भत्काऔं ।’ उनीहरूको रफ्तार बढ्दै गयो । १४ गते राति राजावादीको आन्दोलन अराजक बन्न सक्छ भन्ने जुन आँकलन मैले गरेको थिएँ, त्यहाँको हाउभाउले पनि त्यस्तै देखाउँदै थियो । शान्तिनगरको गेटमा सुरक्षाकर्मीले बार लगाएका थिए । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ थिए । राजावादी उग्र बन्दै गए । जसरी पनि त्यो बार भत्काउने होडमा उनीहरू थिए । सुरक्षाकर्मीले यो प्रदर्शनले उग्ररूप लिन सक्ने अनुमान गरेका हुन सक्छन्, त्यतिबेलै प्रहार भयो, ‘अश्रुग्यास’ । त्यही अश्रुग्यास अभिशाप बन्यो । राजावादी थप उग्र बने । सरकारले आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाए । निरन्तर अश्रुग्यास प्रहार भएपछि राजावादीका समर्थक तितरबितर बने । आन्दोलन साम्य बन्यो । अब राजावादी समर्थक छिन्नभिन्न भएको र घर लागिसकेको अनुमान सुरक्षाकर्मीले लगाए । तैनाथ भएका सुरक्षाकर्मी केही घटे । तर, त्यति नै बेला त्यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसँगै रविन्द्र मिश्र, धबलशमशेर राणा लगायत नेताहरू तीनकुनेमा प्रवेश गरे । तितरबितर भइसकेका समर्थकलाई कार्यक्रमस्थलमा आउन उनीहरूले निर्देशन दिए । नडराएर अगाडि बढ्न ढाडस दिए । नेताहरूको त्यो ढाडसपछि आन्दोलनकारीहरू थप उत्साहित बने । अनि सुरु भयो ढुङ्गामुढाको वर्षा । प्रदर्शनकारीले ढुङ्गामुढा हान्ने र सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्ने शिलशिला निरन्तर चलिरह्यो । हामी ती गतिविधिलाई निरन्तर क्यामेरामा कैद गरिरह्यौं । प्रदर्शन थप उग्र बन्दै थियो । केहीले यही घरबाट हो अश्रुग्यास प्रहार भएको भन्दै त्यस घरतर्फ ढुङ्गामुढा गर्न थाले । अहिले सामाजिक सञ्जालमा जुन घरको तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्, त्यही घर राजावादीका समर्थकको टार्गेटमा पर्‍यो । त्यो घरमा निरन्तर ढुङ्गामुढा बर्सिए । केहीले एमालेका नेता महेश बस्नेतको घर भने । केहीले ठूलो व्यवसायीको घर भने एक कान दुई कान हुँदै सिसाको त्यो घर ओडारजस्तो बन्यो । प्रदर्शनकारीले घरको सटर तोडेरभित्र पसे । माथिबाट सामान खसालेर तल फ्याँक्न थाले । सुरक्षाकर्मी त्यहाँ गएर प्रर्दशनकारीलाई तह लगाउने साहस गरिरहेको थिएन । सुरक्षाकर्मी नै घाइते भइसकेका थिए । केहीको बन्दुक पनि प्रदर्शनकारीले खोसिसकेका थिए । सुरक्षाकर्मी टुलुटुलु हेर्न बाहेकको विकल्प रोज्न सकिरहेका थिएनन् । भित्रको सामान निरन्तर तल खसालिँदै थियो । माथिबाट सामान खसालेको र तलको भीड देखाउने लोभले मसहित फोटो पत्रकार स्वर्गीय सुरेश रजक र अन्य दुई जना फोटो पत्रकार त्यही ढुङ्गा बर्सिरहेको घरभित्र छिर्यौं । भित्रको माहोल शब्दले बताइनसक्नु थियो । सीमित मोमेन्टहरू क्यामेरामा कैद भएका छन् । तर, धेरै हर्कतहरू स्मृतिमा छचल्किरहेका छन् । घरभित्र छिरेका केही प्रदर्शनकारीहरूले केहीले खल्ती त केही झोला भरिरहेका भिडियो तपाईंहरूले हेरिसक्नु भएको छ । ती भिडियो र तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै छन् । मैले पनि मेरो क्यामेरामा एकजनाले कोठाबाट ल्यापटप लिएर बाहिरिँदै गएको भिडियो कैद गरें । मानवनता देखाउँदै ती व्यक्तिलाई यस्तो काम नगर्न सुझाव दिएँ । अहँ, तर त्यतिधेरै भित्र छिरेका प्रर्दशनकारीकासामु हामी दुई/तीन जना पत्रकारको केही चलेन । म खिच्दै थिएँ । प्रदर्शनकारी आएर भिडियो डिलिट गर्न धम्की दिए । क्यामेरा फुटाइदिने चेतावनी दिए । त्यतिखेरै एक जना फोटो पत्रकार म नजिक आएर उनीहरूलाई उल्टै हप्काए । हाम्रो काम यही हो, तिमीहरू के गर्न सक्छौ भनेर आक्रोश पोखेपछि हतास हुँदै हतार–हतारमा उनीहरू सामान बोक्दै बाहिर लागे । त्यतिबेलासम्म अरू पत्रकार घर बाहिर पुगिसकेका थिए । म भिडियो खिच्दै थिएँ । एभिन्यूजका स्व. सुरेश रजक पनि तोडिएको झ्यालबाट बाहिरिको भिडियो खिच्दै थिए । प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए । स्व. सुरेश त्यहीँ नजिक थिए । उनले कसैलाई फोनमा भन्दै थिए- ‘दाई मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन । म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ । छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत माँगें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ । घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाई आगो नजिकै आइसक्यो रे ! झरौं तल ।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’ म तल झर्दै गर्दा एउटा कोठामा अर्का प्रदर्शनकारी ल्यापटप चोर्दै थिए । मैले उनको भिडियो खिँचें । उनलाई त्यो ल्यापटप त्यहीँ राख्न आग्रह गरें । उनी सडकमा फाल्ने भन्दै बाहिर दौडिएँ । म पनि उनलाई पछ्याउँदै बाहिरिएँ । आगोको मुस्लो थियो । क्यामराको लेन्सले उनलाई थप कैद गर्न सकेन । त्यतिसम्म बाहिरबाट भित्र जान सक्ने अवस्था थिएन । ढुङ्गामुढा निरन्तर बर्सिरहेका थिए । आगोले अराजक रूप लिँदै थियो । धुवाँको मुस्लोले मान्छेहरूलाई नदेख्ने अवस्था बनिरहेको थियो । मलाई थाहा थियो, माथि पत्रकार सुरेश रजक छन् । म नजिकै रहेका प्रहरीकहाँ गएर भित्र एक जना पत्रकार रहेको सुनाएँ । ती प्रहरी अधिकारीले वाकीटकीमा कुरा गरेजस्तो गरेर उभिएको ठाउँबाट उता सरे । फेरि आए उताबाट आएर ती प्रहरीले मलाई सोधे– माथि कति जना छन् ? मैले भने ‘एक जना ।’ त्यहीबेलै एभिन्यूजकै अर्का पत्रकारले आफ्नो सहकर्मी माथि नै रहेको प्रहरीलाई सुनाए । मैले भर्खर फोन गरेको उहाँले माथि नै छु भन्नु भएको छ, उहाँको उद्धार गर्नु परेको भन्दै ती पत्रकारले प्रहरीसँग बिन्ती बिसाउँदै थिए । अहँ, प्रहरीले वाकीटकीमा बोल्ने बाहेकको काम गर्न सकेन । आगो दन्किदै थियो । साइरन बजाउँदै दमकल आयो । अब पत्रकार सुरेशको उद्धार हुने झिनो आशा पलायो । तर, प्रदर्शनकारीले दमकललाई बस्न दिएनन्, आगो निभाउन दिएनन् । दमकलमाथि नै उनीहरूले ढुङ्गामुढा गरे । विडम्बना, पत्रकार सुरेश रजकले भित्रै ज्यान गुमाउनु पर्‍यो । दिनभरको थकित ज्यानलाई बिसाउन साँझ ७ बजे बागबजारमा रहेको कार्यालयमा आइपुगें । दिनभरको आफूले भोगेको र देखेको अनुभूतिहरू सम्पादक सरलाई सुनाएँ । उहाँले त्यतिबेलै ब्लग लेख्न सुझाउनु दिनुुभयो । मैले आँट गरिनँ । क्यामेराको बटन थिच्ने बानी परेको म ल्यापटपको किबोर्ड थिच्न उत्साह आएन । तर, आज तीन दिनपछि कनिकुथी मनको बह पोखें । अहिले पनि लागिरहेको छ, यदि मैले तल झरौं भनेको बेला सुरेश दाईले सँगै आइदिएको भए उनको ज्यान बच्थ्यो कि ! उच्च शिक्षाका लागि हुम्लाबाट काठमाडौं आइयो बाध्यताबस् पत्रकारिता पेसामा छिरेको म अहिले यही पेसा आदत बन्यो । धेरैले भन्छन्, ‘आफ्नो ज्यानलाई चुनौतीमा राखेर काम नगर ।’ तर, काम गर्ने बेला ज्यानको प्रवाह नहुँदो रहेछ । सुरेश दाईले पनि एउटा एक्सक्लुसिभ फुटेजको लोभमा आफ्नो ज्यानलाई आगोमा जलाए । हार्दिक श्रद्धाञ्जली सुरेश दाई !

चीनले कसरी ईभी बजारमा प्रभुत्व जमायो ?

सन् २०२५ मा लन्च हुने चिनियाँ विद्युतीय सवारीसाधनहरू । काठमाडौ‌ । अमेरिकाले समय गुमायो र चीनले विद्युतीय सवारीसाधन (ईभी) साम्राज्य निर्माण गर्‍यो । ‘उनीहरूले उत्तर अमेरिकाबाहेक विश्वभर कब्जा जमाउँदैछन्,’ चिनियाँ अटो उद्योग विशेषज्ञ लेई सिङले भने, ‘अमेरिका अन्तिम चुनौती बन्नेछ ।’ पछिल्लो १५ वर्षमा चीनले १ करोडभन्दा बढी सार्वजनिक चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । अरबौं चालकहरूलाई अनुदान तथा अन्य प्रोत्साहनमार्फत विद्युतीय सवारी प्रयोग गर्न उत्प्रेरित गर्‍यो र १०० भन्दा बढी विद्युतीय सवारी ब्रान्डहरू विभिन्न मूल्य विकल्पसहित प्रस्तुत गर्‍यो । यो परिवर्तनलाई सिङले ‘चाइना स्पीड’ को उत्कृष्ट उदाहरण दिए, जसले चीनको तीव्र विकासलाई दर्शाउँछ । यो तीव्र गतिको विशाल रूपान्तरणका कारण चीनले अमेरिका र अन्य सबै देशहरूलाई उछिनेर विद्युतीय सवारीको प्रवृत्तिमा अग्रस्थान हासिल गरेको हो । चीनले कसरी ईभी बजारमा प्रभुत्व जमायो ? चीनको विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रता एकै रातमा आएको होइन । यसको प्रमुख कारण- चीनले एक दशकभन्दा बढी समयअघि नै ईभीलाई २०औं शताब्दीको सुरुवातमा हेनरी फोर्डले अटोमोबाइल उद्योगमा ल्याएको क्रान्ति जत्तिकै महत्त्वपूर्ण नवाचार(केही नयाँ तथा उपकारी तरिका) को रूपमा चिन्यो । विद्युतीय सवारीसाधनमा अग्रस्थान हासिल गर्ने दृढ इच्छाका साथ बेइजिङले आफ्नो आर्थिक शक्ति ईभी विकासमा लगानी गर्‍यो । यो रणनीति सन् १९७० र ८० को दशकमा जापानको अटो उद्योगलाई माथि उठाउन अपनाइएको केन्द्रीकृत औद्योगिक नीतिसँग मिल्दोजुल्दो थियो । सिङका अनुसार २००९ मा चिनियाँ सरकारले विद्युतीय सवारीसाधन नेटवर्कको आधार तयार गर्न एक प्रायोगिक अनुदान कार्यक्रम सुरु गरेको थियो । ‘दश सहर र हजार गाडी’ नामक यस योजनाको उद्देश्य बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका लागि नयाँ विद्युतीय र हाइब्रिड सवारीसाधनलाई अनुदान प्रदान गर्नु थियो । चीनको नम्बर वान ईभी- बीवाईडी २०१३ देखि सरकारले विद्युतीय सवारीको दायराको आधारमा वर्गीकरण गरिएको अनुदान प्रणालीमार्फत व्यक्तिगत उपभोक्ताहरूलाई पनि अनुदान दिन थाल्यो । यो योजना २०२२ मा बन्द गरियो तर त्यस समयमा चीन ईभी बजारमा अग्रस्थानमा पुगिसकेको थियो । साथै सरकारले विद्युतीय सवारीसाधनको लागत घटाउन १० प्रतिशत बिक्री कर छुटको सुविधा प्रदान गर्‍यो, जुन २०२७ सम्म क्रमशः हटाइनेछ । रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र (सीएसआईएस) को एक प्रतिवेदनअनुसार २००९ देखि २०२३ सम्म चिनियाँ सरकारले कुल २३१ अर्ब डलरको अनुदान प्रदान गरेको छ । यो अनुदान प्रणाली निकै प्रभावकारी सावित भयो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीनमा नयाँ विद्युतीय गाडी दर्ता २०२३ मा ८१ लाख पुगेको थियो, जुन २०२२ को तुलनामा ३५ प्रतिशतले वृद्धि हो । चार्जिङ पूर्वाधारमा चीनको अग्रता चीनले ईभी चार्जिङ पूर्वाधार निर्माणमा पनि अग्रस्थान बनाएको छ । राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार २०२४ को जुनसम्ममा चीनमा कुल १.०२ करोड ईभी चार्जरहरू थिए, जुन अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । चीनले मात्र संख्यात्मक रूपमा अमेरिकाभन्दा अग्रता लिएको छैन, गुणस्तरीय रूपमा पनि उछिनेको छ । सिङका अनुसार चीनको चार्जिङ प्रणाली अत्यधिक सुव्यवस्थित छ, जहाँ सबै प्रकारका गाडीका लागि एउटै मानक प्लग प्रयोग हुन्छ । ‘तपाईंलाई प्लग वा एडप्टरका प्रकारबारे सोच्नुपर्दैन, कुन चार्जिङ स्टेशन प्रयोग गर्ने भनेर चिन्ता लिनुपर्दैन,’ उनले भने । चीनको अर्को फाइदा- कच्चा पदार्थ र सेमिकन्डक्टर चिप्स चीनलाई ईभी उत्पादनका लागि आवश्यक महत्त्वपूर्ण कच्चा पदार्थ उपलब्ध हुने फाइदा छ । आईईएका अनुसार सन् २०३० सम्म ईभी ब्याट्री उत्पादनका लागि आवश्यक ९० प्रतिशत ग्रेफाइट र ७७ प्रतिशत प्रशोधित दुर्लभ खनिज चीनबाट आपूर्ति हुनेछ । अटोमोटिभ इनोभेसन एलायन्सका अनुसार हाल अमेरिका आफ्नो सम्पूर्ण ग्रेफाइट आपूर्ति आयात गर्छ, जसको एक तिहाइ चीनबाट आउँछ । चीनलाई सेमिकन्डक्टर चिप उत्पादनको नजिक हुनुको फाइदा पनि छ । ईभीपासपोर्टका सीईओ हुमन शाहीदीका अनुसार ताइवान जुन चीनको छेउमै छ, विश्वका ९० प्रतिशत अत्याधुनिक चिप उत्पादन गर्छ । ‘अमेरिका र क्यानडा चीनमाथिको निर्भरता हटाउन प्रयासरत छन्, तर यो कार्य शब्दमा भन्दा व्यवहारमा कठिन छ,’ सिङले भने, ‘मलाई लाग्छ, यसको समाधान गर्न कम्तिमा एक दशक लाग्नेछ ।’ के अमेरिका अझै प्रतिस्पर्धा गर्न सक्छ ? अमेरिकी चालकहरू ईभी अपनाउने मामिलामा सुस्त छन् । विशेषज्ञह‍रू अमेरिका प्राविधिक दक्षता र आर्थिक क्षमता भएकोले अझै दौडबाट नबाहिरिएको बताउँछन् । यदि राजनीतिक इच्छाशक्ति बलियो भयो भने ईभी प्रणाली छिटो विस्तार गर्न सक्छ । अटोमोटिभ इनोभेसन एलायन्सका सीईओ जोन बोज्जेल्लाका अनुसार आगामी केही वर्षहरू अमेरिकी ईभी विकासका लागि सबैभन्दा महत्त्वपूर्ण हुनेछन् । चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले के गर्नुपर्छ? कारबिकका सीईओ बाराटुन्डे कोलाका अनुसार अमेरिका रोबोटिक्स र स्वचालित असेम्ब लीमा थप लगानी गर्नुपर्छ, उन्नत सामग्रीहरूमा लगानी बढाउनुपर्छ र महत्त्वपूर्ण खनिजहरूको उत्पादन बलियो बनाउँदै चीनमाथिको निर्भरता कम गर्नुपर्छ । ‘यदि हामी नयाँ प्रविधिहरू, जस्तै कार्बन न्यानोट्यूबहरूको मापन विस्तार गर्न केन्द्रित भयौं, यदि हामी रोबोटिक्समा दोब्बर लगानी गर्‍याैं भने हामी चीनलाई पछ्याउन सक्दछौं र एक दशकभित्र विश्व नेता बन्न सक्दछौं,’ उनले भने । चार्जिङ पूर्वाधार निर्माणमा ध्यान अमेरिकाको अर्को मुख्य प्राथमिकता चार्जिङ पूर्वाधारको विस्तार हो । ‘हामीले थप चार्जरहरू राख्नका लागि यो कार्य सम्पन्न गर्ने थप जनशक्ति आवश्यक छ,’ शाहीदीले भने । अमेरिकामा हाल २ लाखभन्दा बढी सार्वजनिक चार्जिङ पोइन्टहरू रहेका छन् । ट्रम्प प्रशासनको गलत कदम राष्ट्रपति डाेनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी अघिल्लो प्रशासनको २०३० सम्म नयाँ बिक्री हुने ५० प्रतिशत सवारीसाधन विद्युतीय हुने लक्ष्य खारेज गरेका छन् । संघीय राजमार्ग प्रशासनले राष्ट्रिय विद्युतीय सवारीसाधन पूर्वाधार कार्यक्रमलाई स्थगित गर्दै ईभी चार्जिङ स्टेशनहरूको विस्तारका लागि विनियोजन गरिएको करिब ३ अर्ब डलर रोक्का गरेको छ । सबै आयातित सवारीसाधन र पार्ट्सहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरिएको छ, जसले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा भर पर्ने ईभीहरूको लागत र उपलब्धतामा असर पार्न सक्छ । प्रशासनले जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै स्वच्छ ऊर्जा परियोजनाका लागि प्रदान गरिएका अनुदानहरू रद्द गरेको छ । यस्ता कदमहरूले चीनलाई झन् बढी फाइदा हुने र अमेरिका पछि पर्ने विज्ञहरू बताउँछन् ।

प्रचुर सम्भावनाको उत्कृष्ट नगरपालिका, ‘पानी जहाजदेखि पर्यटनको हब बन्ने सम्भावना’

काठमाडौं । आर्थिक समुन्ततिको क्षेत्रमा गरेको असल अभ्यास र प्राप्त परिणामको आधारमा ‘स्थानीय आर्थिक विकास र सुशासन’को क्षेत्रमा ७५ प्रतिशत अंक प्राप्त गरी गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका हुन सफल भएको छ । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकालाई सम्मान गर्दै आएकोमा यस वर्ष ६ नगरपालिकालाई उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हो । जसमध्ये गैंडाकोट नगरपालिका पनि एक हो । नगरपालिका संघको ‘उत्कृष्ट नगरपालिका छनोट कार्यविधि २०७८’ अनुसार उत्कृष्ट नगरपालिका छनोटका आधारहरु तयार गरेको छ । कार्यविधिअनुसार ५ वटा विषयगत मूल्यांकनको आधारमा सिफारिस समितिले उत्कृष्ट नगरपालिका छनोट गर्न पाउने व्यवस्था छ । उत्कृष्ट नगरपालिका छनोट गर्दा अघिल्लो आर्थिक वर्षका अन्त्यसम्मका तथ्यांकलाई आधार मानी सबै सूचकको अंक गणना हुन्छ र त्यसको आधारमा उत्कृष्ट नगरपालिका छनोट हुने संघले जनाएको छ । कार्यविधिअनुसार संस्थागत विकास, सेवा प्रवाह र वित्तीय अनुशासन, सामाजिक विकास (शिक्षा, स्वास्थ्य), स्थानीय आर्थिक विकास र वन तथा वातावराण, जलवायु परिवर्तन÷उत्थानशीलताजस्ता विषयगत मूल्यांकनको आधारमा उत्कृष्ट नगरपालिका घोषणा हुन्छ । नवलपरासी जिल्लाको पूर्वी भागमा अवस्थित यो नगरपालिका १८ वटा वडामा विभाजित छ । नगरपालिका १५९.९३ वर्ग किमि क्षेत्रफल ओगटेको छ । कुल ७९ हजार ३४९ जनसंख्या रहेको यो नगरपालिका ‘हामी सबैको साझा अठोट शान्त सुन्दर गैंडाकोट’ भन्ने दीर्घकालीन सोंचका साथ समृद्धतर्फ उन्मुख छ । गैंडाकोट नगरपालिकाको प्रमुखमा मदनभक्त अधिकारी छन् । त्यस्तै, उपप्रमुखमा शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृतमा झविन्द्र खनाल रहेका छन् । स्थानीय निर्वाचनमा अधिकारी नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका थिए । नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले नगरपालिका उत्कृष्ट हुनका अनेक कारण रहेको बताए । मेयर अधिकारीका अनुसार नगरपालिकाले स्थानीय आर्थिक विकासको लागि लगानी प्रवद्र्धन र बजारीकरण, औद्योगिक ग्राम निर्माणको तयारी, गरिबी न्यूनीकरणको लागि तथ्यांक संकलन, योजना निर्माण र कार्यान्वयन, नागरिकको व्यवसाय, सीप विकास र प्रविधि हस्तान्तरण, उद्यम विकास र विस्तारमा यो नगरपालिकाले उल्लेखीनीय काम गर्दै आएको छ । गैंडाकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथामिकतामा रहेर आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहको छ । नगरपालिकाले यी क्षेत्रमा उल्लेखीनीय प्रगति गरेको प्रमुख अधिकारी बताउँछन् । उनका अनुसार नगरपालिकाले पाँच कक्षासम्म पूर्ण रुपमा निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । शिक्षाको गुणस्तर बढाउन विभिन्न निकायसँग छलफल समन्वय गर्दै आइरहेको उनले बताए । त्यसैगरी नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार पालिकामा एउटा नगर अस्पताल रहेको छ । त्यसबाहेक आधारभूत अस्पतालहरु सञ्चालनमा छन् । अन्य विभिन्न निजी अस्पतालहरु पनि नगरभित्र रहेका छन् । अस्पतालमा सबै खालको उपचार हुने गरेको र नगरअस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मात्रै अर्को जिल्ला अस्पताल रिफर हुने गरेको प्रमुख अधिकारीले बताए । अर्को जिल्लामा गएर उपचार गराउँदा खर्चिलो हुने हुँदा त्यसलाई मध्यनजर गरी नगरपालिकाले चितवन मेडिकल कलेजसँग उपचारमा छुटसम्बन्धी सम्झौता गरेको छ । गैंडाकोट नगरबासीले चितवन मेडिकल कलेजमा रिफर हुनुपरेमा २५ देखि ५० प्रतिशतसम्म छुट हुन्छ, प्रमुख अधिकारीले भने, ‘सम्पूर्ण उपचारमा नगरबासीले ५० प्रतिशतसम्म छुट पाउनुहुनेछ । त्यस्तै ओपिडीमा २५ प्रतिशत, फार्मेसीमिा ७ प्रतिशत छुट नगरबासीले पाउदै आउनुभएको छ । यसबाहेक महिनाको दुई पटक गाउँ –गाउँमा गएर विरामीलाई भिडियो एक्सरे सुविधा प्रदान गर्दै आएको छ । अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुले निशुल्क बेड उपलब्ध र पाँच हजार नगदसहित घरसम्म पु¥याउने सुविधासमेत प्रदान गर्दै आएको छ । कृषिमा आत्मर्निनर नगर गैंडाकोट नगरपालिकाको अर्थतन्त्रको मूख्य आधार कृषि नै हो । यहाँका अधिकांश बासिन्दा कृषिमा संलग्न छन् । जसले गर्दा गैंडाकोट कृषिमा आत्मनिर्भर हुदै आएको छ । साथै अन्य जिल्लामा निर्यातसमेत गर्दै आएको छ । यहाँ उत्पादन हुने प्रमुख खाद्यान्न धान र मकै हुन् । अधिकारीका अनुसार नगरभित्र वर्षभरी नै मकै उत्पादन हुने भएकाले यो पालिकालाई मकैको हबको रुपमा चिनिँदै आएको छ । तोरी राम्रो उत्पादन हुने हुँदा तोरीको हबको रुपमा पनि यो नगरलाई चिनिने उनले बताए । त्यस्तै फलफुलमा सुन्तला, केरा नगरभित्र प्रख्याद छ । यी फलफुलको विशेष खेती हुँदै आएको प्रमुख अधिकारी सुनाउँछन् । नगरपालिकाले कृषकको लागि आवश्यक मल, बिउ, विजन र बजेटमा सहयाता गर्दै आइरहेको छ । त्यस्तै कृषकलाई आवश्यक तालिम सञ्चालन गर्दै आएको छ । त्यसबाहेक मासुमा समेत यो नगर आत्मनिर्भर बन्दै आएको छ । धार्मिक संस्कृतिक र पर्यटकीय सम्भावना बोकेको नगर हो गैंडाकोट । प्रसिद्ध तिर्थस्थल देवघाट र त्रिवेणीबीच नारायणी नदीको साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेकोले नगरपालिकाको नारायणी तटमा रिभर बिच प्रवद्र्धन गर्न सकिने प्रमुख अधिकारी बताउँछन् । मदनभक्त अधिकारी । नारायणगढ, देवघाटजस्ता धार्मिक र पर्यटकीय ठाउँ नगरपालिकाबाट नजिकमा पर्ने हुँदा यसले व्यापार, व्यवसाय र उद्योगको सम्भावना छ । गैंडाकोटबाट नजिकै भरतपुर हुँदा पनि गैंडाकोटलाई त्यसको लाभ लिन सक्ने अवसर छ । त्यस्तै मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलास सन्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने अधिकारी बताउँछन् । चुनौती हरेक क्षेत्रमा चुनौतीसँगै अवसर जोडिने प्रमुख अधिकारी विचार राख्छन् । चुनौतीलाई अवसरको रुपमा बदलेर अघि बढ्नुपर्ने उनको सोच छ । नगरभित्र देखिएका समस्या र चुनौतीहरुलाई पहिचान गर्दै समाधनतर्फ पनि उत्तिकै जोड दिएको उनले बताए । उनका अनुसार नगरभित्रको मूख्य चुनौती खानेपानी रहेको छ । नगरभित्र १८ वडा वडाहरु रहेका छन्, सबै नागरिकालाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो तर हामीलाई यो उद्देश्य पूरा गर्न केही चुनौतीहरु छन् । १८ वटै वडामा खानेपानी उपलब्ध गराउनेगरी काम भइरहेको उनको भनाइ छ । नगरभित्रको अर्को चुनौती रोजगारी हो । यहाँ नगरबासीलाई उचित रोजगारीको अवसर नहुँदा युवाहरु विदेश पलायन हुने अवस्था रहेको प्रमुख अधिकारीले बताए । विदेश पलायन हुने समस्या नगरको मात्रै नभएर सिंगो देशकै समस्या औल्याउँछन् अधिकारी । प्रमुख अधिकारी भन्छन्, ‘देशमा रोजगारी छैन । हाम्रोमा पनि १२ कक्षा पास भएपछि युवाहरु विदेश नै जान खोज्छन् । उहाँहरुलाई रोक्ने प्रयास जारी छ, तैपनि उहाँहरु यहाँ बस्नै चाहनुहुन्न ।’ रोजगारीको उचित व्यवस्था गर्न सके युवालाई केही हदसम्म नेपालमै टिकाउन सकिने उनको भनाइ छ । नगरभित्र ठूला उद्योग फ्याक्ट्रीको संख्या कम हुँदा युवाहरुलाई नगरभित्रै रोजगारी सिर्जना गर्न समस्या भएको प्रमुख बताउँछन् । ‘साना फ्याक्ट्रीरुले मात्रै उहाँहरुको समस्या समाधान हुन गा¥हो छ । ठूला फ्याक्ट्रीको संख्या बढाउन सके, उहाँहरुलाई त्यतातिर लगाउन सकिन्थ्यो, उहाँहरुले सोचेनअनुसार तलब पाउनुहुन्थ्यो । युवाहरु चित्तबुझ्दो तलब नभएर नै नेपाल बस्न चाहँदैन । रोजगारीको क्षेत्रमा हामीले थप काम गर्नुपर्ने चुनौती छ ।’ आगामी योजना नगरपालिकाले आगामी दिनमा स्थानीय उत्पादन र वृद्धि, श्रम तथा रोजगारी सिर्जना गर्नको लागि त्यसअनुसारको नीति र बजेट विनियोजन गर्ने तयारी रहेको प्रमुख अधिकारी बताउँछन् । त्यस्तै उत्पदानशील सहकारी संस्थाको प्रवद्र्धन कृषि सहकारीमा नागरिकलाई आवद्ध गराउन उचित समन्वय, वित्तीय साक्षरता, सार्वजनिक निजी साझेदारीका अवधारणामा साझेदारी नीति र कार्यनीथि पारित गरी महत्वपूर्ण कार्य गर्दै आइरहेमा त्यसलाई निरन्तरता दिने र थप उत्कृष्ट हुने गरी योजनासहित काम गर्ने नगरको तयारी छ । प्रदेश र संघीय सरकारसँग स्थानीय तहबीचको समन्वय र सहकार्यको लागि संविधानले नै निश्चित क्षेत्र र अधिकार दिएको छ । यी तहहरूबीच समन्वय, सहकार्यमा देखिने समस्या गैंडाकोट नगरभित्र पनि रहेको प्रमुख अधिकारी बताउँछन् । अहिले पनि संघीय सरकारको बजेटमा पालिका चलेको हुँदा त्यही अनुसार स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढेको प्रमुख बताउँछन् । उनका अनुसार संघले स्थानीय तहमा आवश्यकता हेरेर बजेट विनियोजन हुनुपर्छ । उनले भने,‘आर्थिक रुपमा हामी कमजोर छैनौँ तर अझै धेरै कुरामा संघीय सरकारकै भर पर्ने हुँदा अब आफनै बलबुत्तले आर्थिक रुपमा थप बलियो हुने प्रयास गरिरहेका छौँ ।’