सगरमाथाको चुचुरोमा ८ हजार बढीले पाइला टेके, कुन हिमालमा कति ?

काठमाडौं । पछिल्लो पाँच आर्थिक वर्षमा आरोही तथा सहयोगी समूह गरी २ हजारभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२४’ का अनुसार सन् २०१९ देखि सन् २०२३ सम्ममा २ हजार ४२० जना सगरमाथा चढ्न सफल भएका हुन् । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी ६४४ जनाले सगरमाथा चढेका छन् । सन् २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । त्यस्तै सन् २०२१ मा आरोही तथा सहयोगी समूह गरी कुल ४५९ जनाले सगरमाथा आरोहण गरेका छन् । जसमा १८३ आरोही र २७६ सहयोगी छन् ।  सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ । सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए । पाँच आवमा सगरमाथा चढ्ने आरोही र सहयोगीको विवरण : ८ हजारभन्दा बढीले टेके सगरमाथा, ६ सयभन्दा बढी महिला सगरमाथा आरोहणको इतिहासमा हालसम्म ८ हजार २८५ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा चढेका छन् । विभागको तथ्यांक अनुसार सन् २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् भने सन् २०१० देखि सन् २०२३ सम्ममा ५ हजार ५७८ जनाले सगरमाथाको चुचुरोमा पाइला राखेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र ६ सय ४१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । नेपालबाट भने  पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । ८ हजारभन्दा माथिका कुन हिमालमा कति आरोही ? सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा सन् २०२३ सम्ममा ३ हजार २३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि लोत्से हिमालमा १ हजार १२४ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् । विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको सन् २०२३ सम्मको तथ्यांकअनुसार ५८५ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् । मकालुमा ७४४, धौलागिरि हिमालमा ६८६, अन्नपूर्णमा ४८८, यालुङमा ५३ र चोयुमा १४ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।   

ट्रम्पका ट्यारिफमाथि पहिलो जवाफी कारबाही गर्न ईयू एकताको खोजीमा

काठमाडौं । युरोपेली आयोग (ईयू) का देशहरू आगामी दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफहरू विरुद्ध एकीकृत मोर्चा प्रस्तुत गर्ने प्रयास गर्दैछन् । उनीहरूले सम्भवतः डेन्टल फ्लसदेखि डायमण्डसम्मका २८ अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमा लक्षित प्रतिकारात्मक कदमहरू स्वीकृत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तो कदमले ईयूलाई चीन र क्यानडासँग मिलेर अमेरिकाविरुद्ध प्रतिशोधस्वरूप ट्यारिफहरू लगाउने पंक्तिमा ल्याउनेछ, जुन केही व्यक्तिहरूले विश्वव्यापी व्यापार युद्धमा परिणत हुने चिन्ता व्यक्त गरेका छन् । यसले अर्बौं उपभोक्ताका लागि सामानहरू महँगो बनाउनेछ र विश्वभरिका अर्थतन्त्रहरूलाई मन्दीमा धकेल्न सक्छ । २७ राष्ट्रीय ईयू समूहले स्टील, एलुमिनियम, गाडीहरूमा २५ प्रतिशत आयात शुल्क र अन्य लगभग सबै सामानहरूमा बुधबारदेखि २० प्रतिशत 'पारस्परिक' शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पका ट्यारिफहरूले ईयूका अमेरिका निर्यात गरिने लगभग ७० प्रतिशत वस्तुहरूलाई असर पार्नेछन्- जुन गत वर्ष कुल ५३२ अर्ब युरो (५८५ अर्ब डलर) को बराबरमा थियो- र यसमा अबसम्म तामा, औषधी, अर्धचालक काठजस्ता वस्तुहरू बाँकी छन् । ईयूको व्यापार नीति समन्वय गर्ने युरोपेली आयोगले सोमबार साँझ सदस्य देशहरूलाई ट्रम्पका स्टील र एलुमिनियम ट्यारिफहरूको जवाफस्वरूप अमेरिकी उत्पादनहरूमा अतिरिक्त शुल्क लगाउने वस्तुहरूको सूची प्रस्ताव गर्नेछ, जुन व्यापक पारस्परिक शुल्कभन्दा फरक हुनेछ । उक्त सूचीमा अमेरिकी मासु, अन्न, वाइन, काठ, लुगा साथै चेविङ गम, डेन्टल फ्लस, भ्याकुम क्लिनर र ट्वाइलेट पेपर समावेश हुने छ । एक वस्तु जसले ईयूमा विवाद निम्त्याएको छ, त्यो हो बोर्बन (अमेरिकी रक्सी) । आयोगले यसमा ५० प्रतिशत ट्यारिफ प्रस्ताव गरेको छ, जसको जवाफस्वरूप ट्रम्पले ईयूको मदिरामा २०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । वाइन निर्यात गर्ने फ्रान्स र इटालीले चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र व्यापारमा आधारित ईयू अर्थतन्त्रले ट्रम्पलाई वार्तामा ल्याउने दबाव कायम राख्न प्रतिक्रिया दिनुअघि व्यापक समर्थन जुटाउन चाहन्छ । लक्सेम्बर्गले सोमबार बिहान ट्रम्पले ट्यारिफ घोषणा गरेपछि पहिलो ईयू–स्तरीय राजनीतिक बैठक आयोजना गर्नेछ, जसमा २७ सदस्य राष्ट्रका व्यापार मन्त्रीहरू छलफलमा सहभागी हुनेछन् । ईयूका कूटनीतिज्ञहरूका अनुसार बैठकको मुख्य उद्देश्य एकीकृत सन्देश दिनु हो– अर्थात् अमेरिकासँग वार्ताको चाहना व्यक्त गर्दै आवश्यक परेमा प्रतिकारात्मक कदम चाल्न तयार रहेको सन्देश । 'ब्रेक्सिटपछि हाम्रो सबैभन्दा ठूलो डर दुईपक्षीय सम्झौताहरू र एकताको विघटन थियो, तर तीन–चार वर्षको वार्तामा त्यो भएन । यहाँ फरक विषय भए तापनि सबैले साझा व्यापार नीतिमा चासो देख्छन्,’ एक ईयू कूटनीतिज्ञले भने । प्रतिशोधात्मक ट्यारिफहरू ईयू सदस्यहरूबीच जवाफ कसरी दिने भन्नेमा विविध धारणा छन् । फ्रान्सले ट्यारिफभन्दा परको उपाय अपनाउनु पर्ने भनेको छ भने राष्ट्रपति एमानुएल माक्रोंले युरोपेली कम्पनीहरूले अमेरिकाभित्र लगानी निलम्बन गर्न सुझाव दिएका छन् । अमेरिकामा झण्डै एक तिहाइ निर्यात गर्ने आयरल्याण्डले 'गम्भीर र सन्तुलित’ प्रतिक्रिया दिन आग्रह गरेको छ भने तेस्रो ठूलो अमेरिकी निर्यातकर्ता इटालीले प्रतिकार गर्नु नै उपयुक्त हो कि होइन भन्नेमा प्रश्न उठाएको छ । 'यो एक जटिल सन्तुलन हो । कारबाही धेरै नै हल्का भए अमेरिका वार्तामा आउँदैन, तर धेरै कडा भए झनै तनाव बढ्न सक्छ,' एक कूटनीतिज्ञले भने । अहिलेसम्म वासिङ्टनसँगका वार्ताहरू सफल भएका छैनन् । ईयू व्यापार प्रमुख मारोस सेफकोविचले शुक्रबार अमेरिकी समकक्षसँगको दुई घण्टा लामो कुराकानीलाई 'खुल्ला’ भन्दै अमेरिकी ट्यारिफहरू ’हानिकारक र अन्यायपूर्ण’ भएको बताएका छन् । प्रारम्भिक ईयू ट्यारिफहरू बुधबार मतदानमा लगिने छन् र जबसम्म ईयूका १५ सदस्य राष्ट्रहरूले जसले ईयूको ६५ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्छन्, उनीहरूले जबसम्म विरोध गर्दैनन् तबसम्म ती स्वीकृत हुनेछन् । यी दुई चरणमा लागू हुनेछन्- पहिलो भाग अप्रिल १५ मा र बाँकी एक महिनापछि । युरोपेली आयोग अध्यक्ष उर्सुला भन डेर लायनले पनि ट्यारिफको प्रभाव मूल्यांकन गर्न र आगामी कदम निर्धारण गर्न सोमबार र मंगलबार स्टील, गाडी र औषधि उद्योगका सीईओहरूसँग छुट्टाछुट्टै छलफल गर्नेछिन् । अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका  

संयुक्त वक्तव्यपछि नाडा नफुटेको चौधरीको दावी, अझै अन्यौलमा अटो शो

काठमाडौं ।  लामो समयदेखि अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट छुट्टिएर बनेको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा)  दुवै संस्था एकअर्काका परिपूरक भएर जाने विषयले अटो क्षेत्र तरंगित बनेको छ । अटो क्षेत्रमा नाडा हुँदाहुँदै अर्को संस्था जन्मिनु र नाडा अटो शो संकटमा परेको चर्चा सेलाउन नपाउँदै नाइमा र नाडा एक अर्काको परिपूरक भएर जाने विषय एकाएक चर्चामा आएको हो । नाइमाको आधिकारिक घोषणा नै भएको छैन । नाइमाले आगामी वैशाख ४ गते मात्रै आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने बताएको छ । तर, आइतबार नाडा र नाइमाले संयुक्त रूपमा अटो क्षेत्रको विकासका  लागि सहकार्य गरेको भन्दै विज्ञप्ति निकाले । यसले अब नाडाले अटो शो गर्छ वा नाइमाले पनि आफ्नै आयोजनामा अटो शो गर्छ भन्ने आममानिसमा खुलदुली छ ।  संयुक्त विज्ञप्ति र तस्बिरहरू सार्वजनिक गरिए पनि आगामी भदौमा हुने नाडा अटो शोलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने कुनै छलफल नै भएको छैन । हालसम्म नाडाले घोषणा गरेको अटो शोमा तीन व्यावसायीक घरानाबाहेक कसैले पनि इच्छा देखाएको छैन । जसका कारण नाडा अटो शो के हुन्छ र कसरी अगाडि बढ्छ भन्ने अन्यौल कायमै छ । यो विषयमा नाइमा र नाडालाई बुझ्दा उनीहरूले अहिले कुनै छलफल नभएको बताउँछन् ।  नाइमामा आवद्ध रहेका एक सदस्यका अनुसार सहकार्य गर्ने तर अटो शोलगायत अन्य सबै कामहरू छुट्टाछुट्टै गरिने बताए ।  ती सदस्यले भने, ‘हामीले नाडालाई आयातकर्ताका रूपमा सहयोग गर्नेछौं । सहकार्य भनेको एउटै भएर जाने भनेका होइनौं । दुवै संस्थाको काम एउटै प्रकृतिको भएकाले हामीले सँगै जाने भनेका हौं । तर कामहरू फरक फरक नै हुन्छन् । नाडाले आफ्नो तरिकाले गर्छ भने हामीले आफ्नो तरिकाले गर्छौं ।’  'तपाईंलाई लाग्न सक्छ नाइमा नाडासँग मिलेर एउटै अटो शो गर्छन् भनेर तर हामी नाडा अटो शोमा सामेल हुदैनौं । हामीले मोबिलिटीको आयोजना गर्छाैं । मोबिलिटीको तयारी तीव्र रूपमा भइरहेको छ । अब छिट्टै स्टल बुकिङ खुलाउछौं,’ ती सदस्यले भने ।  उनले नाडा अटो शोमा आफूहरू सामेल हुन नसक्ने दाबी गरे । नाइमाले मोबिलिटी शो स्टल बुकिङको तयारी गरिरहेको समेत उनले जानकारी दिए ।  नाडाका अध्यक्ष करण चौधरी भने नाडा नफुटेको दावी गरिरहेका छन् ।  उनले विकासन्यूजलाई भने, ‘हामीले संयुक्त विज्ञप्ति निकालेका छौं । भ्रम फैलाइएको थियो । त्यही भ्रमलाई पुष्टि गर्नलाई छलफल गरेका हौं र नाडा  र नाइमा दुवै संस्थामा सदस्यहरू आवद्ध छन् ।’ उनले उक्त छलफलमा नाडा अटो शोका विषयमा कुनै छलफल नभएको बताए । अझै धेरै दिन बाँकी रहेकाले यसबारे पछि नै छलफल गरिने भनाइ उनको छ । भर्खरै पोखरामा नाडाको नेतृत्वमा सम्पन्न भएको वाडा अटो शोमा विभिन्न ३० वटा ब्राण्डका गाडीहरू सहभागिता रहेको थियो । वाडा अटो शोमा सबै गाडीहरू उपस्थित हुनुले नाडा अटो शोमा पनि उत्तिकै सहभागी रहने नाडाका एक सदस्यले दावी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा अटो शो सम्पन्न गरेका छौं। राम्रो भएको छ । धेरैले बुकिङ गराएका थिए । नाडा अटो शोमा पनि धेरैले स्टल बुकिङ गर्ने अपेक्षा गरेका छौं ।’  यद्यपि ती सदस्यका अनुसार भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शोमा हालसम्म चार पाङ्ग्रेतर्फ तीन ठूला कम्पनीबाहेक अन्यले स्टल बुकिङ गराएका छैनन् । यसैगरी, दुई पाङ्ग्रेतर्फ दुई कम्पनीले स्टल बुकिङ गराएका छन् ।  यता केही अटो व्यवसायीहरूले नाडा अटो शो नहुन सक्ने औंल्याउँछन् । नाइमासँग एक-अर्कासँग परिपूरक भएर जाने विज्ञप्ति जारी पछि नाडा अटो शो हुनेमा अटो व्यवसायीहरू मौन छन् ।