बैंक र बीमा व्यवसायका लागि चुनौती बन्दै एसआईपी
काठमाडौं । ‘दाई म त आजकल सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) गर्दैछु नि । बैंकमा ब्याजदर पनि कम छ । त्यसैले महिनाको २/३ हजार रुपैयाँ एसआईपीमा हाल्ने गरेको छु । राम्रो रिटर्न आउँछ भनेका छन् । १८/२० वर्षमा निकाल्ने योजनासहित एसआईपी गरिरहेको छु,’ दीपक विष्टले चियागफमा भने । ‘मैले पनि पछिल्लो समय एसआईपी भर्ने गरेकी छु । एसआईपीमा अझै लगानी बढाउने योजना छ । सेयर बजारमा समय दिन सकिँदैन । छोराको भविष्यका लागि लगानी गरिरहेकी छु । त्यसैले हामीजस्ता साना लगानीकर्ताहरूका लागि एसआईपी राम्रो छ,’ साेना तामाङले भनिन् । यी दुई प्रतिनिधि पात्रमात्रै हुन् । पछिल्लो समय एसआईपीमा लगानी गर्ने जमात बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार एसआईपी गर्नेको संख्या ७ लाखभन्दा बढी पुगिसकेको छ भने यसको आकार साढे १७ अर्ब रुपैयाँ नाघिसकेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएका ९ वटा कम्पनीको एसआईपी सञ्चालनमा छन् । धितोपत्र बोर्डका अनुसार एनआईएमबि एस क्यापिटलको एनआईबिएल सहभागिता फण्ड, एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डेब्ट फण्ड, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड-ई, लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोश, नबिल इन्भेष्टेमन्ट बैंकिङको नबिल फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना र सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड र प्रभु क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम सञ्चालनमा छन् । सबैभन्दा पहिला एसआईपीको सुरुवात एनआईएमबि एस क्यापिटलले गरेको हो । विसं २०७६ मा ५० करोड रुपैयाँबाट सुरु गरेको एनआईबिएल सहभागिता फण्डको आकार अहिले बढेर ६ अर्ब रुपैयाँ पुगेको छ । बिक्री खुला गरेको अवधिमा आवेदन दिएका सहित हालसम्म उक्त फण्डमा १ लाख १० हजार ३३६ जना इकाईधनीहरूले ५ अर्ब ९९ करोड ६१ लाख १२ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसपछि विसं २०७७ मा एनआईसी एसियाले ५० करोड रुपैयाँको एनआईसी एसिया डाईनामिक डेप्ट फण्डबाट सुरु गर्यो । हाल यस फण्डको स्वीकृत आकार २ अर्ब रुपैयाँ रहेको छ भने १ लाख ७ हजार ३४१ इकाईधनीले १ अर्ब ३६ करोड ४७ लाख ७६ हजार रुपैयाँ लगानी गरिसकेका छन् । त्यसैगरी, सिद्धार्थले २० करोड रुपैयाँको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम सुरु गरेको छ । यसको हालको स्वीकृत आकार २ अर्ब रुपैयाँ रहेको छ भने ६६ हजार ६३३ इकाईधनीले १ अर्ब ५६ करोड २१ लाख ९ हजार रुपैयाँ लगानी गरेका छन् । एनएमबि सरल बचत फण्ड- ई मा १ लाद ३८ हजार ८७९ इकाईधनीले ३ अर्ब ४१ करोड ८५ लाख ८० हजार रुपैयाँ, शुभ लक्ष्मी कोसमा ६५ हजार ९८ हजार इकाईधनीले ३८ करोड १ लाख ५५ हजा रुपैयाँ, नबिल फ्लेक्सी क्याप फण्डमा ५३ हजार ५९५ इकाईधनीले १ अर्ब १४ करोड ८१ लाख रुपैयाँ, कुमारी सुनौलो लगानी योजनामा ४६ हजार ४६१ इकाईधनीले ५४ करोड १३ लाख रुपैयाँ, सानिमा फ्लेक्सी फण्डमा ५२ हजार ३२१ इकाईधनीले ४५ करोड ४१ लाख रुपैयाँ र प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा ६८ हजार १०२ इकाईधनीले ४० करोड रुपैयाँ लगानी गरिसकेका छन् । एसआईपीको आकार जति बढ्दै गइरहेको छ, त्यसले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा टाउको दुखाइको विषय बनिरहेको छ । पछिल्लो समय बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने र बीमा पोलिसी खरिद गर्नेहरू आकर्षित भएर नै एसआईपीको आकार बढिरहेको जानकारहरू बताउँछन् । एसआईपीको आकार अझै बढ्ने देखिएपछि बैंक र बीमा कम्पनीहरूमा व्यवसाय गुम्ने चिन्ता बढेको हो । ‘विगतमा निश्चित वर्षपछि ठ्याक्कै दोब्बर हुन्छ भनेर बीमा पोलिसी खरिद गर्थे । तर, पछिल्लो समय बीमा पोलिसीभन्दा एसआईपीमा फाइदा देखेपछि यहाँ बढी केन्द्रित भएका छन् । किनभने मर्चेन्ट बैंक कम्पनीहरूले पनि राम्रो रिटर्न आउँछ भनेर सर्वसाधारणहरूलाई मार्केटिङ गरिरहेका छन्,’ एक मर्चेन्ट बैंकरले विकासन्युजसँग भने । उनका अनुसार बीमा पोलिसी खरिद गरेपछि समयमै प्रिमियम तिर्नुपर्ने हुन्छ । तर, एसआईपीमा एक महिना तिर्न छुट्यो भने पनि केही फरक पर्दैन । अर्काे महिना भर्दा पनि भयो, नभर्दा पनि हुन्छ । तर, बीमा कम्पनीमा प्रिमियम तिर्न छुट्यो भने जरिवाना समेत तिर्नु पर्ने उनले बताए । नेपाली बजारमा एसआईपीको अभ्यास सुरुवाती चरणमा छ भने विकासक्रम जारी छ । तर, छिमेकी मुलुक भारतमा एसआईपीको बजार धेरै राम्रो र ठूलो भइसकेको छ । बीमा कम्पनीहरूले वार्षिक ६ प्रतिशत प्रतिफल दिइरहेका छन् । तर, एसआईपीमा त्योभन्दा बढी रिटर्न पाइरहेका छन् । त्यसैले भारतमा एसआईपी गर्नेहरूको संख्या उच्च छ । ‘अहिले एसआईपीको बजार क्रमिक रूपमा बढिरहेको छ । सुरुवाती चरणमा विकासको क्रममा छ । अहिले पनि बैंकको ब्याजदर न्यून हुँदा धेरै जना एसआईपी गर्न आउनु भएको छ । बैंकमा ३/४ प्रतिशत ब्याजदरमा रकम राख्नुभन्दा एसआईपीमा राख्यो भने १०/१२ प्रतिशत रिटर्न आउँछ भन्ने हिसाबले धेरै जना आउनु भएको हो,’ उनले भने, ‘अहिले सुरुवात मात्रै हो । भविष्यमा बैंक र बीमा बजारका लागि एसआईपी ठूलो चुनौतीको विषय बन्न सक्छ ।’ के हो एसआईपी ? एसआईपी म्युचुअल फण्डमा लगानी गर्ने एउटा तरिका हो । म्युचुअल फण्ड दुई थरीका हुन्छन्, क्लोज इण्ड (बन्दमुखी) र ओपन इण्ड (खुलामुखी) । दुइटै म्युचुअल फण्ड धितोपत्र बोर्डबाट स्वीकृत लिएर सञ्चालन गर्नुपर्ने हुन्छ । बोर्डले अनुमति दिएपछि सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले आईपीओ बिक्री खुला गरेसरह जारी गर्नुपर्ने हुन्छ । क्लोज इण्ड म्युचुअल फण्ड सर्वसाधारणलाई बिक्री गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन्छ । बजारमा सूचीकरण भएपछि त्यसको खरिद/बिक्री पनि नेप्सेमै हुन्छ । क्लोज इण्ड म्युचुअल फण्ड ५ वर्ष, ७ वर्ष, १० वर्ष समयावधिका हुन्छन् । यसको आकार सुरुमा नै निर्धारण गरिएको हुन्छ । जस्तो सुरुमा ५० करोड वा १ अर्बको म्युचुअल फण्ड छ भने ५, ७, १० वा तोकिएको अवधिसम्म पनि सोही अकार रहन्छ । र, निश्चित अवधिसम्म रहेर बन्द हुन्छ । तर, ओपन इण्ड म्युचुअल फण्डमा चाहिँ क्यापिटलको माध्यमबाट खरिद गर्ने हो भने क्यापिटललाई नै बिक्री गर्ने हो । यो बजारमा सूचीकृत हुँदैन । ओपन इण्ड म्युचुअल फण्डको समयावधि तोकिएको हुँदैन । क्यापिटल जहिलेसम्म रहिरहन्छ, तबसम्म यो स्किम रहिरहन्छ । जस्तो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड छ भने ५० करोड रुपैयाँको मात्रै सब्स्क्राइब भएको छ । बाँकी रहेको ५० करोड रुपैयाँबाटै एसआईपी सुरु गरेर १ अर्ब रुपैयाँ पुर्याउन सकिन्छ । एसआईपीबाट पैसा बढ्दै जान्छ । त्यो पैसा बढेपछि इकाई पनि बढाउनुपर्ने हुन्छ । तोकिएको सीमा कट्यो भने फेरि धितोपत्र बोर्डको स्वीकृति लिएर आकार बढाउनुपर्ने हुन्छ । एसआईपीमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा लगानी गर्न सकिन्छ । मासिक १ हजार, त्रैमासिक ३ हजार, अर्धवार्षिक ६ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । जस्तो १ हजार रुपैयाँ लगानी गर्ने योजना छ भने आईपीओ खुलेको समयमा १ सय इकाई पाइन्छ । तर, आईपीओ खुलेको समयमा खरिद गर्न पाइएन भने पछि पनि खरिद गर्न मिल्छ । त्यतिबेला खरिद गर्दा नेट एसेट भ्यालू (न्याभ) का आधारमा इकाई खरिद गर्नुपर्ने हुन्छ । जस्तो ११ रुपैयाँ न्याभ छ भने सोही मूल्यमा १ हजार लगानी गर्दा ९०.९० इकाई मात्रै पाइनेछ । यदि न्याभ मूल्य ८ रुपैयाँ छ भने १२५ इकाई पाइनेछ । एसआईपी गरेर खरिद गरेको इकाई डिम्याट खातामा जम्मा हुन्छ । तर, एसआईपीका लागि सम्बन्धित मर्चेन्ट कम्पनीमा नै डिम्याट खोलेको हुनुपर्छ भन्ने छैन । जुनसुकै क्यापिटलमा खोलिएको डिम्याट खाता भएपनि हुन्छ । रिटर्न कति आउँछ ? मासिक १ हजार रुपैयाँका दरले लगानी गर्ने योजना छ भने एक वर्षमा कुल १२ हजार रुपैयाँ लगानी हुन आउँछ । यदि म्युचुअल फण्डले राम्रो कारोबार गरेर २० प्रतिशत (अनुमानित)सम्म लाभांश दियो भने १२ हजार रुपैयाँ लगानी गर्ने इकाईधनीले २ हजार ४ सय रुपैयाँ लाभांश पाउने भयो । साथै त्यो लाभांश रकम फेरी लगानी गर्न चाह्यो भने न्याभ मूल्यका आधारमा इकाईधनीको २४ सय रुपैयाँको इकाई थपिने भयो । तर, मर्चेन्ट बैंकले लाभांश दिन सकेन भने त्यो जोखिम इकाईधनीहरूले बेहोर्नुपर्ने हुन्छ । बजार बढेको समयमा म्युचुअल फण्डले ४०/५० प्रतिशतसम्म पनि लाभांश दिएका उदाहरण छन् । बजार बढेको छैन र कमाउन सकेको छैन भने लाभांश नदिएको अवस्थामा जोखिम भने कायमै रहन्छ । साथै खरिद गर्दा न्याभ मूल्य ११ रुपैयाँ थियो । तर, एक वर्षपछि त्यो इकाई बिक्री गर्नुपर्ने भयो । त्यति बेला न्याभ मूल्य ९ रुपैयाँमा झरेको छ भने २ रुपैयाँ घाटा सम्बन्धित इकाईधनीले नै बेहोर्नु पर्ने हुन्छ । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्का बीमामा लगानी फिर्ताको ग्यारेन्टी रहेको र एसआईपी मार्केटमा जोखिम रहेको बताउँछन् । बीमा र एसआईपी एक-अर्काका परिपूरक भएकोले प्रतिस्पर्धी हुन नसक्ने उनको भनाइ छ । ‘एसआईपी जनरल मार्केटमा लगानी गर्ने हो । त्यसैले एसआईपीमा मार्केट रिस्क छ । बीमा कम्पनीमा फिर्ताको ग्यारेन्टी हुन्छ । पूर्ण रुपमा विश्वास गरेर म्युचुअल फण्डमा लगानी गर्ने आफ्नो ठाउँमा छ । तर, वित्तीय उपकरणमा एसआईपी गर्नु हुँदैन, बीमा गर्नुपर्छ, बीमा गर्नु हुँदैन, एसआईपी गर्नुपर्छ भनेर लगानी सन्तुलन गर्न सकिन्छ,’ उनले भने, ‘बीमा र एसआईपी एकअर्काका परिपूरक हुन् न कि प्रतिस्पर्धी ।’ उनका अनुसार वित्तीय साक्षरताको अभाव रहेको बजारमा प्रतिस्पर्धा भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ । एसआईपी न्यू मार्केट क्रियसन भएकाले सुरुवातमा उछाल आउने उनले बताए । प्रुडेन्ट भएर अघि बढ्नुपर्ने भएकाले धेरै रिटर्न आउने चक्करमा साँवा नै खतरामा राख्न नहुने उनले सुझाए । ‘हरेक क्षेत्रमा सुरुवाती चरणमा धेरै उछाल आउँछ । विस्तारै सिक्दै जाँदा प्रडेन्ट कम्पनी माथि जान्छन् । एग्रेसिभ गएका कम्पनी जोखिममा पर्छन् । र, सबैले सिक्दै जाँदा मार्केट करेक्सन हुन्छ । त्यसैले दीर्घकालमा नयाँ मार्केट पनि श्रृजना हुन सक्छ नी,’ सीईओ खड्काले भने, ‘लगानीले जीवन बीमाको ग्यारेन्टी गर्दैन । बीमामा पनि लगानीको टिम छ । बीमा कम्पनीले पनि सेयर मार्केटमा १० प्रतिशतसम्म लगानी गर्न सक्छन् । बीमाको फण्डसँग एसआईपीको आकारमा तुलना छैन । उहाँहरूको जति संकलन हुन्छ, त्यति बराबरको एउटै बीमा कम्पनीको पोर्टफोलियो छ ।’ सिद्धार्थ क्यापिटलका सीईओ सन्दीप कार्की ग्राहकको च्वाइस अनुसार बीमा पोलिसी, बैंकको मुद्दती र एसआईपीमा लगानी गर्न सकिने भएकाले बीमा कम्पनी र बैंकको व्यवसायमा खासै असर नपर्ने बताउँछन् । सबैको आआफ्नो ठाउँमा फाइदा भएकाले लगानीका पनि विविध पक्ष रहेको उनको भनाइ छ । ‘जस्तो मसँग १० हजार रुपैयाँ छ, केही रकम एफडी, केही बीमामा लगानी गर्न सकिन्छ । एफडीमा राख्दा निश्चित पैसा आउँछ, बीमाले जोखिम न्यूनीकरण गर्छ । एसआईपीमा सानो रकम १ हजार, २ हजार, ३ हजार रुपैयाँ राख्ने हो । त्यसले इक्विटी मार्केटको एक्सपोजर लिने हो । त्यसैले एकले अर्काेलाइ असर गर्ने भन्ने हुँदैन,’ सीईओ कार्कीले भने ।
बिहेलगत्तै अमेजनको ७३७ मिलियन डलरको सेयर बेचेपछि चर्चामा बेजोस
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस अहिले निकै चर्चामा छन् । करिब ७३६.७ मिलियन अमेरिकी डलर बराबरका आफ्ना ३३ लाखभन्दा बढी सेयर बिक्री गरेपछि उनी चर्चामा आएका हुन् । मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार उनले यस बिक्रीमार्फत उक्त रकम उठाएका हुन् । बेजोस र उनकी प्रेमिका लरेन सान्चेजको इटालीको भेनिसमा भएको भव्य विवाहपश्चात सेयर बिक्री भएको हो । बिहेलगत्तै सेयर बेचेपछि उनी चर्चामा आएका हुन् । तीन दिनसम्म चलेको यो विवाह समारोहमा धेरै सेलिब्रिटीको उपस्थिति थियो र केही स्थानीयवासीले विरोध समेत जनाएका थिए । विवाह समारोहको लागत करिब ५० मिलियन डलर भएको अनुमान गरिएको छ । बेजोसले मार्चमा स्वीकृत गरेको पहिल्यैको एक योजनाअनुसार यो सेयर बिक्री गरिएको हो । उक्त योजनाअनुसार उनी सन् २०२६ मे २९ सम्ममा अमेजनका २५ मिलियन (२ करोड ५० लाख) सेयर बिक्री गर्ने तयारीमा छन् । सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका बेजोस अहिले पनि कम्पनीका कार्यकारी अध्यक्षका रूपमा छन् । पछिल्ला केही वर्षदेखि उनले नियमित रूपमा अमेजनका सेयर बिक्री गर्दै आएका छन्, यद्यपि उनी अझै पनि कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी हुन् । सन् २०२४ को फेब्रुअरीमा पनि उनले यस्तै योजना अनुसार ५० मिलियन सेयर बिक्री गर्ने अनुमति लिएका थिए, जुन यो वर्षको जनवरी अन्त्यसम्म कायम थियो । बेजोसले यसअघि आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनी ‘ब्लु ओरिजिन’ का लागि प्रत्येक वर्ष १ अर्ब डलर बराबरको अमेजन सेयर बिक्री गर्ने बताएका थिए । उनले आफ्ना ‘डे वान एकेडेमिज’ नामक गैरनाफामूलक संस्थालाई पनि सेयर दान गरेका छन्, जसले अमेरिकाका विभिन्न राज्यहरूमा मन्टेश्वरी शैलीमा आधारित प्री-स्कुलहरू निर्माण गरिरहेको छ । ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार बेजोस अहिले विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनको नेटवर्थ करिब २४० अर्ब डलर छ । सूचीमा टेस्लाका सीईओ एलन मस्क ३६३ अर्ब डलरसहित पहिलो र मेटाका सीईओ मार्क जुकरबर्ग २६० अर्ब डलरसहित दोस्रो स्थानमा छन् । सन् १९६४ मा जन्मिएका बेजोसले १९९४ मा अनलाइन पुस्तक बिक्री व्यवसायका रूपमा अमेजनको सुरुवात गरेका थिए । पछि यही अमेजन विश्वकै सबैभन्दा ठूलो ई-कमर्श र क्लाउड कम्प्युटिङ कम्पनी बन्यो । सन् १९९७ मा अमेजन सार्वजनिक कम्पनी बनेपछि बेजोसको सम्पत्ति तीव्ररूपमा बढ्न थालेको थियो । सान्दर्भिक सामग्री : भारत-चीनले रुसी तेल किन्दा ५०० प्रतिशत ट्यारिफको चेतावनी चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान
करिअर काउन्सिलिङपछि सही विषय छनोट
काठमाडौं । एसईईको नतिजा जब आउँछ तब धेरै विद्यार्थीलाई तनाव हुन्छ । के विषय पढ्ने कहाँ पढ्ने, किन पढ्ने ? तर आजभोलिको पुस्ता स्मार्ट भइसकेको छ । कुन विषयमा आफ्नो रुचि छ त्यो विषयबारे इन्टरनेटमा सर्च गर्दै विद्यार्थीले समस्याको समाधान गरिसकेका हुन्छन् । तर अहिलेको पुस्ता स्मार्ट छ भन्दैमा कसैलाई गाइड गर्नुपर्दैन भन्ने चाहिँ होइन । २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा यो वर्ष ६१ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् । अर्थात् उनीहरू कक्षामा पढ्न योग्य भएका छन् । अहिले कक्षा १२ सम्मको शिक्षा विद्यालय तहको शिक्षाभित्र राखिएको छ । तर विद्यार्थीहरूको मस्तिष्कमा पहिलेकै फलामे ढोकाको छाप परेको छ । विद्यार्थी परीक्षाको नतिजालाई लिएर जति चिन्तित् हुन्छन् त्यत्तिकै चिन्तित् कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने विषयमा समेत लिने गरेको मनोविद्हरू बताउँछन् । यस्तो बेलामा विद्यार्थीलाई करिअर काउन्सिलङसँगै मानसिक काउन्सिलङको पनि आवश्यकता पर्ने उनीहरूको तर्क छ । मनोविज्ञ इन्दिरा प्रधान सबैभन्दा पहिले बच्चाको रुचिमा ध्यान दिनुपर्ने बताउँछिन् । कहिलेकाँही रुचि एकातिर, क्षमता अर्कोतिर हुँदा समस्या निम्तने गरेको बताउँदै उनी यसो हुँदा जुन विद्यार्थीले देखाउन सक्ने क्षमता हो त्यो नदेखिने दाबी गर्छिन् । ‘एसईई दिने विद्यार्थी भनेको १५/१६ वर्षका बालबालिकाहरू हुन्छन्, कतियपलाई यो उमेरमा केही ज्ञान भए पनि धेरै जसोलाई के गर्ने कसो गर्ने भन्ने जानकारी हुँदैन,’ उनी भन्छिन्, ‘यो बेलामा बच्चाहरूले बुझरै म यो गर्छु पनि भन्न हुँदैन र अभिभावकले दबाव पनि दिन हुँदैन ।’ मनोविज्ञ प्रधान यस्तो बेला आमा बुवा र परिवारले आफूलाई थाहा भएको विषयमा उपाय, सल्लाह दिन सक्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘तिमीले यही गर्नुपर्छ भनेर दबाब दिनुभन्दा विज्ञान पढ्दा योयो विषय पढ्नुपर्छ, भोलि यस्तो हुनसक्छ, गणित पढ्दा भोलिको सम्भावना यो हुनसक्छ भनी घरभित्रै छलफल चलाउनुपर्छ ।’ कुनै विषय पढिसकेपछि यो बन्नु भन्ने हुँदैन । साइन्स पढेको व्यक्तिहरू शिक्षक पनि बनेका छन् भने कृषक पनि बनेका छन् । शिक्षा पढेकाहरू प्रशासक बनेका छन् । भोलिको कुरा निश्चित हुँदैन । यतिबेला अहिलेको अवस्थामा कुन विषय राम्रो हो र आफ्नो क्षमताले कति सकिन्छ भन्ने विषयमा खासगरी ध्यान दिनुपर्ने हुन्छ । साथै आर्थिक पक्षमा पनि परिवारभित्र छलफल गर्न आवश्यक छ । वास्तविक धरातल नबिर्सी आमाबुवाको गक्ष हेरेर पढ्ने विषय रोज्नुपर्छ । प्रधान अभिभावक र सन्तानबीच मजाले कुराकानी हुनुपर्नेमा जोड दिन्छिन् । काठमाडौंको नीलबराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल विद्यार्थीले सबैभन्दा पहिले आफ्नो रुचि बुझ्नुपर्ने बताउँछिन् । विषय छनोट गर्नुभन्दा अगाडि आफैले आफ्नो परीक्षा लिनुपर्ने उनी सुझाउँछिन् । ‘विद्यार्थीले भोलि गएर आफू बन्न चाहेको के हो, त्यो विषय पढ्दा राम्रो हुन्छ । यसरी रोजिसकेको विषयमा त्यही अनुसारको मिहिनेत गर्यो भने पक्कै त्यो विद्यार्थीले भोलि राम्रो गर्न सक्छ ।’ हरेक विद्यार्थीको चाहना फरक हुन्छ । कसैलाई साहित्यकार हुन मन लाग्छ, कसैलाई शिक्षक, कसैलाई व्यवस्थापक, कसैलाई डाक्टर, इन्जिनियर, पत्रकार हरेकको फरक चाहना हुन्छ । आफ्नो चाहनाअनुसारको विषय रोजेर भर्ना हुँदा कुनै तनाव लिन नपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘विद्यार्थीको आनबानीदेखि रुचिका विषय कतिपय अभिभावकभन्दा धेरै कुरा विद्यालयका शिक्षकहरूलाई थाहा हुन्छ, एसईई दिएका भाइबहिनीहरूलाई शिक्षकले पनि काउन्सिलिङ गर्न सक्छन् ।’ नीलबराहीमा कक्षा १० मा पढिरहेका विद्यार्थीलाई अब कसरी अघि बढ्ने कुन विषय रोज्ने भन्ने विषयमा शिक्षकहरूले नै विद्यार्थीलाई काउन्सिलिङ गर्ने कार्य भइरहेको उनले जानकारी दिइन् । रोजाइमा फरक-फरक विषय हरेक व्यक्तिको रोजाइ फरक हुन्छ । विद्यार्थीले रुचि अनुसारको विषय रोज्छन् । आजभोलि विद्यार्थी पढेर मास्टर्सको सर्टिफिकेट हातमा लिनुभन्दा कम समयमा पढेर चाँडो जागिर खाने सोचमा हुन्छन् । यही अभिलाशाले विद्यार्थीको रोजाइ प्राविधिक धारतिर बढी हुन्छ । १८, महिने, दुई/तीन वर्षे कोर्स रोजेर पढाइ सकिनेबित्तिकै जागिर खाने योजनाका साथ विद्यार्थी एसईईपछि बाटो रोज्छन् । तर, विज्ञहरू प्राविधि वा नन् प्राविधिक कोर्ष गर्दा पनि रुचिअनुसार छनोट गर्न सल्लाह दिन्छन् । कुनैपनि विषयमा मिहिनेतका साथ प्रयास गर्यो भने जुनसुकै विषयमा पनि उत्तिकै अवसर रहन्छ । पछिल्लो समय शिक्षा र मानविकी संकायमा विद्यार्थीको अरुचि देखिन्छ । तर विज्ञहरू यो संकायमा अध्ययन गर्दा झन् अवसर रहेको बताउँछन् । शिक्षाविद् विनय कुसियत अरूको लहलहैमा लागेर विषय छान्नुभन्दा आफै विषय छनोट गरेर अध्ययन गर्दा फलदायी हुने धारणा राख्छन् । उनी सबै विषय जीवनउपयोगी हुने भएकोले विद्यार्थीको पढाइको स्तरले यस विषयलाई निर्क्यौल गर्ने बताउँछन् । ‘आर्थिक क्षमताले धान्न सक्ने र आफूलाई भविष्यमा के बन्ने इच्छा छ, त्यही अनुसार के पढ्ने भन्ने विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन्, ‘पढाइमा अब्बल विद्यार्थीका लागि सरकारले छात्रवृत्ति पनि दिन्छ, अन्य सेवा सुविधा पनि दिन्छ । त्यसमा नाम निकाल्ने गरी मिहिनेत गर्न सक्यो भने आर्थिक क्षमताले भ्याउन नमिल्ने विषय पनि पढ्न पाइन्छ ।’ एसईईपछि के-के हुन्छ पढाइ ? एसईईपछि नेपालमा प्राविधिक र अप्राविधिक विषय पढाइ हुने गर्छन् । त्यसको लागि प्राविधिक विषय के–के हुन् र अप्राविधिक विषय के–के हुन् भनेर थाहा पाउनुपर्छ । प्राविधिक विषय अन्तर्गत सीटीईभीटीबाट मान्यताप्राप्त १५ महिने तथा १८ महिनेदेखि तीन वर्षे कोर्षहरू हुन्छन् । जुन अप्राविधिक विषयभन्दा केही फरक हुन्छन् । जसमा नर्सिङ, एचए, सीएमए, फार्फेसी ओभरसियर लगायतका विषयहरू पर्छन् । यी विषय लिएर पढ्ने विद्यार्थी तुलनात्मक रूपमा अन्य विषय अथवा अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थी जस्तो बेरोजगार बस्नु पर्दैन । उनीहरूले पढिसकेपछि जागिर नपाउँदा पनि आफै केही गर्न सक्छन् । तर, यी विषय पढ्न पनि त्यत्तिकै मिहिनेत र पैसा लाग्छ । यसको मतलब अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थीले जागिर पाउँदैनन् वा मिहिनेत गर्न पर्दैन भन्ने होइन । छोटो समयमै रोजगारी पाउने वा स्वरोजगार बन्न सक्ने सम्भावना बढी हुन्छ । प्राविधिक विषय एसईई दिएका विद्यार्थीले प्राविधिक विषयतर्फ स्टाफ नर्स पनि पढ्न सक्छन् । यसका लागि एसईई दिनेबित्तिकै तयारी गर्नुपर्छ । त्यसपछि प्रवेश परीक्षामा नाम निकालेर पढ्न सकिन्छ । पछिल्लो समय यो क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दो छ । सीएमए, फार्फेसी ओभरसियर र एचएतर्फ विद्यार्थीको आकर्षण छ । विद्यार्थीले यी विषय पढ्न न्यूनतम १८ महिनामा पढ्न सक्छन् । पढाइ सकेपछि विद्यार्थीले काम पाउने सम्भावना धेरै हुन्छ । यी विषय पढ्ने विद्यार्थीले आफै औषधी पसल खोलेर पनि बस्न सक्छन् । अप्राविधिक विषय यो विषय भित्र विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषयहरू पर्छन् । यी विषय पढ्दा पनि मिहिनेत उत्तिकै गर्नुपर्छ । मिहिनेतका साथ राम्रो नम्बर ल्याउँदा विद्यार्थीलाई खाली बस्नु पर्दैन । नेपाली, गणित, अंग्रेजी, जनसंख्या, अर्थशास्त्र, लेखालगायतका विषय लिएर पढ्दा भविष्य राम्रो हुन्छ । कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । तर, यी विषयमा तपाईंले कत्तिको दख्खल राख्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । मानविकी संकायमा पढ्ने विद्यार्थीहरूले भविष्यमा शिक्षक बन्ने, समाजशास्त्री तथा दर्शनका विषयमा राम्रो दख्खल राख्न सक्छन् । यस्तै, व्यवस्थापन पनि विद्यार्थीका लागि आकर्षक संकायका रूपमा देखिएको छ । यस संकायमा अध्ययन गर्ने विद्यार्थीको माग पनि बजारमा बढी हुन्छ । यो विषय पढेका विद्यार्थीको स्वदेशमा मात्र नभइ विदेशमा पनि उत्तिकै स्कोप छ । यो विषय पढ्ने विद्यार्थीहरू कम्प्युटर साइन्सदेखि होटल म्यानेजमेन्ट, एकाउन्ट, मार्केटिङ, फाइनान्स, इकोनोमिक लगायतका विषयहरू पढ्न मिल्छ । यी विषय पढेका विद्यार्थीहरू शिक्षण पेशादेखि वित्तीय क्षेत्रमा काम गर्ने अवसर मिल्छ। यस्तै, कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पनि विद्यार्थीले पढ्न सक्छन् । तर, विज्ञानमा केही मिहिनेत चाहिन्छ । प्लस टुमा विज्ञान पढेका विद्यार्थीका लागि भविष्यमा डाक्टर, इन्जिनियर र आईटी क्षेत्रमा काम गर्न सकिन्छ । प्लस टुपछि म्यानेजमेन्ट, आर्ट्स लगायतका विभिन्न क्षेत्रमा पनि प्रवेश गर्न सकिन्छ । विज्ञान, प्रविधिमा रुचि भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृतिलगायत क्षेत्रमा भविष्य बनाउन सोंच भएका विद्यार्थीेले मानविकी संकायमा अध्ययन गर्न सक्छन् । डाक्टर, इन्जिनियर, पाइलट, आइटी, म्यानेजमेन्ट, मानविकी, लगायत हरेक क्षेत्रमा करिअर बनाउनको लागि अलिकति मेहिनेत गर्न सक्ने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा साइन्स एजुकेसन पढ्न विज्ञहरू सुझाव दिन्छन् । विषय पढाइसँगै कलेज छनोट पनि महत्वपूर्ण विषय हो । अहिले गाउँदेखि सहर बजारसम्म जताततै कलेज सञ्चालनमा छन् । विद्यार्थीले राम्रो कलेज छान्न सक्नुपर्छ । शिक्षाविद् डा. कुसियत आफू पढ्ने कलेज कस्तो हो, त्यसमा कस्ता शिक्षक छन्, त्यसको वातावरण कस्तो छ र समाजमा त्यो कलेजप्रतिको दृष्टिकोण कस्तो छ भनेर मात्र भर्ना हुनु पर्ने राय दिन्छन् ।