धमाधम शाखा मर्ज गर्दै बैंकहरू, ९ बैंकका १३७ वटा शाखा गाभिने

काठमाडौं । मर्जरमा सामेल भएका बैंकलाई शाखा बन्द वा मर्ज गर्नुपर्ने आवश्यकता थियो । मर्जर नभएका बैंकलाई त्यो आवश्यकता थिएन । तर पनि रिटेल ग्राहकहरू डिजिटल बैंकको अभ्यास गरिरहेकाले टोलटोलमा बैंकको शाखा आवश्यकता कम हुँदै गएका देखिन्छन् । साथै बैंकहरुले डिपोजिट मेसिन लगायत उपकरणहरू पनि प्रयोगमा ल्याइरहेको हुँदा ग्राहकहरू भौतिक रूपमा शाखामा जानैपर्ने अवस्था झन् कम हुँदै गएको देखिन्छ । यसैलाई मध्यनजर गरी नजिक-नजिक रहेका शाखा बन्द वा मर्ज गर्न नीतिगत व्यवस्थाको माग गर्दै बैंकरहरूले विगतदेखि नै माग गर्दै आएका थिए । बैंकरहरूका माग र पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा महानगरपालिकामा बैंकहरुले शाखा कार्यालय मर्जर गर्न सक्ने व्यवस्था गरिदियो ।  सोही बमोजिम हाल विभिन्न ९ वटा बैंकले १३७ वटा शाखा कार्यालय मर्ज गर्ने भएका छन् । सोही व्यवस्थाअनुसार हाल ८ वटा बैंकले दर्जनौं शाखा मर्ज गर्ने घोषणा गरेका छन्। एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ४४ शाखा मर्ज गर्ने भएको छ भने कुमारी बैंकले २४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८, प्रभु बैंकले १४, हिमालयन बैंक र ग्लोबल आइएमई बैंकले ८/८, नबिल बैंक र प्राइम बैंकले ७/७ र एनएमबि बैंकले ४ शाखा मर्ज गर्ने भएका छन् । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यका अनुसार महानगरपालिका भित्र पहिलो चरणमा शाखा मर्जर प्रक्रिया अघि बढाइएको हो । आगामी दिनमा नेपाल राष्ट्र बैंकले अनुमति दिए उपमहानगरपालिका र नगरपालिकामा पनि शाखा मर्जर विस्तार गरिने उनले बताए । ‘बैंकका कुल ३६० शाखामध्ये ६ महानगरपालिकामा रहेका ४४ शाखा मर्ज गर्ने निर्णय गरेका छौं । आगामी दिनमा अन्य स्थानीय तहमा पनि मर्जरको सुविधा मिलेमा सो प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने ।  उनका अनुसार शाखा मर्जरले ग्राहकलाई खासै असर पार्दैन, किनभने डिजिटल बैंकिङका कारण शाखामा जाने आवश्यकता घटेको छ । ४४ शाखा मर्ज गर्दा कर्मचारी खर्चबाहेक वार्षिक १८-२० करोड रुपैयाँसम्म भाडा खर्च बचत हुन सक्ने उनको भनाइ छ ।  ‘पहिले दैनिक सयौं कारोबार हुने शाखामा अहिले निकै कम कारोबार हुन्छ । दाया बाँया बैंक छन् । शाखा धेरै क्राउडेड भएर प्रतिस्पर्धा बढेको थियो । साथै डिजिटल कारोबार पनि धेरै हुन थालेको छ । बैंकमा ग्राहकहरु विगत जस्तो आउनु हुन्न । किनभने अनलाइन्बाटै स्टेटमेन्ट, चेकबुक हेर्न सकिन्छ । बैंक खाता पनि अनलाइन मिल्ने र कारोबार पनि डिजिटलबाटै हुन्छ,’ उनले भने, ‘विगतमा ४ सय वटा कारोबार हुने शाखामा एक-डेढ सय वटा मात्रै हुने गरेका छन् । त्यसकारण ग्राहकलाई त्यति धेरै असहज हुँदैन । तर, बैंकका लागि भने खर्च घट्छ ।’  एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले देशका ६ महानगरपालिकाभित्र रहेका ४४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिकामा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, वीरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिनेछन् ।  बैंकका अनुसार काठमाडौंमहागरका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा मर्जरपश्चात् कमलादी शाखाबाट सेवा प्रवाह हुनेछ । यस्तै, बोहोराटार, माछापोखरी, ढुङ्गेधारा-नर्सरी चोक शाखा मर्जरपश्चात् बालाजु शाखा, न्यूरोड खिचापोखरी, भोटाहिटि, किलागल शाखा मर्जरपश्चात् न्यूरोड विशालबजारबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा मर्ज हुनेछ । साथै नरेफाट शाखा कोटेश्वर शाखामा, बालुवाटार शाखा लाजिम्पाट शाखामा, अनामनगर, शंखमुल, मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा, खसीबजार शाखा कलंकी शाखामा मर्ज हुने बैंकले जनाएको छ ।  बैंकका अनुसार कपन शाखा सुकेधारा शाखामा, गांगबु शाखा सामाखुसी शाखामा, सोह्रखुट्टे शाखा ठमेल शाखामा, टेकु शाखा त्रिपुरेश्वर शाखामा मर्जर भएर बैंकिङ सेवा सुचारु हुनेछ । साथै सिनामंगल, मित्रपार्क र कालोपुल शाखा मर्जरपछि बत्तिसपुतली शाखाबाट सेवा सुचारु हुनेछ । बैंकका अनुसार ललितपुर महागनरपालिकाका लगनखेल र मंगलबजार शाखा मर्जरपश्चात् जावलाखेल शाखा, सानेपा र ग्वार्काे शाखा मर्जरपश्चात् सातदोबाटो शाखा, खोकना शाखा मर्जरपश्चात् भैँसेपाटी शाखाबाट सेवा सुरु हुनेछ ।  यस्तै, पोखरा महानगरपालिकाका पावरहाउस चोक र बुढीबजार शाखा मर्जरपश्चात् लेखनाथ शाखा, बाझापाटन शाखा अमरसिंह चोक शाखा, महेन्द्रपुल-पोखरा र बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा शाखा, बिरौटा शाखा मर्जरपश्चात् लेकसाईड शाखाबाट सेवा सुचारु हुनेछ ।  बैंकका अनुसार भरतपुर महानगरपालिकाको बसेनी शाखा मर्जरपश्चात् हाकिम चोक शाखा, विारटनगर महानगरपालिकाको विराटनगर मेनरोड र हाटखोल शाखा मर्जरपश्चात् विराटनगर शाखा, रानी मिल्स शाखा मर्जरपश्चात् रोडशेष चोक शाखा, विरगन्ज महानगरपालिकाको लिङ्ग रोड र पावरहाउस चोक शाखा मर्जरपश्चात् वीरगन्ज शाखा आदर्शनगरबाट बैंकिङ सेवा सुचारु हुनेछ ।   कुमारी बैंक कुमारी बैंकले महानगरपालिकाहरूमा २४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र १५ वटा शाखा कार्यालय चैत १५ गते मर्ज गरेको हो ।  बैंकका अनुसार काठमाडौं महानगरपालिकाका महाराजगन्ज विस्तारित काउन्टर महाराजगन्ज शाखामा, सामाखुशी विस्तारित काउन्टर सामाखुशी शाखामा, कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा, ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा, जनवहाल शाखा न्यूरोड शाखामा गाभिएर बैंकिङ सेवा सुरु गरेका छन् । यस्तै, बानेश्वर शाखा मर्जरपश्चात् मैतीदेवी, बसुन्धारा शाखा मर्जरपश्चात् महाराजगन्ज शाखा, सिफल शाखा मर्जरपश्चात् चाबहिल शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । साथै बल्खु विस्तारित काउन्टर मर्जर पश्चात् कुलेश्वर, जैसीदेवल विस्तारित काउन्टर मर्जर पश्चात् न्यूरोड पाको, बालाजु विस्तारित काउन्टर मर्जर पश्चात् बालाजु शाखा र छाउनि विस्तारित काउन्टर मर्जर पश्चात् डल्लु शाखाबाट बैंकिङ सेवा सुचारु भएको छ । बैंकका अनुसार ललितपुर महानगरपालिकाको टंगल शाखा मर्ज भई मंगलबजार शाखा, भरतपुर महानगरपालिकाका शहिद चोक र पोखरा बसपार्क शाखा मर्जरपश्चात् नारायणगढ शाखा, भरतपुर शाखा मर्जरपश्चात् हाकिमचोकबाट बैंकिङ सेवा सुरु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकाको बाँझापाटन शाखा मर्ज भई काहुँखोला शाखा, पोखरा शाखा मर्ज भई चिप्लेढुंगा शाखा, बिरौटा शाखा मर्ज भई लेकसाइड, अमरसिंहचोक शाखा मर्ज भई चिप्लेढुंगा शाखाबाट सेवा सुचारु भएको छ ।  विराटनगर महानगरपालिकाको मेनरोड शाखा मर्ज भई विराटनगर शाखा, बरगाछी शाखा मर्ज भई विराटनगर शाखा, विरगन्ज महानगरपालिकाको प्रतिमाचोक शाखा मर्जरपश्चात् विरगन्ज, ड्राइपोर्ट शाखा मर्जरपश्चात् सिर्सिया शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महानगरपालिकामा १८ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले ८ वटा शाखा चैत ३ गतेदेखि मर्ज गरिसकेको छ भने बाँकी १० वटा शाखा २०८३ बैशाख ६ गतेदेखि एकआपसमा मर्ज हुने जनाएको छ ।  बैंकका अनुसार काठमाडौं महानगरपालिकाको लाजिम्पाट शाखा मर्जपश्चात् नक्साल शाखाबाट कारोबार सुरु हुनेछ । यस्तै, खिचापोखरी शाखा मर्जपश्चात् न्यूरोड शाखा, नयाँ बानेश्वर शाखा (९४) मर्जपश्चात् नयाँ बानेश्वर शाखा (२८), टेकु शाखा मर्जपश्चात् त्रिपुरेश्वर शाखा, चावहिल शाखा (१६५) मर्जपश्चात् चावहिल शाखा (५६), कलंकी शाखा (१५२)मर्जपश्चात् कलंकी शाखा (२५२) बाट बैंकिङ सेवा सुरु भएको छ । ललितपुर महानगरपालिकाको कुमारीपाटी शाखा मर्जपश्चात् लगनखेल शाखा, जावलाखेल शाखा (९६) मर्जपश्चात् जावलाखेल शाखा (५३) बाट बैंकिङ सुरु भएको बैंकले जनाएको छ । यी शाखाहरु गत चैत ३ गते मर्ज भइसकेको बैंकले जनाएको छ ।  बैंकका अनुसार काठमाडौं महानगरपालिकाका बागबजार शाखा मर्जरपश्चात् पुतलीसडक शाखा, गौशाला शाखा मर्जरपश्चात् बत्तिसपुतली शाखा, ठमेल शाखा २ मर्जरपश्चात् ठमेल शाखा, कुलेश्वर शाखा मर्जरपश्चात् कालीमाटी शाखाबाट सेवा हुनेछ ।  ललितपुर महानगरका पाटन शाखा मर्जरपश्चात् लगनखेल शाखा, भरतपुर महानगरपालिकाको नारायणगढ शाखा (२२०) मर्जरपश्चात् नारायणगढ शाखा (१३), विरगन्ज महानरपालिकालको विरगन्ज शाखा (९८) मर्जरपश्चात् विरगन्ज शाखा (३), विराटनगर महानगरपालिकाको विराटनगर शाखा (२) मर्जरपश्चात् विराटनगर शाखा (९७) बाट बैंकिङ सेवा सुचारु हुनेछ ।  पोखरा महानगरपालिकाको बझापाटन शाखा मर्जरपश्चात् अमरसिंह शाखा र लेखनाथ शाखा मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।  प्रभु बैंक प्रभु बैंकले विभिन्न ५ जिल्लाका १४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरेको छ । बैंकका अनुसार मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिका भित्र एक-अर्कासँग नजिक रहेका शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गरेको छ ।  समायोजनपछि सञ्चालनमा रहने शाखाहरूबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मोरङको गोल्छाचोक शाखा समायोजनपछि तिनपैनी शाखाबाट सेवा सञ्चालन हुनेछ । कास्कीमा अर्घौचोक शाखा तालचोक शाखामा, हरिचोक शाखा बगर शाखामा र नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन गरी सेवा सञ्चालन गरेको छ । यस्तै, चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा गाभिनेछ । ललितपुरमा पाटन शाखा मंगलबजार शाखामा र सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन गरेको छ । बैंकका अनुसार काठमाडौंका बौद्ध शाखा समायोजनपछि बौद्ध १ शाखा, बागदरवार शाखा समायोजनपछि खिचापोखरी शाखा, नरेफाँट शाखा समायोजनपछि कोटेश्वर शाखा, सिनामंगल एयरपोर्ट शाखा समायोजनपछि सिनामंगल शाखा, मित्रपार्क शाखा समायोजनपछि चाबहिल शाखा, टेकु शाखा समायोजनपछि कालिमाटी शाखा र पुतलीसडक शाखा समायोजनपछि कमलादी शाखाबाट सेवा सुरु भएको हो ।  ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक आपसमा समायोजन तथा एकीकरण गरी कारोबार सञ्चालन गरिनेछ । समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौंका ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल-कलंकी शाखा तथा ललितपुरका खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन् । समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरन शाखामा, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुल शाखामा, इन्द्रचोक र असन शाखा असन शाखामा तथा बाफल-कलंकी र कलंकी शाखा कलंकी शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, खुमलटार र सातदोबाटो शाखा समायोजन भई सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा समायोजपश्चात् एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपश्चात् सुन्धारा शाखा, कुमारीपाटी र लगनखेल शाखा समायोजनपश्चात् लगनखेल शाखाबाट सेवा सञ्चालन हुने बैंकको भनाइ छ ।  यस्तै, ललितपुरतर्फ खुमलटार र सातदोबाटो शाखा समायोजनपछि सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपछि सुन्धारा शाखा तथा कुमारीपाटी र लगनखेल शाखा समायोजनपछि लगनखेल शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजन पश्चात् आईटी प्लाजा कमलादी शाखाबाट सेवा सुचारु हुनेछ । यस्तै, अनामनगर शाखा समायोजनपश्चात् थापाथाली शाखा, भीमसेन शाखा समायोजनपश्चात् टेकु शाखा, बाङ्गेमुढा शाखा समायोजनपश्चात् ठमेल शाखाबाट सेवा सुचारु हुनेछ ।  यस्तै, सोह्रखुट्टे शाखा समायोजनपश्चात् बालाजु शाखाबाट बैंकिङ सेवा सुचारु हुनेछ । यस्तै, डौबहाल शाखा समायोजनपश्चात् पाटन सुनधारा, कुमारीपाटी समायोजनपश्चात् झम्सीखेल शाखाबाट सेवा सुचारु हुनेछ । हाल यी शाखा मर्जर गर्ने निर्णय गरेको छ । त्यसपछि उपत्यका बाहिरिका महानगरपालिका शाखा मर्जर गर्ने योजना रहेको बैंकले जनाएको छ ।  नबिल बैंक  नबिल बैंकले विभिन्न ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिकाका घण्टाघर शाखा तीनधारा शाखामा मर्ज हुनेछ । यस्तै, मालीगाउँ र भाटभटेनी शाखा विशालनगर शाखामा मर्ज भएर बैंकिङ सेवा उपलब्ध हुनेछ । यस्तै, मित्रपार्क शाखा मर्ज भई चाबहिल शाखाबाट सेवा सुचारु हुनेछ । शंखमुल र बिजुली बजार शाखा बानेश्वर शाखामा मर्ज हुने बैंकले जनाएको छ । यस्तै विराटनगर महानगरपालिकाको पुष्पलालचोक शाखा मर्ज भएर कञ्चनबारी शाखाबाट बैंकिङ सेवा उपलब्ध हुनेछ । प्राइम बैंक प्राइम बैंकले महानगरपालिका भित्र विभिन्न ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले वि.सं २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी नजिकका शाखा मर्ज गर्न लागेको हो । बैंकका अनुसार भरतपुर महानगरको हाकिमचोक शाखा मर्जरपश्चात् भरतपुर शाखा, काठमाडौं महानगरको सुनधारा शाखा मर्जरपश्चात् न्यूरोड शाखा, बाङ्गेमुढा शाखा मर्जरपश्चात् असन शाखा, गौशाला शाखा मर्जरपश्चात् पुरानोबानेश्वर शाखाबाट बैंकिङ सेवा सुरु हुनेछ । यस्तै, पोखरा महानगरपालिकाको बि पी चोक शाखा मर्जरपश्चात् न्युरोड पोखरा, बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा र बुडीबजार मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।  एनएमबि बैंक  एनएमबि बैंक विभिन्न ४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले चैत २५ गतेदेखि लागू हुने गरी विराटनगर शाखा समायोज गरी महेन्द्रचोक शाखा, नारायणघाट मेनरोड शाखा मर्जर गरी लायन्स चोक शाखा, पोखरा शाखा मर्जर गरी चिप्लेढुङ्गा शाखा, रामबजार शाखा मर्जर गरी अमरसिंह शाखाबाट बैंकिङ सेवा सुचारु हुने जनाएको छ । 

महासंघमा ढकालको नेतृत्व: ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको तीन वर्षे कार्यकाल यही चैत्र ३० गतेदेखि सक्किँदै छ । उनी २०७९ चैत ३० गतेदेखि महासंघको अध्यक्षको जिम्मेवारीमा छन् । महासंघमा अध्यक्षको पदभार ग्रहणसँगै उनले पाँच प्रतिवद्धता जनाएका थिए । तत्कालीन अवस्थाका आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य-निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेका थिए । ढकालले महासंघको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र शिथिल थियो । कोभिड-१९ महामारीको असर अर्थतन्त्रमा गहिरिँदै गएको थियो । त्यसका साथै, रुस-युक्रेन द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव लगायतका प्रतिकूलताले लगानीकर्तामा निराशा बढेको थियो । आर्थिक गतिविधि सङ्कुचित हुँदै गएका थिए । अर्कोतिर छिटो-छिटो सरकार परिवर्तनले नीतिगत अन्योल निरन्तर रहिरह्यो ।  ४ प्रधानमन्त्री, १२ वटा मन्त्रिमण्डल अध्यक्ष ढकालले नीतिगत स्थिरता र सरकारसँग सहकार्यमा जति जोड दिए त्यति नै सरकार अस्थिर बन्यो । ढकाल अध्यक्ष हुँदा माओवादी-काँग्रेस गठबन्धनमा प्रचण्डको नेतृत्वमा सरकार थियो । पछि एमाले-माओवादी गठबन्धनमा प्रचण्ड नेतृत्वमा नै सरकार बन्यो । २०८१ असार ३० मा केपी शर्मा ओली प्रधानमन्त्री भए । २०८२ भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री भइन् । चैत १३ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बन्यो । ढकालले महासंघको अध्यक्षमा तीन वर्ष व्यतीत गर्दा देशमा ४ पटक प्रधानमन्त्री फेरिए । यस अवधिमा १२ पटक मन्त्रिमण्डल गठन, पुनर्गठन र विस्तार भए । अर्थ, उद्योग, वाणिज्य, उर्जा मन्त्रीसहित उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएका मन्त्रीहरू बारम्बार फेरिए । अस्थिर सरकार र अस्थिर नीति निजी क्षेत्रको सोचलाई नै अस्थिर बनाइरह्यो । यस्तो अस्थिर अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु र आर्थिक गतिविधि चलायमान बनाउने वातावरण तयार गर्नु महासंघ नेतृत्वको मुल जिम्मेवारी थियो । अस्थिर सरकार हुँदै गर्दा अध्यक्ष ढकाल लगानीमैत्री वातावरण निर्माण गर्न सक्रिय देखिए । बैंकको ब्याजदर १५ प्रतिशत हुँदा होस् वा विदेशी मुद्रा सङ्कुचित भई सरकारले आयातलाई निरुत्साहित गर्ने नीति लिँदा होस्, निजी क्षेत्रलाई निराश बन्न नदिने र मनोबल उच्च राख्न आशावादी कुरा गर्न उनले छोडेनन् । नीतिगत अवरोध हटाउने प्रयास जारी राखे । राज्य-निजी क्षेत्र सहकार्यलाई जोड दिँदै अगाडि बढे ।   नीतिगत हस्तक्षेप र सुधारको पहल ढकालको कार्यकालको महत्वपूर्ण विशेषता नीतिगत हस्तक्षेपमा देखिन्छ । महासंघले सरकारसँग ‘माग राख्ने’ र सरकारले आफ्नो ‘निर्णय सुनाउने’ परम्परागत चलिआएको छ । तर अध्यक्ष ढकालले महासंघलाई नीतिगत हस्तक्षेपको भूमिकामा उठाए । बागलुङको ढोरपाटनमा सम्पन्न महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले मुलुकका तत्कालीन समस्याहरूको समाधानका लागि वृहत् राष्ट्रिय आर्थिक बहस आयोजना गर्ने निर्णय गर्यो । यसले सरकार, राजनीतिक दल, नियामक र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्यायो । महासंघको प्रस्तावअनुसार सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्यो । रामेश्वर खनाल नेतृत्वको आयोगमा महासंघका अध्यक्ष ढकालसहित निजी क्षेत्रका प्रतिनिधिहरु पनि थिए । यस आयोगले दिएको सुझावहरूलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल स्वयंम र वर्तमान सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि उच्च महत्व दिएका छन् । उक्त आयोगले लगानीको वातावरण बनाउन ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरेको छ । यसले दीर्घकालदेखि थाती रहेका कानुनी जटिलता र प्रक्रियागत अवरोधहरूलाई सुधारको औपचारिक एजेन्डामा ल्याएको छ । यसले लगानी वातावरण सुधारका लागि आधार तयार गरेको छ । यस आयोगको सुझावहरु आगामी एक दशकसम्म पनि सरकारका लागि मार्गदर्शक दस्तावेज बन्ने निश्चित भएको छ ।  दीर्घकालीन पहलहरू राजनीतिक नेता वा प्रशासकहरू निजी क्षेत्रलाई गलाउने, कमजोर बनाउने नीति निर्माण गरेकोमा वा सरकारी निर्णय गरेको युद्ध जिते झै गर्वका साथ अरूलाई सुनाउने, मिडियामा बोल्ने गरेको पाइन्छ । यसको पृष्ठभूमि यो हो कि सरकार र निजी क्षेत्रबीच अविश्वास र द्वन्द्व धेरै लामो छ । निजी क्षेत्र र सरकारबीच द्वन्द्व हैन, सहकार्य हुनुपर्छ भन्ने विषयमा अध्यक्ष ढकालले निरन्तर जोड दिए । औपचारिक तथा अनौपचारिक छलफल होस् वा सार्वजनिक मञ्च । अभिव्यक्तिमा होस कि कर्ममा । सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई  पुनः परिभाषित गर्ने काम ढकालले गरेका छन् । ढकालले सरकार-निजी क्षेत्र सम्बन्धलाई टकराब तथा एकपक्ष माग राख्ने र अर्को पक्ष त्यसलाई सम्बोधन गर्ने अवस्थाबाट सहकार्यतर्फ मोड्ने प्रयास गरे । जुन उनको कार्यकालको प्रमुख र महत्वपूर्ण उपलब्धि मानिन्छ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयकलाई परिमार्जन गराउनु र निजी क्षेत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा नपर्ने विषयमा राज्यका सबै निकायलाई सहमत गराउनु उनको नेतृत्वमा भएको महत्वपूर्ण काम हो । ‘हामीले सरकारका विभिन्न निकायहरू जस्तै प्रधानमन्त्री, मन्त्रीहरू, मुख्यसचिव, सचिवलगायत अधिकारीहरू, संवैधानिक निकाय, संसदलाई आफ्नो तर्कले कन्भिन्स गरी निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउने प्रावधानलाई परिमार्जन गर्न सफल भयौँ’ ढकालले सार्वजनिक रुपमा नै भन्दै आएका छन् । धेरै नियमनकारी निकायहरू हुँदा लगानी र आर्थिक वृद्धि प्रभावित हुनसक्ने आँकलन गर्दै उनले यसको विरोध मात्र गरेनन्, सबैलाई सहमतिमा ल्याई तत्कालका लागि यो प्रावधान स्थगित गर्न सफल भए । जसले लगानी वातावरण बनाउन र निजी क्षेत्रको मनोबल जोगाउन मद्दत गर्यो । त्यसैगरी, नेपालमा केही हुँदैन र नेपालको आन्तरिक पुँजीबाट केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य बढ्दै गएको अवस्थामा मुलुकभित्र र बाहिर छरिएर रहेको सानो-सानो पुँजी संकलन गरी १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको छ । उनले आन्तरिक पूँजी परिचालनमार्फत ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअपमा लगानी गर्ने नयाँ मोडेल प्रस्ताव गरेका छन् । साथै, विभिन्न देशहरूमा लगानी फोरम र द्विपक्षीय सम्मेलनमार्फत विदेशी लगानी आकर्षित गर्ने प्रयास पनि उल्लेखनीय छ । उनको कार्यकालमा राष्ट्रिय आर्थिक बहसलाई संस्थागत बनाउने, निजी क्षेत्रको प्रोटोकल र सुरक्षासम्बन्धी नीतिगत पहल अघि बढाउने तथा सीप विकासमार्फत दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने कामहरू पनि दीर्घकालीन रूपमा महत्वपूर्ण छन् । विधान संशोधन र संस्थागत रूपान्तरण  अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन अर्को महत्वपूर्ण उपलब्धि हो । लामो समयदेखि विवाद र बहसको विषय बन्ने गरेको महासंघको विधान ढकालले सर्वसम्मतिमै संशोधन गरे । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष चयन गर्ने प्रणाली लागू गरियो । यसले नेतृत्व चयन प्रक्रियालाई थप प्रतिस्पर्धी, उत्तरदायी र समयसापेक्ष बनाएको छ । यो परिवर्तनले महासंघभित्र शक्ति सन्तुलनको नयाँ संरचना निर्माण गरेको छ । यसरी तत्कालीन प्रतिनिधिमार्फत प्रतिस्पर्धात्मक विधिबाट आउने भएकाले नयाँ विधानले अध्यक्षलाई सदस्यहरूप्रति थप उत्तरदायी, जिम्मेवार र परिणाममुखी बनाउने छ । साथै, विधानले जिल्ला नगरको ५० प्रतिशत वेटेजलाई मध्यनजर गर्दै २ जना जिल्ला उपाध्यक्षको व्यवस्था गरेको छ । महिला सहभागिता बढाउन प्रोत्साहन स्वरूप महिला उपाध्यक्ष र अन्य धेरै सकारात्मक व्यवस्थाहरू विधानमा परिमार्जन गरिएको छ । देशमा संघीयता स्थापना भएको एक दशकपछि महासंघको विधान पनि पूर्ण संघीय स्वरूप र समावेशीपनले पूर्णता पाएको छ ।  समग्रमा, चन्द्रप्रसाद ढकालको कार्यकालले निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण गर्ने आधार तयार गरेको छ । उनले अघि सारेका सहकार्य, नीतिगत सुधार र संस्थागत रुपान्तरणका प्रयासहरूलाई निरन्तरता दिन सकिएमा यसले नेपालको आर्थिक विकास र लगानी वातावरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने स्पष्ट देखिन्छ ।

मनोकामना मोडर्न इन्जिनियरिङको आम्दानी १.८३ अर्ब रुपैयाँ, ऋण साढे २ अर्ब

काठमाडौं । निर्माण उपकरण तथा निर्माण सामग्री व्यापारमा सक्रिय मनोकामना मोडर्न इन्जिनियरिङ प्रालिले सन् २०२५ मा करिब १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.६३ प्रतिशत अर्थात् करिब ३ करोड रुपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानी संरचना हेर्दा निर्माण सामग्रीतर्फको योगदान उच्च देखिन्छ, जहाँ कुल आम्दानीको करिब ६२ प्रतिशत हिस्सा यसै क्षेत्रबाट आउने गरेको छ भने बाँकी करिब ३७ प्रतिशत आम्दानी निर्माण उपकरण बिक्रीबाट प्राप्त हुने गरेको छ । कम्पनीको आम्दानी विगतका वर्षहरूमा क्रमशः बढ्दो प्रवृत्तिमा देखिए पनि पछिल्लो वर्ष सामान्य गिरावट आएको छ । सन् २०२३ मा कम्पनीले १ अर्ब ७६ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००९ जुनमा स्थापना भएको कम्पनीले नेपालमा निर्माण उपकरण आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कोबेल्को, हुन्डाई, शान्तुई र डायनाप्याक जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उपकरण आयात गरी बजारमा उपलब्ध गराउँदै आएको छ । यद्यपि, कम्पनीले हालसम्म कुनै पनि निर्माण उपकरण ब्रान्डको अधिकृत डिलरशिप भने प्राप्त गर्न सकेको छैन । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक श्रवण कुमार गोयल हुन्, जसले उत्पादन तथा व्यापार क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको बत्तिसपुतलीमा अवस्थित रहेको छ । यसले भारत, अमेरिका र इन्डोनेसियाबाट निर्माण सामग्रीसमेत आयात गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ७६ करोड २० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ४६ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जबकि यसअघि कम्पनीले १ अर्ब ६ करोड ८० लाख रुपैयाँ मात्रै ऋण लिएको थियो ।  वित्तीय पक्षमा भने कम्पनीको ऋण भार उल्लेखनीय रूपमा बढेको देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७६ करोड २० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ४६ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जबकि अघिल्लो वर्ष १ अर्ब ६ करोड ८० लाख रुपैयाँ मात्रै बैंकबाट ऋण लिएको थियो ।