काठमाडाैं । सरकारले सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्न प्रविधिमैत्री निगरानी प्रणाली र संयुक्त बजार अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अवैध व्यापार, राजस्व चुहावट र सीमा क्षेत्रमा हुने अनियमितता नियन्त्रण गर्न आधुनिक प्रविधि र समन्वयात्मक अनुगमन प्रणाली लागू गरिने बताए ।
बजेट अनुसार सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणका लागि प्रविधिमैत्री निगरानी प्रणाली विकास गरिनेछ। साथै, सरकारी निकायहरूबीच संयुक्त रूपमा बजार अनुगमन गर्ने व्यवस्था प्रभावकारी बनाइने सरकारको योजना छ।
त्यसैगरी, अन्तरदेशीय भन्सार प्रशासनसँग मालवस्तु देशमा आइपुग्नु अघि नै सूचना आदान–प्रदान गर्ने प्रणालीलाई थप विस्तार गरिनेछ। यसका लागि सम्बन्धित मुलुकका भन्सार निकायसँग सम्झौता विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।
सरकारका अनुसार यस्तो प्रणालीले भन्सार प्रक्रिया पारदर्शी बनाउने, समय बचत गर्ने तथा अवैध व्यापार नियन्त्रण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रणलाई सरकारको प्राथमिकतामा राखिएको र प्रविधिको प्रयोगमार्फत भन्सार प्रशासनलाई आधुनिक बनाइने बताए ।