साताभर नेप्सेमा उतारचढाव, कारोबार १५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता उतारचढावबीच समग्रमा सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन सोमबारदेखि लगातार दुई दिन ओरालो लागेको बजार बुधबार र बिहीबार सुधारिए पनि शुक्रबार पुनः घटेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा बन्द भएको थियो। मंगलबार पनि बजारले ओरालो यात्रा कायम राख्दै २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको थियो । तर बुधबार बजारमा सुधार देखियो । यस दिन नेप्से ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ विन्दुमा पुगेको थियो । बिहीबार पनि बजारले निरन्तरता दिँदै ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ८.३० अंकले घटे पनि २६५३.४० विन्दुमा बन्द भयो । यससँगै अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से २०.४४ अंक अर्थात् करिब ०.७८ प्रतिशतले बढेको छ । कारोबार रकम पनि उत्साहजनक रह्यो । पाँच कारोबार दिनमा कुल १५ अर्ब ५८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर करिब ३ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा २ लाख ६५ हजारभन्दा बढी कारोबार भएको तथ्यांक छ । साताको सबैभन्दा धेरै कारोबार बुधबार भएको थियो । बुधबार ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । सबैभन्दा कम कारोबार भने सोमबार २ अर्ब ५८ करोड रुपैयाँमा सीमित रह्यो ।  बजार विश्लेषकहरूका अनुसार साताभर बजारमा नाफा सुरक्षित गर्ने र खरिदकर्ता दुवै सक्रिय देखिएकाले नेप्से उतारचढावका बीच सीमित दायरामै घुमेको छ ।

नेपाल एसबीआईलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) बाट सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्डअन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ उपाधि प्राप्त गरेको जनाएको छ । बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले तरलता व्यवस्थापन, व्यापार वित्त, बैंकिङ अभ्यास तथा होलसेल र रिटेल बैंकिङ क्षेत्रमा नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ । बैंकले यस उपलब्धिका लागि आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।  

सिटिजन लाइफद्वारा बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालीकोट जिल्लाका बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका प्रभावित परिवारलाई स्ट्यान्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो । प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराई दैनिक जीवनयापनमा केही राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्थानीय निकाय तथा सम्बन्धित संस्थासँगको सहकार्यमा राहत वितरण गरिएको पनि कम्पनीले उल्लेख गरेको छ । राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । सिटिजन लाइफले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थानलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।