४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको ३५ करोड, एसवाई प्यानलको ३२ करोड, बन्दिपुर केबलबारको २८ करोड र श्रीनगर एग्रीटेकको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुन: कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको १८२ औं बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसईओ) का रूपमा कार्यरत छन् । शपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्रिमियर डिस्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरे । विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो । यसले भोड्का, ह्विस्की, रम र जीनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आइरहेको छ । यस डिस्टिलरीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने ‘ओल्ड मङ्क रम’ सहित अन्य विभिन्न ब्रान्डहरू उत्पादन हुँदै आएका छन् ।