काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालीकोट जिल्लाका बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
कम्पनीका अनुसार कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका प्रभावित परिवारलाई स्ट्यान्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराई दैनिक जीवनयापनमा केही राहत पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्थानीय निकाय तथा सम्बन्धित संस्थासँगको सहकार्यमा राहत वितरण गरिएको पनि कम्पनीले उल्लेख गरेको छ ।
राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
सिटिजन लाइफले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थानलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।