स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्नेछन् । यस अघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रुपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारी साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए । ‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं ।’ नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारी साधनको इजाजत अब डिजिटल भएको बताए । उनकाअनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सबारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ । नेपाल सरकारलाई तिर्ने राजश्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाई छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्नसक्ने विभागले जनाएको छ । विभागकाअनुसार यस्ता सवारी साधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिनका लागि भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ । सबै विवरण अध्यवधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्युआरकोड प्राप्त हुुन्छ । सोको आधारमा आफूले तिर्न पर्ने शुल्क तिरेर सवारी साधनहरु नेपाल भित्रिन सक्छन् । नेपालभरका सडकमा त्यस्ता सवारीले सोही क्वीआर कोड देखाएको खण्डामा यात्रा गर्न पाउँछन् । विभागकाअनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकहरुलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो । तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारी साधनका लागि लागू गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हालाई चीनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारी साधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरुका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।
एशियन लाइफको नयाँ बीमा योजना : अंगभंग भएमा प्रिमियम छुट र वार्षिक १०५ आयको ग्यारेन्टी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । प्रधान कार्यालयमा मंगलबार सार्वजनिक गरिएको यस बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको छ । यी सुविधाको लागि बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्दैन । यसबाहेक बीमा अवधिभित्र दुर्घटनाको कारण बीमितलाई स्थायी अंगभंग भएमा बाँकी अवधिको बीमाशुल्क छुटसँगै जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्ककको १० प्रतिशतका दरले वार्षिक आय लाभवापतको रकम प्रदान गरिनेछ । साथै बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्नेछन् । यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधासमेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ । ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।
समृद्धि फाइनान्सको अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का, फुकुवा सेवा सूचारु
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी र वित्तीय संस्थाका प्रतिनिधिको भौतिक उपस्थितिमा मालपोत कार्यालयमार्फत हुँदै आएको प्रक्रिया सूचना प्रविधिमा आधारित प्रणालीबाट सञ्चालन हुने भएको हो । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् । भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम अब धितो रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको फाइनान्सले जनाएको छ । यससँगै फाइनान्सले आफ्नो केन्द्रीय कार्यालयमार्फत देशभर रहेका शाखाहरूबाट समेत उक्त सेवा सञ्चालन गर्नेछ । नयाँ प्रणाली लागू भएसँगै ग्राहकहरूले कर्जा उपभोग गर्दा छिटो, छरितो र सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । समृद्धि फाइनान्सले डिजिटल वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै नयाँ प्रविधिमार्फत ग्राहक सन्तुष्टि बढाउने लक्ष्य राखेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस फाइनान्स कम्पनीले हाल १३ शाखामार्फत सेवा दिँदै आएको छ । साथै, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङका साथै मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।