युनियन हाइड्रोको शेयर बाँडफाँट, सबैलाई मागेअनुसार शेयर

काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।

एनआईसी एशियाका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराहीबीच संझौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्सहस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमईद्वारा करुण फाउण्डेशनलाई २१ थान व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहँदै आएको छ ।